Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

पानीको जोहो गर्न रातभर जाग्राम

फाइल फोटो
खबरडबली संवाददाता

महोत्तरी । खानेपानी खानेपानी अभावका कारण महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ। अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको संकट चुलिँदै जाँदा यहाँका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम बस्नुपरेको हो।

“तीन दिनयता दिनभरि धारामा पानी झरेको छैन, राति झर्छ कि भन्ने आसमा धाराछेउमा पानी पर्खेर रात कटाइयो,” बर्दिबास–२ ॐ शान्तिचोककी गृहिणी फूलमाया मगर भन्छिन्, “धन्न, गए राति मध्यराततिर धारामा तुरुरु पानी झरेपछि जाग्राम बसेको प्रतिफल मिल्यो।”

फूलमायाजस्तै उनका छिमेकी पर्मिला ठाकुर, नगिना महतो र वृन्दा भण्डारीले पनि मध्यराततिर बोतल, गाग्री, तसला, बाल्टिनसहितका भाडामा पानी भरेपछि एक दिनलाई ढुक्क भएको बताउँछन्। 

पानीका मुहान सुक्दै जाँदा यहाँका बस्तीमा पानीको संकट पनि बढ्दै गएको छ। धारामा पानी आउँदैन, आए पनि गाग्री, बाल्टिन वा जार भरिँदैनन्। पानीको संकट गहिरिँदै जाँदा पूर्वपश्चिम रेल आयोजनाको भब्सीपुल नजिक रहेको बोरिङमा पानी थाप्नेको भीड लाग्ने गरेको छ।

बस्ती क्षेत्रबाट पाँच सय मिटर दूरीमा रहेको सो बोरिङमा घाम अस्ताएपछि भने कोही जाँदैनन्। रेल्वेसम्बन्धी निर्माण कार्य प्रयोजनका लागि पानी आपूर्ति गर्न जडान गरिएको बोरिङले अहिले निकैलाई राहत भएको बर्दिबास–१४ लच्काचोकका गौरी साह बताउँछिन्। 

यसैगरी बर्दिबास जलेश्वर सडकखण्डको बर्दिबास–२ लच्काबाट बुद्धचोकसम्म ढल निर्माणको छ। निर्माण कार्यका लागि त्यहाँ ठूलो ट्यांकीमा ल्याइने पानीमध्ये बचेखुचेको स्थानीयलाई दिन केही त्राण मिलेको सोही वडाको दर्लामीटोलकी यशोदा तिमल्सिनाले बताइन्। “पानीको हाहाकार परेकै बेला ढल बनाउने काम परेछ। चाहिने जति नपाए पनि घाँटी भिजाउनका लागि भए पनि पानी पाएपछि निकै राहत मिलेको छ,” उनले भनिन्।  

बर्दिबासका १, २, ३, ४, ५, ६, ८ , १०, ११ र १४ नम्बर वडाका नागरिक खानेपानीका लागि धारामा आश्रित छन् तर भण्डारण कक्षमा पानी घट्दै गएपछि पालो मिलाएर पानी वितरण गर्न थालिएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ।

संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाँलले पानीको स्रोतका रूपमा रहेका नदी र खोला सुकेपछि भण्डारणमा निकै कमी आएको उनले बताए। अब पानीका स्रोतहरूको वैकल्पिक खोजी नभए आउने दिन अझै कष्टकर बन्ने उनको भनाइ छ। 

महोत्तरीमा जेठ लागेदेखि नै पानी घट्दै गएको हो। जेठको मध्ययता त हाहाकार नै परेको बर्दिबास–१२ चल्कीबिजलपुराका नवराज कोइराला बताउँछन्।

बर्दिबासका ७, ९, १२ र १३ नम्बर वडाबस्तीमा खानेपानीका लागि इनार र चापाकल मुख्यस्रोत हुन्। बर्दिबास–१२ मेघरोल र जुडीटोलमा चापाकल प्रयोग हुँदै आएको छ। मेघरोल बस्तीका विशुनदेव राय दनुवारले अहिले इनारमा र चापाकल पानी सुकेका बताए। 

स्रोत सुक्दै गएपछि मानिस मात्र नभएर अहिले घरपालुवा पशु, चराचुरुंगी र वन्यजन्तुले पनि पानीको संकट झेल्दै छन्। यसैगरी बालीनाली पहेँलिएर सुक्न थालेका छन्। यहाँका बस्तीबस्तीमा अहिले खानेपानीको संकट बढेको छ। 

बर्दिबास–९ पशुपतिनगरका ६० वर्षीय महेन्द्र महतोको घर अगाडिको इनारमा पानीका लागि झारिएको डोल डुब्न छाडिसक्यो। उनले भने, “गर्मी अचाक्ली बढेको छ, पानीका स्रोत धमाधम सुक्दै छन्, अब पानीको संकट निकै बढ्ला जस्तो छ। अब इनारले पानी ख्वाउला भन्ने आस मर्‍यो। लगत्तै पानी नपर्ने हो भने आजभोलिमै इनारमा पानी स्याप्पै सुक्छ होला।” पछिल्ला केही वर्षयता बर्सेनि जसो यस्तै संकट भोग्नुपरेको महतोले बताए।   

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा पानीको अभाव बढ्दै गएको छ तर जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रमा भने समस्या थप विकराल बन्दैछ। बर्दिबास–२ का रामबाबु धमला पानीका मुहान सुक्दै गएपछि धाराबाट पानी कतिखेर चुहिन्छ भनेर ताक हेर्नुपर्ने अवस्था आएको बताउँछन्।

यसैगरी भङ्गाहा नगरपालिकाका– ३, ४ , ५ र ९ मा इनार र चापाकल सुकेपछि निकै समस्या छ। भङ्गाहाकै १, २, ६, ७ र ८ का आर्टिजिन बोरिङबाट पानी झर्न छाडेको भङ्गाहा–८ धर्मपुरका उपेन्द्र चौधरी थारू बताउँछन्। भङ्गाहाका यी वडाबाहेक आर्टिजिन बोरिङ खानेपानीका स्रोत रहेका बलवा, लोहारपट्टी, रामगोपालपुर र औरही नगरपालिकामा पनि पानी झर्ने मात्रा निकै घटेको स्थानीय बताउँछन्।

यसैगरी गौशाला नगरपालिका क्षेत्रमा एकपछि अर्को इनार र चापाकल सुक्दै छन्। पानीका लागि साइकलमा गाग्री झुन्ड्याएर परपर जानुपरेको गौशाला–६ का तेजनारायण यादव बताउँछन्। जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा हाहाकारै परी नसके पनि सो क्षेत्रका खानेपानीको स्रोत चापाकल धमाधम सुक्दै गएका उनले बताए।

बस्तीमा पोखरी, डबराडबरी (साना पोखरी) सबैजसो सुकिसकेका छन्, यसले पशुभाउ बचाउन निकै सकस भएको पशुपालक किसान हीरादेवी दाहालले गुनासो गरे। यसका साथै वनक्षेत्रका पानी अडिने खाल्डाखुल्डी, जरुवा र डबरा सबै सुकेपछि चराचुरुंगी र वन्यजन्तु जोखिममा परेका छन्।

पुरानो चारकोशे झाडी (फार्लाइन पनि भनिन्छ) मा पानी नभेटेपछि पानीको खोजमा वन्यजन्तु बस्ती पसेका छन्। हरिण, मृग, जरायोसहितका जनावर उत्तरको चुरे काछतिर र बँदेल, नीलगाई र दुम्सीलगायतका वन्यजन्तु दक्षिणका सघन बस्तीमा पसेका छन्। यसरी पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरिदिँदा किसान दोहोरो मारमा परेका छन्। 

“यहाँ मान्छे र घरपालुवा जनावर जोगिन हाहाकार परेका बेला वन्यजन्तु पनि थपिएका छन्,” बलवा–१० धमौराका उत्तिम माझी भन्छन्, “पानीकै संकटबीच बाली पनि जोगाउन सकिएको छैन।” 

डिभिजन वन कार्यालय महोत्तरीले पानीको संकट चुलिँदै जाँदा पानीको खोजमा टाढाटाढा जान थालेपछि वनक्षेत्रमा वन्यजन्तु देखिन छाडेका जनाएको छ। 

“यहाँ वनभित्रका ताल, ससाना पोखरी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सबै सुकेका छन्, वनभित्र पानी भेटिन छाडेको छ,” कार्यालय प्रमुख सन्तोषकुमार झा भन्छन्, “मान्छे मात्रै होइन यहाँ वन्यजन्तु जोगाउन पनि गम्भीर संकट आउँदै छ।”

पछिल्ला केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन कष्टकर छ, त्यसैमा पानीको समस्या थपिएको छ। बालीनाली तथा लहरा पहेँलिएर सुक्दै छन्। यो अवस्थाले पिरोलिएका नागरिक आकाशतिर फर्केर पानी पारिदिन ईश्वर पुकार्नुभन्दा अर्को विकल्प नभएको बताउँछन्। रासस 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending