काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटिएको भनेर यतिबेला सामाजिक सञ्जालमा आलोचनाको ओइरो लागेको छ ।
सामाजिक संजालमा अनेक किसिमका टिका टिप्पणीहरु भइरहँदा प्रधानमन्त्री सल्लाहकार सुर्य थापाले अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भएको बताएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सत्तारूढ नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, \'गुगलमा खोज्नु भयो भने पुटिन (रुसी राष्ट्रपति), ओबामा (अमेरिकाका पूर्वराष्ट्रपति) र मोदी (भारतीय प्रधानमन्त्री) ले मातृभूमिको नक्सा र देशको झण्डा जन्मदिनको केकमा प्रयोग गरेको पाउन सक्नुहुन्छ। प्रधानमन्त्रीज्यूको जन्मदिनमा पनि त्यहि अन्तर्राष्ट्रिय अभ्यासलाई पालना गरिएको हो\' उनले भने ।
थापाले प्रधानमन्त्रीका शुभेच्छुकहरूले तेह्रथुमको आठराईस्थित ओलीको पुर्ख्यौली थलोमा उक्त जन्मदिनको कार्यक्रम आयोजना गरेको र त्यसमा राज्यको पैसा खर्च नभएको समेत दाबी गरे।
हजारौँको सङ्ख्यामा स्थानीय बासिन्दा सहभागी भएको भनिएको जन्मदिनमा कार्यक्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आलोचना भइरहेको छ।
त्यसबाहेक जन्मदिन समारोहमा राजसी शैली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको पनि टिप्पणी पनि भइरहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको जन्मोसत्वलाई लिएर अनावश्यक तरङ्ग पैदा गर्न खोजिएको बताए।
थापा भन्छन्, \'पिछडिएको मानसिकता भएका व्यक्तिहरू न अन्तर्राष्ट्रिय अभ्यास हेर्छन् न प्रचलन हेर्छन्। उनीहरू अनावश्यक तरङ्ग पैदा गर्न खोज्छन्। यसको म केही अर्थ देख्दिन।\'
उनले उक्त केक स्थानीय शुभेच्छुकहरूले बनाएको भन्दै त्यसमा प्रधानमन्त्री वा सचिवालय संलग्नता नरहेको बताए।
हेलिकोप्टरमा केक र यती समूह
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एउटा हेलिकोप्टरमा प्रधानमन्त्रीको जन्मदिन मनाउन उक्त केक लग्न लागेको देखिन्छ।
समाचार विवरणहरूमा पूर्वराजपरिवारसँग जोडिएका सम्पत्ति भाडामा सञ्चालनको विषयमा विवादमा तानिएको यती समूहका अध्यक्षले आफ्नो कम्पनीको स्वामित्वमा रहेको हेलिकोप्टरमा सो केक बोकेर ओलीको जन्मगाउँ पुगेका बताइएको छ।
प्रधानमन्त्रीको जन्मगाउँमा जन्मदिन मनाउने तयारी तीन महिनाअगाडि सुरु भएको बताइएको छ । त्यसबारे थापा भन्छन्, \'यती होल्डिङ्सको विवादको के कुरा गर्नुहुन्छ। गैरकानुनी कामहरू भएका छन् भने राज्यका संयन्त्रले हेर्छ।\'
\'नेपालको एउटा प्रतिष्ठित उद्यमी व्यवसायीका रूपमा उहाँ जान नहुने भन्ने कुरा त भएन। उहाँलाई कुनै कानुनी कारबाही पनि भएको छैन्।\'
थापाले थपे, \'कुनै व्यापारिक घरानालाई यती समूहसँग रिस उठेको छ \'याे प्रतिस्पर्धा छ भनेर हामीले त्यही अनुसारको सामाजिक व्यवहार गर्नुपर्ने जरुरी छैन।\'
बीबीसीबाट
प्रतिकृया लेख्नुहोस्: