Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

त्रिविमा फेरि किचलो, शिक्षामन्त्री र गृहमन्त्रीबीच सवाल-जवाफ

त्रिवि पदाधिकारीलाई धम्की दिने कांग्रेस कार्यकर्ता योगेन्द्र रावल (रातो घेरामा) गृहमन्त्री रमेश लेखकसँग ।
खबरडबली संवाददाता

काठमाडौं । असुरक्षाको कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरू कार्यालय जान छाडेपछि बुधबार शिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक रूपमै गृहमन्त्रीसँग सुरक्षा प्रबन्धको माग गरेकी छन् । मन्त्रिपरिषद्कै सदस्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक सुरक्षा मागेको यो पहिलो घटना हो । 

केही दिनदेखि त्रिवि पदाधिकारीमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरिएका कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुक र एक्समा उल्लेख गरेकी छन् । 

‘त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु,’ शिक्षामन्त्री भट्टराईले लेखेकी छन्, ‘मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु ।’

त्रिविका रजिस्ट्रार केदार रिजालले गत शुक्रबार विश्वविद्यालय र पदाधिकारीको सुरक्षा प्रबन्ध मिलाइदिन शिक्षा मन्त्रालयलाई पत्राचार गरेका थिए । शिक्षामन्त्री भट्टराईले त्रिवि पदाधिकारीलाई धम्क्याउनेविरुद्ध कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेको बताएकी थिइन् । त्रिविको पत्रसमेत गृह मन्त्रालयमा पठाएको उनको भनाइ छ ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार शिक्षामन्त्री भट्टराईले त्रिविमा असुरक्षाको सरोकार राख्नासाथ गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरसहित कीर्तिपुर प्रहरी वृत्तका प्रहरी प्रमुख, त्रिवि प्रतिनिधि, स्ववियु सभापति, नेविसंघ इकाइ नेतृत्वलगायतसँग छुट्टाछुट्टै छलफल गरेका थिए । 

कीर्तिपुरको प्रहरी वृत्तमा सुरक्षा खतरा रहेको भन्ने कुनै उजुरी नपरेको र प्रहरी नेतृत्वले सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी सक्रियता बढाइसकेको अवस्थामा शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत सुरक्षाको प्रश्न उठाएको भन्दै गृहमन्त्री लेखक पनि असन्तुष्ट देखिएका छन् । यस सन्दर्भमा बुझ्न खोज्दा गृहमन्त्री लेखकले अहिले कुनै प्रतिक्रिया नदिने बताए ।

‘त्रिविभित्र कुनै असुरक्षा छैन । शिक्षामन्त्रीको सामाजिक सञ्जालको स्टाटस र भनाइप्रति मेरो अहिले कुनै पनि प्रतिक्रिया छैन,’ उनले भने । शिक्षामन्त्रीको सचिवालयले भने गृह मन्त्रालयले सुरक्षा प्रबन्ध मिलाउन चासो नदिएपछि सार्वजनिक अपिल गरिएको जनाएको छ । त्रिवि पदाधिकारीलाई धम्की दिने कांग्रेस कार्यकर्ता योगेन्द्र रावललगायतले गृहमन्त्रीसँगको तस्बिर सामाजिक सञ्जालमा राख्न थालेपछि शिक्षामन्त्री असन्तुष्ट बनेको उनको सचिवालयले जनाएको छ । 

‘आग्रह गर्दा पनि सुरक्षा प्रबन्ध नभएपछि सार्वजनिक रूपमै सर्वसाधारणको जानकारीका लागि पनि अपिल गरेकी हुँ,’ शिक्षामन्त्री भट्टराईले भनिन्, ‘त्रिविमा विगतदेखि नै सुरक्षाका विषयमा प्रश्न उठ्दै आएको छ । सधैंका लागि समस्या समाधान गर्न विगतदेखि नै पहल गर्दै आएकी छु ।’

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिका विषयमा रावल समूहले रेक्टर खड्ग केसीलाई धम्की दिएको पदाधिकारीहरूको गुनासो छ । धम्कीपछि पदाधिकारीको कार्यकक्षसहित घरमा समेत सुरक्षा प्रबन्ध मिलाइदिन त्रिविले शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । बुधबार प्रहरीको उपस्थितिमा रेक्टर र रजिस्ट्रार कीर्तिपुरस्थित कार्यालय पुगेका थिए । उनीहरू कार्यालय प्रवेश गर्नुअघि कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको थियो । ‘पहिले प्रहरी आए, त्यसपछि रेक्टर र रजिस्ट्रार आउनुभयो,’ एक कर्मचारीले भने, ‘मूल गेटमा १० जनाभन्दा बढी प्रहरी बसिरहेका छन् ।’

शिक्षा मन्त्रालयमार्फत सरकार र प्रहरी प्रमुख वसन्त कुँवरसँग कुरा गरेर कार्यालय जान थालेको पदाधिकारीहरूको भनाइ छ । रेक्टर केसी र रजिस्ट्रार रिजाल असुरक्षाको कारण देखाउँदै गत आइतबारदेखि कार्यालय गएका थिएनन् । उपकुलपति केशरजंग बराल डेंगी संक्रमण भएका कारण कार्यालय गएका छैनन् । काठमाडौं प्रहरी परिसरका प्रमुख वसन्त रजौरेले कीर्तिपुर प्रहरी वृत्तसहित परिसरबाट पनि डीएसपीको कमान्डमा प्रहरी खटाइएको बताए । 

‘त्रिविमा सुरक्षाको सबैखाले प्रबन्ध गरिएको छ,’ उनले भने । पदाधिकारीले भने अपरिचित मोबाइल नम्बरहरूबाट धम्कीपूर्ण फोन र मेसेज आइरहेको बताएका छन् । ‘कार्यकक्षमै सिध्याइदिन्छौं’ भनिएका मेसेज पठाइएको उनीहरूको भनाइ छ । राजनीतिक आस्थाभन्दा माथि उठेर विधिसम्मत प्रक्रियाबाट विभागीय प्रमुख नियुक्ति गर्न खोज्दा विवाद देखिएको रेक्टर केसीको भनाइ छ ।

रावलको सम्बन्ध सत्तारूढ दल र गृहमन्त्री लेखकसँग देखिएपछि पदाधिकारी त्रसित भएको त्रिविका प्राध्यापकहरू बताउँछन् । रावल उपप्राध्यापक प्रेम चलाउनेमाथि पाँच वर्षअघि भएको आक्रमणमा संलग्नमध्ये एक हुन् । उनको समूहले त्रिविमा त्यतिबेलैदेखि तालाबन्दी, तोडफोड, अवरोधलगायत गतिविधि गर्दै आएको छ । ‘एकातिर पदाधिकारीलाई धम्की दिने अर्कातिर गृहमन्त्री र नेताहरूसँग खिचिएका फोटो सामाजिक सञ्जालमा राख्ने गरेपछि सबै पक्ष सशंकित र त्रसित छन्,’ एक सहप्राध्यापकले भने ।

रावल समूहले सहप्राध्यापक टीकाराम गौतमलाई विभागीय प्रमुख नियुक्त गर्न दबाब दिँदै आएको हो । त्रिवि कार्यकारी परिषद्ले वरिष्ठताका आधारमा सह–प्राध्यापक पासाङ शेर्पालाई नियुक्त गर्ने तयारी गरेको छ । शेर्पालाई विभागीय प्रमुख बनाउन सुनियोजित रूपमा त्रिचन्द्र क्याम्पसबाट सरुवा गरेर ल्याइएको रावलको भनाइ छ । ‘धम्की कसैलाई दिएका छैनौं । विधि र प्रक्रियाअनुसार नियुक्ति गर्न खबरदारी मात्रै गरिएको हो,’ उनले भने । 

आफूविरुद्ध अदालतमा विचराधीन मुद्दा प्रभावित गर्न त्रिवि पदाधिकारीले शिक्षामन्त्रीलाई समेत दुरुपयोग गरेको उनले दाबी गरे । समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेलाई आक्रमण गरेको अभियोगमा रावलविरुद्ध चलेको मुद्दा उच्च अदालतमा विचाराधीन छ । काठमाडौं जिल्ला अदालतले रावलसहितलाई दुई वर्ष कैद, २८ लाख १७ हजार ५ सय ५३ रुपैयाँ उपचार खर्च र जनही २० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

रावल बाजुराका कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । बालकृष्ण खाण गृहमन्त्री भएका बेला सरकारले चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो तर पछि सर्वोच्च अदालतले फिर्ता नहुने आदेश दियो । नेविसंघका तर्फबाट हरि आचार्य र रावल समूहले त्रिविमा करिब ४ सय दिन तालाबन्दी गरेको थियो । गृह मन्त्रालयको असहयोगका कारण ताला खुलाउन नसकिएको गुनासो तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाले गर्थे । 

ताला खुलाउने विषयमा संसद्मै कुरा उठेपछि आचार्य अध्यक्ष र रावल सचिव रहेको समितिलाई नेविसंघको केन्द्रीय समितिले भंग गरेको थियो । केन्द्रीय अध्यक्ष दुजाङ शर्पाले तालाबन्दी खोल्न निर्देशन दिँदा पनि अटेरी गरेकाले उक्त समितिलाई अवैधानिक घोषणा गरिएको नेविसंघले जनाएको थियो । उपप्राध्यापक चलाउने कुटपिट प्रकरणपछि आचार्य विदेश पलायन भए ।

रावलले आफूअनुकूल निर्णय गराउन त्रिविका विभिन्न निकायमा प्राध्यापक र कर्मचारीलाई अनुचित दबाब दिने गरेको गुनासो पटक/पटक सुनिने गरेको छ । रावलसहित केही विद्यार्थीले समाजशास्त्र विभागमा प्राध्यापक बढुवासम्बन्धी विषयलाई लिएर त्रिवि सेवा आयोगमा सुनियोजित तालाबन्दी गरेर अन्तर्वार्ता रोक्दै आएको थियो । गत असारमा तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले सुरक्षा व्यवस्था मिलाएपछि प्रहरी घेरामा अन्तर्वार्ता गरिएको थियो । संसद्मा बोल्दै तत्कालीन मन्त्री श्रेष्ठले विश्वविद्यालयमा ‘गुन्डागर्दी र दलीय भागबन्डा’ सधैंका लागि अन्त्य गर्ने घोषणा गरेकी थिइन् । 

‘जब अन्तर्वार्ताको मिति तोकिन्थ्यो, तब केही युवाले अनेक माग राखी तालाबन्दी गर्थे,’ सेवा आयोगका एक कर्मचारीले भने । प्राध्यापक बढुवामा विभागका सहप्रध्यापक युवराज लुइँटेल र गौतम मुख्य प्रतिस्पर्धी थिए । तर ज्येष्ठता र वरिष्ठताका आधारमा लुइँटेल बढुवा हुने निश्चित भएपछि २०७७ फागुनदेखि अन्तर्वार्ता रोकिएको थियो । गत असारमा सञ्चालित अन्तर्वार्ताको अनुगमन गर्न तत्कालीन शिक्षामन्त्री श्रेष्ठ आफैं प्रहरी घेरामा विश्वविद्यालय पुगेकी थिइन् ।

विभागीय प्रमुख लुइँटेलको कार्यकाल शुक्रबार सकिएपछि समाजशास्त्र विभागले पहिलो नम्बरमा शेर्पा, दोस्रोमा गौतम र तेस्रोमा मनहरि ढकाललाई सिफारिस गरेको थियो । उनीहरू सहप्राध्यापक हुन् । मानविकी तथा सामाजिक शास्त्र डिन कार्यालयले भने एक नम्बरमा गौतम र दोस्रोमा शेर्पाको नाम सिफारिस गरेको छ । रजिस्ट्रार केसीले सिफारिस सच्याउन डिन शाक्यलाई निर्देशन दिएपछि रावल पक्षले ‘जे पनि हुन सक्ने’ भन्दै धम्की दिएको स्रोतले जनाएको छ ।

विभागको सिफारिसलाई डिन कार्यालयले फेरबदल गरेपछि नियुक्तिसम्बन्धी विवाद सुरु भएको त्रिवि कार्यकारी परिषद्ले जनाएको छ । रावल समूहले गौतमलाई नै नियुक्त गर्न जोडबल गरेको कार्यकारी परिषद्का एक सदस्यले बताए । डिन कुसुम शाक्य कांग्रेस कोटाबाट नियुक्त कुसुम शाक्यले वरिष्ठता मिचेर एक नम्बरमा गौतमको नाम पठाएको ती सदस्यको भनाइ छ ।

तत्कालीन उपकुलपति बाँस्कोटाले कार्यविधि जारी गरेर वरिष्ठताका आधारमा समाज शास्त्र विभागको प्रमुखमा लुइँटेललाई नियुक्ति गर्दासमेत सोही समूहले तालाबन्दी गरेको थियो । ४५ दिनभन्दा लामो तालाबन्दीको विरोध गर्दा चलाउने आक्रमणमा परेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending