Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

भिजिट भिसामा ठगिने युवाका थरीथरी कथा : न्यायको गुहार माग्दै रास्वपामा दुई हजारभन्दा धेरैको निवेदन

खबरडबली संवाददाता

काठमाडौं । दाङ तुलसीपुरका पुनराम न्यौपानेलाई काठमाडौंको नयाँ बानेश्वरस्थित फ्लाई टप एजुकेसन कन्सल्टेन्सीका सञ्चालक शरद पाण्डेले भिजिट भिसामा कम्बोडिया लैजाने र क्यासिनोमा सेक्युरिटीगार्डको जागिर लगाइदिने प्रलोभन देखाए । 

प्रतिमहिना आठ सय अमेरिकी डलर कमाइ हुने र त्यसका लागि ६ लाख रुपैयाँ तिर्नुपर्ने भनेका थिए । कमाइ राम्रै हुने भएपछि न्यौपाने तयार भए । उनी कम्बोडिया पनि उडे । तर, जब जागिर नपाएर बन्धक बनेका अन्य २३ जना होटेलमा फेला परे, त्यसपछि छाँगाबाट खसेझैँ भए । 

न्यौपाने पनि दुई महिना कम्बोडियास्थित होटेलमै बन्धक बने । उनले यसबिचमा कन्सल्टेन्सीलाई सम्पर्क गर्न खोजे, तर सफल भएनन् । त्यसपछि भागेर नेपाल फर्किन सफल भए । ‘कम्बोडियामा मजस्तै अलपत्र परेका अन्य २३ युवा रहेछन् । उनीहरू प्रतिव्यक्ति नौ लाख ३० हजारसम्म तिरेर त्यहाँ पुगेका रहेछन् । तर, कसैले पनि रोजगारी पाएका रहेनछन्,’ उनले नयाँ पत्रिकालाई पीडा सुनाए, ‘उनीहरूलाई फरक–फरक होटेलमा राखिएको थियो । दुई महिनापछि म भागेर नेपाल फर्किएँ । उनीहरू त्यहीँ थिए । पछि उनीहरूको के भयो पत्तो छैन ।’

काठमाडौंको बसुन्धरास्थित जजु म्यानपावरका सञ्चालक सन्दीप न्यौपानेले सर्लाहीका अनिलकुमार साहलाई बोलिभियामा आकर्षक रोजगार लगाइदिने प्रलोभन देखाए । सुरुमा भिजिट भिसामा दुबई जाने र त्यहाँबाट चाँडै बोलिभिया लगिने उनको भनाइ थियो । बेरोजगारीले सताइरहेका साह जान तयार भए । त्यसबापत उनले न्यौपानेलाई पटक–पटक गरी १४ लाख रुपैयाँ बुझाए । न्यौपानेले उनलाई दुबई पुर्‍याएर ४५ दिन होटेलमा राखे । तर, प्रतिबद्धताअनुसार बोलिभिया उडाउन सकेनन् । साह घर फर्किन बाध्य भए ।

नेपाल फर्किएपछि साहले प्रहरीमा उजुरी दिए । प्रहरी वृत्त कालीमाटीले न्यौपानेलाई पक्राउ गर्‍यो । तर, कारबाही प्रक्रिया अघि बढाएन । कारण थियो, प्रमाणको अभाव । अहिले साहले चेक बाउन्समा न्यौपानेविरुद्ध प्रहरी वृत्त तीनकुनेमा अर्को जाहेरी दिएका छन् । तर, त्यसमा पनि कारबाही प्रक्रिया अघि बढेको छैन । 

नवलपुर कावासोतीका रामबहादुर भण्डारीको सामाजिक सञ्जालमार्फत दुबईस्थित रितराज स्टुडियोका सञ्चालक उत्सल पाठकसँग भेट भयो । उत्सलले उनलाई भिजिट भिसामा दुबई लैजाने प्रलोभन देखाए । आकर्षक रोजगारीको अफर आएपछि भण्डरी उनलाई दुई लाख सात हजार रुपैयाँ बुझाएर दुबई उडे । दुई महिना काम पनि गरे । त्यसपछि भिसा सकियो । भण्डारीलाई कम्पनीले कामबाट निकालिदियो । र, रित्तो हात नेपाल फर्कनुपर्‍यो । उनले उत्सलसँग सम्पर्क गर्न खोजे, तर उताबाट वास्तै गरिएन । दुई लाख रुपैयाँ गुमाएका उनी अहिले नवलपुरमा भौँतारिरहेका छन् । 

लमजुङ मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेँसीका सन्दीप पराजुलीलाई सुवास पाण्डेले भिजिट भिसामा स्लोभाकिया लैजाने आश्वासन दिए । त्यसबापत सात लाख ५० हजार रुपैयाँ लिए । तर, पछि ‘अजरबैजन लैजान्छु’ भने । सन्दीप त्यसका लागि पनि तयार भए । उनलाई सुरुमा भिजिट भिसामा दुबई पुर्‍याइयो, अजरबैजन लगिएन । रकम डुब्ने भएपछि सन्दीपले दुबईको भिजिट भिसालाई वर्किङमा बदले ।

अहिले पनि उनी दुबईस्थित मोबिल कारखानमा कार्यरत छन् । तर, न राम्रो तलब छ न काम नै राम्रो । डुबेको रकम उकास्ने उद्देश्यले उनी सकिनसकी सोही कारखानामा काम गर्न बाध्य छन् । मकवानपुरको थाहा नगरपालिका– १२ का अमरबहादुर स्याङतानलाई दलालले भिजिट भिसामा दुबई लगेर वर्किङमा बदलिदिने प्रलोभन दियो । विश्वासमा परेर स्याङतान दुबई पुगे । तर, भिसा परिवर्तन भएन । उनी बस्ने होस्टेलमा अन्य युवा पनि थिए । जो नौ महिनादेखि सोही होस्टेलमा अलपत्र थिए । उनीहरूलाई पनि दलालले त्यस्तै आश्वासन दिएको रहेछ । छाँगाबाट खसेझैँ भएका उनी अहिले दुबईमा अलपत्र परेका छन् । 

भोजपुरको अरुण गाउँपालिका– ३ का सविन्द्र सार्कीले भिजिट भिसामा दुबई जानका लागि कुमार रानामगरलाई दुई लाख ७० हजार बुझाए । दुबई पुगेर वर्किङ भिसामा परिणत गरिदिने प्रलोभन दिएका थिए मगरले । तर, रकम असुलेपछि फरार भए । सविन्द्र उजुरी लिएर प्रहरीकहाँ पुगे । झापा गौरादहस्थित प्रहरी कार्यालयमा उजुुरी दिए । तर, प्रमाण अभाव भएको भन्दै प्रहरीले जाहेरी लिएन । रकम डुबाएका उनी अहिले पनि समस्यामा छन् । 

काठमाडौंका नबिल श्रेष्ठ पनि भिजिट भिसाका नाममा ठगिए । नवीन लिम्बूले उनलाई दुबई लगेर आकर्षक तलबसहितको रोजगारीमा लगाइदिने प्रलोभन दिए । चार लाख ५० हजार तिरेर श्रेष्ठ दुबई त पुगे, तर जागिर पाउन सकेनन् । बरु, रित्तो हात नेपाल फर्किन बाध्य भए । उनले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । तर, घटनामा संलग्न लिम्बू अझै पक्राउ पर्न सकेका छैनन् ।

कञ्चनपुरका नरेन्द्र ठगुन्नालाई उमेश भट्टले भिजिट भिसामा दुबई लैजाने मात्रै भनेनन्, आकर्षक रोजगारीसमेत मिलाइदिने आश्वासन दिए । उनले ऋण गरेर भट्टलाई दुई लाख रकम उपलब्ध गराए । त्यसपछि ठगुन्नालाई दुबई पनि लगियो । दुई महिना काम पनि गरे । तर, त्यसपछि भिसा अवधि सकिएको भन्दै कम्पनीले उनलाई कामबाट निकालिदियो । दुई लाख रुपैयाँ गुमाएका उनी रित्तो हात नेपाल फर्कनुपर्‍यो । उनले पनि प्रहरीमा उजुरी दिएका छन् । तर, कारबाही प्रक्रिया अघि बढेको छैन ।

दैलेख गुराँस गाउँपालिकाका ललितकुुमार थापा गत ११ चैतमा वैदेशिक रोजगारका लागि दुबई उडे । सिनामंगलस्थित समृद्धि ओभरसिजबाट दुई महिनाको वर्किङ भिसामा गएका उनलाई साताको ६ दिन र दिनमा आठ घण्टा मात्रै काम हुने भनिएको थियो । तर, जब उनी कम्पनीमा पुगे, काम दिनको १२ घण्टाभन्दा धेरै गर्नुपर्ने भयो । साताको एक दिन हुने बिदा पनि कटौती भयो । 

त्यही वेला थापा बिरामी परे । काममा खटिन सकेनन् । कम्पनीले कामबाट निकालिदियो । पासपोर्ट पनि कब्जा ग¥यो । त्यसपछि जरिवाना तिर्नुपर्ने भन्दै उल्टै फरार भएको मुद्दा हाल्यो । अहिले उनको भिसाको म्याद सकिएको छ । दुबईको बरदुबई भन्ने ठाउँमा अलपत्र रहेका उनले युएईस्थित दूतावासमा उद्धारका लागि याचना गरे । नेपाली समाज युएईमा पनि खबर गरे । तर, उनलाई कसैले उद्धार गर्न सकेका छैनन् । 

उद्धारको याचना गरिरहेका थापाले दुबईबाटै नयाँ पत्रिकासँग भने, ‘म वर्किङ भिसामा चार महिनाअघि दुबई आएको हुँँ । मलाई कम्पनीले कामबाट निकाल्यो । पासपोर्ट कब्जा ग¥यो । उल्टै फरार भएको भन्दै मुद्दा हाल्यो । कम्पनीले जरिवाना पनि लगाएको छ । म नेपाल फर्कन चाहन्छु । दूतावासले वास्ता गरेन, न नेपाली समाजले नै मेरो पीडा सुन्यो ।’

नेपाल डिपोर्टका लागि थापाले दुबई प्रहरीमा आत्मसमर्पण पनि गरे । तर, प्रहरीले डिपोर्ट गरेन । बरु उल्टै कम्पनीको जिम्मा लगाएर पठाइदियो । उनका अनुसार कम्पनीले अलपत्र पारेका अन्य तीन युवा छन् । उनीहरूको पासपोर्ट पनि कम्पनीले कब्जा गरेको छ । जसमध्ये एकलाई कम्पनीले गैरकानुनी ढंगले जबर्जस्ती श्रममा लगाएको छ । उनीहरू सबै सिनामंगलस्थित समृद्धि ओभरसिजबाटै दुबई पुगेका हुन् । जसका लागि उनीहरूसँग म्यानपावरले प्रतिव्यक्ति दुई लाखदेखि दुई लाख ३० हजार रुपैयाँसम्म असुलेको छ । तर, उद्धारका लागि म्यानपावरले कुनै पहल नगरेको थापाको गुनासो छ । 

‘कम्पनीले मलाईजस्तै अन्य तीन युवालाई पनि अलपत्र पारेको छ । उनीहरूको पासपोर्ट लिएको छ । दुईजनालाई कामबाट निकालेको छ भने एकजनालाई गैरकानुनी ढंगले काममा लगाइरहेको छ । हामी नेपाल फर्कन चाहन्छौँ । तर, कम्पनीले पासपोर्ट लिएको हुँदा सफल हुन सकिरहेका छैनौँ,’ थापाले भने । 

लमजुङ सुन्दरबजार– ९ का दिवस भट्टराईलाई नवलपरासीको सुनवल नगरपालिका– १२ का लोहिर जाहिर र मोरङ उर्लाबारी नगरपालिका– २ की दीक्षा डाँगीले इटालीमा आकर्षक रोजगार लगाइदिने प्रलोभनमा नौ लाख ७५ हजार १४० रुपैयाँ असुले । तर, उनलाई कबुल गरेझैँ न युरोप लगे, न रकम नै फिर्ता दिए । रकम असुलेलगत्तै फरार दुवैलाई भट्टराईले खोजी गरे । कतै फेला नपरेपछि उनले १९ चैत ०८० मा वैदेशिक रोजगार विभागमा जाहेरी दिएका थिए । विभागले दुवैविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । तर, उनीहरू हालसम्म पक्राउ परेका छैनन् । 

अहिले अध्ययनका सिलसिलामा दुबईमा रहेका भट्टराईले भने, ‘युरोपमा आकर्षक रोजगार दिने भनेर मलाई प्रलोभन दिए । मैले पटक–पटक गरी झन्डै १० लाख रुपैयाँ दिएँ । तर, उनीहरूले वाचा पूरा गरेनन् । बरु, उल्टै फरार भए । मैले दुई वर्षअघि नै वैदेशिक रोजगार विभागमा उजुरी हालेको थिएँ । तर, उनीहरू हालसम्म पक्राउ परेका छैनन् । म ठगिएको ठगियै भएँ ।’

वैदेशिक रोजगारीका लागि विदेश जाने क्रममै ठगिएका काभ्रे तेमाल गाउँपालिका– २ का सन्चमान लामा, भीम तामाङ र सागर तामाङ पनि हुन् । उनीहरूसँग मोरङ बेलबारी नगरपालिका– ९ का धु्रव गिरीले बुल्गेरिया लैजान्छु भनेर सात लाख ५० हजार रुपैयाँ लिए । तर, उनले न बुल्गेरिया लगे, न रकम नै फिर्ता दिए । एकाएक फरार बनेका उनीविरुद्ध तीनैजनाले वैदेशिक रोजगार विभागमा गत १४ भदौमा जाहेरी दिएका थिए, तर उनी अझैसम्म पक्राउ परेका छैनन् । 

भीमले भने, ‘हामीलाई मोरङका ध्रुव गिरीले बुल्गेरिया लैजान्छु भने । साढे सात लाख रुपैयाँ बुझायौँ । तर, उनले न बुल्गेरिया लगे, न रकम नै फिर्ता दिए । अहिले फरार छन् । हामीले विभागमा उजुरी त वर्ष दिनअघि नै दिएका थियौँ । तर, हालसम्म पक्राउ परेका छैनन् ।’

वैदेशिक रोजगारका क्रममा ठगिनेहरू बैतडीका रूपेशबहादुर धानुक, सर्लाहीका अनिलकुमार साह, दाङका विनोद भुसाल, टीकाराम बाँस्तोला, धुव्र पौडेललगायतको कहानी पनि पीडादायक छ । विमानस्थल अध्यागमन कार्यालयकै सेटिङमा भिजिट भिसाको आवरणमा मानव तस्करी भइरहेको सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले करिब एक महिनाअघि ठगिनेहरूलाई सूचना दिन आह्वान गरेका थिए । यो एक महिनाको अवधिमा करिब दुई हजारभन्दा धेरैले सूचना र आफूसँग भएको प्रमाणसमेत पठाएको रास्वपा प्रवक्ता मनीष झाले बताए ।

‘भिजिट भिसाका नाममा ठगिएकाहरूलाई सूचनासहितको निवेदन दिन हामीले सार्वजनिक रूपमा आह्वान गरेका थियौँ । एक महिनाको अवधिमा हामीकहाँ दुई हजारभन्दा धेरै निवेदन आएका छन्,’ उनले भने, ‘अहिले तिनको अध्ययन गर्ने काम भइरहेको छ । कतिपय फेक पनि हुन सक्लान् । कतिपय तुरुन्तै एक्सनमा जानुपर्ने खालका पनि होलान् । सबैलाई अध्ययन गरी आवश्यक कारबाही प्रक्रियाका लागि पहल गर्छौँ ।’

भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकसहित गृहका उच्च राजनीतिक र प्रशासनिक नेतृत्वको समेत संलग्नता रहेको भन्दै रास्वपा र राप्रपाले अहिले पनि छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन समितिको माग गरिरहेका छन् । उनीहरूले त्यसको माग गर्दै अहिले पनि सदनमा विरोध प्रदर्शन गरिरहेका छन् । तर, सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेर झारा टार्ने काम गरेको उनीहरूको आरोप छ । 

भिजिट भिसाका नाममा गरिएको ठगीमा पर्नेहरूको उजुरी वैदेशिक रोजगार विभागले हेर्दैन । ठगी मुद्दाअन्तर्गत सिधै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हेर्न गर्छ । त्यो पनि जाहेरी नभई ठाडो उजुरीका आधारमा । यस्ता उजुरी गएको पछिल्लो १० महिनामा मात्रै पाँच सयभन्दा धेरै परेको प्रहरीको तथ्यांक छ । त्यसमध्ये ३० देखि ३५ प्रतिशतको मात्रै समस्या समाधान हुने अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

‘भिजिट भिसाका क्रममा ठगिनेहरूको ठाडो निवेदन हामीले हेर्ने गरेका छौँ । गएको १० महिनामा हामीकहाँ परेका उजुरीमध्ये ३० देखि ३५ प्रतिशत न्याय पाएर फर्किएका छन् । बाँकीको मुद्दा अदालत जान्छ । यस्ता अधिकांश ठगीमा प्रमाण हुँदैन । ऋण, सापटीजस्ता शीर्षकमा रकम लेनदेन हुने गर्छ । त्यस्तो मुद्दा हामीले हेर्न मिल्दैन । पीडितलाई अदातलमा जान सुझाउँछौँ,’ एसपी आचार्यले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending