Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

९ महिनामा थपियो २ खर्ब ३३ अर्ब सार्वजनिक ऋण, यही अवधिमा २ खर्ब साँवा-ब्याज भुक्तानी

खबरडबली संवाददाता

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्म सरकारले कुल ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ । यसमध्ये २ खर्ब ९१ अर्ब १४ करोड (७९.५३ प्रतिशत) आन्तरिक र ७४ अर्ब ९५ करोड (२०.४७ प्रतिशत) बाह्य ऋण रहेको सार्वजनिक ऋण व्यवस्थापन समितिको कार्यालयले जनाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत चैतको प्रतिवेदनले आन्तरिक ऋणको प्राप्ति धेरै भए पनि बाह्यको निकै कम रहेको देखाएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा सरकारले ऋणको साँवा–ब्याज भुक्तानीका लागि २ खर्ब ३ अर्ब २ करोड रुपैयाँ भुक्तानी गरेको छ । यसमध्ये आन्तरिक ऋणको साँवा तथा ब्याजका लागि १ खर्ब ७० अर्ब ९ करोड (८३.७८ प्रतिशत) र बाह्य ऋणको साँवा तथा ब्याजका लागि ३२ अर्ब ९३ करोड (१६.२२ प्रतिशत) खर्च भएको कार्यालयको तथ्यांक छ ।

यससँगै गत चैतसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । जसमध्ये १३ खर्ब १ अर्ब ९४ करोड आन्तरिक र १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ बाह्य रहेको कार्यालयको तथ्यांक छ । चालु आर्थिक वर्षको ९ महिनामा २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । चैतसम्म तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.७५ प्रतिशत हो । तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक जीडीपीको २२.८२ प्रतिशत र बाह्य २३.९३ प्रतिशत छ ।

यस आर्थिक वर्षको चैत मसान्तसम्म विनिमय दरमा भएको परिवर्तनले ७० अर्ब ९ करोडले सार्वजनिक ऋणको दायित्व बढेको कार्यालयले जनाएको छ । सो अवधिमा अमेरिकी डलरसँगै अरू देशको मुद्रा (एसडीआर) को विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋण दायित्वमा थप प्रभाव परेको जनाइएको छ । यसरी ९ महिनामा सरकारले संकलन गरेको ऋणबाट भुक्तानी गरेको २ खर्ब ३ अर्ब २ करोड घटाउँदा १ खर्ब ६३ अर्ब ६ करोड खुद ऋण थपिएको देखिन्छ । यसमा विनिमय दरमा भएको परिवर्तनले बढेको ७० अर्ब ९ करोड जोड्दा ९ महिनामा २ खर्ब ३३ अर्ब १७ करोड ऋण थपिएको हो ।

आयोजना/संस्थानले निर्धारित समयमा काम नसक्दा लक्ष्यअनुसार बाह्य ऋण प्राप्ति हुन नसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले बताए । ‘सम्झौताअनुसार काम भए बाह्य ऋणको प्राप्ति धेरै हुन्छ, नसके थप ऋण प्राप्त हुँदैन,’ उनले भने, ‘हामीकहाँ नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायले समयमै काम सम्पन्न गरे बाह्य ऋण धेरै आउँछ, नगरे लक्ष्यअनुसार प्राप्ति हुँदैन ।’

गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तोकेको छ । यसअनुसार चैतसम्म ३ खर्ब ६६ अर्ब ०९ करोड रुपैयाँ ऋण उठाएको छ । यो वार्षिक लक्ष्यको ६७.९३ प्रतिशत हो, जसमध्ये आन्तरिक ऋणको प्राप्ति ८८.२२ प्रतिशत र बाह्य ऋणको ३४.५४ प्रतिशत छ ।

यसका आधारमा यस आर्थिक वर्षका बाँकी ३ महिनामा सरकारले १ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ सार्वजनिक ऋण उठाउन बाँकी छ, जसमध्ये ३८ अर्ब ८५ करोड ९४ लाख आन्तरिक र १ खर्ब ४२ अर्ब ४ करोड २२ लाख रुपैयाँ बाह्य ऋण उठाउन बाँकी रहेको जनाइएको छ । चालु आर्थिक वर्षमा सरकारले ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये चैतसम्म २ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी भएको छ । यो कुल विनियोजनको ६२.६७ प्रतिशत हो । जीडीपीको अनुपातमा चैतसम्मको ऋण सेवा खर्च ४.४३ प्रतिशत हो ।

गत चैतसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९० हजार रुपैयाँ बराबर पर्न आउँछ । यस्तो ऋण गत असारमा प्रतिनेपाली करिब ८३ हजार थियो । राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यो जनसंख्याले गत चैतसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गरेर उक्त तथ्यांक निकालिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

निरन्तर बढ्दो सार्वजनिक ऋणले जोखिम निम्त्याउने अर्थविद् बताउँछन् । आर्थिक वर्ष २०८०/८१ देखि वित्तीय व्यवस्थापन शीर्षकको विनियोजनले पुँजीगत खर्चको आकारलाई उछिनेको छ । यो आन्तरिक र बाह्य ऋणमा निरन्तर वृद्धिको उपज भएको उनीहरूको भनाइ छ । बढ्दो ऋण चुक्ता दायित्वसँगै पुँजीगत खर्चको स्तर र वित्तीय व्यवस्थाका लागि विनियोजित बजेटबीचको अन्तर फराकिलो हुँदै जाँदा भविष्यमा सरकारको लगानी गर्न सक्ने सामर्थ्यमा संकुचन ल्याउने जोखिम हुन्छ । परिणाम वित्तीय असन्तुलनको खतरा पनि उत्तिकै रहेको अर्थविद् बताउँछन् ।

‘ऋण उत्पादनमूलक क्षेत्रमा उपयोग भए सार्वजनिक ऋण बढ्यो भनेर डराउनु पर्दैन । तर सरकारले कहाँ–कहाँ खर्च गर्छ, त्यो महत्त्वपूर्ण हुन्छ । हामीले ऋण संकलन गर्ने काम मात्र गर्छौं, यसकारण सरकराले खर्च गरेको सबै तथ्यांक हामीसँग हुँदैन,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख कोइरालाले भने, ‘बाह्य ऋण आयोजनागत हुने भएकाले पुँजीगत रूपमा खर्च भएको छ भन्ने थाहा हुन्छ । तर आन्तरिक ऋणको हुँदैन ।’

आन्तरिक ऋण पनि पुँजीगत क्षेत्रमा खर्च गर्नुपर्छ भन्ने सैद्धान्तिक अवधारणा भए पनि सरकारले कहिलेकाहीँ आवश्यकताअनुसार चालु खर्चमा पनि प्रयोग गर्दै आएको उनले बताए । २०८१ असार मसान्तको तुलनामा गत फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.२२ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.७३ प्रतिशतले अवमूल्यन भएको थियो । २०८१ फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १ सय ३९.२४ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १ सय ३३.३६ थियो ।

विनिमय दर परिवर्तनका कारण पछिल्ला ७ आर्थिक वर्षमध्ये ४ वटामा घाटा छ भने बाँकी वर्षमा नाफामा छ । आर्थिक वर्ष २०७९/८० मा ५९ अर्ब १५ करोड रुपैयाँ नोक्सानी भएको थियो । तर आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब २३ करोड विनिमय दरको नाफा भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending