रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जीवन सुरु गरेको थियो। गाउँका धेरै मानिसले उनीहरूको जोडीलाई उदाहरणीय मान्थे। रमेश पनि समयसँगै सबै कुरा ठीक हुँदै जाने विश्वासमा थियो।
समय बित्दै गयो। २०६२ सालको असारमा पहिलो सन्तान जन्मियो। परिवारमा खुसी छायो। तीन वर्षपछि, २०६५ सालको असारमा दोस्रो सन्तान पनि जन्मियो। दुई सन्तानको बुबा बनेपछि रमेशले आफ्नो संसार पूर्ण भएको महसुस गरेको थियो। तर त्यो खुसी धेरै लामो टिकेन।
श्रीमतीसँग सामान्य विषयबाट सुरु हुने विवाद विस्तारै दैनिक जीवनको हिस्सा बन्न थाल्यो। बिहानको झगडा बेलुकासम्म तन्किन्थ्यो। कहिलेकाहीँ हप्तौँसम्म उनीहरूबीच बोलचाल नै हुँदैनथ्यो।
रमेश बाहिरबाट सामान्य देखिन्थ्यो, तर भित्रभित्रै ऊ टुक्रिँदै गइरहेको थियो। काममा जाँदा पनि ऊ मुस्किलले बोल्थ्यो। साथीहरूले "किन यति चुप लाग्न थालेको?" भनेर सोध्दा ऊ हल्का मुस्कान दिँदै विषय बदलिदिन्थ्यो। कसैले पनि उसको मौनताभित्रको आँधी देख्न सकेन।
जीवन धान्न कहिले काठमाडौं, कहिले गाउँ ।यही दौडधुप चलिरह्यो। त्यसैबीच उसका बुबा गम्भीर बिरामी परे। बुबाको हेरचाहका लागि रमेश गाउँमै बस्न थाल्यो। उसले सोचेको थियो गाउँको शान्त वातावरणले सायद परिवारको सम्बन्ध पनि सुध्रेला। तर भयो ठीक उल्टो।
गाउँमा सँगै बस्न थालेपछि श्रीमान–श्रीमतीबीचको विवाद झन् बढ्न थाल्यो। घरका साना–साना विषय पनि ठूलो झगडामा परिणत हुन्थे। छिमेकीहरूले आवाज सुन्थे, आफन्तहरू दौडेर आउँथे, सम्झाइबुझाइ गर्थे। तर केही दिन शान्त रहेपछि फेरि उही अवस्था दोहोरिन्थ्यो।
रमेशका दुई सन्तान भने कुन पक्ष सही र कुन गलत भन्ने नबुझी घरको तनाव हेर्दै हुर्किरहेका थिए। एकदिन रमेशले आफ्ना नजिकका साथीलाई भनेको थियो, "घर त मानिसले शान्ति खोज्न फर्कने ठाउँ हुनुपर्छ। तर मेरो लागि घर नै सबैभन्दा ठूलो डर बनेको छ।"
परिवारका अग्रज, गाउँका अगुवा र आफन्तले धेरैपटक मिलापत्र गराउन खोजे। कसैले सम्झायो, कसैले गाली गर्यो, कसैले समयले सबै ठीक बनाउँछ भन्यो। तर सम्बन्ध सुधारिनुको सट्टा झन् जटिल बन्दै गयो।
विवाह भएको झन्डै दुई दशक पुग्न लाग्दा रमेशले अन्तिम विकल्पका रूपमा कानुनी बाटो रोज्ने निर्णय गर्यो। उसले अंशसहित सम्बन्धविच्छेदको मुद्दा दायर गर्यो।
उसेलाई लाग्थ्यो कम्तीमा अदालतले निष्पक्ष निर्णय गर्ला। त्यसपछि सुरु भयो अदालतको यात्रा।
हरेक पेशीमा ऊ आशा बोकेर पुग्थ्यो। तर कहिले मिति सर्थ्यो, कहिले कागजात अपुग भनिन्थ्यो, कहिले बहस स्थगित हुन्थ्यो। अदालतका भर्याङ उसले यति धेरै चढ्यो कि त्यहाँका सुरक्षाकर्मीले पनि उसलाई चिन्न थाले।
यसबीच उसको आर्थिक अवस्था कमजोर बन्दै गयो। मुद्दाको खर्च, घरको तनाव र काममा ध्यान दिन नसक्दा आम्दानी घट्दै गयो। रातभर निद्रा नलाग्ने, एक्लै टोलाउने र कसैसँग मनको कुरा नखोल्ने बानी बस्दै गयो।
अन्ततः एक दिन फैसला आयो। अदालतको निर्णय श्रीमतीको पक्षमा गयो। रमेशले अपेक्षा गरेको न्याय उसले पाएन भन्ने अनुभूति गर्यो।
फैसला सुनिसकेपछि ऊ धेरैबेर अदालतको परिसरमै उभिइरह्यो। उसका साथीले काँधमा हात राख्दै भने, "अझै माथिल्लो अदालत जाने बाटो त छ।"
रमेशले गहिरो सास फेर्यो र बिस्तारै भन्यो, "कानुनमा अर्को ढोका होला... तर मेरो मनभित्रको ढोका भने आज बन्द भयो।"
त्यसपछि ऊ झन् एक्लो बन्दै गयो। पहिले बोलाउने साथीहरू पनि कम हुँदै गए। परिवारसँगको दूरी बढ्दै गयो। उसले आफ्नो पीडा कसैलाई खुलाएर सुनाएन। बाहिरबाट सामान्य देखिन खोजे पनि भित्रभित्रै ऊ निराशा र थकानसँग संघर्ष गरिरहेको थियो।
अदालतकाे फैसला भएकाे केही दिनपछि उसको मृत्युको खबर आयो। गाउँभर सन्नाटा छायो। मानिसहरूले अनेक प्रश्न गरे। कसैले अदालतलाई दोष दिए, कसैले परिवारलाई, कसैले समाजलाई। तर सबैभन्दा ठूलो प्रश्न एउटै थियो—के कुनै मानिस यति धेरै एक्लिन सक्छ कि उसको पीडा कसैले देख्नै सक्दैन?
रमेशको मृत्युले कुनै फैसला परिवर्तन गरेन। कुनै मुद्दा उल्टिएन। तर त्यसले धेरैलाई एउटा गम्भीर कुरा सोच्न बाध्य बनायो—कानुनी लडाइँ जित्ने वा हार्नेभन्दा पनि, लामो समयसम्म मानसिक पीडामा बाँचिरहेका मानिसलाई समयमै सुन्ने, बुझ्ने र साथ दिने परिवार, समाज र सम्बन्धित निकाय कति आवश्यक छन्।
सायद रमेशलाई सबैभन्दा बढी आवश्यक परेको कुरा फैसला होइन, आफ्नो पीडा सुन्ने एउटा विश्वासिलो कान थियो।
यो कथा पूर्ण रूपमा काल्पनिक हो। यसको उद्देश्य कुनै व्यक्ति, संस्था वा वास्तविक घटनालाई चित्रण गर्नु होइन। पारिवारिक विवाद, लामो कानुनी प्रक्रिया र मानसिक पीडाले व्यक्तिमा पार्न सक्ने असरबारे सोच्न प्रेरित गर्नु मात्र यसको उद्देश्य हो। लेखक
प्रतिकृया लेख्नुहोस्: