नेकपा एमालेको राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा देशभरका संरचनाहरू प्रतिनिधि छनौटमा लागे । सल्यान जिल्लामा पनि यही प्रक्रिया हामीले पूरा ग¥यौँ । यस सन्दर्भमा सामाजिक सञ्जालमा आएका टिप्पणी र बाहिरी टीकाटिप्पणीलाई हेर्दा वास्तविकता माथि आधारित यस प्रक्रियाको स्वतन्त्र र स्पष्ट विवरण राख्नु उचित ठानेका छौँ । किनकी भ्रम नफैलियोस् र तथ्य सही रूपमा जनतासमक्ष प्रस्तुत होस् भन्ने हाम्रो चाहना हो ।
सल्यानमा अहिले करिब चार हजारभन्दा बढी संगठित सदस्य हुनुहुन्छ । तर हामीलाई आठ जना मात्र प्रतिनिधि पठाउने अनुमति थियो । यति धेरै सदस्य, विविध पृष्ठभूमि, फरक विचार, फरक अपेक्षा भएका सयौँ जिम्मेवार साथीहरूबीच आठ जना मात्र छान्नु सामान्य काम होइन । अझ त्यसमा करिब तीन सय साथीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रतिनिधि बन्न चाहने अवस्था थियो । यस्तो परिस्थितिमा कसैमाथि अन्याय नहोस्, कसैको योगदान बेवास्ता नहोस्, र सबैलाई सम्मान दिने वातावरण बनोस् भन्ने सोच नै मुख्य थियो ।
मंसिर ९ गते बसेको जिल्ला कमिटीको सातौँ पूर्ण बैठकमा सबैभन्दा पहिले निर्वाचनमा जाने कि सहमतिबाट छान्ने भन्ने विषय खुलेर उठ्यो । कुनै एक साथीले पनि “चुनाव गरौँ” भनेर आग्रह गर्नुभएन । सबैले विगतमा चुनाव गर्दा मनोविज्ञानमा परेको असर सम्झिनुभयो, एकता प्रक्रियाको संवेदनशीलता बताउनुभयो र यसपालि पनि सहमतियुक्त, सबैलाई समेट्ने शैलीमा अघि बढ्नुपर्छ भन्नुभयो । हिजो जिल्ला अधिवेशनमा चुनाव गरि आउँदा सहज भएको छैन फेरि संगठित सदस्यहरु माझ चुनाव गरेर प्रतिनिधि छान्नुपर्दा गम्भीर असर पर्छ भन्ने तर्कका साथ कुनै एकजनाले पनि चुनावी माध्यमबाट जाउँ भन्नुभएन । बरु उहाँले नवौं महाधिवेशनमा जाँदा प्रतिनिधिको चुनाव गर्दा विभाजन भोग्यौँ, पीडा छ भन्नुभयो । कतिले त त्यो बेला एक क्षेत्रका हारेका साथीहरू छैनन्, अर्को क्षेत्रका जितेका साथीहरू छैनन भनेर इतिहास भन्नुभयो । यसरी अनेक साथीहरुले अनेक तर्क गर्दै चुनाव नगर्ने तर सबै पक्षलाई समेट्ने, सबै पालिका÷भूगोलबाट पर्नेगरी छान्नुपर्छ भन्ने निष्कर्ष थियोे ।
त्यसपछि जिल्ला इन्चार्ज, जिल्ला नेतृत्व र प्रदेश कमिटी सदस्यहरू सम्मिलित संयोजन समिति बनाइयो । समितिलाई १३ गतेभित्र प्रतिनिधि टुंग्याउने जिम्मेवारी थियो ।
यस समितिले दिनभरि र रातभरि नै साथीहरूका चाहना, योग्यताहरू, जिम्मेवारी, भूगोल, आन्दोलन पृष्ठभूमि, समावेशी प्रतिनिधित्व, महिला–दलित–युवा उपस्थिति, र प्रदेश समितिका बाध्यताहरू सबैलाई मिलाएर हेर्नुप¥यो । दार्मा, शिद्धकुमाख, छत्रेश्वरी, त्रिवेणी, कपुरकोट, कालिमाटी, कुमाख र बागचौर यी सबै पालिकालाई समेट्नै पर्ने अवस्था थियो । प्रदेश समितिबाट आएका सुझाव र बाध्यताहरू बेग्लै थिए । महिला पक्ष, दलित पक्ष, भर्खरै समायोजन भएर आएका साथीहरूको भावना सबै संवेदनशील थिए । हरेक घटकलाई सम्मान गर्दै प्रतिनिधि छनौट गर्नु चुनौतीपूर्ण भए पनि सम्भव थियो र अन्ततः सम्भव भयो ।
म मेरो कुरा पनि स्पष्ट राख्न चाहन्छु । म पनि प्रतिनिधि बन्न चाहन्थें । यो कुरा लुकाउनु कुनै अर्थ छैन । तर मैले कसैलाई दवाब दिएर होइन, कसैलाई हटाएर त झन् होइन । मेरो आफ्नै पालिका (दार्मा) का सचिवालय सदस्य, अध्यक्ष र जिल्ला कमिटीका जिम्मेवार साथीहरूले मंसिर ९ गतेकै बैठककक्ष बाहिर निकालेर, संयुक्त रूपमा “तपाईं दार्माबाट जाने प्रतिनिधि हुनुहुन्छ” भनेर सिफारिस गर्नुभयो । मैले सोही दिन धन्यवाद दिँदै अध्यक्ष कमरेडलाई जानकारी गराउन भनेको थिएँ । त्यसपछि मेरो नाम समेटिएको हो । यसमा कुनै पनि प्रकारको व्यक्तिगत हस्तक्षेप, दबाब वा पछाडिबाट गरेको चलखेल छैन ।
यस्तै बागचौर नगरपालिकाबाट प्रदेश कमिटी सदस्य घनश्याम शर्मा । उहाँ प्रदेश कमिटी सदस्यहरु बिचको व्यापक छलफलबाट चुनिनु भएको हो । छलफलमा उपस्थित सबै प्रदेश कमरेडहरुको उहाँको नाममा सहमति हामी सबैका अगाडि गर्नुभएको भएको हो ।
शिद्धकुमाख गाउँपालिकाबाट जिल्ला कमिटी सचिव पुष्पा बोहरा । उहाँ महिला कोटाबाट पर्नुभएको हो । यद्यपि उहाँ हामी सबैको सामुन्ने यदि प्रदेश कमिटी सदस्य जितबहादुर चलाउने जानुहुन्छ भने म जान्न । तर उहाँले नजाने भन्नुहुन्छ भन्दै हामी सबैको अगाडिबाट प्रदेश कमिटी सदस्य जितबहादुर चलाउनेलाई फोन गर्नुभएको हो । फोनमा जित बहादुर चलाउनेले म यतिबेला घरायसी समस्याले जान सक्दिन तपाईं जानुहोस् भनेर उल्लेख गर्नुभयो ।
यसैगरी छत्रेश्वरी गाउँपालिकाबाट जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकी । उहाँ यसभन्दा अगाडिको पार्टीको दशौँ महाधिवेशनमा नगएको अन्तिम समयमा अरुलाई समर्थन गरेको तर यो महाधिवेशनमा जाने इच्छा राख्दा स्वाभाविक सबैको समर्थन थियोे । यद्यपि उहाँको बारेमा छत्रेश्वरी गाउँ कमिटी अध्यक्षले नै हाम्रो पालिकाबाट उहाँ नै सर्वसम्मत हो भन्ने धारणा जिल्ला कमिटीको सातौं पूर्ण बैठकमा भनिसक्नु भएको थियोे ।
त्रिवेणी गाउँपालिकाबाट जिल्ला सचिवालय सदस्य भिउसेन नेपाली । उहाँ भर्खरै समायोजनबाट आएको र दलित तर्फको कोटापनि पर्ने हुँदा उहाँ त्यो आधारमा चुनिनु भयो । कपुरकोटबाट जिल्ला कमिटी अध्यक्ष भिमबहादुर सेन । पार्टीको अध्यक्षलाई नै महाधिवेशनमा नजाने भनेर कसैले भन्ने अवस्था पनि भएन र सर्वसम्मत रुपमै स्वतः चुनिनुभयो ।
यसैगरी कालिमाटी गाउँपालिकाबाट जिल्ला कमिटी उपसचिव सनसिल्ता वली डिसी । उहाँ दुई÷दुई पटक जननिर्वाचित सक्षम महिला, महिला कोटाबाट पर्नु भएको हो । उहाँको पनि जाने इच्छा थियोे । उहाँले दाबी गर्दा विरोध कसैको भएन ।
यस्तै कुमाख गाउँपालिकाबाट प्रदेश कमिटी सदस्य लालबहादुर रावत । उहाँ प्रदेश कमिटी सदस्य मध्येको सिनियर व्यक्ति । प्रदेश सदस्यहरुको छलफलबाट सर्वसम्मत, कुमाख जस्तो पालिकाबाट जननिर्वाचित जनप्रतिनिधि उहाँको पनि इच्छा थियोे, प्रतिनिधि चुनिनु भयो ।
यसरी सयौं जनाको बिचमा ८ जना प्रतिनिधि चुनिनु भयो । अब बाँकी दुई पालिका बनगाडबाट केन्द्रीय सदस्य÷जिल्ला इन्चार्ज र प्रदेश अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि चुनिनु हुन्छ । त्यो पालिका त्यसै खाली रहेन । र अर्को शारदा नगरपालिका, यस नगरपालिकाका जिम्मेवार पदाधिकारीहरु महाधिवेशनमा प्रतिनिधि चुनिने सम्पूर्ण प्रक्रियामा कार्यालयको जिम्मा सहित सहभागी बन्नुभयो । सम्पूर्ण विषयमाथि गहिरो विचारविमर्श गरेर प्रतिनिधि छनौट भएको उदाहरणीय जिल्ला हो सल्यान । यद्यपि कयौं कमजोरी पनि भएका छन्, त्यसको उचित स्थान÷समयमा आलोचना आत्मआलोचना होला, हुनुपर्छ र हुनेछ ।
सायद राजनीति त्यस्तै हुन्छ की, जे गरेपनि जसो गरेपनि सबैलाई खुशी बनाउन नसकिने, वास्तविकता बुझाउन नसकिने । बुझेर बुझ पचाउनेहरुलाई पनि केही गर्न नसकिने । यो सम्पूर्ण प्रक्रियामा घण्टौँघण्टा छलफल परामर्श गरि निर्णय गर्यौँ । यस अवधिभर हामी सम्पूर्णकाबीच सर्वसम्मती छ । चार हजार संगठित सदस्य, सयौं जिम्मेवार कमरेडहरु सबै सहभागी मध्ये शनिबारको निर्णयको अन्तिम प्रक्रियामा मात्र एकजना प्रदेश कमिटी सदस्यले निर्णय पुस्तिकाको उपस्थितिमा हस्ताक्षर गर्नुभयो बन्द हस्ताक्षर नगरी जानुभयो । हामी सबैले हस्ताक्षर गर्नुस् भनेर कर पनि गरेनौं । सायद भूलेर हुनसक्छ उहाँको जाने इच्छा थियो तर व्यक्त गर्नुभएन । तसर्थ उहाँको निर्णयको सम्मान पनि गरौँ ।
तर मिडिया÷फेसबुकमा चारपाँच जना साथीहरुको असहमतिलाई कसरी अतिरन्जित गरियो÷गरिदैछ । वास्तविकता भन्दा बिल्कुलै फरक तस्वीर बनाइयो । केही गनिने साथीहरूको असहमतिलाई चाहिँ यस्तो अतिरञ्जित तरिकाले प्रस्तुत गरियो कि मानौँ ठूलो संकट नै पैदा भएको हो । वास्तविकतामा भने प्रक्रिया सर्वसम्मत थियो, छलफल गम्भीर थियो र निर्णय स्पष्ट थियो ।
आज प्रतिनिधि छनौटका आधारभूत तथ्यहरूलाई लिएर “प्रक्रिया ठीक भएन”, “नियम उल्लंघन भयो”, “गुटगत चलखेल भयो” भन्ने जस्ता टिप्पणीहरू देख्दा, यस प्रक्रियामा टेकेर गरिएको सयौँ व्यक्ति र लामो समयको श्रम, छलफल र संयमलाई बेवास्ता गरिएको अनुभूति हुन्छ । यति धेरै इच्छुक, यति ठूलो भूगोल, यति धेरै जिम्मेवारीसहितका संरचनाहरू भए पनि हामीले सहमतिबाट निर्णय निकाल्न सफल भयौँ भन्ने कुरा नै सल्यान जिल्लाको राजनीतिक परिपक्वताको प्रमाण हो ।
जुन साथीहरू यसपटक प्रतिनिधिमा पर्नुभएन । यसमा म व्यक्तिगत रूपमा क्षमा र सम्मान दुवै व्यक्त गर्छु । अवसर एकपटकमा सबैलाई मिल्दैन, तर योगदान र प्रतिबद्धता कहिल्यै खेर जाँदैन । पार्टीको प्रत्येक तहमा सक्रिय भूमिका निभाइरहनु नै वास्तविक नेतृत्व हो ।
अन्त्यमा, प्रतिनिधि छनौटको यो प्रक्रिया कुनै–कसैलाई हटाउने वा घेराबन्दी गर्ने उद्देश्यले होइन, बरु एकता जोगाउने, सबैलाई समेट्ने र सन्तुलन कायम गर्ने कठिन निर्णय थियो । सल्यानको पार्टी संगठन अझै परिपक्व, अझै संयमित र अझै जिम्मेवार बन्दै गएको छ । यही परम्परालाई सम्हालेर हामी आगामी दिनहरूमा अझ बलियो रूपले अघि बढ्न जरुरी छ ।
नेकपा (एमाले) एउटा विचार, सिद्धान्त र अनुशासनमा आधारित पार्टी हो । सीमित स्रोत र अवसरमा पनि अधिकतम समावेशी र एकताबद्ध हुने प्रयास नै हाम्रो बल हो । सल्यान जिल्ला कमिटीले यही मर्मलाई आत्मसात् गर्दै महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । अब सबै साथीहरू एकताबद्ध भएर आसन्न राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन केन्द्रित हुनुपर्ने बेला आएको छ ।
आलोचना र आत्मालोचना लोकतान्त्रिक पार्टीको सौन्दर्य हो । कमजोरी जहाँ भए पनि सही समयमा समीक्षा गरौंला, तर पार्टी एकता र साझा लक्ष्यमाथि प्रश्नचिन्ह लगाउने गरी भ्रम नफैलाऔं ।
( सिंह नेकपा एमाले जिल्ला कमिटी, सल्यानका उपसचिव तथा प्रचार विभाग प्रमुख हुन् ।) सम्पादक
प्रतिकृया लेख्नुहोस्: