Ntc summer Offer
Khabar Dabali ९ बैशाख २०८१ आईतवार | 21st April, 2024 Sun
NIMB

बिरक्तिएको माओवादी आन्दोलन– १

नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपालको राजनीतिमा एउटा युगान्तकारी परिघटना थियो । आजको नेपाली समाजको वर्ग दृष्टिकोण सहितको चेतनाले विभिन्न आरोह अवरोह हुँदै जुन स्थानमा आई पुगेको छ त्यसमा पक्कै पनि कम्युनिष्ट पार्टीको स्थापना र त्यसले चलाएको वर्ग संघर्षको भूमिका महत्वपूर्ण थियो भन्नेमा दुई मत नरहला ।   कम्युनिष्ट पार्टी स्थापनका यी झण्डै ६५ वर्षमा झापा आन्दोलनदेखि जनआन्दोलन– १ हुँदै जनयुद्ध र पुनः जनआन्दोलन– २ सम्म भयो । यसै क्रममा नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटा भिन्नै मोडमा ल्याई पुर्‍याउन माओवादी आन्दोलनको पनि ठूलो योगदान रह्यो तर, समयकालले आज माओवादीका एजेन्डाहरुमा अरुले नै रजाईं गरिरहेको र स्वयंम माओवादी नेता कार्यकर्ताहरुमा यसले विकर्षण थपेको पाइन्छ । समाजमा तथा राजनीतिक आन्दोलनमा देखिएको यसखाले विचारको उद्भव कसरी हुन गयो भन्ने विषयमा हामीले राजनीतिज्ञ तथा अध्येताका रुपमा परिचित नाम विश्वभक्त दुलाल ‘आहूति’ लाई माअ‍ोवादी आन्दोलनको चिरफार गर्न आग्रह गरेका थियौं । सोही आग्रहलाई स्विकारेर आहूतिले केही महत्वपूर्ण विषयमाथि प्रकाश पार्नु भएको छ ।    बिरक्तिएको माओवादी आन्दोलन शीर्षकमा खबरडबलीमा हामीले माओवादी आन्दोलनका सकारात्मक नकारात्मक पाटाहरुको बारेमा झण्डै सात अंकसम्मको श्रङ्खला चलाउने भएका छौं । आइतबार र बुधबारका दिन हामीले आहूतिको दृष्टिबाट माओवादी आन्दोलनको लेखाजोखा गर्नेछौं । प्रवुद्ध वर्गलाई यस बसहमा सहभागी हुन हामी आग्रह गर्दछौं ।– सम्पादक    \"aahuti_article\"१. ‘पानी जहाजमा जब गडबडी आउँछ, सबैभन्दा पहिले मुसाहरु भाग्दछन्’ यो एउटा पुरानो प्रसिद्ध भनाई हो । अहिले नेपाली माओवादी आन्दोलनमा यस्तै गडबडी उत्पन्न भएको छ । अवसरवादी र कमसल क्रान्तिकारीहरुको भागदौड मच्चिएको छ । अवसरवादका थैलाजस्ता ढ्याके जिनिसहरु छिटो–छिटो कहाँ खान पाइन्छ, त्यतै हुलका हुलका सलहका भाँती टाप कस्दैछन् । विचारमा छिपछिपे अनि व्यक्तिगत समस्याको अक्करमा चुर्लुम्म फसेका क्रान्तिकारी नियतका व्यक्तिहरु अन्यौलग्रस्त भएर, निरासिएर, वैराग्गिएर, पथभ्रष्ट वा क्रान्तिविरोधी भएरसमेत व्यक्तिगत रुपमा वा झुण्ड–झुण्डमा दायाँबायाँ लागिरहेछन् । नेतृत्व र प्रभावका हिसाबले अझै मूल माओवादीका रुपमा रहेको एमाओवादीसहित विभिन्न भंङ्गालोमा विभक्त माओवादी समूहहरु समाधान गर्नै नसकिएका समस्याका गुजुल्टामा गुजुल्टिएर आफै थला परेका भूतपूर्व योद्धाहरुको झुण्ड झंै देखिन पुगेका छन् । यधपि मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ बेलामौकामा झिल्का पार्न खोज्छन् तर, त्यो मिति पुगेको ब्याट्री घाममा सुकाएर टर्च बाल्ने प्रयत्न भन्दा बढी भएको छैन र हुने संभावना पनि छैन ।   एउटा कोणबाट हेर्दा यस्तो भान हुन्छ कि यथार्थमा नेपालमा कम्युनिष्ट आन्दोलन विसर्जन भयो । सिंगो विश्व वर्गसमाजको प्रत्ययवादी विश्व दृष्टिकोण विरुद्ध एक्लो खडा माक्र्सवादी दर्शनबारे छलफल, बहस र प्रयोगको सिलसिला संगठित रुपमा अवरुद्ध हुन पुगको छ । कम्युनिष्ट अलग अलग पहिचान सहितको राजनीति अहिले पहिचानसहितको राजनीति पुँजीवादी राजनीतिको सहयोगी बन्न पुगको छ । कम्युनिष्टको नैतिकता र सांस्कृतिक रुपान्तरणको विषय वास्तवमा विषय सूचिबाटै हराएका छन् । राष्ट्रिय स्वाधिन अर्थतन्त्र र विश्व साम्राज्यवादसँगको संघर्षको रणनीति पुराना दस्तावेजका पानामा धुलोभित्र छोपिन पुगेका छन् । कम्युनिष्टका वस्त्रमा यतिखेर दुईथरी मानिसहरु मस्त मुस्कानमा छन् । एकथरी ती हुन जसलाई थाहा छ हामी कम्युनिष्ट होइनौं तर अभिनय चाहिँ गरिरहनु पर्दछ र जीवन भने पुँजीवादी बिताउनु पर्छ भन्ने सोचिरहेछन्, उनीहरु आफ्नै ‘स्टाइल’मा मुस्कानरत छन् । अर्कोथरी ती हुन जसलाई आफूले त केही गर्नु छैन केवल प्रतिक्रिया व्यक्त गर्नुछ, उनीहरु चाहिँ कम्युनिष्ट भएरै केही जोखिम उठाएरै अगाडि जान चाहनेहरु असफल भए भनेर हाँसिरहेछन् । ती जडसूत्रवादी जमेको आहालमा रमाइरहेका अल्छी राँगोजस्ता प्राणीहरुको वर्तमानमा र भविष्यमा पनि खासै महत्व छैन ।   यस प्रकारको स्थिति १९/२० तलमाथि कसैले भन्न सक्ला तर समग्रतामा यही हो भन्ने सत्यलाई इन्कार गर्न कसैले सक्ने छैन । यस्तो अवस्था भनेको यथार्थमा संगठीत रुपमा कम्युनिष्ट आन्दोलनको विसर्जन नै हो । डा. बाबुराम भट्टराईले एकपटक भन्थे, ‘माक्र्सवादी नै काम गर्ने तर माक्र्सवादी चाहिँ नभने के हुन्छ ?’ यो भनाईसँगै बर्षमान पुन र मेरो आँखा जुधेको थियो । मैले आश्चर्यचकित हुँदै कम्युनिष्ट घोषणा पत्रको त्यो हरफ सम्झिएको थिएँ जहाँ लेखिएको छ, ‘सिद्धान्तको मामलामा कम्युनिष्टहरुले कहिलै ढाँटदैनन् ।’ हो, आज समाज र आन्दोलनको विश्लेषणमा ढाँटछल गर्नु कम्युनिष्ट नैतिकताको उल्लंघन नै हुन्छ । त्यसैले हामीले यो कुरा खुला रुपमा स्वीकार गर्नुपर्दछ कि संगठित रुपमा कम्युनिष्ट आन्दोलन अहिले तत्काल नेपालमा छैन, विसर्जन हुन पुगेको छ ।   संगठित रुपमा कम्युनिष्ट आन्दोलन विसर्जन भयो भन्ने निष्कर्षको अर्थ यो कदापी होइन कि नेपालमा कम्युनिष्ट आन्दोलन नै सिद्धियो । त्यो कदापि होइन । कम्युनिष्ट आन्दोलन छ तर व्यक्ति, साना–साना झुण्ड र व्यापक कम्युनिष्ट समर्थकमा यो आन्दोलन जीवित छ । आजको यस्तो विकलांग स्थितिमा पनि कम्युनिष्ट समर्थक जनता र बौद्धिक जमात नेपालमा जति अन्त कुनै देशमा छैन । यो स्थिति अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठन ‘कोमिन्टर्न’ भंग हुँदा पनि संसारमा धेरै कम्युनिष्ट पार्टी जिवित थिए भने जस्तै वा केशरजंग रायमाझीले २०१७ सालको महेन्द्रको ‘कू’ लाई दिपावली गरेर पार्टी सिदयाए पनि नेपलामा कम्युनिष्ट र कम्युनिष्ट आन्दोलन थियो भने जस्तै हो ।   २.नेपाली कम्युनिष्ट आन्दोलनको आजको यसप्रकारको स्थिति भएको मान्दा सजिलै प्रश्नहरु उठ्ने गर्दछन । त्यसो भए के जनयुद्धसहित ६५ वर्षको कम्युनिष्ट आन्दोलन, त्यसमा गरिएका बलिदान र त्याग खेर गएका हुन् त ? त्यसो कदापि होइन । नेपालमा रहँदै आएको सामन्तवादी राजनैतिक र सामाजिक संरचना जुन आज आधारभूत रुपमा भत्किन पुगेको छ, त्यसको मुख्य श्रेय कम्युनिष्ट आन्दोलनलाई नै जान्छ । चाहे राणा शासन, चाहे पञ्चायत, चाहे त्यसपछिको परिवर्तनहरु तिनमा आधारभूत भूमिका कम्युनिष्ट र वामपन्थीहरुकै थियो । ६५ वर्षको सामन्तवादविरोधी आन्दोलनमा निर्णायक र सबैभन्दा शक्तिशाली धक्का भने जनयुद्धले दिएको थियो । जति हुनु पर्ने हो भएन तर जति भएका छन्, त्यो कम्युनिष्ट आन्दोलनको आधारभूत बलिदानीमाथि नै भएका हुन् । त्यसैले बलिदान खेर गयो भनेर सोच्ने दृष्टिकोण सही हुन सक्दैन । (एक) नेपाल राष्ट्र आज जतिसुकै असमान सन्धि र विदेशी प्रताडनामा रहे पनि यतिसम्म सार्वभौम रहनुमा मुख्य भूमिका कम्युनिष्टकै रहेको छ । (दुई) नेपालको २२ सय वर्ष पुरानो पारिवारिक राजतन्त्रको सिलसिलालाई अन्त्य गर्न मुख्य र निर्णायक भूमिका कम्युनिष्टको हो । (तीन) महिला, दलित, जनजति र मधेसीलगायतका सबै उत्पीडित समुदायलाई राजनीतिकरण गरी सामन्तवादविरोधी चेतनासहित संगठित गर्ने कामको मुख्य श्रेय कम्युनिष्टलाई जान्छ । (चार) रुढिग्रस्त नेपाली समाजलाई विज्ञान र भौतिकवादतिर आकर्षित गर्ने गरी आज जे जस्तो अवस्थामा समाज पुगेको छ, त्यसमा कम्युनिष्ट राजनीतिले प्रेरणाको काम गरेको हो । (पाँच) आज संविधानसभाबाट मौीलक हक अन्तर्गत पुँजीवादी आधारभूत अधिकारहरु जे जति व्यवस्था गर्न बाध्यात्मक अवस्था सिर्जना हुनुको मूल दबाब पनि कम्युनिष्ट आन्दोलन नै हो । त्यसकारण ६५ वर्ष पुरै उपलब्धीहीन भन्ने पटक्कै होइन, तर खोजेजस्तो लक्ष्यमा भने पुग्न नसकिएको यथार्थ पक्कै हो ।   ३. धेरै मानिसहरुमा यो प्रश्न पनि बारम्बार उठ्ने गरेको छ कि यो शोषणरहित समाजवादी समाज हुँदै अगाडि बढ्न नै असम्भव छ कि के हो ? कहिले आउँछ त्यो मानवले खोजेको समाज ? यत्रो वर्ष लड्दा त केही भएन, सत्तामा पुगेपछि जस्ता मानिस पनि बिग्रने भएपछि कसरी हुन्छ यो ? पटक–पटकको हार, विकृति अनि समग्र माक्र्सवादी पद्धति विज्ञान र समाजविज्ञानको कमजोर जगका कारणले यो प्रश्न स्वभाविक नै छ । यस्तो प्रश्न लडिरहेका क्रान्तिकारीको हृदयमा पनि कतै न कतै रहिरहनेछ लामो कालसम्म किनभने त्यस्तो हुनबाट रोक्न सक्ने वातावरण समाजमा विद्यमान छ । जब त्यस्तो समाजवादी विश्व बन्न नदिने शक्तिहरु समाजमा विद्यमान हुन्छन् भने त्यो वस्तुगत परिस्थितिको एउटा अंग हो । वस्तुगत परिस्थितिमा त्यस्तो अवस्था रहेसम्म यसप्रकारको आशंका पनि मनहरुमा कुनै न कुनै रुपमा रहनु अस्वभाविक हुनै सक्दैन । तर, हामीले बुझ्न र छलफल गर्नै पर्ने विषय के हुन भने–   (क) आजको कणकणमा शोषण र व्यक्तिगत सम्पत्तिमा आधारित समाज आठ हजार वर्ष लागेर बनेको हो । यो आठ हजार वर्ष भनेको माटो पनि थिचिएर कम्तीमा फोस्रो ढुंगा बनिसक्ने अवधि हो । एकाध हजार वर्ष हिमाली क्षेत्र चाहार्दा शेर्पा जातिको वंशमा नै फोक्सो शक्तिशाली बन्यो, थारुले औलो पचाउने गरी शक्ति धारण ग¥यो भने आठ हजार वर्षमा शोषण र व्यक्तिगत सम्पत्ति एक स्तरको वंशानुमै प्रवेश गरिसकेको मान्न सकिने अवस्था हो । त्यस्तो फोस्रो ढुंगामै परिणत भैसकेको माटोलाई फेरि उब्जनी गर्न लायक माटोमा बदल्ने आन्दोलन हो कम्युनिष्ट आन्दोलन । वंशानुमै प्रवेश पाइसकेको स्तरमा पुगेको शोषण र निजी सम्पत्तिको लतबाट मुक्त गर्ने अभियान हो, कम्युनिष्ट आन्दोलन । तब यो सजिलै, एकदुई पुस्ता, सय दुई सय वर्षमा अन्तिम फत्ते हात परिहाल्छ भन्ने कुरा हुँदैहोइन । ८ हजार वर्षका विरुद्ध माक्र्सवादको जन्मपछि केवल १७० वर्षको कम्युनिष्ट आन्दोलन वास्तवमा ९ महिनाको शिशु मात्र हो । त्यो शिशु जो फुर्तीले उभिन खोज्छ तर लड्छ, हिँड्छ पनि केही पाइला तर फेरी पछारिन्छ । सपना सुन्दर छ कुद्ने, साहस पनि छ तर मेरुदण्ड र खुट्टाका हड्डीहरु कच्चा छन्, अनि सन्तुलनको अभ्यास छैन । त्यसैले पटक पटक लड्न शिशु बाध्य हुन्छ । तर, उसले प्रयत्न छाडदैन र अन्ततः हिँडिछाड्छ, दौडि छाड्छ । माक्र्सवादमा सच्चाई, विज्ञान र न्यायको ताकत भएको हुनाले यसले १७० वर्षमै शोषक समाजलाई हल्लाई दियो, खैलाबैला मच्चाईदियो । कुनै पनि अपराधको तयारी गर्दा शोषक वर्गले कम्युनिष्टको ‘भूत’ यतै कतै छ कि भनेर दिनरात सोच्नै पर्ने ठाँउमा पु¥याई दियो । गंभिरतापूर्वक शान्त भएर सोच्ने हो भने ८ हजार वर्षको भयानक नर–राक्षसका अगाडि नौ महिने शिशुले गर्न सक्ने यत्ति नै त हो । यसको अर्थ यो कदापी होइन कि त्यसो भए शोषणमुलक समाजको अन्त्य गर्न पनि ८ हजार वर्ष नै लाग्नेछ ? निश्चित रुपमा उत्पादक शक्ति र चेतनाको विकासले कम्युनिष्टको लक्ष्यतिरको यात्रा कम अवधिको तीव्र रुपमा हुँदैछ, तर फेरी कुनै पनि वस्तुको विकासले केही आवश्यक समय त अवश्य लिन्छ । अर्थात्, ८ हजार वर्ष पुरानो शोषण र निजी सम्पत्तिमा आधारित समाजलाई परिवर्तन गर्न केही सय वर्ष लाग्नुलाई स्वाभाविक मान्नु पर्दछ भन्ने नै यसको मूल आशय हो ।   (ख) आजको समाजमा हामी सबैलाई निजी सम्पत्ति, निजी स्वार्थ र लोभी बन्न सबैभन्दा बढी कसले सिकाउँछ ? जो सबैभन्दा आदरणीय, सबैभन्दा भरपर्दा र सबैभन्दा स्नेही आमा र बाबुले त्यो कुरा सिकाउँछन् । समाजका निम्ति सबैभन्दा घातक ज्ञान सबैभन्दा प्यारा मानिसले दिन्छन् । यो हामी हुर्कने वास्तविक र पहिलो विश्वविद्यालय हुने गरेको छ, त्यसपछिका ज्ञान भनेको मजबुत चट्टानमाथि आकाशे पानी झरे जत्तिकै हुन् । आकाशे पानीले चट्टान कति खियाउँछन् होला त ? हालत आम रुपमा यस्तै नै बन्दै जान्छ । यसरी हुर्केका हामी ज्ञान, चेतना, बाध्यता आदिका कारण पुरानो समाज माथि हस्तक्षेप त गर्छौं, तर पटक पटक थला पर्न पुग्छौं कहिले अवसरवादमा थल्लेर, कहिले निरासामा डुबेर आदि । त्यसकारण पटक पटक नेता कार्यकर्तामा फुत्त फुत्त प्रकट हुने अवसरवाद र भगुवापन हाम्रो समाजले सांस्कृतिक रुपमा विरासतमा हाम्रो दिमागमा थुपारेको भण्डारबाट मौका पाउने वित्तिकै निस्कने हो । त्यसकारण त नियतलाई होइन परिणामलाई मुख्य ध्यान दिनुपर्छ अनि विश्वाससँगै शंका पनि गर्नु पर्दछ भनेर माक्र्सवादले भनेको हो । कम्युनिष्ट अन्दोलनको एउटा आधारभूत अंग सांस्कृतिक रुपान्तरणको अन्दोलनले जबसम्म आमाहरुलाई, परिवारलाई, समाजलाई, निजी सम्पत्ति र निजी स्वार्थमा निर्लिप्त हुन प्रशिक्षण नदिने स्तरमा पु¥याउने छैन तबसम्म नेता कार्यकर्ता अचानक अवसरवादी, भ्रष्ट, भगुवा पैदा हुने क्रम रोकिने छैन, तीव्र रुपमा यो परिघटना घट्न थाल्ने छैन ।   (ग) आज संसारमा जुन पुँजीवादको हालीमुहाली गर्दैछ । यो जन्मेको पनि करिव ६०० वर्ष पुग्न आँट्यो । तर, अझै त्यसले सामन्तवादलाई पुरै उन्मुलन गर्न सकेको छैन । पुँजीवाद भनेको शोषणमुलक ८ हजार वर्षदेखिको समाज व्यवस्थाको प्रतिपक्षी व्यवस्था होइन, यसको दार्शनिक आधार पनि सामन्तवादबाट भिन्न होइन, केवल शोषण गर्ने मानिसको जमात फेर्ने र तरिका फेर्ने मात्र यसको काम हो  तैपनि पूरै सामन्तवाद निमिट्यान्न अझै पार्न सकेन । एउटै मूल दर्शन र शोषणको लक्ष्य बोकेको पुँजीवादले सामन्तवादलाई परास्त गर्न त यति लामो अवधि लिँदैछ भने कम्युनिष्ट त दार्शनिक रुपमै विपरीत ध्रुवको आन्दोलन हो । कम्युनिष्ट आन्दोलनले त शोषण जन्माउने दार्शनिक र भौतिक आधार नै अन्त्य गर्नपर्नेछ अनि शोषणमा रमाउने मान्छेलाई अन्त्य गरेर शोषण गर्नै नरुचाउने, रुचाए पनि गर्नै नपर्ने नयाँ मान्छे र परिस्थिति निर्माण गर्नुछ । यो विश्वदृष्टिकोण नै परिवर्तनको आन्दोलन हो । त्यसैले पनि यो पटक पटक उठ्ने फेरी भत्किने हुँदै नै जान्छ । यो समाजविज्ञानको नियम आत्मसात् गर्नुको कुनै क्रान्तिकारी अर्को विकल्प नै छैन ।   (घ) आज संसारमा पुँजीवाद सफल मानिएको छ तर के ऊ संकटबाट मुक्त छ ? मुठ्ठीभर पुँजीपति र तिनका प्रतिनिधिको भोग विलासको निम्ति सिंगो एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका मानिसको भागमा भोक, युद्ध र अशान्ति पस्केको छ । तेल र ग्यासको कब्जाको निम्ति निर्दोष जनताको लासको खात लगाउँदैछ । सबैभन्दा विकसित भनिएका देशका जनतालई खेताला माहुरीमा परिणत गरिंदैछ जसको काम वस्तु उत्पादन गर्नुबाहेक अरु केही छैन । घरदेखि काम र कामदेखि घरसम्मको यात्रामै जीवन मेसिन जसरी समाप्त पार्न मानिसलाई बाध्य पारिंदैछ । तिनै खेताला माहुरीमा परिणत गरिएका करोडौं जनतालाई तह लगाउन उनीहरुकै गास काटेर हतियार बनाईंदैछ । पुँजीवादले ज्ञान, शरिर, विवेक सबै सबैलाई बेचेर मानिसलाई एउटा विकाउ वस्तुमा परिणत गरिदिएको छ । आज विकसित भनिएका देशका वहुसंख्यक मानिसको जीवनको उद्देश्य नै हराउन थालेको छ । मानवीय भातृत्वको विघटन र मेसिनीकरणले एउटा अत्यासलाग्दो निस्सासीबीच उनीहरु विकल्प खोज्न थालेका छन् । अर्को विकाशशील र विकाशोन्मुख भनिएका देशका जनता भोक, रोगबाट आक्रान्त छन् । पुँजीवादले के समस्या हल ग¥यो त ? भौतिक विकासको अजंङ्गको अध्यायमुनी मानवीय सत्वको भातृत्व र स्वतन्त्रता किचकाच पारेर दुनियाँको ९० प्रतिशत मानिसको लुट १० प्रतिशतले गरिरहेको भयानक यथार्थबाहेक पुँजीवादले के दिइरहेको छ ? अर्कोतिर आफ्नो नाफाको निम्ति उत्पादन गरिएका प्रत्येक प्रविधिले क्रान्तिचेतना नभएका मानिसलाई समेत क्रान्तितिर लगिरहेछ । सञ्चारले विश्व श्रमजीवी जनतालाई सिधै सम्पर्कमा जोडिदिएको छ । ज्ञान र चेतनाको भण्डारमाथिको शोषकवर्गको एकाधिकार कमजोर हुँदैछ । एउटै कम्प्युटर लाखौँ रुपैयाँको पुस्तक बोक्न सक्ने भएका छन् । कृषि, उद्योग, सञ्चार, भाषा आदिमा भएको व्यापक प्रगति र फैलावटले पँुजीपतिवर्ग धनी त हुँदैछ, साथै आम जनताका निम्ति पनि क्रान्तिका निम्ति साधन उपलब्ध गराउँदै छ । आज संसारभरी पुँजीवादी सुनको पिंजडामा मानिस छटपटाइरहेका छन् । संसारमा सानासाना धेरै चर्चामा नआउने क्रान्तिमा हजारौं कामहरु भइरहेका छन् । एउटा विशाल क्रान्ति र परिवर्तनको तयारी यसरी नै भइरहेको हुन्छ, आज त्यहि भइरहेको छ । पुँजीवादविरुद्धको यो भुसभित्रको आगो कुनै पनि बेला दावानलमा परिणत हुन सक्छन्, अन्ततः भएरै छाड्छ । यो समाज परिवर्तनको स्वाभाविक तर अवश्यम्भावी नियमलाई आत्मसात गर्न जरुरी छ ।   (ङ) पुँजीवादी विश्वले पृथ्वीको अकल्पनीय दोहन र नाफाका निम्ति पर्यावरणमाथि खेलबाड गरेर सिंगो पृथ्वी र मानव जातीको आयु कम बनाइरहेछ । समाजवादी विश्वक्रान्तिको निम्ति यो मुद्दा अनिवार्य रुपमा गम्भीर अर्थ लाग्ने गरी जोडिनेछ, जोडिन थालिसकेको छ । जहाँ नाफाका लागि, व्यक्तिको सुविधानको लागि जे पनि गर्न पाउने व्यवस्था रहन्छ, त्यहाँ पर्यावरणको रक्षा सम्भव नै छैन । समाज र समुदायको हित प्रमुख रहने समाजले मात्र पृथ्वी र पर्यावरणको रक्षा सम्भव छ र मानव जातीको रक्षा सम्भव छ । त्यसप्रकारको व्यवस्था व्यक्तिगत पुँजीले शासन गर्ने पुँजीवादमा असम्भव छ । समाजवादबाहेक पर्यावरण र मानवको रक्षा गर्ने दीर्घकालीन समाज व्यवस्था अरु हुन सम्भव नै छैन । यो चेतना आज कम्युनिष्ट विरोधी मानवताको पक्षमा काम गर्ने अधिकारकर्मीहरुमा समेत आइसकेको छ । पर्यावरण र मानव अस्तित्वको रक्षाका निम्ति सिंगो मानव समाजले समाजवादबाहेक अर्को विकल्प खोजेर केही वर्ष गल्ती गर्न सक्लान् तर सधैं गल्ती गर्न सक्दैन । यो यस्तो सवाल हो जुन बिस्तारै पुँजीवादको एउटा गतिलो कालका रुपमा स्थापित हुदै जाँदो छ ।   यसप्रकार आज फेरि कम्युनिष्ट क्रान्तिकारीहरुले आफूलाई विसर्जित अवस्थाबाट बग्राउन उपरोक्त आजका र ऐतिहासिक वैज्ञानिक तथ्यहरुबाट सुसज्जित हुने अभियानले पुनः एकपल्ट अभियान थाल्नैपर्ने भएको छ ।   ४. आज नेपाली कम्युनिष्ट आन्दोलन चारैतिर अन्यौल, असन्तुष्टि, निराशा र चिन्ताको भुमरीमा फस्न पुगेको छ । यो चिन्तालाई चिन्तनमा रुपान्तरण नगरेसम्म खोजिएको बाटो देखिनेवाला पनि छैन । चिन्तालाई चिन्तनमा बदल्ने भनेको आफैले आफ्नो दिमागमा बन्द गरिराखेको ढोकाहरु खोल्ने हो, साँचो भेटिएन भने साँचो खोज्न सबैतिर चाहार्ने हो । सजिलै घरभित्र पस्न पाउञ्जेल नयाँ ढोकाको खोजी हुँदैन, ढोका खुल्ला होउञ्जेल साँचोको खोजी पनि गरिँदैन । धेरै क्रान्तिकारीले आफूलाई सबैभन्दा अनुकुल काममा मात्र अभ्यस्त गर्ने गरेका हुन्छन् । धेरैले वैचारिक काममा ध्यान दिएका हुन्नन्, केवल मन परेको नेतालाई समर्थन गरेर नै काम चलाइरहेका हुन्छन् । कतिलाई पढ्न मन लाग्दैन, कतिलाई लेख्न झ्याउ लाग्छ । एक थरीलाई आर्थिक जिम्मेवारी लिनै मन लाग्दैन, अर्कोथरीलाई भाषण गर्न मन लाग्दैन, आदि । आफ्नो यस्तो स्वभाव र रुचिका कारण अरु गर्नैपर्ने र गर्दा सक्ने दिमागका सबै ढोका बन्द गरेको अवस्था रहने गरेको छ । सब कुरा आन्दोलनमा आभारभूप रुपमा ठीक हुँदा त ठीकै मान्न पनि सकिएला तर अब त संकट नै पर्यो अनि के गर्ने त ? परम्परागत नेपाली गृहिणी महिलालाई लोग्ने रहुञ्जेल त ठीकै थियो होला तर लोग्ने मर्यो, बौलायो या अर्को टिपेर भाग्यो । तब काममा बाहिर ननिस्की कसरी जीवन प्रगतिमा जान्छ ? जानै सक्दैन । ती महिलाले आफ्नो दिमागमा बाहिरको काम गर्न नजाने भनी बन्द गरेको ढोका खोल्नैपर्छ ।   आज आम नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुका आगडि त्यही परम्परागत घरेलु महिलाको नियति आइलागेको छ । संकट पर्‍यो अब त्यसैले सबैले आफ्नो दिमागको सबै ढोका खोल्न थाल्नु पर्ने भएको छ । बुझिआएको, मानिआएको धेरैजस्तो अवधारणा र नीतिले हावा खाइसके, विश्वास गरिआएका धेरै पात्रहरु शिशाझैं झर्याम झुरुम आफ्नै आँखा अगाडि सोत्तर भैसके । तपाईंले सबैभन्दा आदर, विश्वास गरेको नेताले, सिद्धान्तकारले व्यवहारद्वारा भनिसक्यो, म ‘स्याखिने बाख्रो हो, मैले दिने दुध यति आधा चौथाई मात्र हो’, अनि तपाईंले चाहिँ त्यही बाख्रोलाई, ‘होइन तँ होलस्टोन विकासे गाइ नै होस्, तैंले चालीस किलो दुध नै दिनुपर्छ ।’ भनेर जिद्दी गरिरहनुको के अर्थ छ ?   इतिहासमा व्यक्तिहरुको सकारात्मक वा नकारात्मक कामको मूल्याङ्कन हुनैपर्छ, गर्दै जानुपर्छ तर कुनै पनि व्यक्तिलाईं सरापेर मात्र उपलब्धी हुनेवाला केही पनि छैन । कुनै पथभ्रष्ट भएको नेतालाई गाली मात्र गरेर समय खर्चनु भनेको रोगले चाँडै मरेका बाउआमालाई सराप्नु जस्तै हो । कोही रोगी छ भने उपचार गर्ने हो, उपचार गर्न असाध्य भए अरुलाई रोग सर्न नदिने हो । कठोर नै हुन्छ तर विज्ञान यही नै हो ।   त्यसैले आज दर्शनमा पटक्कै रुचि नभएकाले पनि साँच्चै के हो आधारभूत दर्शन बुझ्न खोज्नैपर्ने, वैचारिक काम अरुका निम्ति ठेक्का दिएर ‘सोच्ने दाइहरुले हो, हामी त खुट्टा हौं लागु गर्ने !’ भनी सोच्नेले पनि वैचारिक काममा रुचि जगाउनै पर्ने भएको छ । लेख्न, बोल्न रुची नहुनेले पनि केही न केहि लेख्ने, केही न केही बोल्न थाल्नै पर्ने भएको छ । कतिसम्म पारंगत भइएला थाहा छैन, तर दर्शनको जिम्मा अब मोहन बैद्यको मात्र होइन, राजनीति एवंम विकासको मोडलको जिम्मा प्रचण्ड, बाबुराम वा नारायणकाजीको मात्र हुन सक्दैन । सौन्दर्यशास्त्रको ठेक्का निनु चापागाईंं वा ऋषिराज बरालको मात्र बनाउन सकिंदैन..... यस्तै यस्तै हरेक कुरामा कोही कसैको नाम अब आँखा चिम्लेर सिफारिस गर्न सकिंदैन । यसको अर्थको कसैको व्यक्तिगत क्षमता र योगदानको अवमुल्यन होइन, बरु आलोचनात्मक भएर आफ्नै विवेकसम्मत ज्ञानद्वारा हर चीजमा सबैले माक्र्सवादको पद्धतिविज्ञानले भने जस्तै हस्तक्षेप गर्न आफूलाई तयार पार्ने भनेको हो । यो सधैंभरी र आज सबै भन्दा जरुरी कुरा हो ।   ५.आज हजारौं शहीद, हजारौं बेपत्ता परिवार र हजारौं घाइते अनि लाखौं पीडित परिवार र कार्यकर्तालाई भौतिक रुपमा केही व्यवस्था गरेर सन्तुष्ट पार्न वा समस्या समाधान गर्न संभव छैन । जनता त नदी हो, त्यसमा अङ्खोराको पानी थप्नुको अर्थ छैन, नदीलाई प्रेम गर्नु भनेको जंगललाई बचाएर पानीको मुहानलाई रक्षा गर्नु हो, त्यो काम भनेको कम्युनिष्ट आन्दोलनलाई बचाएर जनतालाई खुसी पार्नु हो, उत्साहित पार्ने हो । आफ्नो एकबारको दुःखी जिन्दगी कुन नेपालीले आफ्नै पौरखले घिसारेको छैन र ? कुनै पार्टी र माक्र्सवाद नभए पनि जनताले दुःखी जिन्दगी जिएकै हो, जिउँदै जाने छ । चासो र चिन्ता त परिवर्तनको हो । क्रान्तिबाट दिक्क भएर अरबमा भेंडा चराइरहेको माओवादी वा अर्को विचारको युवाले ज्यान धान्न कसैलाई गुहार मागेको छैन, उसलाई त चिन्ता छ नेपाल र सन्ततीको गर्वीलो प्रगतिको । त्यसको निम्ति उ जहिल्यै पनि मर्न तयार थियो, तयार छ । त्यसैले क्रान्तिकारीहरुले कम्युनिष्ट आन्दोलन बनाउन लाग्नु नै मुख्य कार्यभार हो ।   इतिहासमा जुन जुन पार्टी र व्यक्तिले जेजे भूमिका खेलेका भए पनि आजको कम्युनिष्ट आन्दोलनको एकमात्र हस्तक्षेपकारी मूल हिस्सा भनेको माओवादी आन्दोलन नै हो । यो पनि सही हो कि एमालेलगायतका पार्टीहरुमा पनि सच्चा कम्युनिष्ट रहिरहन चाहने व्यक्तिहरु थुप्रै छन् । त्यसैगरी स्वतन्त्र रुपमा रहेका ठूलो जमात पनि कम्युनिष्ट आन्दोलन निर्माणको निम्ति माओवादी आन्दोलन तिर नै फर्केर चासोका साथ हेरिरहेको छ । यस स्थितिमा माओवादी पार्टी भित्रका सकारात्मक र नकारात्मक आधारभूत सबै पाटा पक्षको गम्भिर सिंहावलोकन सहित निष्कर्ष निकाल्नु आजको प्राथमिक महत्वको काम हो । पुर्वाग्रह र भावुकता दुबै नै बस्तुवादी सिंहावलोकनका दुस्मन हुन् । यी दुवै दुस्मनबाट अधिकतम बचेर समस्याहरुको अध्ययनमा प्रवेश गर्नै पर्दछ । माओले भनेका छन, ‘सबैसँग एउटा टाउको छ, आफ्नो टाउको आफै हल्लाउ !’ हो, आज सबै कम्युनिष्ट क्रान्तिकारीहरुले आफ्नो टाउको आफै हल्लाएर हस्तक्षेप शुरु गर्नु पर्ने समय आएको छ । के हामी तयार छौ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies