काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले मधेश प्रदेशमा तत्काल पिउने पानीको आपतकालीन आपूर्ति र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले मधेश प्रदेशलाई विपत् संकट क्षेत्र घोषणा गरे तापनि समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै खेद प्रकट गरे । मधेशमा सिँचाइ र खानेपानीको अभावबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका उनले पानीमाथि राजनीतिक नियन्त्रण भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
‘सिँचाइको अभाब र खानेपानीको अभावमा बाँचिरहेका मधेशका नागरिकको समस्यामा सरकार रमिते बनिरहेको छ,’ सांसद श्रेष्ठले भने, ‘पिउनेपानीको आपतकालीन आपूर्ति र पानीका स्रोतको मर्मतमा तत्काल चाल्न सक्ने कदम पनि चालेको छैन । नयाँ डिप बोरिङको राजनीतिले छिमेकी जिल्लाका मन्त्रीका निर्वाचन क्षेत्रका जनतालाई राहत मिल्ला, तर मधेशका अन्य सात जिल्लाका नागरिकले सरकारले महसुस गर्न पाएका छैनन् ।’
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकले मधेश प्रदेशभर विपत् संकटग्रस्त घोषण गरेको थियो । त्यसअघि असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले मधेशमा पानीको अभावसम्बन्धी विषय सम्बोधनका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिइन् । ‘सुक्खाग्रस्त क्षेत्र घोषणा मात्र गरेर पुग्दैन । त्यहाँका जनताले खानेपानी पाएका छैनन् । खानेपानी र सिँचाइको व्यवस्था गर्नुपर्याे,’ उनले भनिन्, ‘बजेट रकमान्तर गरेर भए पनि मधेशमा पानीको समस्या समाधान गर्न आग्रह गर्दछु ।’
नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले रसुवाको नौकुण्ड गाउँपालिकामा दुई बालिकाको शंकास्पद मृत्यु भएको भन्दै उक्त घटनाबारे ढिलासुस्ती नगरी अनुसन्धान गर्न ध्यानाकर्षण गराइन् । बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले डेंगु संक्रमण बढ्न थालेको भन्दै ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नुपर्नेमा जोड दिए । सांसद गैरेले पाल्पा जिल्लामा नसर्ने रोगहरू मुटु, क्यान्सर र मिर्गौला रोगका बिरामीको संख्या बढेकातर्फ सचेत गराए । गुणस्तरहीन खाद्यवस्तुको उत्पादन र वितरण, ध्रूमपान नियन्त्रण, खाद्य बालीमा अत्यधिक विषादी प्रयोग रोक्न र वातावरण प्रदुषण न्यूनीकरण गर्न सरकारसँग विशेष पहलको लागि माग गरे ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले चितवनको राप्ती नगरपालिकामा राजनीतिक खिचातानीका कारण कर्मचारी भर्ना र निकाल्ने काम भइरहेको बताए । उनले यस नगरपालिकाका ६९ जना कर्मचारीलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
६९ जना कर्मचारीले नगरपालिका घेराउ कार्यक्रम निरन्तर चलाएका छन् । ‘नौ महिनादेखि पारिश्रमिक र पुनर्वहालीको माग राखेर घेराउ गरिरहनुभएको छ । सम्बन्धित नियकालाई न्यायिक कार्य थाल्नुपर्छ,’ सांसद बरालीले भने ।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले सडक दुर्घटनको बढ्दो जोखिमबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । अमेरिकाको लुइसिया टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको र उनीहरूको अभिभावकलाई दाहसंस्कारका लागि अमेरिकाको भिसा उपलब्ध गराउन सहज व्यवस्था गर्नसमेत माग गरे ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कर्णाली प्रदेशमा तुइन विस्थापन, किसानलाई मल र मधेशमा पानीको आपतकालीन व्यवस्थापनलगायतका विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरे । रासस
प्रतिकृया लेख्नुहोस्: