Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

खबरडबली संवाददाता

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ ।

गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ । चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका थिए । गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक (हिमाली)को पहिलोपटक सफल आरोहण गरेको थियो ।

पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु—५ पिकको सफ आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । तर अन्य तीनवटा पिक भने आरोहण भएको छैन । अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए । उनले भने, “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु । काठमाडौँबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।” जिल्लामा पर्वतारोण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताए । तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उनले गुनासो गरे ।

“जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवर्द्धनको नाम मेला महोत्सव आयोजना गरेर ठूलो धनराशि खर्च गर्दै आएको छ ।” तर यस्ता खालका मेला महोत्वसवले अन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन हुँदैन ।” विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए । नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल/पिक ४८ वटा आरोहणका लागि खुला गरको छ ।

 फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चारवटा पिक आरोहणका लागि खुला गरिएको छ । पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ । यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी–१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी–२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गाङ्का र छ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ ।

सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ । त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल/पिक आरोहणका लागि खुला गरिएको छ ।

जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ आठ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्नजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उनीहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ ।

कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजङ्घा मुख्य आठ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ ।

ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो । किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।

पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत छ हजार मिटर उचाइको हाराहरीको हिमाल/पिक आरोहण गर्नका लागि पाँचदेखि छ जनाको समूहका लागि रु १५ लाख खर्च हुन्छ । “पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छ । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक रु चार हजारदेखि छ हजारसम्म खर्च हुन्छ”, उनले भने । व्यक्तिगत आवश्यक सामग्री रु ६० हजारभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण तथा ट्रेनिङ लिनुपर्ने हुन्छ । आरोहण गर्ने साहस जोकोहीले गर्न सक्ने गुरुङले बताए ।

जिल्लामा अवस्थित पाँच हजारदेखि सात हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति रु पाँच लाखदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ । पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ । हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।

पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ । पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बिमा गर्नुपर्छ । काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री (गियर) खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च हुने छ ।

हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ । आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शकको भनाइ छ ।

हिमालको प्रवर्द्धन गर्न महोत्सव हुँदै 
ताप्लेजुङका दुई स्थानीय तहमा मात्र हिमाल रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका ४३ वटा हिमाल र सिरिजङ्घा गाउँपालिकाका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । अहिले यी दुई पालिका हिमालको प्रवर्द्धन गर्न पर्यटन महत्वसको तयारीमा जुटेका छन् ।

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप गाउँमा कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजङ्घा हिमाल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा ‘प्लाटिनम जुब्ली’ २०८२ महोत्सव अन्तिम तयारी पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए । आउँदो वैशाख ५–७ गते फक्ताङ्लुङ गाउँपालिका–५ लेलेपमा महोत्सव हुने भएको हो । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहार : संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ भन्ने नाराका साथ महत्सवको तयारी भइरहेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घसंस्थाको सहकार्यमा गरिने जनाइएको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धन, भलिबल प्रतियोगिताजस्ता गतिविधि समेटिने छन् । कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूका परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौँमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।

सिरिजङ्घा गाउँपालिका हिमाल संरक्षण अभियानमा जुटेको छ । गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविरमा आगामी वैशाख १२ देखि १४ गतेसम्म पर्यटन सिरिजङ्घा महोत्सव आयोजना गरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि छलफल गर्ने योजना बनाएको छ । प्रवक्ता बमप्रसाद गौतमका अनुसार, महोत्सवमा हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन, अनुसन्धान र समाधानका उपायबारे छलफल गरिनेछ ।

गाउँपालिकाले सङ्घीय सरकारको साझेदारीमा कञ्चनजङ्घा क्षेत्रमा साहसिक पदमार्ग निर्माण गरिरहेको छ । महोत्सवमा निर्माणाधीन पदमार्गको प्रचारप्रसार, स्थानीय कला, संस्कृति तथा परम्परालाई प्रवर्द्धन गरिने जनाएको छ । विशेष आकर्षणका रूपमा चार हजार ५०० मिटर उचाइको कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने छ । चौँरी याक प्रदर्शन, साहित्य गोष्ठी, साइक्लििङलगायत कार्यक्रम समिटिएको गाउँपालिकाले जनाएको छ । 

महोत्सव सिरिजङ्घा गाउँपालिकाको नयाँ झोडेनी क्षेत्रमा आयोजना हुनेछ । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार, झोडेनी माछेवाबीचको दूरी कायम गरी म्याराथुन प्रतियोगिता सम्पन्न गरिने छ । सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङका अनुसार, झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला देख्न सकिन्छ । याक तथा चौँरीको अवलोकन, लालीगुराँसको दृश्य र हिमाली सौन्दर्य पर्यटक आकर्षणका मुख्य तत्व हुनेछन् ।

ताप्लेजुङको साहसिक पर्यटनमा ठूलो सम्भावना भए पनि सरकारी चासोको कमीले विकास सुस्त देखिन्छ । यहाँको हिमाली सौन्दर्य, जैविक विविधता र सांस्कृतिक महत्त्वका कारण अन्तरराष्ट्रिय पर्वतारोही आकर्षित हुने वातावरण भए पनि पर्यटन प्रवर्द्धनका नाममा गरिने मेला महोत्सवले खासै प्रभाव पार्न सकेका छैनन् । आवश्यक पूर्वाधार विकास, पदमार्ग सुधार, हिमाल आरोहण सहज बनाउन कानुनी प्रक्रिया सरलीकरण गर्न सके ताप्लेजुङलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिन्छ । नयाँ पिकहरूमा मानव पाइला पर्नु, पर्वतारोहण सम्भावनाको उजागर हुनु र पर्यटन गतिविधि बढ्नु सकारात्मक सङ्केत हुन् । सरकारी सहयोग र स्थानीय समुदायको संलग्नता बढाउन सकियो भने ताप्लेजुङ विश्वको महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्ने पर्यटन व्यवसायीको भनाइ छ ।

ताप्लेजुङका यी हिमालहरूको काखमा मानव पाइला पर्न थालेका छन् । पर्वतारोही, अनुसन्धानकर्ता र पर्यटकको चहलपहल बढ्दै गएको छ । अवलोकनका लागि मात्र नभई, नयाँ गन्तव्यका रूपमा यी हिमाली क्षेत्रलाई प्रचार गर्न थालिएको छ । स्थानीय पर्यटन प्रवर्द्धनका लागि नयाँ हिमालको पहिचान र आरोहण सम्भावनालाई उजागर गर्दै, ताप्लेजुङ अब साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ । हिमाली सौन्दर्य, संस्कृति र जैविक विविधताको सङ्गमका कारण यहाँको महत्त्व अझ बढ्दै गएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending