खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको बाँझोगरामा सडकबाट झरेको पहिरो र लेदोले धान खेत पुरिएपछि करिब १३७ मुरी धान फल्ने खेत बगरमा परिणत भएको हो।
जालपा–फेदी–ऐसेलुखर्क सडकअन्तर्गत जालपाको खरबारीबाट झरेको पहिरो साउने खोल्सीमा मिसिएपछि लेदोसहितको बाढी खेततर्फ पसेको स्थानीयले बताएका छन्। गोडमेल गर्ने बेलामा खेतमा धानका बोटभन्दा बढी गेगर, ढुंगा र बालुवा थुप्रिएका छन्।
रावा खोला किनारमा रहेको बाँझोगरा खेतमा गत जेठमा धान रोपिएको थियो। धान गोडमेल गर्ने समयमै आएको बाढीले खेत पुरेपछि किसानको वर्षदिनको आशा एकैपटक माटोमा पुरिएको छ।
खहरे खोलाबाट आएको बाढीले बीरबहादुर श्रेष्ठ, रत्नकुमार श्रेष्ठ, गोपाल राई, डाकमान राई र भाइकाजी राईका खेतसमेत बगरमा परिणत गरेको छ।
यस्तै, ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका गोपालकुमार राई, पदमबहादुर कार्की र सुरमनी राई तथा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका मानबहादुर राजभण्डारीको खेतमा समेत बाढी र पहिरोको लेदो पसेर क्षति पुर्याएको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए।
सडकबाट झरेको पहिरोले बदलियो खोल्सीको रूप
स्थानीयका अनुसार साउने खोल्सीमा यसअघि यसरी ठूलो बाढी आउने गरेको थिएन। खोलामुनि नै खेत बनाइएका थिए र वर्षायाममा खोलाबाट बग्ने पानी सिँचाइमा प्रयोग हुँदै आएको थियो।
तर यसपटक सडकबाट झरेको पहिरो साउने खोल्सीमा मिसिएपछि खोल्सी नै लेदो र गेगर बगाउने माध्यम बनेको स्थानीय रत्नकुमार श्रेष्ठ बताउँछन्।
‘विगतमा साउने खोल्सीमा कहिल्यै यसरी बाढी आएको थाहा थिएन। खोलाबाट आएको पानी खेतमा लगेर सिँचाइ गर्थ्यौँ। यसपटक सडकबाट आएको पहिरो खोल्सीमा मिसिएपछि खेत नै खण्डहर बनाइदियो,’ श्रेष्ठले भने।
बाढीले खेत मात्र होइन, दिक्तेल–ऐसेलुखर्क सडकमा समेत क्षति पुर्याएको छ। रावाखोला–तापखोला मुहानबाट बाँझोगरा खेतसम्म लगिएको सिम्ले कुलो तथा साउने खोल्साबाट पिखुमको ठूलो खेतसम्म पुर्याइएको कुलोसमेत बगाएको स्थानीयले बताएका छन्।
तारजालीले जोगाएको खेत फेरि बगरमा
विगतमा रावा खोलाले धार परिवर्तन गर्दा बेला–बेला बाँझोगरा खेतमा बाढी पस्ने गरेको थियो। त्यसपछि तारजालीसहितको बाँध निर्माण गरेर खेत जोगाउने प्रयास गरिएको थियो।
रावा खोलाको जोखिमबाट जोगाइएको खेतलाई अहिले साउने खोल्सीबाट आएको बाढीले फेरि बगरमा परिणत गरेको छ।
किसानका अनुसार खेतमा थुप्रिएको गेगर र बालुवा हटाएर पुनः खेतीयोग्य बनाउन ठूलो खर्च लाग्ने अवस्था छ। कतिपय किसानले खेत अधियाँमा लगाएका थिए। खेत पुरिएपछि सबैभन्दा ठूलो मार अधियाँमा खेती गरिरहेका किसानलाई परेको छ।
‘खाइनखाई, अर्मपर्म गरेर धान रोपेका थियौँ। गोडमेल गर्ने बेलामा खेत नै पुरियो। अब हाम्रो सबै मेहनत खेर गयो,’ किसान शुक्रकुमारी राईले भनिन्।
कुलो र सडकसमेत क्षतिग्रस्त
पहिरो र बाढीका कारण स्थानीय किसानले सिँचाइका लागि प्रयोग गर्दै आएका कुलोसमेत क्षतिग्रस्त भएका छन्। सडकमा समेत क्षति पुगेपछि आवतजावत प्रभावित हुने जोखिम बढेको छ।
स्थानीय किसानले साउने खोल्सीको दीर्घकालीन व्यवस्थापन गर्न माग गरेका छन्। खोल्सीमा पहिरो र लेदो पस्ने अवस्था रोक्न नसकिए आगामी वर्षमा समेत खेतमा क्षति दोहोरिन सक्ने उनीहरूको चिन्ता छ।
क्षतिग्रस्त सडक तथा कुलो मर्मतका लागि ऐसेलुखर्क गाउँपालिकाका पूर्वअध्यक्ष विश्वनाथ निरौलाले साउन ४ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। तर अहिलेसम्म माग सम्बोधन नभएको उनले बताए।
किसानले खेतमा थुप्रिएको गेगर र बालुवा हटाउनेदेखि साउने खोल्सी नियन्त्रणसम्म तत्काल काम अघि बढाउन स्थानीय तह र प्रशासनसँग माग गरेका छन्।
प्रतिकृया लेख्नुहोस्: