काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आकर्षण बढेको छ । माघ ५ गतेदेखि आयोग परिसरमा सुरु भएको कल सेन्टरमा आइतबारसम्म ७९२ जनाले विभिन्न विषयमा जिज्ञासा राखेको छन्।
आयोगका अनुसार प्राप्त जिज्ञासाहरूमध्ये सबैभन्दा बढी मतदाता नामावलीसँग सम्बन्धित छन् । यस अवधिमा नामावलीका विषयमा ४२० वटा जिज्ञासाको सम्बोधन गरिएको छ । यस्तै, निर्वाचन आचारसंहिताका विषयमा ७२, मतदाता शिक्षासम्बन्धी ३६ र अन्य विविध विषयमा २६४ वटा प्रश्नको जवाफ दिइएको आयोगले जनाएको छ ।
बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा निर्वाचनका क्रममा नागरिक र सरोकारवालालाई आइपर्ने द्विविधा हटाउन आयोगले नि:शुल्क टोल-फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ । हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भइरहेको यो सेवाको समय क्रमश: थपिँदै लगिने आयोगको तयारी छ । एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरू 'होल्ड'मा बस्नु नपर्ने गरी प्रविधिको व्यवस्था मिलाइएको छ । यो सेवा निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण नगर्दासम्म जारी रहनेछ ।
आयोगले निर्वाचनसम्बन्धी कुनै पनि जिज्ञासा भएमा ११०२ मा कल गर्न वा आयोगको वेबसाइट www.election.gov.np मा गएर विवरण हेर्न सबैमा अनुरोध गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: