सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ चिनाउने उद्देश्यले पिके क्षेत्रमा ‘रेड पाण्डा म्याराथन’ आयोजना हुने भएको छ ।
रेड पाण्डाको दीर्घकालीन संरक्षण, बासस्थान पुनर्स्थापना तथा संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले म्याराथनको तेस्रो संस्करण आगामी भदौ २० गते आयोजना गर्न लागिएको हो ।
स्थानीय साझेदार संस्था हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाका अनुसार रेड पाण्डा सञ्जालको आयोजना तथा ‘प्ले फर नेचर’को मुख्य आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ ।
आयोजकले म्याराथनलाई खेलकुद प्रतियोगितामा मात्र सीमित नराखी रेड पाण्डा संरक्षण र हिमाली वातावरणप्रति नयाँ पुस्तामा जिम्मेवारीबोध गराउने अभियानका रूपमा अघि बढाउने जनाएको छ । यसले सोलुखुम्बुको तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।४८ किलोमिटरको कठिन दौड
अन्तर्राष्ट्रिय रेड पाण्डा दिवसको अवसरमा आयोजना हुने मुख्य म्याराथन सल्लेरीस्थित समुद्री सतहबाट २ हजार ३ सय ६० मिटर उचाइमा रहेको थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु हुनेछ ।
धावकहरू त्यहाँबाट ४ हजार ५४ मिटर उचाइमा रहेको पिके पिकसम्म पुगेर पुनः सुरुआती स्थानमै फर्कनेछन् । कुल ४८ किलोमिटर दूरीको यो दौडमा २ हजार ८ सय ७२ मिटरभन्दा बढीको उचाइ पार गर्नुपर्नेछ ।
कठिन भूगोल र उच्च उचाइका कारण अनुभवी धावकका लागि समेत चुनौतीपूर्ण मानिएको यो मार्ग सात घण्टा ३० मिनेटभित्र पूरा गर्नुपर्नेछ । ट्रेललाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनले तीन अङ्क प्रदान गरेको आयोजकले जनाएको छ ।
पिके क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल र रेड पाण्डाको सम्भावित बासस्थान हुँदै अघि बढ्ने भएकाले प्रतियोगिताले खेलकुदसँगै पर्यटन र वातावरण संरक्षणलाई जोड्ने आयोजकको विश्वास छ ।
पहिलोपटक पाँच किलोमिटरको ‘फन रन’
यस वर्ष प्रतियोगितामा पहिलोपटक पाँच किलोमिटर लामो ‘रेड पाण्डा फन रन’ समेत समावेश गरिएको छ ।
सबै उमेर र क्षमताका व्यक्तिलाई सहभागी गराउने उद्देश्यले ल्याइएको फन रन थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भई सल्लेरीको सेर्गा खोप हुँदै फाप्लु गुम्बामा पुगेर टुङ्गिनेछ ।
स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको फन रनमा अभिनेता तथा रेड पाण्डा संरक्षण अभियानका दूत दयाहाङ राईसमेत सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले आयोजक संस्थाको आधिकारिक माध्यमबाट अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ ।
विजेतालाई डेढ लाखसम्म पुरस्कार
४८ किलोमिटर मुख्य म्याराथनमा महिला र पुरुषतर्फ छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने धावकलाई १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई १ लाख रुपैयाँ, तेस्रो हुनेलाई ५० हजार रुपैयाँ र चौथो हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै ‘फरेस्ट गार्डियन’ विधाका उत्कृष्ट तीन जनालाई क्रमशः २५ हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
पाँच किलोमिटर फन रनका शीर्ष चार विजेताले क्रमशः २५ हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दौड पूरा गर्ने सबै सहभागीलाई पदक प्रदान गरिने आयोजकले जनाएको छ ।
दौडसँगै संरक्षणको सन्देश
रेड पाण्डा नेपालका हिमाली तथा उच्च पहाडी वन क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु हो । यसको बासस्थान वन विनाश, मानवीय गतिविधि तथा अन्य वातावरणीय दबाबका कारण जोखिममा पर्दै आएको छ ।
त्यसैले रेड पाण्डाको बासस्थानमै आयोजना हुने यस्तो प्रतियोगिताले स्थानीय बासिन्दा, धावक र पर्यटकलाई संरक्षणको सन्देश दिन सक्ने आयोजकको विश्वास छ ।
अध्यक्ष शेर्पाका अनुसार वन क्षेत्रमा मानिसले नदेखेका र नचिनेका धेरै अमूल्य प्राकृतिक सम्पदा छन् । रेड पाण्डा त्यस्तै महत्वपूर्ण प्राकृतिक सम्पदामध्ये एक भएकाले यसको संरक्षण वर्तमान पुस्तासँगै भावी पुस्ताको पनि साझा जिम्मेवारी हो ।
यसअघि ताप्लेजुङ र इलाममा आयोजना
रेड पाण्डा म्याराथन यसअघि सन् २०२४ मा ताप्लेजुङको पाथीभरा र सन् २०२५ मा इलाममा आयोजना गरिएको थियो । ती दुई संस्करणमा नेपालका १६ भन्दा बढी जिल्लाका धावकसँगै भारत र जापानका धावकसमेत सहभागी भएका थिए ।
दुई संस्करणमा गरी १४० जनाभन्दा बढी धावकले सहभागिता जनाइसकेका छन् । यसपटक सोलुखुम्बुको पिके क्षेत्रमा आयोजना हुन लागेको प्रतियोगिताले खेलकुदमार्फत रेड पाण्डा संरक्षणको अभियानलाई थप व्यापक बनाउने आयोजकको अपेक्षा छ ।
पिकेको उकालो–ओरालोमा धावक दौडिँदा त्यसको लक्ष्य केवल दौड पूरा गर्नु हुनेछैन, दुर्लभ रेड पाण्डाको संरक्षण र हिमाली प्रकृतिको महत्वबारे संसारलाई सन्देश दिनु पनि हुनेछ ।
प्रतिकृया लेख्नुहोस्: