काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको जनाएको हो।
हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भन्दै सार्वजनिक टिप्पणी गरिएको थियो। त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलको दैनिक सञ्चालन र खपतको अवस्था नहेरी मौज्दातलाई मात्र आधार बनाएर निष्कर्ष निकाल्नु उचित नभएको जनाएको छ।
चेम्बरका अनुसार पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक हो। त्यस्तो होटलमा करिब २०० हाराहारी ग्यास सिलिन्डर मौज्दात रहनुलाई पनि होटलको सञ्चालनको आकार र दैनिक खपतलाई हेर्दा अस्वाभाविक मान्न नसकिने चेम्बरको भनाइ छ।
व्यावसायिक प्रयोजनका लागि आवश्यक ग्यास मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्दा निजी क्षेत्रको प्रतिष्ठामा असर पर्न सक्ने चेम्बरले जनाएको छ।
चेम्बरले कृत्रिम अभाव सिर्जना गर्ने, अवैध कारोबार गर्ने तथा कानुनविपरीतका कुनै पनि गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ। तर कानुनी रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित वा अपूर्ण सूचना सार्वजनिक गर्दा लगानीको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेको छ।
विशेषगरी होटल तथा पर्यटन व्यवसाय ग्यासलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्तिमा निर्भर हुने भएकाले व्यवसायको प्रकृति र दैनिक खपतलाई समेत मूल्याङ्कनको आधार बनाउनुपर्ने चेम्बरको धारणा छ।
चेम्बरले होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योग तथा व्यवसायसँग सम्बन्धित आपूर्ति, नियमन वा अन्य समस्या देखिएमा सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरेर समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
‘नियमन आवश्यक छ, तर व्यवसायीलाई हतोत्साहित गर्ने गरी होइन’
चेम्बरले व्यवसायमा आवश्यक नियमन कायम राख्दै वैध लगानी र व्यावसायिक सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
निजी क्षेत्रमाथि हुने अनुगमन तथ्यमा आधारित र जिम्मेवार हुनुपर्ने भन्दै चेम्बरले कुनै व्यवसायमा समस्या देखिए सम्बन्धित व्यवसायीसँग वास्तविक अवस्था बुझेर आवश्यक कारबाही वा सुधारको प्रक्रिया अघि बढाउनुपर्ने जनाएको छ।
चेम्बरका अनुसार तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास, प्रतिष्ठा र दिगो विकास सुनिश्चित गर्न सकिन्छ।
नेपालको पर्यटन उद्योगमा ठूला होटल तथा आतिथ्य व्यवसायले ठूलो लगानी गरेका छन्। यस्ता व्यवसायमा दैनिक ठूलो परिमाणमा खाना पकाउने तथा अन्य सेवाका लागि ग्यास आवश्यक पर्ने भएकाले सामान्य घरायसी प्रयोगसँग तुलना गरेर मौज्दातको मूल्याङ्कन गर्न नहुने चेम्बरको तर्क छ।
चेम्बरले अनुगमन र नियमनको आवश्यकता स्वीकार गर्दै निजी क्षेत्रलाई दोषी देखाउनेभन्दा वास्तविक समस्या पहिचान गरी आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सरकार, व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
प्रतिकृया लेख्नुहोस्: