‘सभामुखको सिटमा बसेपछि जनयुद्ध र सँगै लडेका योद्धा सम्झिएँ’
कार्तिक ११ गते, २०७२ बुधवार 28th October, 2015 Wed०७:५३:२३ मा प्रकाशित
पहिलाे महिला सभामुख भएकी अाेनसरी घर्तीले संसदकाे पहिलाे बैठक यसरी सम्झिइन् :
तयारी सामान्य, भावुक भएँ
सभामुखमा निर्वाचित भएपछि म आफैँले व्यवस्थापिका–संंसद्को बैठक सुरुवात र अन्त्य गर्नुपर्ने भयो । त्यसअघि मैले बीचमा मात्र बैठक चलाएकी थिएँ, सुरु र अन्त्य सभामुखज्यूले नै गर्नुहुन्थ्यो । मलाई यो जिम्मेवारीबोध भयो, असहज महसुस पनि भयो ।
सभामुख सिटमा बसेपछि मैले सबैभन्दा पहिला मेरो पृष्ठभूमि सम्झिएँ, जनयुद्ध, पार्टी, नेतृत्व, म सँगसँगै लडेका योद्धाहरू र मलाई त्यो सिटसम्म पुर्याउन लागिपरेको अहिलेको सत्तारुढ गठबन्धन, निर्विरोध गराउने प्रतिपक्षीहरूलाई सम्झिएँ । मसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिनुभएका माननीयहरूलाई पनि सम्झिएँ । नेपाली समाज, यसको प्रकृति र एकताको गुण ‘हाउस’मा झल्किएको अनुभव गरेँ । यसले मलाई भावुक पनि बनायो ।
नयाँ संविधान घोषणा भइसकेको थियो, त्यसको कार्यान्वयनको पहिलो खुड्किलोमा हामी थियौँ, म थिएँ । यसबीच बैठक सञ्चालन गर्दा सबै वर्ग समुदायको प्रतिनिधित्व गरेकी छु भन्ने लाग्यो । ऐतिहासिक क्षण थियो त्यो, मलाई त्यस्तै महसुस भयो ।
त्यो व्यवस्थापिका–संंसद्को पहिलो बैठक थियो । प्रतिपक्षी र अन्य सभासद्ले अप्ठ्यारो अवस्था सिर्जना गर्नुहुन्छ भन्ने लागेन । सबैको विश्वास पाएर निर्विरोध निर्वाचित भएकी थिएँ म । तर, आउन सक्ने जस्तोसुकै अवस्थाको सामना गर्न तयार थिएँ म, त्यो दायित्व मेरो काँधमा थियो । मेरो कर्तव्य, दायित्व र जिम्मेवारीबोधले मलाई गम्भीर बनायो । मेरो कारणले वा सभामुखका रूपमा मेरो प्रदर्शनले कुनै पनि सदस्यको चित्त दुख्नुहुँदैन भन्नेमा म सजग थिएँ ।
त्यो पहिलो बैठकका लागि त्यस्तो विशेष तयारी थिएन, यसअघि सचिवालयले जसरी गर्दै आएको थियो, त्यसरी नै भयो । मैले यो सबै जिम्मेवारी सचिवालयलाई नै दिएकी थिएँ । पहिलो दिन हो भन्ने बुझेर होला सायद, उहाँहरूले सरल र स्पष्टताका साथ बैठकको तयारी गरिदिनुभयो । पहिलो बैठक भएकैले मैले मन्तव्य पनि राख्ने कार्यक्रम बनाएँ । म आफैँले त्यो मन्तव्य तयार पारेँ ।
हरेक बैठक सञ्चालन गर्दा त्यसअघि प्रमुख राजनीतिक दलका प्रमुख, सचेतकहरूसँग छलफल गरेर कार्यक्रमको खाका बनाउने पुरानै प्रचलन हो । सचिवालयले गरिरहेकै अभ्यास हो । जटिल अवस्था आउँदा शीर्ष नेताहरूका बीचमा पनि छलफल हुन्छ । पहिलो बैठकको तयारीका क्रममा चाहिँ राष्ट्रपति निर्वाचन तालिका अघि सार्नुपर्ने थियो । त्यहीबीचमा कांग्रेसको पूर्वनिर्धारित, लामो समयदेखि गर्दै आएको चियापान कार्यक्रम पनि थियो । यी दुवैका बीचमा समायोजन गर्नुपर्ने थियो । सल्लाहअनुसार नै हामीले कांग्रेसको चियापानको दिन ९ गते संसद्का कार्यक्रम नपार्ने गरी तालिका बनायौँ ।
सभामुखको कुर्सीअघि उभिँदा
जब बैठक सुरुवात हुनुअघि राष्ट्रिय धुन बज्यो । सभाहलभरि सांसदहरूका अगाडि म उभिएकी थिएँ । त्यतिवेला पनि मैले मेरा साथीसंगी सम्झिएँ । हामी एकदमै युवा अवस्थामा जनयुद्धमा प्रवेश गरेका थियौँ । त्यतिवेला भन्ने गथ्र्यौँ, ‘एक दिन सर्वहारा वर्गको सत्ता आउँछ । जनताका छोराछोरी शासनसत्तामा पुग्नेछन् ।’ त्यतिवेला त्यो कल्पना मात्रै थियो । सभामुखको कुर्सीअघि उभिँदा मैले ती दिन सम्झिएँ, त्यतिवेलाका कतिपय साथी अझै सँगै छौँ, सभासद् र नेता पनि छन् । कतिपय सहिद भइसक्नुभयो । उहाँहरूले पनि जिउँदै भएको भए जनताका छोराछोरी, आफ्नै साथीसंगी राज्य सञ्चालनका लागि पाँचौँ वरीयतामा पुगेको देख्ने अवसर पाएको भए कति राम्रो हुन्थ्यो होला, भन्ने कुरा मेरो दिमागमा खेल्यो ।
मलाई पहिलो बैठक ढुक्कसँग सफलतापूर्वक सम्पन्न गर्छु भन्ने आत्मविश्वास थियो । मेरो मुख्य अजेन्डा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी अजेन्डा अघि सार्नु थियो । बैठकअघि पनि हामीले त्यसैको तयारी गरेका थियौँ । पहिलो बैठक र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने महत्त्वपूर्ण अजेन्डा अघि सार्नुपर्ने काम भएकाले शून्य वा विशेष समय नलिने सहमति भएको थियो । तर, यदि कसैले मागेको भए मैले दिनुपथ्र्याे । बैठक त्यता मोडिएको भए मलाई मिलाउन अलि कठिन हुने थियो । तर, त्यस्तो भएन । तयारीअनुसार नै भयो ।
पहिलो बैठक हामीले अपराह्न तीन बजेपछि सुरु गर्यौँ । कार्यक्रमहरू धेरै थिए, तयारीअनुसार चल्न नसकेको भए राति हुन सक्थ्यो ।
पहिलो बैठक पहिले तोकिएको समयमा नै सुरु गर्नुपर्ने थियो । तर, ४० मिनेट ढिला भयो । ढिलो भए पनि आपसमा राम्रो समझदारी भएकाले सहजतापूर्वक सम्पन्न भयो । कांग्रेसको चियापान र संसद्का कार्यक्रमका बीचमा सन्तुलन मिलाउन थप छलफल भयो, यसले बैठक पहिले तोकिएभन्दा केही ढिला सुरु भयो ।
बैठकको समय हेरफेर र असन्तुलन हुँदा सबै सभासद् र धेरैलाई असर गरिरहेको हुन्छ । तर, कहिलेकाहीँ समय नलिई नहुने अवस्था पनि आउन सक्छन्, त्यसलाई ‘रिजिड’ भएर हेर्नुहुँदैन ।
मेरो पृष्ठभूमि र अहिलेको जिम्मेवारी
पार्टीले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि मलाई आफ्नो जिम्मेवारीबोध भयो । कानुनी पृष्ठभूमि र सभामुखका रूपमा लामो अभ्यास नभएकाले कतिपयले ‘पूर्वछापामारले संसद् बैठक चलाउन सक्दिन’ भन्ने पनि सोचे होलान् । तर, मैले यसलाई अवसरका रूपमा लिएकी छु । जिम्मेवारीसहितको अवसर । सुझाबहरू लिँदै म अगाडि बढ्नेछु । बैठक सञ्चालन गर्न सकिँदैन भन्ने मलाई पटक्कै लागेको छैन । केही अनुभव त उपसभामुख हुँदा पनि भएको छ । थप सिक्दै र गर्दै जानेछु । चुनौतीहरू आउँछन् । तिनको सामना गर्न तयार छु । सभामुखले पदीय दायित्व र गरिमामा रहेर गर्नुपर्ने कामहरू सिक्दै गर्दै जानेछु ।
पूर्वसभामुखको सहयोग
पहिलो बैठकमा सभामुख र उपसभामुखलाई शुभकामना दिँदा एक माननीयले एउटा प्रश्न उठाउनुभयो । त्यो प्रश्न व्यवस्थापिका–संसद्को गरिमा र त्यसको प्रभाकारिताका लागि उठाउनुभएको हो भन्ने मैले बुझेँ । यसलाई पनि सकारात्मक रूपमा लिएकी छु ।
यसबारे सम्बन्धित निकायले आवश्यक जानकारी पनि देला । मैले अहिले पार्टीका सबै राजनीतिक जिम्मेवारीबाट राजीनामा दिइसकेकी छु । सबैलाई समदूरीमा राखेर व्यवहार गर्ने कुरा पहिलो बैठकमा मैले प्रतिबद्धता जनाएकी छु ।
यसअघि सभामुख सुवासचन्द्र नेम्वाङले म उपसभामुख हुँदा दिएको जिम्मेवारीप्रति मेरो कुनै गुनासो छैन । विगतमा हामी राजनीतिको विशिष्ट क्षणमा पनि थियौँ । अध्यक्ष हुँदा उपाध्यक्षको खासै काम हँुदैन भन्ने कुरा बुझेकाले पनि आफ्नो भूमिका मलाई राम्रैसँग थाहा थियो । कतिपय बैठकहरू मैले फेस गरेकी पनि थिएँ । सामान्य व्यवस्थापिका–संसद् मात्रै थियो भने सभामुखले मलाई थप जिम्मेवारी पनि दिनुहुन्थ्यो होला, मलाई यस विषयमा कुनै गुनासो छैन ।
निवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङप्रति मेरो पूरापूर सम्मान छ । पहिलो बैठकको पूरा समय उहाँ बसेर मलाई ढाडस दिएको महसुस गरेँ । मेरै लागि बसेर आधार र हौसला दिएको रूपमा बुझेकी छु । बैठक सकिएपछि मैले फोन गरेर आभार व्यक्त गरँे । उहाँले ‘धन्यवाद † ठीक छ, यसलाई निरन्तरता दिनुस्’ भन्नुभयो । सभामुख पदको शपथ लिएपछि पहिलोपटक मैले उहाँलाई नै भेटेँ ।
म उपसभामुख हँुदा दुई वर्षभन्दा लामो कार्यकालमा कहिल्यै नराम्रो भएन । बैठक सञ्चालन र कतिपय मुद्दामा फरक मत र छलफल हाम्राबीचमा भएका थिए । तर, यस्तो जटिल अवस्थामा पनि नराम्रो कहिल्यै भएन । अहिले पनि उहाँले राम्रो दिशानिर्देश गर्नुभएको छ ।
संसद्को त्यो पहिलो बैठकलाई सबैले विशेष ध्यान दिनुभएको थियो । धेरैले फोनमा पनि बधाई दिनुभयो । कतिपयले ‘सबैको साझा भएर अघि बढ्नुहुन्छ भन्ने अपेक्षा छ, पहिलो दिन राम्रो भयो, निरन्तरता दिनुस्’ भन्नुभयो ।
सचिवालयको राम्रो सहयोग
पहिलो बैठक सफल हुनुमा सचिवालयको पनि ठूलो मिहिनेत छ । उहाँहरूले राम्रो सहयोग गर्नुभयो । जुन विगतदेखि नै मैले अनुभव गरेकी थिएँ । पहिलो बैठकमा उहाँहरू अत्यन्त सतर्क हुनुहुन्थ्यो । यसले मेरो हौसला बढायो ।
पहिलो बैठक सकिएपछि मलाई ठूलो आत्मबल मिलेको छ । भोलिका दिनमा अघि बढ्न आधार तयार भएको छ । जसरी म गौरव महसुस गरेर त्यो ठाउँमा पुगेकी छु, त्यसरी नै जिम्मेवारी पनि सम्झेकी छु । सबैलाई न्याय गरेर अगाडि बढ्नुपर्छ भन्ने लागेको छ । म त्यही गर्नेछु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: