Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

आलमलाई सफाइ दिलाउन न्यायाधीशमाथि कानुनमन्त्रीको दबाब, न्याय परिषद्मा उजुरी

खबरडबली संवाददाता

काठमाडौं ।  पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिलाउन न्यायाधीशमाथि अनुचित दबाब दिएको आरोपमा कानुनमन्त्री अजयकुमार चौरसियविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । परिषद्का पदेन सदस्य चौरसिया र सम्बन्धित न्यायाधीशहरूको सम्बन्ध छानबिन गर्नुपर्ने मागसहित रौतहटका शैलेन्द्र साहले सोमबार उजुरी दिएका हुन् । 

बम विस्फोटमा घाइते भएका दुई युवालाई इँटाभट्टामा हालेर ज्यान लिएको कसुरमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय पाएका आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनले गत १४ जेठमा सफाइ दिएका थिए ।

फैसलाको चौतर्फी आलोचना भएपछि न्याय परिषद्ले न्यायाधीशद्वय थारू र महर्जनमाथि छानबिन सुरु गरिसकेको छ । उनीहरूलाई सर्वोच्च अदालतमा काजमा बोलाएर छानबिन थालिएको हो । छानबिनको जिम्मा सर्वोच्चका न्यायाधीश विनोद शर्मालाई दिइएको छ ।

सफाइ दिनुअघि चार दिनसम्म मन्त्री चौरसिया वीरगन्ज गएर बसेको र उनले न्यायाधीशहरूलाई आलमका अतिरिक्त अन्य मुद्दामा पनि फोन गरेर आफूले भनेजस्तो फैसला गराउन दबाब दिने गरेको चर्चा न्यायिक वृत्तमा पनि चल्दै आएको छ ।

कानुनमन्त्री चौरसियाको दबाब र आर्थिक चलखेलका कारण आलमलाई सफाइ दिइएको विभिन्न माध्यमबाट सुनेको साहले उजुरीमा उल्लेख गरेका छन् । यसअघि बिहीबार संसद्मा सांसद अमरेश सिंहले पनि कानुनमन्त्री चौरसियामाथि न्यायाधीशलाई फोन गरेर मुद्दाको फैसला गर्न दबाब दिने गरेको आरोप लगाउँदै छानबिन गर्न माग गरेका थिए ।

रौतहटको राजापुरमा २७ चैत २०६४ मा भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले १३ वैशाख २०८१ मा आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

त्यसविरुद्धको पुनरावेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय थारू र महर्जनको इजलासले सफाइ दिएपछि नक्खु कारागारबाट आलम छुटेका थिए । साहले न्याय परिषद्मा दिएको उजुरीमा भनिएको छ, ‘कानुनमन्त्री चौरसिया र न्यायाधीशद्वय थारू र महर्जनसमेतको कल डिटेल प्रतिवेदनसमेत अनुसन्धान गरेर न्याय परिषद् ऐन, २०७३ को दफा १० को घ, ज र दफा ११ को च–को कसुरमा दफा १४ र संविधानको धारा १४२ को उपधारा १ (ग) बमोजिम कारबाही गरिपाऊँ ।’

कानुनमन्त्री चौरसियाले भने आफूविरुद्ध जथाभावी र आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । ‘मैले कहिल्यै कुनै न्यायाधीशलाई फोन गरेको छैन,’ उनले  भने, ‘यो ममाथि लगाइएको झूटा र तथ्यहीन आरोप हो ।’

मुद्दा छिन्नुअघिका केही दिन आफू वीरगन्ज र त्यस आसपासमा भने गएको उनले बताए । ‘तर म त्यहाँ कानुन मन्त्रालयको कामले गएको थिएँ, दिनभरि कार्यक्रममा उपस्थित भई साँझ वीरगन्जको आफ्नै घर आएर बसेको थिएँ,’ उनले भने, ‘मैले कहाँ कुन न्यायाधीशलाई भेटें ? मन्त्रालयको काममा पनि जान नपाउने हो ?’

चौरसिया गत ९ जेठको बिहान पर्सा गएका थिए । त्यो दिन पर्सागढी नगरपालिकामा भएको कानुन मन्त्रालयको प्रशिक्षण कार्यक्रममा आफू मुख्य अतिथिका रूपमा गएको र साँझ वीरगन्जस्थित निजी निवासमा बसेको उनले बताए ।

उनका अनुसार भोलिपल्ट त्यस्तै कार्यक्रम वीरगन्जको टाउनहलमा गरिएको थियो । त्यो दिन पनि कार्यक्रममा दिनभरि बसेर घरै गएको मन्त्री चौरसियाको भनाइ छ । ‘त्यहाँ प्रशिक्षण कार्यक्रम थियो, त्यसमा मेयरहरू आएका थिए, म एकक्षण पनि एक्लै छैन, अनि कसरी न्यायाधीशहरूलाई भेटें ?,’ उनले भने ।

मन्त्री चौरसियाका अनुसार अर्को दिन बाराको गढीमाईमा पनि मन्त्रालयले मन्त्रीसहितको कार्यक्रम राखेको थियो । त्यहाँ पनि आफू बिहानै गएर साँझ घरमै आई बसेको र त्यसको भोलिपल्ट बिहानै काठमाडौं फर्किएको उनले बताए । ‘मेरो कल डिटेल हेरे हुन्छ, तर मलाई जथाभावी भन्नेको पनि त हेर्नॅपर्ला नि ?,’ उनले भने, ‘जसलाई जे मन लाग्यो, उही गाली गरेर चर्चित हुने प्रवृत्ति छ, त्यसरी कसैको चरित्रहत्या गर्न पाइन्छ ?’

आफूले न्यायाधीशहरू थारू र महर्जनलाई मात्रै होइन, कुनै पनि अदालतको कुनै पनि न्यायाधीशलाई फोन नगरेको मन्त्री चौरसियाले दाबी गरे । आफूले फोन गरेको पत्ता लगाउन चुनौतीसमेत उनले दिएका छन् । ‘न्यायाधीशसँग मात्रै होइन, मैले आलमका छोरा र उनको परिवारका पनि कसैसँग कुरा गरेको र भेटेको छैन,’ उनले भने, ‘न्याय परिषद्ले ममाथि छानबिन गर्छ भने त्यसमा सघाउन तयार छु ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललाईफकाई नाबालिगको डिम्ब कारोबार

काठमाडौं । काठमाण्डूस्थित एउटा निजी 'फर्टिलिटी क्लिनिक'ले नाबालिग किशोरीहरूबाट डिम्ब खरिद गरेको पाइएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा...

तरकारी खेतीबाट टोलभरीकै महिला आत्मनिर्भर

टीकापुर । टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलभरकै महिला आत्मनिर्भर बनेका छन्। दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसम...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी !

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष...

काठमाडौं महानगरको छात्रवृत्तिका लागि १४ हजार भन्दा धेरैले दिए परीक्षा, नतिजा आज

काठमाडौं । काठमाडौं महानगरपालिका सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका छन्।  छनोट भ...

लमजुङका जनप्रतिनिधिले आफूलाई सुविधायुक्त गाडि किने, दमकल किनेनन्

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ। आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर...

पर्वतको मोदीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

पर्वत । निरन्तरको भारी वर्षासँगै आएको पहिरोले पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा एक घर पुर्दा दुई जना बेपत्ता भएका छन्। स्थानीय...

मन्त्री अधिकारीलाई कारबाही गर्न एमाले कास्कीको माग, सुजन लामाको सदस्यता नवीकरण नगर्ने

पोखरा । नेकपा एमाले कास्कीले मन्त्रीसँग विचौलियाको काम गर्ने सुजन लामाको सदस्यता नविकरण नगर्ने भएको छ । एमाले कास्की जिल्ला कमिटीले लामाको सदस्यता ...

इतर पक्षका नेतालक्षित लिङ्देनको टिप्पणी- पार्टी फुटाउन कसैले सक्दैन, विचार नमिले बाटो लाग्दा हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्द...

घुस लिएको दाबीसहितको अडियो प्रकरण- भूमिमन्त्री अधिकारीलाई नेतृत्वकै संरक्षण

काठमाडौं । कास्की लिचीघारीको १३५ रोपनी जग्गा प्रकरणमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भइसकेको छ । यस विषयमा ...

प्रधानमन्त्रीको आग्रह- आज भारी वर्षाको अनुमान छ, अत्यावश्यक बाहेक यात्रा नगर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानहरूमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको भन्दै सबै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending