Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

निर्वाचनबारे कांग्रेस-एमाले अझै अनिर्णीत

खबरडबली संवाददाता

काठमाडौं । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूले आगामी राजनीतिक ‘रोडम्याप’ बारे अझै साझा धारणा बनाउन सकेका छैनन् । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको एक महिना बित्न लाग्दा पनि प्रमुख दुई दल कांग्रेस र एमालेले निर्वाचनबारे नै निर्णय गरेका छैनन् । 

जेन–जी आन्दोलनले कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी अघि बढाइसकेको छ ।

माओवादी, रास्वपा, एकीकृत समाजवादी, जसपा नेपाललगायत दलले निर्वाचनमा जाने निर्णय गरिसकेका छन् । कांग्रेसभित्र निर्वाचनमा जानुपर्ने मत बलियो छ तर प्रतिनिधिसभा पुनःस्थापनामाथि समेत बहस चल्ने देखिएको छ । एमालेमा पनि निर्वाचनमा जानुपर्ने र प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षण हुनुपर्ने दुवै थरी मत छ ।

जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन कांग्रेस, एमाले र माओवादीले सहमति दिएका थिए । तर त्यसपछि उनीहरू प्रतिनिधिसभा विघटन, निर्वाचन र सरकारको कार्यशैलीका विषयमा विभाजित छन् ।

सरकारले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको विदेश भ्रमण रोक्का गरेको र अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान निषेध गरेको भन्दै एमालेले विरोध जनाइरहेको छ । ओली र लेखकलाई पक्राउ गर्न सरकारले कानुनी आधार खोजिरहेको छ । सरकारले राजनीतिक प्रतिशोध लिन खोजेको ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बुझाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस, एमाले, माओवादीसहितका सबै राजनीतिक दलका नेताहरूलाई अनौपचारिक भेटघाटमार्फत निर्वाचनमा जान सुझाइरहेका छन् । निर्वाचनमा नजाँदा व्यवस्था र संविधानमाथि नै संकट आउन सक्ने भन्दै पौडेलले सचेत गराइरहेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार राष्ट्रपति पौडेलसँग भेटघाट गरेका थिए । भेटमा पौडेलले निर्वाचनको विकल्प नसोच्न आग्रह गरेका थिए । कांग्रेस नेताहरूले भने निर्वाचनको ‘म्यान्डेट’ सहित बनेको सरकारले त्यसका लागि राजनीतिक वातावरण बनाउन नसकेको बताएका थिए ।

कांग्रेसमा अधिकांश नेता निर्वाचनतिरै जानुपर्ने पक्षमा छन् । तर निर्वाचन नहुने परिस्थिति निर्माण भए विकल्पमा संसद् पुनःस्थापना हुन सक्ने केही नेताहरूको भनाइ छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संसद् पुनःस्थापनाको एजेन्डा पार्टीले लिनुपर्ने मत राख्दै आएका छन् । केही दिनअघि सभापति देउवालाई समेत यसबारेमा उनले जानकारी गराएका थिए ।

‘गिरिजाप्रसाद कोइरालाको राजनीतिक छवि पनि धेरै खस्केको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘शाही कु’ पछि संसद् पुनःस्थापनाको एजेन्डा लिनुभयो र अन्ततः त्यो एजेन्डा सफल भयो, त्यसले गिरिजाप्रसादलाई राजनेताको उचाइमा पुर्‍यायो,’ उनले देउवालाई भनेका छन् ।

सिटौलाले केही दिनअघि सात पूर्वपदाधिकारीको बैठकमा समेत प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा अघि बढाउनुपर्ने मत राखेका थिए । सिटौलाको प्रस्तावलाई नेता विमलेन्द्र निधिले भने ठाडै अस्वीकार गरेका थिए । उनले संसद् पुनःस्थापनातिर जाँदा संविधान, व्यवस्था र प्रणाली नै संकटमा पर्न सक्ने जोखिम रहेको भनाइ राखेका थिए । ‘म संसद् पुनःस्थापनाको पक्षमा छैन, अहिलेको व्यवस्था, प्रणाली र उपलब्धि जोगाउन पनि निर्वाचनको तयारीमा जुट्नुपर्छ,’ उनले भनेका थिए ।

देउवानिकट केन्द्रीय सदस्य श्याम घिमिरेले २६ असोजबाट हुने केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामाथि छलफल हुने बताए । ‘पहिलो प्राथमिकता त निर्वाचन नै हो । निर्वाचन हुन सकेन भने त्यसपछि के गर्ने भन्ने सवालमा संसद् पुनःस्थापनाकै एजेन्डा आउँछ,’ उनले भने, ‘अहिले निर्वाचन हुन्छ कि हुन्न भन्ने अनिश्चित छ । यस्तो बेला कांग्रेसले निर्वाचन र पुनःस्थापनाको मुद्दालाई सँगसँगै अघि बढाउनुपर्छ भन्नेमा छलफल भइरहेको छ ।’

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचनमा जानुपर्ने पक्षमा देखिएका छन् । नेता शेखर कोइराला पनि निर्वाचनको पक्षमा उभिएका छन् । उनले नयाँ नेतृत्वमा पार्टी निर्वाचनमा जानुपर्ने बताएका छन् । कांग्रेस र एमाले यही महिनाभित्र बस्ने केन्द्रीय समिति बैठकबाट निर्वाचनबारे औपचारिक निर्णय गर्ने तयारीमा छन् । निर्वाचनमा जानेबारे कांग्रेस र एमालेका पूर्वसर्त पनि छन् । जस्तो– २३ र २४ भदौमा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन नआउँदै तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीमाथि कारबाही अघि बढाउँदा ‘राजनीतिक प्रतिशोध’ हुने उनीहरूको तर्क छ ।

प्रतिनिधिसभा विघटनलगत्तै कांग्रेस, एमाले, माओवादीलगायत आठ दलले त्यसलाई संविधानविपरीत भनी साझा भनाइ सार्वजनिक गरेका थिए । तर निर्वाचनप्रति माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल सकारात्मक देखिएका छन् । उनीहरूले निर्वाचनको वातावरण बनाउन भने सरकारलाई आग्रह गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending