काठमाडौं । मनोहरा किनारको त्यो घर केवल इँटा–सिमेन्टको संरचना थिएन—त्यो एउटा परिवारको इतिहास थियो, परदेशिएको छोराको पसिनाले जोडिएको सपना थियो। तर एक दिन डोजरको आवाजसँगै त्यो सपना एकैचोटि ढल्यो।
गोपाल नेपाली त्यतिबेला घरमै थिएनन्। छोरी बस्ने भकुण्डेबेसी पुगेका उनी बिहान फर्किँदा मनोहरामा हल्ला मच्चिसकेको थियो। डोजरले बस्ती पेल्न सुरु गरिसकेको थियो। उनले वर्षौं लगाएर बनाएको घर भत्किँदै थियो । तर आफ्नै घरबाट एउटा झोला सामान निकाल्ने समयसमेत पाएनन् उनले । “सामान त परै जाओस्, सम्झनासमेत जोगाउन पाइएन,” उनी रुन्दै भन्छन्।
२६ वर्षअघि जस्ताको छानो हालेर बस्न थालेका गोपालले त्यहीँ छोरालाई हुर्काए। गरिबीको बीचमा संघर्ष गर्दै बिस्तारै जीवन अघि बढ्यो। पछि छोरा रोजगारीका लागि साउदी अरब पुगे। त्यहीँबाट पठाएको पैसाले बुबाले झुप्रो घरलाई विस्तारै पक्की बनाउँदै लगे । चार कोठाको घर, बलियो ढोका, सानो तर आफ्नो संसार। तर त्यो घर बनाउने हात फेरि फर्किएन छोरा विदेशमै अस्ताए ।
त्यसपछि त्यो घर गोपालका लागि केवल बस्ने ठाउँ होइन । छोराको अन्तिम सम्झना थियो। “उसले कमाएको पैसाले बनेको घर थियो। उसले छोएका सामान थिए। सबै गयो,” उनी गहभरि आँसु पार्दै भन्छन्।
सूचना होइन, हल्ला मात्रै
गोपालजस्तै धेरैले बस्ती हटाउने ‘हल्ला’ त सुनेका थिए। तर कसैले ढोकामा औपचारिक सूचना टाँसेन, कसैले आएर स्पष्ट भनेन। सरकारी टोलीसँग संवाद गर्ने मौका नै पाएनन्। “हल्ला र सूचना फरक कुरा हो नि,” गोपाल भन्छन्, “हामीलाई त कसैले आएर भनिदिएको भए, कम्तीमा सामान त जोगाउँथ्यौं।”
डोजर आएको खबर उनलाई छिमेकीको फोनबाट मात्र थाहा भयो—त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो।
पुरिएको केवल घर होइन
भत्किएको घरसँगै पुरियो—टेलिभिजन, कम्प्युटर, दराज, भाँडाकुँडा, ग्यास चुलो। अझ महत्वपूर्ण, केही सुनका गहना र कागजपत्र पनि त्यहीँ हराए। तर गोपालका लागि सबैभन्दा ठूलो क्षति ती भौतिक वस्तु होइनन्—ती सम्झनाहरू हुन्। “घर ढल्दा मेरो जिन्दगीकै एउटा भाग ढल्यो,” उनी भन्छन्।
बस्तीभरि एउटै कथा
मनोहरामा त्यो दिन गोपाल मात्र होइन, सयौं परिवारको कथा उस्तै थियो। कोही रोइरहेका, कोही हतारहतार सामान बोकेर भागिरहेका। कोही छिमेकी सघाइरहेका, त कोही टाढैबाट ‘रमिता’ हेरिरहेका।
सुरक्षाकर्मीको बाक्लो उपस्थिति, डोजरको आवाज, रुँदै कराउँदै गरेका मानिसहरू—त्यो दृश्य एक प्रकारको ‘मानवीय संकट’ जस्तै देखिन्थ्यो। बालीनालीमाथि राखिएका सामान, सडकभरि छरिएका कपडा र फर्निचर सबैले एउटा कुरा देखाइरहेका थिए: व्यवस्थापनभन्दा बढी हतारो।
अब कहाँ जाने ?
भत्काइएका परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरतर्फ लैजाने तयारी भइरहेको थियो। तर त्यहाँ पुग्न पनि ‘नागरिकता’ चाहिने भनिएपछि धेरै अन्योलमा परे। “सामान खोजौँ कि नागरिकता?” एक स्थानीयले व्यंग्य गरे।
गोपालजस्ता धेरैलाई सरकारले दिने भनिएको आवासबारे पनि स्पष्ट जानकारी छैन। अपार्टमेन्टमा राखिने कुरा सुनिएको छ, तर त्यो कहिले, कसरी—कुनै निश्चितता छैन। “साँघुरो कोठामा राखेर के हुन्छ? हाम्रो जीवन त्यहाँ अटाउँछ?” उनी प्रश्न गर्छन्।
प्रश्नहरू मात्रै बाँकी
गोपालको मनमा एउटा प्रश्न बारम्बार घुमिरहन्छ “विदेशीलाई शरण दिन सक्ने देशले आफ्नै नागरिकलाई किन यति असहाय बनाउँछ?” उनी थप्छन्, “हामी अपराधी होइनौं। बस्न ठाउँ खोजेका मान्छे हौं।”
राजनीतिक भाषणमा सुकुमवासीको पक्षमा उभिने वाचा गर्ने नेताहरूको पनि उनलाई सम्झना आउँछ। “डोजरको अगाडि उभिन्छु भन्नेहरू अहिले कहाँ छन्?” उनी सोध्छन्।
एउटा घरको कथा, सयौं पीडाको प्रतिनिधि
मनोहराको बस्ती भत्किनु एउटा प्रशासनिक निर्णय हुन सक्छ। तर त्यसले छोएका जीवनहरू केवल तथ्यांक होइनन्—ती भावना, संघर्ष र सपनाहरू हुन्। गोपाल नेपालीको घर ढल्यो। तर त्यससँगै ढल्यो । एक छोराको सम्झना, एक बाबुको आशा, र एउटा परिवारको भविष्य। अब बाँकी छ धूलो, प्रश्न, र प्रतीक्षा।
प्रतिकृया लेख्नुहोस्: