Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

देउवा नरिसाउँदा आरजुलाई चिन्ता, देउवाको स्वभावबारे आरजुलाई १०१ प्रश्न

\"Sherwithaarju\"कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा सकेसम्म मिडियाबाट टाढै बस्न रुचाउाछन् । उनका आनीबानी र स्वभावबारे धेरै अनुमान हुन्छन्, तथ्य कम आउाछन् । उनलाई सबैभन्दा नजिकबाट चिनेकी पत्नी आरजु देउवाले पतिको स्वभाव र बानीबारे नयाा पत्रिकाका खगेन्द्र पन्तका १०१ प्रश्नको जवाफ दिएकी छिन् : उठ्ने र सुत्ने १) बिहान कति बजे उठ्नुहुन्छ ? प्राय: सात/साढे सात बजेसम्म उठिसक्नुुहुन्छ । २) चिया/कफी के रुचाउनुहुन्छ ? उहाँले लिने ग्रिन टी हो । ३) एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ? त्यसमा उहाँ एकदमै अल्छी हो, केही गर्नुहुन्न । म कति कराउँछु, तर पनि कहिल्यै एक्सरसाइज गर्नुहुन्न । ४) योगामा पनि रुचि छैन त्यसो भए ? फिटिक्कै छैन । तर, जिन नै त्यस्तो हो कि पहाडको पानी हो, एकदम फिट हुनुहुन्छ । खानामा भने धेरै कन्ट्रोल छ । जे पायो त्यही खानुहुन्न । गुलियो त छुँदै छुनुहुन्न । ५) राति कतिखेर सुत्नुहुन्छ ? सामान्यतया हामी साढे नौ बजेभित्र खाना खाइसक्छौँ । ढिलोमा ११ बजे निदाइसक्नुहुन्छ । ६) घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ? गर्मी मौसममा कुर्ता–पाइजामा लगाउनुहुन्छ । जाडोमा ट्रयाक सुट मन पराउनुहुन्छ । सञ्चारमाध्यम र समाचार ७) पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने कत्तिको गर्नुहुन्छ ? पढ्नुहुन्छ । बिहानको समयमा पत्रपत्रिका पढ्ने, टेलिभिजन र एफएममा समाचार हेर्ने/सुन्ने गर्नुहुन्छ । साँझ र राति पनि टेलिभिजनमा समाचार हेर्नुहुन्छ । ८) आफ्नोबारेमा आएका समाचारबारे कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? सामान्य प्रतिक्रिया । साँचो समाचार छ भने केही भन्नुहुन्न । अलि बंग्याएर नभएको कुरा आएको रहेछ भने ‘झुटो लेख्यो’ भन्नुहुन्छ । ९) पत्रपत्रिकाका समाचारबारे अरू कसैले पनि ब्रिफिङ गरिदिन्छन् कि ? होइन । उहाँ आफँै पढ्नुहुन्छ । १०) उहाँ मिडियाबाट सकभर टाढै बस्न चाहेको देखिन्छ । किन ? हो, सकभर मिडियामा आउन चाहनुहुन्न । मैले उहाँलाई धेरैपटक ‘अहिलेको आधुनिक जमानामा यति रिजर्भ बस्नुहुन्न’ भनेर भन्ने पनि गरेकी छु । तर, उहाँको त्यसबारे आफ्नै धारणा छ । ‘राजनीतिमा दिनदिनै परिस्थिति बदलिइरहेको हुन्छ, आज बोलेका कुरा भोलि खण्डन गर्ने गरी बोल्नुहुन्न, पटक–पटक प्रधानमन्त्री भइसकेको मान्छेले हल्का स्टेटमेन्ट दिनुहुन्न’ भन्ने उहाँको कुरा छ । त्यो ठिकै पनि हो । अहिले हाम्रा केही नेताहरूले बिहान रातो भनिरहेका हुन्छन्, बेलुका त्यसैलाई नीलो भन्छन् । त्यसरी बोल्नुहुन्न भन्ने उहाँको धारणा छ । त्यो ठिकै पनि हो । खाना र खाजा ११) खाजामा के लिन रुचाउनुहुन्छ ? उहाँ खाजा नै लिनुहुन्न । मैले एकदमै कराउन थालेपछि बिहान चिया लिँदा उसिनेको अन्डा खानुहुन्छ । त्यत्ति हो । त्यसपछि दिउँसो खाजा खानुहुन्न । १२) खानामा के मन पराउनुहुन्छ ? दिउँसो शाकाहारी खाना मात्रै खानुहुन्छ । राति भने भेजिटेबल र मासु खानुहुन्छ । १३) घरमा खाना कसले बनाउँछ ? तपाईं कति भ्याउनुहुन्छ ? मैले त कतिवेला भ्याउनु ? १४) उहाँलाई मन परेको खाना तपार्इंले कहिल्यै बनाइदिनुहुन्छ कि हुन्न ? मैले बनाएको त मनै पर्दैन उहाँलाई । १५) खानामा कमेन्ट गर्ने बानी कति छ ? अहँ । गर्नुहुन्न । खानामा चिल्लो, पिरो र नुन नभएको खोज्नुहुन्छ । एकदम साधारण खाना मन पराउनुहुन्छ । चिल्लो, पिरो छ भनेचाहिँ गाली खाइन्छ । कुकिङ र किचेन १६) कहिलेकाहीँ किचेनमा पस्नुहुन्छ कि पस्नुहुन्न ? कहिल्यै पस्नुहुन्न । हामी बूढानीलकण्ठको आफ्नो घरमा बस्न थालेको १५ वर्ष भयो । यो अवधिमा उहाँ दुई वा तीनपटक मात्रै किचेनमा पस्नुभएको छ होला । १७) उहाँलाई खानेकुरा पकाउन आउँछ कि आउँदैन ? किचेनमै पस्नुहुन्न, कसरी पकाउनु ? पकाउने फुर्सद पनि कहाँबाट होस् । १८) उहाँले केही पकाएर खुवाएको थाहा छ ? एकपटक उहाँले मटन पकाएर मलाई र छोरालाई खुवाउनुभएको छ । साह्रै मीठो थियो । १९) मटन मीठो पकाउनुहुन्छ, कहिल्यै पकाएर खुवाउन आग्रह गर्नुभएको छैन ? मलाई नै फुर्सद हुँदैन, उहाँलाई कसरी भन्नु ? उहाँलाई पनि पकाउनमा रुचि छैन । २०) चिया/कफी पनि बनाउनुभएको छैन उहाँले ? अहँ, मलाई थाहा छैन । फिल्म/गीत–संगीतप्रतिको रुचि २१) फिल्म हेर्न रुचाउनुहुन्छ कि रुचाउनुहुन्न ? त्यति धेरै रुचाउनुहुन्न । घरमै कहिलेकाहीँ टेलिभिजनमा भने हेर्नुहुन्छ । तर, ब्रेक आएर हैरान पार्छ । अनि, हेर्न छाडिदिनुहुन्छ । २२) अंग्रेजी, हिन्दी, नेपाली कस्ता फिल्म हेर्न रुचाउनुहुन्छ ? हिन्दी, इंगलिस फिल्न हेर्नुहुन्छ । २३) बूढाबूढी भएर हलमै गएर फिल्म हेर्नुभएको छ ? नेपालमा त कहिल्यै जानुभएको छैन । उहिले एकपटक थाइल्यान्डमा हुँदाचाहिँ मैले हलमा लिएर गएकी थिएँ । छोरा सानो थियो, मेरोभन्दा पनि छोराका लागि जानुभयो । दुईजनाले हलमा गएर सँगै फिल्म हेरेको त्यो मात्रै हो । २४) उहाँले टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ? कहिलेकाहीँ हेर्नुहुन्छ । तर, त्यस्तो हेर्ने होइन । २५) गीत–संगीतमा कत्तिको रुचि छ ? ए कुरै नगर्नुस् । गीत–संगीतप्रति उहाँको रुचि त जिरो हो, फिटिक्कै सुन्नुहुन्न । २६) उहाँले गीत सुनेको तपाईंलाई थाहा नै छैन ? छैन । सुन्नु नै हुन्न, कहाँबाट थाहा हुन्छ । रेस्टुरेन्टमा खाना/खाजा २७) तपाईंलाई खाना खान रेस्टुरेन्ट कत्तिको लैजानुहुन्छ ? बाहिर खाना खान भने वेला–वेलामा लैजानुहुन्छ । म खानाको सौखिन छु भन्ने थाहा भएर पनि होला, उहाँ बाहिर भएको वेला पनि ‘कहाँ छस्, आइजा’ भनेर पनि बोलाउने गर्नुहुन्छ । २८) दुईजना बाहिर खाना/खाजा खान जान कस्तो ठाउँ रुचाउनुहुन्छ ? धेरै होहल्ला नहुने शान्त ठाउँ उहाँलाई मन पर्छ । प्राय: उहाँले रुचाउने अन्नुपूर्ण होटेल हो । २९) रेस्टुरेन्टहरूतिर खाँदा के रुचाउनुहुन्छ ? उहाँले प्राय: खाने रोस्टेड र ग्रिल्ड मासु नै हो । चिल्लो, पिरो खानुहुन्न । छोरासागको सम्बन्ध ३०) दुवैजना व्यस्त हुनुहुन्छ, छोराका लागि कसरी समय म्यानेज गर्नुहुन्छ ? व्यस्त त छौँ । २० वर्षको भयो छोरा । हाम्रो व्यस्तता उसले सानैदेखि बुझेको छ । तर पनि, समय निकाल्छौँ । ३१) उहाँले छोरासँग कस्तो कुरा गर्नुहुन्छ ? छोरासँग गर्न सकिने सबै खालको कुरा गर्नुहुन्छ । ३२) बाउ–छोरा कति खुुलेर कुरा गर्नुहुन्छ ? एकदमै फ्रेन्क भएर कुरा गर्नुहुन्छ । अस्ति भर्खर मात्रै उहाँले छोरालाई ‘अब तेरो बिहे गरिदिन्छु’ भन्दै हुनुहुन्थ्यो । ३३) त्यसमा छोराको जवाफ कस्तो आयो त ? बिचरा के भन्थ्यो । ‘अहिले कहाँ बिहे गर्छु म, गर्दिनँ’ भन्दैथ्यो । फेरि उहाँले ‘मलाई नातिनातिनाको सोख लाग्यो, त्यसैले गर्नुपर्‍यो’ भन्नुभयो । ३४) अनि के भन्यो त छोराले ? ठिकै छ नातिनातिना नै चाहिएको भए बिहे नगरीकनै दिन्छु भन्यो । एकछिन हाँसो भयो । ३५) बाउ–छोराबीच राजनीतिक गफगाफ कति हुन्छ ? हुन्छ । तर धेरै हुँदैन । छोरो पोलिटिकल साइन्स नै पढिरहेको छ, तर नेपालको राजनीतिबारे उसलाई धेरै थाहा छैन । पोलिटिकल थटमा धेरै रुचि छ, बुझ्न खोज्छ । राजनीतिक विषयमै कहिलेकाहीँ बाउ–छोराबीच डिस्कस पनि भइरहेको हुन्छ । ३६) छोरा बुबासँग धेरै घुलमिल हुन्छ कि तपार्इंसँग ? स्वाभाविक रूपमै मसँग धेरै घुलमिल हुन्छ । विदेश घुमघाम ३७) विदेश भ्रमणमा जाँदा तपाईंलाई पनि सँगै लैजान कत्तिको रुचाउनुहुन्छ ? विदेश जाँदा उहाँलाई एकजना सहयोगी चाहिन्छ । प्राय: मलाई सँगै लैजानुहुन्छ । कहिलेकाहीँ मैले उहाँको भाषण पनि सम्पादन गरिदिन्छु । म विदेश जाँदा भने उहाँ जाने कम हुन्छ । ३८) अहिलेसम्म कति देश सँगै जानुभयो ? गइयो होला, ८/१० देश । चीन, भारत, सिंगापुर, स्विट्जरल्यान्ड, अमेरिका, पाकिस्तान, ग्रिस, कोरिया, बेल्जियमलगायतका देश सँगै गएका छौँ । ३९) विदेशमा घुमघाम, रमाइलो कत्तिको हुन्छ ? रमाइलो हुन्छ । तर, विदेशमा पनि उहाँका साथी, पार्टीका कार्यकर्ताको भीड नै हुन्छ । उहाँहरूका कुरा सुन्न रुचाउनुहुन्छ, त्यसमा पनि युवा साथीहरूको । फेरि पनि रमाइलो नै हुन्छ । ४०) सँगै विदेश जाँदा एकदम रमाइलो गरेको/भएको सम्झना कहाँको छ ? उहाँ सोसलिस्ट इन्टरनेसनलको भाइस प्ेरसिडेन्ट पनि हुनुहुन्छ । त्यसको कार्यक्रममा एकपटक ग्रिस गएका थियौँ । त्यहाँ धेरै रमाइलो भयो । साह्रै आनन्द आयो । लुगाको रहर ४१) उहाँ आफूले लगाउने लुगामा कति सचेत हुनुहुन्छ ? एकदम सचेत हुनुहुन्छ । चिटिक्क पर्नुहुन्छ । लुगामा सौखिन पनि हुनुहुन्छ । ४२) कस्तो लुगा धेरै रुचाउनुहुन्छ ? आफू सहभागी हुने कार्यक्रम हेरेर लुगा लगाउनुहुन्छ । दौरा–सुरुवाल, सुट–पाइन्टमा रुचि छ । ४३) लुगा किनमेल आफैँ गर्नुहुन्छ कि तपाईंले गरिदिनुहुन्छ ? मैले किनेको त उहाँले मनै पराउनुहुन्न । आफँै किन्नुहुन्छ । जस्तो पायो त्यस्तै लुगा लगाउनुहुन्न । क्वालिटी राम्रो चाहिन्छ । ४४) लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ? उहाँलाई आउँदैन, कहिले लगाउनुभएको पनि छैन । ४५) उहाँको लुगामा तपाईंले आइरन कत्तिको गरिदिनुहुन्छ ? म पनि त्यति भ्याउँदिनँ । तर, कहिलेकाहीँ गरिदिने गर्छु । घरको आर्थिक व्यवस्थापन ४६) उहाँले आफ्नो तलब तपार्इंलाई दिनुहुन्छ कि दिनुहुन्न ? अघिल्लो वर्षसम्म उहाँले कति कमाउनुभयो, कहाँ हाल्नुभयो मलाई केही थाहा छैन । मलाई कहिल्यै दिनुभएन, मैले कहिल्यै देखिनँ । तर, यो वर्ष सभासद्बापत आउने उहाँको तलबभत्ता मैले लगेर बैंकमा राखिदिएकी छु । उहाँको पैसा जोगाइदिएकी छु । ४७) तपाईंसँग पैसा माग्नुहुन्छ कि हुन्न ? कहिले–कहिले माग्नुहुन्छ । सकभर आफ्नो खर्च आफँै जुटाउनुहुन्छ । ४८) उहाँलाई पैसा दिँदा तपाईंले बिर्सन नसकेको घटना ? पहिला म कन्सलट्यान्टको पनि काम गर्थेँ । राजनीतिकर्मीको पूरै व्यवहार, चरित्र, बुझिसकेको पनि थिएन । एकपटक तीन/चार दिन काम गरेको ३६ हजार बुझेर घर फर्केकी थिएँ । घर पुग्दा उहाँ एकजना मैले नचिनेको व्यक्तिसँगै बसिरहनुभएको थियो । म पुग्नेबित्तिकै उहाँले ‘म त तिमीलाई नै कुरेर बसेको, पैसा कति छ ल्याऊ त, उहाँ (त्यो व्यक्तिलाई देखाउँदै)को श्रीमतीको भोलि अप्रेसन रहेछ, पैसा चाहियो’ भन्नुभयो । मैले एकछिन अघि बुझेको पूरै पैसा ती व्यक्तिलाई दिएँ । एकछिन रिस पनि उठ्यो, त्यो पैसाले के–के गर्छु भनेर सोचेर आएकी थिएँ । राजनीतिज्ञकी श्रीमती भएपछि यी सबै व्यहोर्नुपर्छ भन्ने बुझेँ । त्यो घटना म कहिल्यै बिर्सिन्नँ । ४९) पैसाको बारेमा दुईजनाबीच कहिले झगडा भएको छ कि छैन ? कहिलेकाहीँ पर्छ । पैसा नसकिन्जेल त पर्दैन । जब सकिन्छ अनि झगडा पर्छ । ५०) पैसाकै बारेमा परेको झगडा जुन तपार्इं बिर्सिनुहुन्न ? संकटकालको वेला हो । त्यतिवेला घरमा बस्नेको संख्या २४/२५ पुगेको थियो । कैलाली, कञ्चनपुरतिर बस्न सक्ने अवस्था थिएन । भतिजा, भतिजी, ससुरालगायत सबै यतै आउनुभएको थियो । त्यति मान्छेका लागि दिनमा दुई/दुईपटक खाना बनाउँदा ग्यास चाँडै सकिनु स्वाभाविक थियो । एकपटक मलाई दिक्क लागेर ‘यत्तिका मान्छे हुँदा म घर चलाउन सक्दिनँ, तपाईं आफँै चलाइबक्स्यो’ भनेँ । ‘ल ल, म आफैँ चलाउँछु’ भन्नुभयो । भन्नु पो भयो, के चलाउनुहुन्थ्यो र ? त्यही वेला ग्यास सकियो । मैले ‘ग्यास ल्याउनुपर्‍यो, पैसा चाहियो’ भनेँ । उहाँले ‘अहिले छैन, भोलि–पर्सि ल्याउँला’ भन्नुभयो । म पनि ‘खाना त आज खानुपर्छ होला नि’ भनेर कराएँ । रिसाउने र खुसी हुने ५१) रिसाउने कत्तिको गर्नुहुन्छ ? ए कुरै नगर्नुस् । उठेदेखि रिसाउनुहुन्छ । धेरै रिसाउनुहुन्छ, गाली पनि गर्ने । ५२) कस्ता कुरामा धेरै रिसाउनुहुन्छ ? जस्ता कुरा भए पनि रिसाउने । तर, अब त्यो बानी नै भइसक्यो । उहाँसँग बस्ने सबैलाई थाहा छ, उहाँको बानी । ५३) उहाँ रिसाउँदा तपाईंलाई कत्तिको रिस उठ्छ ? उहाँको रिसाउने बानी नै हो । मलाई पनि त्यो बानी परिसक्यो । ५४) त्यसो भए त उहाँ नरिसाएको दिन नराम्रो लाग्दो हो है ? (हाँस्दै) हो । रिसाउनुभएन भने ‘उहाँलाई आज के भयो’ भनेर चिन्ता लाग्छ । ५५) अरूको रिस घरमा कत्तिको ‘रिफ्ल्याक्ट’ गर्नुहुन्छ ? त्यस्तो त गर्नुहुन्न । त्यसमा हामीले एउटा नियम बनाएका छौँ, अरूलाई पनि गर्न भन्छु म । घरभित्र पसिसकेपछि, बेडरुममा, टिभी हेर्दा बाहिरका कुरा कहिल्यै हामीभित्र आउँदैनन् । घरभित्र पनि टेन्सन हाल्यो भने कहिले फ्री हुने ? परिवारको कुरा कहिले गर्ने ? मलाई धेरै मान्छेले उहाँलाई ‘यस्तो भनिदिनुपर्‍यो, उस्तो भनिदिनुपर्‍यो’ भनिराखेका हुन्छन् । तर, उहाँ दिनभरि थाकेर आएको वेला म ती कुरा कहिल्यै पनि भन्दिनँ । उहाँले पनि भन्नुहुन्न । ५६) तपार्इं रिसाएपछि त फकाउनुहुन्छ होला नि ? म रिसाएर तीन/चार दिन नबोल्दा पनि उहाँलाई थाहै हुँदैन । थाहा पाए पनि ‘कस्तो कानमा आनन्द भयो’ भनेर बस्नुहुन्छ । ५७) भनेपछि तपार्इं आफैँ बोल्नुुहुन्छ ? हो । रिस मर्दै गएपछि म आफँै बोल्न जान्छु । ५८) रिसाउँदा के भनेर फकाउनुहुन्छ एक–अर्कालाई ? उहाँलाई त एकछिन झनक्क रिस उठ्छ, एकछिन पछि शान्त भइहाल्छ । मलाई हो, धेरै रिस उठ्यो भने बोल्नै बन्द गर्ने । तर, तीन/चार दिन रिसाउँदा पनि उहाँले पत्तै पाउनुहुन्न । अनि, के गर्नु ? रिस हराउँदै जान्छ । घरमा दुईजना मात्रै छौँ, अनि आफैँ बोल्छु । ५९) पछिल्लोपटक तपाईंहरूबीच कहिले झगडा भयो ? अस्ति भर्खर मात्रै । भुइँचालो गएको वेला धेरै ठाकठुक परिरह्यो । ६०) के विषयमा नि ? भुइँचालोले सबैतिर त्यस्तो भएको थियो । सबैमा तनाव थियो । स–साना कुराहरूमा पनि ठाकठुक पथ्र्यो । ६१) रिसले वा मायाले तपार्इंलाई कहिल्यै पिट्नुभएको छ ? अहँ । त्योचाहिँ गर्नुभएको छैन । महिलाप्रति उहाँको एकदमै सम्मान छ । कहिल्यै हात उठाउनुभएको छैन । ममाथि मात्रै होइन, छोरा र काम गर्नेमाथि पनि कहिल्यै हात उठाउनुभएको छैन । ६२) माया गरेर उहाँले तपार्इंलाई के भनेर बोलाउनुहुन्छ ? त्यस्तो छुट्टै नाम छैन । ‘ए आरजु’ भनेर बोलाउनुहुन्छ । ६३) अनि तपार्इंले के भनेर सम्बोधन गर्नुहुन्छ ? (हाँस्दै) मैले ‘माई हजबेन्ड’ भन्छु । त्यस्तो छुट्टै केही भन्दिनँ । दु:खी र खुसी ६४) कस्ता कुरामा धेरै खुसी हुनुहुन्छ ? जोकहरू सुन्दा एकदम रमाइलो मान्नुहुन्छ । ६५) तपार्इंले उहाँलाई जोकहरू कति सुनाउनुहुन्छ ? सुनाउँछु वेला–वेलामा । कसैले मलाई ‘ह्वाट्स अप’ मा पठाइदिएका जोकहरू उहाँलाई पनि सुनाउँछु । ६६) उहाँ आफूचाहिँ कत्तिको सुनाउनुहुन्छ ? उहाँ पनि सुनाउनुहुन्छ । अरू कसैले सुनाएका जोकहरू पनि सुनाउनुहुन्छ । रमाइलो हुन्छ । ६७) के गर्दा एकदमै रमाइलो महसुस गर्नुहुुन्छ ? साथीभाइसँग गफगाफ गर्दा एकदमै रमाउनुहुन्छ । अझ युवाहरूसँगको अन्तरक्रिया धेरै मन पराउनुहुन्छ । ६८) पछिल्लोपटक सबैभन्दा धेरै खुसी कहिले हुनुभयो ? अस्ति प्रदेशहरूको सीमांकनमा दलहरूबीच सहमति भएको दिन निकै खुसी हुनुहुन्थ्यो । ‘सबै नेताहरू बसेर सहमति भयो, राम्रो भयो । कस्तो आनन्द लागेको छ, आज मज्जाले सुत्छु’ भन्दै हुनुहुन्थ्यो । ‘अब संविधान बन्ने भो, देशमा शान्ति हुन्छ’ भन्नुभएको थियो । तर, भोलिपल्टै हो कि क्या हो, कैलालीमा त्यस्तो दु:खद घटना भयो । ६९) कस्ता घटनामा धेरै दु:खी हुनुहुन्छ ? अस्ति टीकापुरको घटनाले धेरै बोर हुनुभएको थियो । नाबालकसमेतको मृत्यु भयो । निर्दोष व्यक्तिहरू मारिए । यस्ता घटनाले निकै दु:खी बन्नुहुन्छ । ७०) पछिल्लोपटक धेरै दु:खी कहिले हुनुभयो ? त्यही टीकापुर घटना भइहाल्यो । त्यसअघि मिडियामै आफ्नो कारणले कुरा बिग्रियो भन्ने समाचारहरू आउँदा पनि नराम्रो मान्नुहुन्छ । संलग्नता नै नरहेका विषयमा पनि नाम मुछेर आरोपित गर्ने काम हुँदा पनि बोर मान्नुहुन्छ । ७१) खुसी कसरी साट्नुहुन्छ ? कुरा सेयर गर्नुहुन्छ । गफगाफ गरेर खुसी साट्ने त हो नि । उपहार आदान–प्रदान ७२) तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ? ए नसोध्नुस् । उहाँले मलाई गिफ्ट दिएको अहिलेसम्म थाहा छैन । उहाँको बानी नै छैन गिफ्ट दिने, ल्याइदिने । ७३) तपाईंले केही भन्नुहुन्न ? भन्छु । तर, उहाँले ‘तँसँग पैसा छँदै छ, आफँै किन् न’ भन्नुहुन्छ । ७४) विदेशबाट आउँदा पनि केही ल्याइदिनुहुन्न ? अहँ । कहिल्यै ल्याउनुहुन्न । पहिलोपटक प्रधानमन्त्री हुँदा म सुत्केरी थिएँ । उहाँ अमेरिकाबाट फर्किंदा भने एउटा पिंक कलरको स्विटर ल्याइदिनुभएको थियो । त्यत्ति हो । ७५) तपाईंको जन्मदिनमा पनि गिफ्ट दिनुहुन्न ? उहाँलाई याद नै हुँदैन । (हाँस्दै) मैले तीन/चार दिन पहिलादेखि भन्ने गर्छु, मेरो बर्थ डे आउँदै छ भनेर । त्यही दिन पनि ‘आज मेरो बर्थ डे हो, विस गर्नु’ भन्छु । गिफ्टको त कुरै नगर्नुस् । दिनुहुन्न । ७६) म्यारिज एनिभर्सरी पनि सम्झिनुहुन्न ? अहँ । केही समयअघि मात्रै हाम्रो एनिभर्सरी थियो । उहाँले त बिर्सनु नै हुन्थ्यो, यो पल्ट मैले नि बिर्सिएँ । राजनीतिक गफगाफ ७७) घरमा बूढाबूढीबीच राजनीतिक कुराकानी हुन्छ कि हुँदैन ? हुन्छ कहिलेकाहीँ । तर, धेरै बोल्न दिनुहुन्न । ‘चुप लाग्, तँलाई केही थाहा छैन’ भन्नुहुन्छ । ७८) त्यस्तो वेला तपाईंलाई पत्नीको व्यवहार गर्नुहुन्छ कि कार्यकर्ताको ? दुवै ढंगले हेरेकोजस्तो लाग्छ । ‘चुप लाग्, तँलाई केही थाहा छैन’ पत्नी सोचेर भन्नुभएको होला । कतिवेला सिरियस भएर पनि कुराकानी गर्नुहुन्छ, कार्यकर्ता पनि सोच्नुहुन्छ होला । ७९) कस्ता विषयमा कुरा हुन्छन् ? क्षेत्र वा केन्द्रीय राजनीतिको ? सबैतिरका कुरा हुन्छन्, समस्या हेरी, हेरी । क्षेत्रतिरका कुरा धेरै हुन्छन् । केन्द्रीय राजनीतिको धेरै कुरा मसँग गर्नुहुुन्न । ८०) उहाँ संविधानसभा बैठकमा कम आउनुहुन्छ । तपाईंले कत्तिको अपडेट गराइदिनुहुन्छ ? गरिदिन्छु । ‘संविधानसभामा आज यस्तो भयो’ भनेर अपडेट गराइदिन्छु । ८१) तपाईंले दिने राजनीतिक सुझाब उहाँले कत्तिको मान्नुहुन्छ ? कहिले, कहिले मान्नुहुन्छ । मैले नबुझेर पनि होला, धेरै कुरा मान्नुहुन्न । जिद्दी स्वभाव ८२) जिद्दी स्वभाव कत्तिको छ ? ए कुरै नगर्नुस् । एकदमै जिद्दी हुनुहुन्छ । ८३) सम्झाउँदा पनि मान्नुहुन्न भन्ने गुनासो पनि सुनिन्छ नि कार्यकर्ताबाट ? उहाँको बानी नै त्यस्तै हो । उहाँलाई चिन्ने–जान्ने सबैलाई थाहा छ, उहाँको बानीको बारेमा । ८४) उहाँले गलत निर्णय गरिरहेको थाहा पाउँदा कत्तिको सम्झाउनुहुन्छ ? सम्झाउने गरेकी छु । त्यस्तो थाहा पाए त म उहाँसँग बाझाबाझ पनि गर्छु । ८५) तपाईंको अगाडि त चाँडै गल्नुहुन्छ होला नि ? होइन । उहाँलाई केही कुरा ठीक वा यस्तो हो भन्ने लाग्यो भने त्यसमा सितिमिति टसमस हुनुहुन्न । सम्झाउन धेरै गाह्रो हुन्छ । मेरो छोराको नेचर पनि त्यस्तै छ । सजिलै सम्झाउन सकिन्न । कम बोल्ने स्वभाव ८६) बाहिर धेरै कम बोल्नुहुन्छ, घरमा परिवारका सदस्यहरूसँग कत्तिको बोल्नुहुन्छ ? घरमा पनि त्यस्तै हो । एकदमै कम बोल्नुहुन्छ । ८७) उहाँको कम बोल्ने स्वभावले कहिलेकाहीँ तपार्इंलाई दिक्क लाग्दैन ? लाग्दैन, बानी परिसकँे । घरमा त म पनि कम नै बोल्छु । बाहिर धेरै बोलेर थाकेकी हुन्छु । घरमा हुँदा बूढाबूढी कि बसेर टिभी हेरिन्छ कि किताब पढेर बसिन्छ । ८८) कुरा गर्दा सुरुवात उहाँले गर्नुहुन्छ कि तपार्इंले गर्नुपर्छ ? उहाँले त कहाँ गर्नु ? म आफैँले गर्नुपर्छ । ८९) उहाँले कस्ता गफ गर्न रुचाउनुहुन्छ ? राजनीतिक कुराकानी नै हो । रुचि नै त्यसमा छ, अनि अरू कुरा के गर्नुहुन्थ्यो । ९०) कहिलेकाहीँ रोमान्टिक कुरा गर्नुहुन्न ? ओहो ! उहाँले अनि रोमान्टिक कुराकानी ? नेभर । बरु, जोक्सहरू सुन्न र भन्न रुचाउनुहुन्छ । अम्मल ९१) विगतमा धेरै चुरोट खानुहुन्थ्यो ? अचेल खानुहुन्छ कि खानुहुन्न ? अहिले त बिल्कुलै छाड्नुभएको छ । ९२) पहिला दैनिक कति चुरोट खानुहुन्थ्यो ? ए सुनेर छक्क पर्नुहुन्छ । दैनिक कम्तीमा ६० वटा चुरोट खानुहुन्थ्यो । ९३) चुरोट छुटाउन तपार्इंले कति पहल गर्नुभयो ? मैले छाड्नुहोस् भनेर त पटक–पटक भन्ने गर्थेँ नै । तर, छाड्दाचाहिँ उहाँ आफ्नै इच्छाशक्तिले छाड्नुभएको हो । ९४) कसरी छाड्नुभयो अकस्मात् ? डाक्टरले पनि छाड्न भनेको थियो । मैले पनि एकपटक ‘हामी यति खर्च गरेर डाक्टरकोमा आउँछौँ, तर चुरोट नछाडेपछि त्यो खर्चको के अर्थ हुन्छ, तपाईंले सुन्न मन लागेको कुरा सुन्ने, मन नलागेको कुरा नसुन्ने भएपछि के अर्थ भयो ?’ भनेर भनेँ । त्यसपछि के सोच्नुभयो, फ्याट्ट छाड्नुभयो । ९५) त्यति जिद्दी र आफ्नो हठमा रहने मान्छे केबाट त्यसरी प्रभावित हुनुभयो र चुरोट छाड्नुभयो ? त्यो त उहाँको आफ्नै इच्छाशक्ति हो । मेरो ससुरा पनि तमाखु र चुरोट खानुहुन्थ्यो । पछि खोकी लाग्यो भनेर चटक्कै छाड्नुभयो । ‘९० वर्षको हजुरको बुबाले त चटक्कै छाड्नुभयो भने तपाईं छाड्न सक्नुहुन्न ?’ भनेर चाहिँ मैले भन्ने गरेकी थिएँ । ९६) त्यसअघि चुरोट छाड्छु भनेर उहाँले तपाईंसँग कतिपटक प्रतिबद्धता गर्नुभएको थियो ? धेरैपटक नि । कहिले नयाँ वर्षदेखि छाड्छु भन्नुहुन्थ्यो । कहिले अब आउने दसैँदेखि छाड्छु भन्नुहुन्थ्यो । यस्ता प्रतिबद्धता त कति गर्नुभयो कति । गनीसाध्य छैन । ९७) रक्सी खानुहुन्छ कि खानुहुन्न ? रक्सी पनि एकदमै कम लिनुहुन्छ । पहिलाकोजस्तो हार्ड ड्रिंक लिनुहुन्न । ९८) वाइन लिनुहुन्छ कि बियर ? बियर त खानुहुन्न पेट बढ्छ भनेर । वाइन खानुहुन्छ । त्यो पनि एक/दुई गिलास मात्रै । त्यही भएर त हेल्थ राम्रो भएको छ । ९९) बाहिर पार्टीहरूमा सहभागी हुँदा लिने गर्नुहुन्छ कि लिनुहुन्न ? विवाहका पार्टीहरूमा त लिनुहुन्न । कोकहरू मात्रै लिनुहुन्छ । १००) बूढाबूढी दुईजना बसेर कत्तिको लिने गर्नुहुन्छ ? कहिलेकाहीँ । चाडबाडमा, केही सेलिब्रेसन गर्नुपर्‍यो भने त्यस्तो वेला सँगै बसेर लिने गर्छौँ । १०१) उहाँले एकदमै मन पराउने वाइन कुन हो ? मेर्लोट भन्ने वाइन हो । आजको नयाँ पत्रिकाकाबाट साभार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending