काठमाडौं । मेचीदेखि महाकालीसम्म फैलिएको देशकै मुख्य यातायात ‘लाइफलाइन’ — पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) हाल एसियाली मापदण्ड अनुसार विस्तार भइरहेकाछन् । दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत विभिन्न दातृ निकायको ऋण तथा अनुदान सहयोगमा राजमार्गका छ वटा खण्डमा काम तीव्र गतिमा भइरहेको छ ।
दुई लेन चौडाइ भएको राजमार्ग अहिले सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र वनजङ्गल तथा सवारी चाप कम भएका क्षेत्रमा चार लेनमा विस्तार भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालले जानकारी दिए ।
छ खण्डमा विस्तार भइरहेकाे छ । जसमा काँकडभिट्टा–इटहरी ९३ किमि, कञ्चनपुर–कमला ८६.८३ किमि, कमला–ढल्केबर–पथलैया (१३० किमि, नारायणगढ–बुटवल ११३ किमि, बुटवल–गोरुसिङ्गे–चनौटा ६९ किमि, कपिलवस्तु–दाङ/धानखोला–शिवखोला ४० किमि पर्छन् ।
यीमध्ये कमला–ढल्केबर–पथलैया र बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा, काँकडभिट्टा–इटहरी, कञ्चनपुर–कमला, र नारायणगढ–बुटवल खण्ड एडीबीको सहयोगमा, भने कपिलवस्तु–दाङ/धानखोला–शिवखोला खण्ड एमसिसी परियोजनाअन्तर्गत निर्माणाधीन छन् ।
२०७५ सालदेखि ठेक्का प्रक्रिया सुरु भए पनि एमसिसी अन्तर्गतको खण्डबाहेक अरू कुनै खण्डको काम अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।
काँकडभिट्टा–इटहरी खण्डको ठेक्का २०८० असोज २३ गतेदेखि कार्यान्वयनमा आएको हो । अहिलेसम्म २१ प्रतिशत भौतिक प्रगति भएको छ । रुख कटान, विद्युत्–खानेपानी संरचना हटाउने, माटो पुर्ने र पुल तथा कलभर्ट निर्माण भइरहेको एडीबी निर्देशनालय प्रमुख चूडाराज ढकालले जानकारी दिए ।
आयोजनाको कुल लागत ३४ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा हालसम्म ६ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ ।
निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रा नदीका पुलहरूको स्तरोन्नति गर्नुपर्नेछ । योजना २०८३ माघ १८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
कञ्चनपुर–कमला खण्डमा २०७७ असार ११ गते ठेक्का सम्झौता भएको यस खण्डको निर्माण म्याद थपिएर २०८३ पुस १६ गतेसम्म पुर्याइएको छ । हालसम्म ५०.३ प्रतिशत भौतिक र ५६.२ प्रतिशत वित्तीय प्रगति भएको छ ।
१५ अर्ब ६६ करोड रुपैयाँ लागत रहेको परियोजनामा दुई खण्डमा विस्तार कार्य भइरहेको छ । यस खण्डमा ५४ मुख्य पुल, २१८ कलभर्ट र करिब ७५ किलोमिटर ड्रेन निर्माण गर्नुपर्नेछ ।
कमला–ढल्केबर–पथलैया खण्डमा ठेक्का सम्झौता २०८१ पुस १७ गते भएको हो । तीन वर्षभित्र (२०८४ पुस १६ गतेसम्म) सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु भइसकेको छ । हालसम्म १०.९१ प्रतिशत भौतिक र १०.२६ प्रतिशत वित्तीय प्रगति भएको छ । कुल लागत ३२ अर्ब ३० करोड रुपैयाँ रहेकोमा ३ अर्ब ६ करोड रुपैयाँ खर्च भइसकेको छ ।
नारायणगढ–बुटवल खण्डकाे २०७५ पुस ४ गते काम सुरु भएको यो खण्ड २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो । हाल ६९.१८ प्रतिशत भौतिक र ६२.४० प्रतिशत वित्तीय प्रगति भएको छ । परियोजनाको म्याद २०८३ साउन ७ गतेसम्म थपिएको छ । सुरुवाती लागत १६ अर्ब ९९ करोड रुपैयाँ रहेकामा अहिले १७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
बुटवल–गोरुसिङ्गे–चनौटा खण्डकाे ठेक्का आर्थिक वर्ष २०८०/८१ मा भएको हो । आर्थिक वर्ष २०८४/८५ भित्र काम पूरा गर्ने लक्ष्य राखिएको छ । हालसम्म १२.३३ प्रतिशत भौतिक र ८.७५ प्रतिशत वित्तीय प्रगति भएको छ ।आयोजनाको कुल लागत १८ अर्ब रुपैयाँ रहेको छ ।
राजमार्ग विस्तार सम्पन्न भएपछि तराई–मधेशका सहरहरूबीच यातायात सहज हुने, पारवहन समय घट्ने, र देशको आधाभन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: