काठमाडौँ । तिहारको अवसरमा वर्ल्डलिङ्क, नेपाल टेलिकम र एनसेलले ६० जीबी डेटा निःशुल्क उपलब्ध गराउने भन्दै फिशिङ लिङ्क फैलिएको पाइएको छ । प्रयोगकर्तालाई शंकास्पद साइटमा पुर्याउने उद्देश्यले यस्तो जालसाजीपूर्ण लिङ्क फैलाइएको हो ।
यही सँघारमा व्यापक रूपमा सर्कुलेट भएको ‘jveox.site’ नामक लिङ्क हाल डाउन छ । यद्यपि यसले ठुलो संख्यामा प्रयोगकर्तालाई प्रभावित गरिसकेको देखिन्छ । यस लिङ्कमा क्लिक गरेर प्रयोगकर्ताले आफ्नो जानकारी राख्दा उक्त लिङ्क स्वतः फेसबुकका साथी वा ह्वाट्सएप कन्ट्याक्टमा फर्वार्ड हुन्छ । यसले गर्दा अन्य व्यक्तिले वास्तविक व्यक्तिबाट आएको ठानेर क्लिक गर्छन् र यसरी यो जाल अझै फैलिँदै जान्छ ।
तिहारको उपलक्ष्यमा निःशुल्क ६० जीबी डेटा उपलब्ध गराउने भन्दै फैलिएको लिङ्क यसअघि नेपालमा फैलिने फिशिङ लिङ्कसँग मिल्दोजुल्दो छ ।
उक्त लिङ्कमा क्लिक गर्दा करिब दुई हजार कमेन्ट देखिन्छन्, जुन वास्तवमा नक्कली अकाउन्टबाट गरिएका हुन्छन् । खासगरी त्यस्ता कमेन्टमा ‘मैले उपहार पाएँ’ भन्दै अन्य प्रयोगकर्तालाई विश्वास दिलाउन खोजिएको हुन्छ । केहीले यसमा आशंका व्यक्त गरे पनि धेरैले यसलाई सही ठानेर शेयर गर्ने गरेका छन् ।
स्क्यामरले पठाएको लिङ्क खोल्दा नेपालको झण्डा र त्यसमुनि एउटा स्टाटस राखिएको हुन्छ । उक्त पेजमा केही प्रक्रिया पूरा गरेपछि पुरस्कार पाइने आश्वासन दिइन्छ ।
पोस्टमा प्रयोगकर्तालाई अर्को वेबसाइटमा रिडाइरेक्ट गर्ने भनिएको हुन्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो नेटवर्क छानेर मोबाइल नम्बर राख्नुपर्ने र त्यसमा आएको ओटीपी कोड राख्नुपर्ने भनिन्छ ।
पेजको तलपट्टि ‘तपाईंको निःशुल्क पुरस्कारहरू दावी गर्नुहोस्’ लेखिएको बटन राखिएको हुन्छ । उक्त बटनमा ट्याप गर्दा साइट रिडाइरेक्ट हुन्छ र एउटा ‘टेस्ट’ गराउने पेज खुल्छ, जहाँ प्रयोगकर्तालाई विभिन्न विकल्पहरू छान्न भनिएको हुन्छ ।
त्यसपछि ‘मेगास्ट्रोम प्रो’ नामको अर्को साइट खुल्छ, जहाँ नेपाल टेलिकम, एनसेल लगायतको लोगो राखिएको हुन्छ । त्यसमध्ये कुनै एउटा विकल्प छानेपछि ‘गिफ्ट पाउन लिङ्क क्लिक गर्नुहोस्’ भनिएको हुन्छ। कतिपय अवस्थामा बैंकबाट उपहार प्राप्त भएको भनिन्छ भने, कतिपय अवस्थामा एक्सटेन्सन डाउनलोड गर्न भनिन्छ । यसरी हरेक पटक फरक-फरक लिङ्कमा रिडाइरेक्ट गराइरहेको देखिन्छ ।
‘रोटेटर लिङ्क’ को प्रयोग
यस्ता लिङ्कलाई ‘रोटेटिङ रिडाइरेक्ट लिङ्क’ वा ‘रोटेटर लिङ्क’ भनिन्छ । सामान्यतया एफिलियट प्रोग्राम वा अनलाइन मार्केटिङका लागि यस्ता लिङ्क प्रयोग गरिन्छ । कतिपयले यस्ता लिङ्क मार्केटिङ गर्न प्रयोग गर्छन् भने, कतिपयले प्रयोगकर्तालाई फिशिङ लिङ्कमा पुर्याउन प्रयोग गर्छन् । यसरी अनधिकृत साइटमा पुग्दा डिभाइसमा मालवेयर वा भाइरस इन्स्टल हुने सम्भावना पनि उत्तिकै हुन्छ ।
यस्ता लिङ्कमा क्लिक गर्दा अनावश्यक सब्स्क्रिप्सन प्याकेज खरिद हुने वा असान्दर्भिक वेबसाइटहरूमा पुगिने सम्भावना उच्च हुन्छ । यस विशेष लिङ्कमा पनि स्क्यामरले एफिलियट मार्केटिङ गरेर आर्थिक लाभ उठाउने उद्देश्यले यस्तो जालसाजी गरेको देखिन्छ ।
जोगिने कसरी ?
अपरिचित वा शंकास्पद लिङ्कहरूमा क्लिक नगर्नुहोस् ।
निःशुल्क डेटा वा उपहारको लोभ देखाउने मेसेज सजिलै विश्वास नगर्नुहोस् ।
आधिकारिक स्रोत (कम्पनीको वेबसाइट वा सामाजिक सञ्जालको आधिकारिक पेज) बाट मात्र सूचनाहरू पुष्टि गर्नुहोस् ।
कुनै पनि वेबसाइटमा आफ्नो व्यक्तिगत जानकारी (मोबाइल नम्बर, ओटीपी कोड आदि) प्रविष्ट गर्नुअघि सतर्क रहनुहोस् ।
आफ्ना साथीभाइ र परिवारलाई पनि यस्ता ठगीका बारेमा जानकारी गराउनुहोस् ।
कसैबाट यस्तो मेसेज आएको पाउनुभयो भने उसलाई गाली गर्नुको सट्टा यसबारे बुझाउनुहोस् ।
प्रतिकृया लेख्नुहोस्: