कञ्चनपुर । सीमावर्ती पुनर्वास नगरपालिका–९ सीताबस्तीका बासिन्दा लामो समयदेखि जङ्गली जनावरबाट पीडित छन् । भारतीय दूधुवा नेशनल पार्कबाट आउने जङ्गली जनावरले स्थानीयले खेतबारीको बाली नोक्सान गर्दा स्थानीयले सास्ती भोग्नुपरेको छ ।
जङ्गली हात्ती, बँदेल र बाँदरले खेतमा लगाएको बाली खाएर बर्सेनी नोक्सानी पुर्याउँदै आएको स्थानीय किसन दाहालले बताए ।
“वर्षातका बेला दोदा नदीको बाढीको पानी खेतमा पसेर धानलगायतका बाली भित्र्याउन पाउदैँनौं”, उनले भने, “बचेको बाली जङ्गली जनावरले खाएर सक्छन्, जग्गा हुँदाहुँदै पनि परिवारका लागि अन्नको जोहो गर्न अन्यत्र मजदुरी गर्नुपर्ने बाध्यता छ ।”
अधिकांश परिवारका युवाहरु परिवारका लागि दुई छाकको अन्न, लुगाफाटोको जोहो गर्न भारतमा मजदूरी गर्न जाने गरेको उनले बताए । धान लगायतका बाली लगाउँदा जङ्गली जनावरले अधिक क्षति पुर्याउन थालेपछि स्थानीयले उखु खेती गर्न थालेका छन् । उखुखेती जङ्गली हात्तीको झुण्डले व्यापक रुपमा नोक्सानी गर्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् ।
सीमावर्ती भारतीय दुधुवा नेशनलपार्कबाट हात्तीको झुण्ड वर्षातका बेला चुरे क्षेत्रमा जानुअघि र वर्षात सकिएपछि पुनः पार्कमा फर्कने क्रममा खेतबारीमा पसेर उखु बाली खाएर र खुट्टाले कुल्चेर क्षति गर्दै आएको पदम परियारले बताए । उनका अनुसार सीमा क्षेत्रको रक्षाका लागि दुई सय परिवारलाई यस क्षेत्रमा पुनर्वास गराईएको थियो ।
पुनर्वासको समयमा २५ प्रतिशत जग्गा अग्लो ठाउँमा र ७५ प्रतिशत जग्गा नदी तटीय क्षेत्रमा उपलव्ध गराइएको थियो । अग्लो ठाउँमा दिइएको जग्गामा घर, करेसाबारी र नदी तटीय क्षेत्रमा उपलव्ध गराइएको जग्गामा खेती गर्नका लागि उपलव्ध गराइएको परियार बताउँछन् ।
“नदी तटीय क्षेत्रको जग्गामा लगाएको बाली जङ्गली जनावरका कारण भित्र्याउनै पाउदैनौँं”, उनले भने, “जङ्गली जनावर नियन्त्रणका लागि मेसवायर जडानको माग गर्दै आए पनि पूरा हुन पाएको छैन ।”
नदी नियन्त्रणका लागि गैरसरकारी संस्था, नगरपालिका र प्रदेश सरकारले जैविक र तारजालीको तटबन्ध निर्माण गर्न थालेपछि जग्गा कटानी हुने क्रमम भने विगतको तुलनामा निकै कम हुँदैआएको उनको भनाइ छ ।
नगरपालिकाको कृषि शाखाका प्रमुख कर्णबहादुर शाही सीमावर्ती क्षेत्रका बासिन्दाले लगाउदै आएको बाली जङ्गली जनावरले खाएर हैरानी दिन थालेको गुनासो आउन थालेकाले त्यसको निराकरणका लागि काम अगाडि बढाउन नगरपालिकालाई आग्रह गरिएको बताए ।
वडा नं ९ का अध्यक्ष नरबहादुर विक विसं २०२८ मा तत्कालीन राजाले नेपाली भूमि अतिक्रमण हुन नदिनका लागि यस क्षेत्रमा बस्ती बसालेको बताए । “स्थानीय किसानले जग्गाको मालपोत बुझाउने कार्य प्रत्येक वर्ष गर्दै आएका छन्”, उनले भने, “जग्गाबाट उब्जनी लिनसकेका छैनन् ।”
बाढी, जङ्गली जनावरका कारण बालीको उत्पादन किसानले लिन सकिनरहेको उहाँको बुझाइ रहेको छ । “सीमा क्षेत्रका बासिन्दाले सीमा रक्षकको भूमिका खेल्दै आए पनि राज्यका तर्फबाट हुने सहयोगको खाँचो रहेको छ”, उनले भने, “सीमा क्षेत्रका बासिन्दालाई जङ्गली जनावरले बालीनालीमा गर्ने क्षतिको क्षतिपूर्ति, कृषिमा अनुदान, मेसवायर जडान, नदी नियन्त्रण, भरपर्दो सडकको व्यवस्थाका लागि कार्य अगाडि बढाउनुपर्ने हुन्छ ।”
नगरपालिकाले वडामा विनियोजन गर्ने थोरै बजेटले यी कार्य गर्न नपुग्ने भएकाले प्रदेश र सङ्घ सरकारले सीमा क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ रहेको छ ।
प्रतिकृया लेख्नुहोस्: