Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

खबरडबली संवाददाता

रुपन्देही । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध  धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर ‘देवदह’ को अझै पनि ओझेलमा छ । 

रुपन्देहीको मर्चवारी–२ अमवास्थित ‘सगरा’ नामक देव निर्मित प्राचीन पोखरी नै ऐतिहासिक देवदह भएको स्थानीयको दाबी छ । सामाजिक अभियन्ता लक्ष्मी थारुले भने, “बुद्धको मावलीको खोज तीव्र गतिमा चलिरहे पनि यस क्षेत्रको भूगोल एवं इतिहासप्रति सम्बन्धित निकायहरूको चासो देखिदैन, नाम जुरेकै आधारमा नयाँ ‘देवदह’ लाई प्राथमिकतामा राखेर वास्तविक कोलियग्रामको तथ्य नै ओझेलमा पार्ने प्रयास भएको छ ।” कोलियका पुरातात्विक संरचना र ऐतिहासिकस्थल संरक्षणको अभावमा हराउने जोखिम रहेको उनको भनाइ छ । 

सिलोनी इतिहासका अनुसार, रोहिणी (कोहान) नदी  कपिला र कोलीय दुवै नदी सहरको बीचबाट बग्दथे । जहाँ कोलीय सहर बुद्धकी आमा मायादेवीको जन्मस्थल थियो । यसलाई ‘व्याघ्रपुर’ पनि भनिन्थ्यो ।  

इतिहासकार एलेक्जेण्डर कनिङ्घमद्वारा लिखित ‘प्राचीन भारतको भूगोल’ (१८७१) पेज ४१७ मा लेखिएको छ, “कोलीको स्थिति अनिश्चित छ, तर यो सम्भवतः अमकोहिल गाउँसँग जोड्न सकिन्छ, जो लुम्बिनी नगरदेखि पूर्वतर्फ ११ माइल र कोहाना नदी नजिकैको विन्दुभन्दा केही कम तीन माइल टाढा छ ।”

युरोपेली अनुसन्धानकर्तामध्ये एलेक्जेण्डर कनिङ्घमले बुद्धजन्मस्थल लुम्बिनी, कोलिय राज्य र आसपासको भूभाग पहिचानमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले पुस्तकमा लेखेका छन्, “लुम्बिनीको वास्तविक पहिचान बुकाननले दिएको विवरण र स्थानीय संरचनालाई अध्ययन गरेरै मात्र सम्भव भयो ।”

स्कटिस इतिहासकार एवं नेपालभित्र वैज्ञानिक अनुसन्धान गर्ने पहिलो विदेशी अन्वेषकका रुपमा परिचित फ्रान्सिस बुकानन–ह्यामिल्टनले आफ्नो सन् १८१९ मा प्रकाशित कृति ‘एन अकाउन्ट अफ द किङ्गडम अफ नेपाल’ मा लुम्बिनी नजिक रहेका यी भूभागको पुरातात्विक महत्वबारे चर्चा गरेका छन् । 

फ्रान्सिस बुकाननकोे भ्रमणले नेपालका बौद्धस्थलहरूको अव्यवस्थित पहिचान गर्न ठूलो योगदान पुर्‍याएको बौद्ध अध्येता भोला गुप्ताले बताए । गुप्ताका अनुसार, “बुकाननको किताबमा छापिएको नक्साले मर्चवार क्षेत्रलाई बुद्ध मावलीको रूपमा स्थापित गर्ने वैज्ञानिक अनुसन्धानको जग बसालेको छ ।”

पुस्तकमा समावेश नेपालको नक्सा मेजर चाल्र्स क्रफोर्डद्वारा तयार पारिएको हो । बुकाननले आफ्नो यात्रा र स्थानीय सूचनाका आधारमा त्यसमा महत्वपूर्ण जानकारीहरू थपेको बताएका छन् । यो नै नेपालको पहिलो वैज्ञानिक नक्सामध्ये एक मानिन्छ । पुस्तकको दोस्रो भागको ‘सेक्सन १ः अफ द टेरिटोरिज सिचुएटेड टु द इस्ट अफ द रिभर काली’ मा यी स्थलहरूबारे चर्चा पाइन्छ ।

बुद्धकालीन सम्पदास्थलहरूको पहिचानमा निकै योगदान पुर्‍याउनुभएका भारतीय लेखक डा विजय श्रीवास्तवले ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ (१९५४) पृष्ठ ३१ मा लेखेका छन्, “लुम्बिनी नगरबाट ११ मील पूर्वमा रहेको अमकोहिलनगर नै प्राचीन देवदह (कोलियग्राम) हुनसक्छ ।” उनका अनुसार लुम्बिनी आसपासको भूगोलमा बुद्धकालीन संरचना र सभ्यताका अवशेष अझै पनि माटोमुनि लुकेका छन् ।

“लुम्बिनीबाट अमकोहिल जाने सडकले मेक्सोन नामक लुम्बिनी अधिनस्त एक सहरको सामुन्नेबाट कोहान नदीलाई पार गर्दछ”, डा श्रीवास्तवद्वारा लिखित ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ मा उल्लेख छ । वर्तमान दानव (बुद्धकालीन रोहिणी) खोलाको कटान र भेलसँगै भारततर्फ बगिरहेको अमहवा–निपनिया नै तत्कालीन मेक्सोनसहर भएको स्थानीयको दाबी डा श्रीवास्तवको यो तथ्यसँग मिल्दोजुल्दो छ । 

बुद्धभूमिको इतिहासलाई चिनाउने पहिलो साक्षी १६ सय वर्षअघि नेपाल आएका चिनियाँ बौद्ध तीर्थयात्री फाहियान हुन् । फाहियानले आफ्नो यात्रा विवरण ‘फो क्वो कि’ (ए रेकर्ड आफ बुद्धिष्टिक किङ्डम)मा ती सबै धार्मिकस्थलहरुको उल्लेख गरेका छन् । यस कारण मर्चवार क्षेत्रका प्राचीनस्थलको पुरातात्विक उत्खननले नवीन ऐतिहासिक तथ्य उजागर गर्ने सम्भावना अत्यधिक छ ।

“ऐतिहासिक दस्तावेज, स्थानीय किंवदन्ती र पुरातात्विक प्रमाणहरूले मर्चवार क्षेत्रलाई ‘बुद्ध मावली’ का रूपमा पुष्टि गर्छ । यहाँका प्राचीन भग्नावशेष, स्तुप र देव निर्मित सगरा महत्वपूर्ण प्रमाण हुन् । यहाँको ऐतिहासिकता केवल किम्बदन्तीबाट होइन, पुराना यात्रु वृतान्त र हालसम्म भएका पुरातात्विक उत्खनन (खुदाइ) को प्रमाणले पनि पुष्टि गर्दछ”, स्थानीय बौद्ध भिक्षु धम्म शिद्धीले भने । 

लुम्बिनीका स्थानीय बौद्ध भिक्षु विवेकान्द पाण्डेयका अनुसार, दानव र दण्डा खोलाको मध्य मर्चवारमा बुद्ध मावली एवं प्राचीन अमकोहिल नगर (देवदह) अवस्थित छ । “यहाँका बस्तीहरु बुद्धकालीन सभ्यता र संस्कृतिका प्रमाण हुन्”, उनले भने, “कोलियहरु कृषिप्रधान सभ्यता, संस्कृति र धार्मिक मान्यता बोकेका समुदाय भएकाले यहाँका कृषियोग्य भूमिहरु र सिँचाइ प्रणाली अहिले पनि प्रख्यात छन् ।”

स्कटिस भाषाविद्, मिसनरी, साइनोलोजिस्ट र अनुवादक जेम्स लेग्गे, जो शास्त्रीय चिनियाँ ग्रन्थहरूको अङ्ग्रेजीमा प्रारम्भिक अनुवादकका रूपमा परिचित थिए । उनले अङ्ग्रेजीमा अनुवाद गरेको चिनियाँ बौद्ध तीर्थयात्री फाहियानद्वारा लिखित द फाहियान्स रेकर्ड आफ बुद्धिष्टिक किङ्डम र बुकाननको नक्साले अमवा नै मायादेवीको जन्मस्थल देवदह भएको सम्भावनालाइ पुष्टि गर्दछ ।

मर्चवारी गाउँकार्यपालिका रामसुमेर ठाकुरका अनुसार मर्चवारी गाउँपालिका–२ स्थित ऐतिहासिक अमवा गाउँ, सगरा नामले प्रसिद्ध देव निर्मित प्राचीन पोखरी, महिषासुर मर्दनी स्तुपा, मकुनगढकी समयमाई, देउरवा स्तुपालगायतका बुद्धकालीन सभ्यता र सांस्कृतिक धरोहर अपार दैविक शक्ति भएका ऐतिहासिक स्मृति खोजीका केन्द्र हुन् । ठाकुरले भने, “पहिला मध्यरातमा धातुको घैँटामा सिक्का ठोक्किएको आवाज सुनिन्थ्यो र देवी–देवताहरुले नृत्य गरेको देखिन्थ्यो भन्ने मान्यता छ ।”

पहिला–पहिला केही व्यक्तिले त्यहाँबाट चाँदीका सिक्का फेला पार्दथे । एक समयमा देउरवा स्तुपालाई खेतीका लागि खनेर सम्याउन खोज्दा त्यहाँ मौरी, कालो बारुलो, बिच्छी र ठूला विषधारी सर्पहरुको झुण्ड देखा परेपछि स्थानीयले खन्ने काम रोकेर भागेको मान्यता छ । 

शाक्य वंशका सिद्धार्थ गौतमकी आमा मायादेवी, सानीमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्म यही अमकोहिल नगरमा भएको विश्वास छ । बौद्ध ग्रन्थअनुसार शाक्य राजा शुद्धोधन र कोलीय नरेश सुपबुद्ध (देवदहका राजा)बीच वैवाहिक सम्बन्ध थियो । शुद्धोधनले सुपबुद्धकी छोरी मायादेवीसँग विवाह गर्नुभएको थियो । पालि ग्रन्थ अपदान, थेरगाथा र महावंशमा देवदहको उल्लेख पाइन्छ ।

भारतीय बौद्धविद् तथा इतिहासकार एके नारायणले देवदहको ऐतिहासिक महत्व र सम्भावित पहिचानबारे केही महत्वपूर्ण टिप्पणी गरेका छन्। विशेषतः कोलीय जनपद, देवदह र बुद्धको मावली पक्षसँग सम्बन्धित सन्दर्भहरूमा उनको विश्लेषण आधारित छ । उनको प्रसिद्ध कृत्ति “द इण्डो–ग्रीक्स” (१९५७) लगायत अन्य लेखहरूमा पनि बुद्धकालीन स्थलहरूको ऐतिहासिक समीक्षा गरिएको छ । 

बौद्ध साहित्यमा स्नातक गरेका बौद्ध विद्वान मेघनाथ आचार्यको विचारमाः देवदह, बुद्धको मातृ वंशभूमि मात्र होइन, कपिलवस्तुको राजनीतिक र आध्यात्मिक समकक्ष पनि थियो । शाक्य र कोलीयबीचको बारम्बारको अन्तरक्रिया र अन्तरविवाहले बौद्ध परम्परामा यसको भूमिकालाई थप सुदृढ बनाएको छ । उनले भने, “त्यो ऐतिहासिक भूमि मर्चवारी–२ अमवा नै हो, जो कनिङघमले लेखेअनुसार लुम्बिनीबाट ११ मील र रोहणी नजिकैको बिन्दु पिपरहवा घाटबाट ३ मील पूर्वमा छ ।”

बुद्धको मावली दाबी गरिएको मर्चवारी गाउँपालिका पुरातात्विक दृष्टिले निकै सम्भावनायुक्त क्षेत्र भएको लुम्बिनी विकास कोष पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको भनाइ छ । उनले भने, “विभिन्न इतिहासकार, बौद्धविद् र अनुसन्धानकर्ताबाट प्रस्तुत प्रमाण, किंवदन्ती, भूगोल र साहित्यिक सन्दर्भहरूले यो क्षेत्रलाई प्राचीन देवदह (कोलियग्राम) को सम्भावित अवशेष क्षेत्रको सङ्केत गरेको छ ।”

लुम्बिनी विकास कोषले यस क्षेत्रका बारेमा प्राप्त भएका दस्तावेज र स्थलगत सूचनाहरूको प्रारम्भिक समीक्षात्मक अध्ययन गरेको छ । यस्ता स्थलहरूको वैज्ञानिक अनुसन्धान र प्रमाणित उत्खननका लागि विधिवत् प्रक्रिया, स्रोतसाधन र अन्तरसंस्थागत समन्वय आवश्यक रहेको उप्रेतीले बताए । उनका अनुसार यी स्थानमा व्यवस्थित सर्वेक्षण, जिओ–स्पेसियल म्यापिङ र परीक्षण खुदाइ (ट्रायल एक्स्काभेसन) आवश्यक छ । लुम्बिनी क्षेत्रका यस्ता सम्भावित सम्पदास्थलहरूको पहिचान, वर्गीकरण एवं संरक्षणका लागि योजनागत रूपमा अगाडि बढ्नुपर्ने उनको जोड छ । 

“नेपाल सरकार, स्थानीय तह, लुम्बिनी विकास कोष, पुरातत्व विभाग र विज्ञहरूसँग सहकार्य गर्दै हामी यस्ता ऐतिहासिकस्थलहरूको प्रमाणिकता पुष्टि गर्न र आवश्यक संरक्षणका कार्य थालनी गर्न गम्भीर छौँ”, उनले भने, “यसले न केवल नेपालको बौद्ध–धार्मिक इतिहासलाई उजागर गर्छ, तर लुम्बिनी क्षेत्रलाई समेट्ने समग्र बुद्धमार्ग (बुद्ध सर्किट) को सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउछ ।”
कोलियनगर अमवाको पुरातात्विक महत्वबारे स्थानीय निकाय र केही सामाजिक संस्थाले प्रचारप्रसार गरे व्यवस्थित अनुसन्धान र संरक्षण हुन नसकेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले बताए । उनले भने, “यो धार्मिक दृष्टिले मात्र नभई नेपालकै गौरवका रूपमा विकास गर्न सकिने सम्भावना बोकेको क्षेत्र हो । यसको संरक्षणसँगै पुरातात्विक खोज र अनुसन्धान हुन जरुरी छ ।”

संयोजक खाँका अनुसार देउरवा स्तुप, जलदुर्गको चौघेरामा रहेकाले कोलीय राजधानी रामग्राम जस्तै देखिन्छ । यहाँ पूर्व–दक्षिणतर्फ दण्डपाडी ऋषिको नामले अलङ्कृत दण्डा खोला, उत्तरबाट हगनी नाला र पश्चिम किनाराबाट गैडहवा नालाले घेरेर एक मात्र स्थल निकास लुम्बिनीतर्फ फर्केको उनको भनाइ छ । 

बुद्ध मावली मानिएको यस क्षेत्रमा व्यवस्थित उत्खनन, प्रमाणीकरण र पर्यटन प्रवर्द्धन गर्न सकिए, स्थानीयस्तरमा रोजगारी र आयआर्जन बढाउनुका साथै यसले विश्वसामु नेपालको ऐतिहासिक गौरवलाई थप उजागर गर्ने प्रायः निश्चित रहेको गाउपालिका अध्यक्ष गयाप्रसाद बरइले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending