काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गर्यो । यससँगै झापा–३ मा पनि अध्यक्ष ओलीकै नाम सिफारिस गर्नुपर्ने आवाज तीव्र रूपमा उठ्यो ।
‘उपस्थित सम्पूर्ण सदस्यले केन्द्रीय अध्यक्ष नै उठ्नुभयो भने झापा–३ मा जिताउन सकिन्छ भनिरहनुभएको छ । यसमा सबैको एकमत पनि छ,’ एमाले कोशी प्रदेश सल्लाहकार समिति सदस्य माधव विद्रोहीले यति भनेपछि सभामा व्यापक समर्थन सुनियो ।
तर, त्यो आवाज वास्तविक समर्थनभन्दा बढी ओलीविरुद्धको ‘सांकेतिक व्यंग्य’ थियो । पार्टीका सर्वोच्च कमान्डर ओलीविरुद्ध आफ्नै गृहजिल्लाका सदस्य किन आक्रोशित भए ? यसको मूल कारण एउटै थियो, झापा–३ प्रति ओलीले लामो समयदेखि गर्दै आएको उपेक्षा र अपहेलना ।
झापा–३ बाट क्षेत्रीय कमिटीले प्रत्यक्षतर्फ दीपक कार्कीको नाम पहिलो नम्बरमा, हरि राजवंशी दोस्रो र वसन्त बानियाँको नाम तेस्रो नम्बरमा सिफारिस गरेको छ । चौथो, पाँचौं र छैटौं नम्बरमा क्रमशः सन्तलाल मेचे, देवेन्द्र आचार्य र कल्पना रेग्मीको नाम राखियो ।
रोचक त के भने झापा–५ मा कार्कीको नाम पहिलो नम्बरमा सिफारिस हुनु पनि एक प्रकारको सांकेतिक असन्तुष्टि नै थियो । ‘सबै अवसर झापा–५ लाई नै दिनु छ भने खुला रूपमा दिइयोस्’ भन्ने सन्देश झल्काउने गरी ।
तर, क्षेत्रीय कमिटीले सिफारिस गरेका नाममध्ये जिल्ला कमिटीले हरि राजवंशी र वसन्त बानियाँको नाम मात्र केन्द्रमा पठाएको कार्यालय सचिव छविलाल विश्वकर्माले बताए । ‘पार्टी अध्यक्षको नाम पनि उठेको हो तर त्यो अर्कै प्रसंगमा उठेको हो,’ विश्वकर्मार्ले भने ।
यही पृष्ठभूमिमा झापा–३ का एमाले सदस्यले प्रश्न गरिरहेका छन्– किन ओलीले आफ्नो निर्वाचन क्षेत्रलाई ‘काखा’ र अन्य क्षेत्रलाई ‘पाखा’ गरिरहेका छन् ?
हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनको नतिजा हेर्दा असन्तुष्टिको कारण थप स्पष्ट हुन्छ । झापा–५ बाट अध्यक्ष ओली र सचिव हिक्मतकुमार कार्कीसहित १५ जना केन्द्रीय सदस्य निर्वाचित भए ।
उनीहरूमध्ये दीपक कार्की केन्द्रीय सदस्य बने भने उनकी श्रीमती लीला कट्टेल अनुशासन आयोगको सदस्य भइन् । केपी ओलीका नातेदार रोमनाथ ओली, दाजुभाइ होमबहादुर थापा र गोविन्द थापा, दमक नगरकी पूर्व उपप्रमुख गीता अधिकारी, पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, पूर्वमन्त्री अग्नि खरेल, सुनिता बराल, गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशी, निर्मला शिवाकोटी पाठक, मेनुका काफ्ले र इन्द्र भण्डारी पनि केन्द्रीय संरचनामा पुगे ।
झापा–५ बाट १५ जना केन्द्रमा पुग्दा झापा–४ र झापा–२ बाट दुई/दुई जना तथा झापा–१ बाट एक जना मात्रैको प्रतिनिधित्व भयो । झापा–३ बाट भने एक जनालाई पनि केन्द्रीय सदस्य बनाइएन । जसका कारण त्यो क्ष्ेँत्रमा एमाले मतदाताको आक्रोश चुलिँदै गएको छ । ‘तीन नम्बर क्षेत्रबाट एक जनालाई पनि केन्द्रीय सदस्य नबनाइनु विडम्वना हो,’ भद्रपुरका एक पुराना एमाले नेताले भने, ‘हामीलाई सधैं किन उपेक्षा गरिन्छ ? पार्टी नेतृत्वसँग यही प्रश्न छ ।’
झापा–५ बाट ओली पटक–पटक सांसद बने र प्रधानमन्त्री भए । सचिव हिक्मतकुमार कार्की हाल कोशी प्रदेशका मुख्यमन्त्री छन् । केन्द्रीय सदस्य देवेन्द्र दाहाल राष्ट्रियसभा सांसद हुँदै मन्त्रीसमेत बनिसकेका छन् । दाहालको सांसद पदावधि सकिँदैछ र उनको स्थानमा पुनः झापा–५ बाटै दीपक कार्कीले टिकट पाउने चर्चा छ ।
भद्रपुरमा यामबहादुर श्रेष्ठ, तिलबहादुर राई, खेमराज खरेल, माधव विद्रोहीजस्ता लामो समयदेखि पार्टीमा खटेका अनुभवी नेताहरू पनि छन् । तर, उनीहरूलाई सधैं पाखा लगाइने गरेको छ । उनीहरूले अहिलेसम्म कुनै उल्लेखनीय अवसर नपाएको गुनासो पोख्छन् ।
झापा–३ का एमाले कार्यकर्ताहरू सोधिरहेका छन्– ‘पटक–पटक एउटै मान्छे र एउटै क्षेत्रले मात्रै अवसर पाउने हो भने हामी किन संगठन बनाइरहने ?’ यो प्रश्न आज झापा–५ तर्फ सोझिएको छ ।
अझ गम्भीर कुरा त के छ भने झापा–३ का एमाले कार्यकर्ताले विगत १० वर्षदेखि सूर्य चिह्नमा मत हाल्नै पाएका छैनन् । हरेक संसदीय निर्वाचनमा ओलीले आफू सुरक्षित रहन झापा–३ मा राजावादी दल राप्रपासँग गठबन्धन गर्दै आएका छन् । झापा ३ राप्रपाको आधार क्षेत्र पनि हो ।
‘त्यसको बदलामा हाम्रो क्षेत्रले के पायो ?’ एक स्थानीय एमाले नेताको प्रश्न छ, ‘केही पनि पाएको छैनौं । हामी सधैं लौरो मात्रै बन्यौं, खोलो तरेपछि सधैं बिर्सिने लौरो ।’
झापा–३ मा उठेको ओलीको चर्चा त्यसैले समर्थनभन्दा बढी असन्तुष्टि र व्यंग्यको अभिव्यक्ति थियो । जो पार्टीभित्र गहिरिँदो क्षेत्रीय विभेदको संकेत पनि हो । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: