ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्लाको निर्णय र कार्यकर्ताको भावना कुल्चँदै ‘आफ्नै खल्तीबाट टिकट’ बाँडेको आरोप लगाउँदै एमाले जिल्ला कमिटीले केन्द्रीय सचिवालयद्वारा तोकिएका उम्मेदवारलाई असहयोग गर्ने औपचारिक घोषणा गरेको छ ।
जिल्ला कमिटीका अनुसार उम्मेदवार छनोटको सम्पूर्ण प्रक्रिया विधि, मापदण्ड र बहुमतको निर्णयविपरीत गरिएको छ । जिल्ला कमिटीले निर्वाचनका लागि १८ जना आकांक्षीको नाम संकलन गर्दा करिब ९५ प्रतिशत नेता–कार्यकर्ताले अम्बिरबाबु गुरुङलाई उम्मेदवार बनाउनुपर्ने स्पष्ट मत दिएका थिए । तर केन्द्रले ती १८ जना आकांक्षी र सहमतिमा सिफारिस गरिएका पाँच जनामध्ये एक जनालाई समेत टिकट नदिई आकांक्षी सूचीमै नपरेकी व्यक्तिलाई उम्मेदवार बनाएको आरोप जिल्ला नेतृत्वको छ ।
जिल्लाबाट ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का (जीबी) र नानीबाबु बुढाथोकीको नाम सहमतिका आधारमा केन्द्रमा पठाइएको थियो । तर केन्द्रीय नेतृत्वले ती सबै नाम पन्छाउँदै चुनाव लड्न अनिच्छा देखाएकी व्यक्तिलाई ‘केन्द्रीयताको नाममा’ थोपरेको जिल्ला कमिटीको दाबी छ ।
‘यो एमालेको उम्मेदवार होइन, यो केपी ओलीको व्यक्तिगत उम्मेदवार हो,’ जिल्ला कमिटीका एक नेताले आक्रोश पोख्दै भने, ‘१८ जना आकांक्षी र ५ जना सिफारिस गरिएका मध्ये कसैलाई पनि नछानेर चुनावै लड्दिनँ भन्ने मान्छेलाई माथिबाट पठाइयो । यो लोकतान्त्रिक पार्टीको निर्णय होइन ।’
जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा जिल्ला कमिटीका विधिवत् र सर्वसम्मत निर्णय उल्ट्याइएको भन्दै कडा आपत्ति जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत गुट र स्वार्थका लागि गरिएको निर्णयप्रति जिल्ला कमिटी असहमत छ । सिफारिस विपरीत आएका उम्मेदवारलाई सहयोग गरेर जान नसकिने व्यहोरा केन्द्रीय नेतृत्व र आम शुभचिन्तकहरूलाई जानकारी गराइन्छ ।’
कार्यकर्ताको व्यापक समर्थन पाएका अम्बिरबाबु गुरुङलाई टिकट नदिइएपछि ओखलढुंगा एमालेमा गहिरो निराशा छाएको नेताहरू बताउँछन् । गुरुङलाई वैकल्पिक राजनीतिक बाटोबाट चुनावी मैदानमा उतार्ने विषयमा समेत आन्तरिक छलफल तीव्र भएको स्रोतको दाबी छ ।
निर्वाचनको मुखमै जिल्ला कमिटीले नै आधिकारिक उम्मेदवारविरुद्ध असहयोगको नीति घोषणा गरेपछि ओखलढुंगामा एमालेको चुनावी परिणाम गम्भीर जोखिममा पर्ने आँकलन पार्टी वृत्तमै सुरु भएको छ । टिकट वितरणले पार्टी एकता होइन, खुलेआम विभाजन निम्त्याएको टिप्पणी हुन थालेको छ ।
केन्द्रले पठाएकी अस्मिता थापा को हुन् ?
केन्द्रबाट ओखलढुंगाको उम्मेदवार बनाइएकी अस्मिता थापा लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन् । उनी पालिका उपाध्यक्ष हुँदै जिल्ला उपाध्यक्ष र एमाले केन्द्रीय सदस्यसम्म पुगेकी नेतृ हुन् । ओखलढुंगामा परम्परागत रूपमा वरिष्ठ नेता ईश्वर पोखरेल समूहको प्रभाव रहँदै आए पनि संस्थापन पक्षकी थापालाई टिकट दिइएपछि जिल्लाको राजनीतिक समीकरण थप जटिल बनेको छ ।
यद्यपि, थापाले आफू सबैको साझा उम्मेदवार भएको र पार्टीभित्र कुनै गुटगत अवस्था नरहेको दाबी गरेकी छन् । ‘म अहिले काठमाडौंमा छु, जिल्ला फर्किएपछि पार्टीका साथीहरूसँग छलफल गरेर अगाडि बढ्छु,’ उनले भनिन् ।
तर जिल्लाभर फैलिएको असन्तोष र असहयोगको घोषणाले उनको दाबी कति व्यवहारिक हुन्छ भन्ने प्रश्न उठेको छ । ओखलढुंगामा टिकट विवाद अब साधारण असन्तुष्टि नभई एमालेभित्रको गहिरो शक्ति संघर्षको प्रतिबिम्ब बनेको छ ।

प्रतिकृया लेख्नुहोस्: