सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधानको रक्षा गर्न बामपन्थी तथा समाजवादी शक्तिबीच एकता अपरिहार्य रहेको स्पष्ट पारेका छन् ।
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित नेकपा सङ्खुवासभाको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले वर्तमान राष्ट्रिय संकटको निकास समाजवादी एकतामार्फत मात्र सम्भव हुने धारणा राखे ।
संयोजक प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धीहरू, जनताको अधिकार र संविधानको संरक्षण गर्न बामपन्थी तथा समाजवादी शक्तिहरू एक ठाउँमा उभिनु समयको माग भएको बताए । उनले राजनीतिक अस्थिरता, लोकतान्त्रिक मूल्यको कमजोर अवस्था र राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौतीका कारण एकताको आवश्यकता अझ गहिरिएको उल्लेख गरे ।
“देश आज गम्भीर संकटको मोडमा उभिएको छ । यस्तो अवस्थामा राष्ट्र, जनता र संविधानलाई जोगाउने जिम्मेवारी बामपन्थी र समाजवादी शक्तिको काँधमा आएको छ,” संयोजक दाहालले भने “यो एकता कुनै सत्ता केन्द्रित उद्देश्यका लागि होइन, जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्नका लागि हो ।”
उनले हालै देखिएको जेन–जी पुस्ताको आन्दोलनले नेपाली समाजमा नयाँ चेतनाको उदय भएको संकेत गरेको बताए । युवापुस्ताले शासन प्रणाली, राजनीतिक अभ्यास र समग्र राष्ट्रिय अवस्थाप्रति गम्भीर प्रश्न उठाउँदै जिम्मेवार ढङ्गले आन्दोलित हुन खोजेको स्पष्ट भएको उनको भनाइ थियो । “जेन–जी आन्दोलनले युवापुस्तालाई राजनीतिक रूपमा निष्क्रिय ठान्ने भ्रम चिर्दै नयाँ सम्भावनाको ढोका खोलेको छ,” उनले भने ।
संयोजक दाहालले जेन–जी आन्दोलनपछिको परिस्थितिमा देशलाई सही निकासतर्फ लैजाने उत्तम लोकतान्त्रिक विकल्प निर्वाचन नै भएको उल्लेख गरे । साथै, आन्दोलनबाट प्राप्त उपलब्धीहरू कमजोर हुन नदिन नेकपा आत्मसमीक्षा गर्दै अघि बढेको जानकारी दिए । “हामीले विगतका कमजोरी स्वीकार गरेका छौँ, आत्मसमीक्षा गरेका छौँ र जनताको भरोसा पुनः आर्जन गर्न सच्चिएर अघि बढिरहेका छौँ,” उनको भनाइ थियो ।
उहाँले जनताको अधिकार र लोकतन्त्र क्रमशः कमजोर बन्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै त्यसलाई सुदृढ बनाउन समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए । साथै, नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम गर्दै अघि बढ्नु जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि सम्बोधन गर्दै देशलाई अराजकताबाट जोगाएर स्थायित्व र लोकतान्त्रिक दिशामा अघि बढाउने ऐतिहासिक जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताए । “नयाँ पुस्ता राजनीतिप्रति उदासीन छ भन्ने धारणा गलत सावित भएको छ,” उनले भने, “जेन–जी आन्दोलनले युवाहरू सचेत, जिम्मेवार र परिवर्तनका संवाहक हुन् भन्ने प्रमाणित गरिदिएको छ ।”
सहसंयोजक नेपालले सचेत र शान्तिपूर्ण ढङ्गले आन्दोलित भएका युवापुस्तालाई धन्यवाद दिँदै अब देशलाई लोकतान्त्रिक र संविधानसम्मत तरिकाले निकास दिन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा सहभागी नेताहरूले वर्तमान राजनीतिक अवस्थाको गम्भीर समीक्षा गर्दै समाजवादी एकतामार्फत देशलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिकृया लेख्नुहोस्: