काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ । संसदीय चुनावमा सतप्रतिशत उम्मेदवारी दिएको यो सम्भवतः राप्रपाको इतिहासमै पहिलो पटक हो ।
देशमा वैकल्पिक धार र परम्परागत शक्तिहरूबीच तीव्र चुनावी प्रतिस्पर्धा चलिरहेका बेला मुख्य राजावादी शक्ति राप्रपा भने बेग्लै आत्मविश्वासका साथ अघि बढेको देखिन्छ । कुनै पनि चुनावी तालमेल नगरी सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनु नै पार्टीको यही आत्मबलको संकेत हो ।
यति मात्र होइन, राप्रपाले चुनावपछिको सत्ता राजनीतिमा निर्णायक भूमिका खेल्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बनाउनेसम्मको महत्वाकांक्षा अघि सारेको छ । ठूला दलहरू भावी प्रधानमन्त्रीको नाम अघि सारेर चुनावमा होमिन थालेका बेला राप्रपाभित्र पनि लिङदेनलाई औपचारिक रूपमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी भइरहेको पार्टी स्रोतहरूले बताएका छन् ।
पार्टीका एक पदाधिकारी भन्छन्, ‘अहिले सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ, तर चुनावपछि बन्ने सरकारको नेतृत्व राजेन्द्र लिङदेनले गर्ने सम्भावना बलियो छ ।’
बहुमत होइन, निर्णायक शक्ति बन्ने रणनीति
राप्रपाले एक्लै बहुमत ल्याउने दाबी गरेको छैन । तर संसदमा निर्णायक शक्ति बनेर गठबन्धन सरकारको नेतृत्व गर्ने हैसियत बनाउने रणनीति लिएको छ । दुई अतिवादी ध्रुवबीच मध्यमार्गी धारको नेतृत्व राप्रपाले गर्ने र त्यसैका आधारमा सरकारको नेतृत्व गर्ने दाबी नेताहरूले गर्न थालेका छन् ।
पार्टीले चाँडै नै लिङदेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने औपचारिक निर्णय गर्ने सम्भावना छ । हालसम्म एमालेबाट केपी शर्मा ओली, रास्वपाबाट बालेन्द्र साह, श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ तथा कांग्रेसले सभापति गगन थापालाई अघि सार्ने तयारी गरेको चर्चा छ ।
राजावादी शक्ति एकत्रित, बढ्दो आत्मविश्वास
राप्रपा र लिङदेनको आत्मविश्वास बढ्नुका मुख्य दुई कारण देखिन्छन् । पहिलो, विगतमा विभाजित अवस्थामा रहेका विभिन्न राजावादी समूह र शक्तिहरू पछिल्लो समय राप्रपामा समाहित भइरहेका छन् । दोस्रो, ठूलो राजावादी दल राप्रपा नेपाल राप्रपामा विलय हुनु हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिङदेनको नेतृत्व स्वीकार गर्दै पार्टी एकीकरणमा सहमति जनाएका छन् ।
यस्तै, डा. सुरेन्द्र भण्डारी, स्वागत नेपालजस्ता चर्चित व्यक्तित्वको प्रवेशले कार्यकर्ता पङ्तिमा उत्साह थपिएको राप्रपाको बुझाइ छ ।
पार्टी नेतृत्व देशमा राजसंस्था पुनर्स्थापन, संघीयता खारेजी र धर्मनिरपेक्षता खारेजीको पक्षमा जनमत क्रमशः बलियो बन्दै गएकोमा विश्वस्त देखिन्छ । र, ती एजेन्डा बोकेर चुनावमा उत्रिने स्पष्ट दल राप्रपा मात्रै भएकाले आफूहरूलाई लाभ हुने निष्कर्षमा पार्टी पुगेको छ ।
राप्रपाका एक नेताले भने, ‘अब राजावादीहरू छरपस्ट छैनन् । सबै शक्ति र समूहलाई राप्रपाले एकत्रित गरिरहेको छ । त्यसैले राजसंस्था, हिन्दू राष्ट्र र संघीयता खारेजी चाहने मतदाताको रोजाइ राप्रपाबाहेक अरू हुन सक्दैन ।’
झापा–३ मा लिङदेनको सहज यात्रा ?
राप्रपाका नेताहरू हाल आ–आफ्नो निर्वाचन क्षेत्रमा मनोनयन र प्रारम्भिक प्रचारमा व्यस्त छन् । सबै नेता काठमाडौं फर्किएपछि पार्टीले केन्द्रीय स्तरमा चुनावी रणनीति तय गर्ने तयारी गरेको छ । जित्न सकिने क्षेत्र पहिचान र तथ्यांक विश्लेषणका लागि प्राविधिक टोलीसमेत गठन गरिने बताइएको छ ।
लिङदेन स्वयं झापा–३ बाट उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा उनले यही क्षेत्रबाट कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । यसपटक सिटौला चुनावी मैदानमा नरहेकाले लिङदेनको बाटो सहज रहेको पार्टीको बुझाइ छ । यस क्षेत्रमा कांग्रेसबाट राजेन्द्र घिमिरे, एमालेबाट हरि राजवंशी, नेकपाबाट डिल्ली घिमिरे र रास्वपाबाट प्रकाश पाठक उम्मेदवार छन् ।
१ सिटबाट १४ सिटसम्मको यात्रा
लिङदेनको संसदीय यात्रा १२ वर्षअघि सुरु भएको हो । तीन पटक चुनाव लड्दा उनले दुई जित र एक हार बेहोरेका छन् । २०७० मा पहिलोपटक सिटौलासँग पराजित भए पनि २०७४ र २०७९ मा लगातार सिटौलालाई हराउँदै उनले ब्याक–टु–ब्याक जित निकाले ।
२०७८ मंसिरमा पार्टी अध्यक्ष निर्वाचित भएपछि लिङदेनले राप्रपाको संसदीय सिट संख्या १ बाट १४ पुर्याउन सफल भए । यही सफलताले पार्टीभित्र उनको वर्चस्व बलियो बनेको हो । यद्यपि, आन्तरिक असहमतिलाई व्यवस्थापन गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ ।
हालै बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै केही महिलाले पार्टी कार्यालयमै विरोध प्रदर्शन गरेका थिए । तर त्यो आन्दोलन ठूलो रूप लिन सकेन । पछिल्लो समय पार्टीभित्रको दुई धारको संघर्ष पनि साम्य हुँदै गएको नेताहरू बताउँछन् ।
‘लिङदेनको नेतृत्वमा अब राप्रपा एकढिक्का बनेको छ,’ पार्टी स्रोत भन्छ, ‘असन्तुष्ट पक्षलाई पनि विश्वासमा लिएर अघि बढ्न उहाँ तयार हुनुहुन्छ ।’
प्रतिकृया लेख्नुहोस्: