दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भाषणमा केन्द्रित हुने चुनावी शैली अहिले फेरिएको छ । अचेल यस्ता आमसभा र मञ्चसहितका चुनावी भाषण विरलै देखिन थालेका छन् ।
उम्मेदवारहरू यतिबेला मतदाताको ‘आँगन’ सम्म पुगेका छन् । राष्ट्रिय राजनीतिको मियो मानिने प्रमुख पार्टीका शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रका टोल र बस्तीहरूमा हात जोड्दै पुगिरहेको देखिन्छ । पसलदेखि घरखेतसम्म उम्मेदवारहरू पुगेर मतदातालाई आकर्षित गरिरहेका छन् ।
विगतमा शीर्ष नेता हेलिकप्टर चढेर देशव्यापी दौडाहामा निस्कने र आफ्नो क्षेत्रमा चुनावको केही समयअघि मात्र आउने प्रचलन थियो । तर, यसपटक परिस्थिति बदलिएको छ । शीर्ष नेतालाई आफ्नो गढ जोगाउन रक्षात्मक रणनीति अपनाउन बाध्य बनाएको विश्लेषण गर्न थालिएको छ । मतदाताले उम्मेदवारलाई आफ्नै टोलमा भेट्न खोज्ने, उनीहरूसँग प्रत्यक्ष संवाद गर्न चाहने र स्थानीय समस्याको तत्काल जवाफ माग्ने प्रवृत्ति बढेपछि नेताहरूलाई घरदैलोमा पुग्नैपर्ने दबाब सिर्जना भएको हो ।
नेकपा ९एमाले० का नेता देवेन्द्र दाहालका अनुसार मतदाताले उम्मेदवारसँग साक्षात्कार गर्न खोजेका हुन् । ूयो उम्मेदवारका लागि पनि जनतालाई प्रत्यक्ष भेटेर गुनासो सुन्ने र समाधानका उपाय पहिल्याउने एउटा राम्रो अवसर हो,ू उनले भने।
झापामा पूर्वप्रधानमन्त्रीदेखि निवर्तमान सभामुख र नयाँ अनुहारबीच तीव्र प्रतिस्पर्धा छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ को गाउँबस्ती र घरदैलोमा निकै सक्रिय देखिन्छन् । यस्तै, राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन पनि झापा–३ मा निकै व्यस्त छन्। उहाँ पुरानो साख जोगाउने र नयाँ मत तान्ने रणनीतिसहित अबेरसम्म टोल–टोलमा पुगिरहेको छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको उपस्थितिले झापामा युवा र वैकल्पिक राजनीतिको चर्चा चुलिएको छ । रास्वपा नेता भेषराज भट्टराईका अनुसार मतदाताले खोजेको ठाउँमा शाह पुगिरहेको छन् । झापा–५ मा ओली र शाहको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । दुवै दलले उनीहरूलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले यसलाई ुप्रधानमन्त्रीको निर्वाचनु का रूपमा समेत चित्रण गर्न थालिएको छ ।
यस्तै, झापा–२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर चुनावी मैदानमा छन्। राजकीय भूमिकाबाट हटेर सामान्य नागरिक झैँ सुरक्षा घेराबाहिर रहेर उहाँहरू मतदाताका तिखा प्रश्नको सामना गर्दै मत मागिरहेको छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईं र माओवादी केन्द्रकी धर्मशिला चापागाईंले पनि घरदैलोलाई तीव्रता दिएको छन् ।
दमक–३ का सरोज चम्लागाईं भन्न्छन्, 'पहिले नेताहरूलाई टाढैबाट हेरिन्थ्यो, अहिले हाम्रै आँगनमा आइपुगेका छन् । यसले आफ्ना कुरा राख्न सजिलो भएको छ ।'
सुरक्षाकर्मीलाई भ्याइनभ्याई
शीर्ष नेता र 'हाइप्रोफाइल' उम्मेदवारहरूको बाक्लो उपस्थितिका कारण सुरक्षा व्यवस्थापनमा सुरक्षा निकायको सक्रियता बढेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सुरक्षामा विशेष ध्यान दिइएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शीर्ष नेताहरूको सुरक्षाका लागि विशेष योजना बनाएर कार्यान्वयन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: