Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

ओली–देउवा सहकार्य कति सहज  ?

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस र माओवादीको गठबन्धन भत्काउन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बारम्बार ‘अफर’ गरेका एमाले अध्यक्ष केपी शर्मा ओली तिनै देउवाको प्रस्तावमा प्रधानमन्त्री बनेर तीन वर्षपछि सिंहदरबारमा पुनरागमन गरेका छन् । 

माओवादीसँगको सत्ता गठबन्धनको बेला देउवालाई ओलीले बारम्बार प्रधानमन्त्रीको अफर गरेका थिए । देउवाले त्यसलाई अस्वीकार मात्रै गरेनन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शंका नहोस् भनेर ओलीसँग अनौपचारिक भेटघाटसमेत बन्द गरे । तर माओवादीले गत फागुन २१ मा एकाएक गठबन्धनको काँध फेरेपछि भने देउवाले दाहाललाई ‘धोकेबाज’ को संज्ञा दिए । त्यसपछि उनले नै कांग्रेस–एमाले गठबन्धनको बीजारोपण ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट गरेका थिए ।

माओवादी–एमाले सत्ता समीकरण बनेको एक महिना अर्थात् चैत २८ देखि नयाँ समीकरणका लागि देउवा–ओलीबीच शृंखलाबद्ध संवाद सुरु भएको थियो । त्यही संवादले असार १७ मा दुई ठूला प्रतिस्पर्धी दललाई एकठाउँमा ल्याउने वातावरण बनायो ।

देउवा र ओली सम्बन्धको ‘रसायन’ गज्जबकै छ । पहिलोपल्ट ०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा ओलीको कदमलाई देउवाले खासै विरोध गरेनन् । तर, पार्टीभित्रको अन्तर्विरोधका कारण देउवाले चुनावमा जाने निर्णय गराउन सकेनन् । दोस्रो पटक ०७८ जेठ ८ को विघटनले त उनलाई प्रधानमन्त्री पद नै आइलाग्यो ।

प्रधानमन्त्रीमा ओली हुन् वा देउवा, बाहिर छँदा चर्को आलोचनामा उत्रिए पनि दुवैको प्रधानमन्त्री कालमा संवैधानिक निकायहरूको नियुक्ति आपसी भागबन्डामा हुने गरेको विगत छ । प्रतिनिधिसभा विघटनका बेलामा ओलीले आफू अनुकूल अध्यादेश जारी गरेर संसदीय सुनुवाइबिनै ५२ संवैधानिक पदाधिकारीको नियुक्ति गर्दासमेत देउवाले ‘भाग’ खोजेर मौन बसेको आरोप लागेको थियो ।

राजनीतिक विश्लेषक एवं पूर्वप्रशासक भोजराज पोखरेल विगतमा मुलुक अप्ठ्यारोमा परेका बेला दुई ठूला दल मिलेर सरकार चलाउने गरेकाले अहिलेको समीकरणलाई धेरै अनौठो रूपमा लिन नहुने बताउँछन् । 

उनले भने जस्तै ०४६ सालको जनआन्दोलनपछि बनेको राष्ट्रिय संयुक्त सरकारमा पनि कांग्रेस र एमाले दुवै सहभागी थिए । त्यसपछि ०५६ सालको आम निर्वाचनताका, ०६२/०६३ को जनआन्दोलनपछि र संविधासभाका दुवै कार्यकालमा यी दुई दलबीच सत्ता साझेदारी भएको थियो ।

कांग्रेस र एमालेबीच अहिले बनेको समीकरणले केही आशा जगाए पनि धेरै अपेक्षा पूरा हुन नसक्ने सरकार गठनको पहिलो दिनले नै संकेत गरेको पोखरेलको भनाइ छ । मुलुकको अर्थ व्यवस्था कमजोर भएको, लगानीकर्ताहरू हतोत्साही र आम नागरिकमा निराशा बढिरहेका बेला नागरिकले हेर्न नचाहेका केही अनुहार पनि मन्त्रिपरिषद्मा समावेश भएकाले उनीहरूबाट परिणाम निकाल्ने अपेक्षा पूरा नहुने आशंका उब्जेको उनले बताए ।

‘भ्रष्टाचार र अनियमितताका ठूला फाइल खुलेपछि रातारात नयाँ गठबन्धन बनेको भनेर आरोप लागिरहेको छ, त्यसलाई चिरेर अघि बढ्न सक्ने प्रतिबद्धता पहिलो दिनमै हुन सक्नुपर्थ्यो,’ पोखरेलले भने, ‘पात्रहरू परिवर्तन हुँदैमा प्रवृत्ति यथावत् रहँदैन भन्ने ग्यारेन्टी कसले गर्छ ? यो समीकरणमा जस्तो खालको कम्पोजिसन छ, त्यसबाट संविधान संशोधन हुन जटिल छ । संविधानले प्रस्टता खोजेको छ । सुशासनमा प्रतिबद्धता खोजिएको छ । प्रवृत्तिमा परिवर्तन भएको छनक अब कामले देखाउनुपर्छ । बोलेर हुँदैन ।’

दुई दलको समीकरण बनेदेखि यसको भविष्यमाथि प्रश्न पनि उठ्न थालेका छन् । ओली र देउवाबीच सत्ता र शक्तिको बुझाइ साझा भएकाले ओलीका लागि कांग्रेससँगको समीकरण ‘कम्फर्टेबल’ हुने वाम विश्लेषक झलक सुवेदीको भनाइ छ । उनका अनुसार देउवा र ओलीलाई सन्तुलनमा राख्ने काम सत्ता बाहिर पुगेको ३२ सिट संख्याको माओवादीको हुनेछ । खासगरी शक्तिप्रति ओलीको उच्च महत्त्वाकांक्षालाई बाहिर रहेको माओवादीको शक्तिले नियन्त्रण गर्ने बुझाइ उनको छ ।

‘माओवादी बाहिर बस्नु नै ओलीका लागि दबाब हो । कांग्रेस र माओवादी कुनै पनि बेला मिल्न सक्ने तरबारको धारमा रहेकाले पनि ओली पहिला जस्तो नभएर संयम बन्न सक्ने स्थिति छ,’ सुवेदी भन्छन्, ‘यसको संकेतका रूपमा पार्टीभित्रै पनि आफूसँग दूरीमा रहेका, भूमिका कम पाइरहेका पृथ्वी सुब्बा गुरुङ र विष्णु पौडेललाई मन्त्री बनाएर सम्झौताको बाटोमा हिँड्न खोजेको संकेत ओलीले दिएका छन् ।’

कांग्रेसका कतिपय नेताहरू यसअघि ओलीले राज्यसत्ताका सबै शक्ति आफूकेन्द्रित गरेर चलाएको र यस पटक पनि त्यही प्रवृत्ति पुनरावृत्ति हुने हो कि भन्ने आशंका गर्छन् । ०७४ को निर्वाचनपछि ओली दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री बनेका थिए । त्यतिबेला ओलीले सरकारको कार्यविभाजन नियमावली संशोधन गरेर राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभाग, महान्यायाधिवक्ताको कार्यालय, योजना आयोग, राष्ट्रिय विकास परिषद्, तथ्यांक विभाग, लगानी बोर्ड, राष्ट्रिय सतर्कता केन्द्र, संवैधानिक परिषद्को सचिवालय, गरिबी निवारण कोषलगायत दर्जनौं निकाय र विभागहरू आफू मातहत ल्याएका थिए ।

विश्लेषक पोखरेल दुवै दलले आपसी अस्तित्व, मर्म र शक्तिलाई स्वीकार गरेर अघि बढ्न सक्दा मात्रै राम्रो हुने बताउँछन् । दुई दलबीच अलिकति तलमाथि हुनासाथ गठबन्धनको भविष्यमाथि फेरि प्रश्न उठ्न सक्ने उनले बताए । ‘हिजो साना दललाई समेटेर बनाएको जस्तो यो सरकारलाई सामान्य तरिकाले हेर्ने छुट छैन । यो समीकरण असफल हुनु भनेको दुवै दलका नेतृत्व असफल मात्रै हुने छैनन्, प्रणालीलाई नै चुनौती थपिन्छ,’ पोखरेल भन्छन् ।

विश्लेषक सुवेदी संविधान संशोधनको विषय दुई दलका लागि चुनौतीपूर्ण हुने बताउँछन् । कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण सरकार मात्रै नभएर संविधान संशोधनको एजेन्डालाई समेत केन्द्रमा राखेर गरेको बताएका छन् । खासगरी अहिलेको निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने मुद्दा दुवै दलको आन्तरिक बैठकमा उठ्दै आएको छ । जनप्रतिनिधिको संख्या घटाउने, प्रदेशलाई चुस्त बनाउने, संवैधानिक आयोगहरूमा पुनर्विचार गर्नुपर्नेलगायत एजेन्डामा बहसपैरवी भइरहेका छन् ।

संविधानका त्रुटि र परिमार्जनका विषय पहिल्याएर सुझाव दिन दुवै दलले आयोग बनाउन सकिनेसम्मको छलफल गरेका छन् । तर, प्रतिनिधिसभामा दुई तिहाइको सरकार बने पनि राष्ट्रिय सभामा सत्तारूढ दलको दुई तिहाइ नपुग्ने हुँदा अहिलेकै ‘कम्पोजिसन’ मा संविधान संशोधनका विषय अघि बढ्न चुनौतीपूर्ण हुने विश्लेषक सुवेदीको तर्क छ ।

संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा दुई दलका नेताबीच विवाद नभए पनि चीनको महत्त्वाकांक्षी बीआरआई परियोजना कार्यान्वयनको पाटोमा मतान्तर हुन सक्ने सुवेदी बताउँछन् । 

‘त्यसबाहेक स्रोतमाथि नियन्त्रण र नियुक्तिका विषयमा अलिअलि प्रश्नहरू आउन सक्छन् । नत्र प्रधानमन्त्री ओलीका लागि यो समीकरण कर्म्फटेबल नै छ । अहिले आर्थिक शिथिलिता हटाउने, ठूला घरानीय, स्वार्थ केन्द्र र बिचौलियाबाट अर्थतन्त्रलाई जोगाएर अघि बढाउने सवालमा दुई दलबीच कुनै प्रतिकूल स्थिति छैन,’ उनले भने ।

समझदारीअनुसार सत्ता हस्तान्तरणको विषयले भने दुई नेताबीच शंकाको बीजारोपण गर्न सक्छ । ओलीले विगतमा समझदारीअनुसार सत्ता नछाडेका कारण पनि यो विषयले दुई नेताबीच ‘दरार’ ल्याउन सक्ने नेताहरूको आंशका छ । तर, नवनियुक्त गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक भने दुई वर्ष ओलीले र डेढ वर्ष देउवाले सरकारको आलोपालो नेतृत्व लिने सहमति भएकाले सत्ता हस्तान्तरणमा कुनै शंका नरहेको बताउँछन् ।

‘शेरबहादुरजीले प्रधानमन्त्री पाउनुहुन्छ वा हुँदैन, कुनै ग्यारेन्टी छैन । तर उहाँले प्रधानमन्त्री लिन आफ्नो निजी स्वार्थबाहेक सबै विषयमा सम्झौता गरिदिनसक्नुहुन्छ । धितोपत्र बोर्डको अध्यक्षदेखि राजदूत र संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिमा दुई जनाबीच कुनै समस्या हुने देखिँदैन । भागबन्डा हिजो पनि भएकै हुन् । आज पनि हुन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘तर प्रधानमन्त्री ओली विगतको कार्यशैली र प्रवृत्तिमा कति सुधार गर्नुहुन्छ, शक्तिको दम्भ देखाउनुहुन्छ कि हुन्न भन्ने नै मुख्य कुरा हो । त्यसमा नै यो गठबन्धनको भविष्य निर्धारण हुन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending