काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । बुधबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्न लागेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राख्दैछन् ।
सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा अनुमोदन गर्ने बताइएको छ ।
२०७५ जेठ ३ मा पार्टी एकता घोषणापछि दोस्रो पटक बस्न लागेको नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुु पौडेलले विधान संशोधन प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।
गत महिना स्थायी समितिले पास गरेका प्रतिवेदनहरु केन्द्रीय समिति सदस्यहरुबीच छलफल गराएर अनुमोदन गर्ने तयारी छ । त्यसका लागि नेकपाले समुह विभाजन गरी केन्द्रीय सदस्यहरुलाई छलफलमा सहभागी गराउने तयारी गरेको छ । यसै विषयमा आइतबार बालुवाटारमा दुई अध्यक्षबीच चार घण्टासम्म छलफल भएको थियो ।
लामो समयपछि बस्न लागेको नेकपाको केन्द्रीय समिति बैठकमा विशेषगरी चारवटा एजेण्डा पेश गर्ने नेताहरुको तयारी छ । ति एजेन्डा यसअघि नै पार्टीको स्थायी समितिबाट तय भएपनि त्यसबारे थप छलफल र गृहकार्य गर्न बाँकी रहेकाले ओली र प्रचण्ड मंगलबार दिनभर छलफलमा व्यस्त रहेका छन् ।
अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक विषय यो बैठकका मुख्य एजेण्डा रहेको जनाएको छ । यस बाहेक स्थायी समिति बैठकले निक्र्यौल गर्न नसकेको बहुचर्चित एमसीसीलाई बैठकमा प्रस्तुत गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ । एमसीसीबारे कुनै निष्कर्ष निकाल्न नसक्दा स्थायी समिति बैठकले निणर्य गर्ने जिम्मा सचिवालयलाई दिएको थियो ।
यस्तै, सरकारका कामकारवाही सन्तोषजनक नभएको भन्दै नेकपाभित्रै असन्तुष्टी बढ्न थालेपछि बैठकमा सरकार र पार्टी सञ्चालनबारे केन्द्रीय सदस्यहरुले राख्ने प्रश्नको जवाफ कसरी दिने भन्ने दुई अध्यक्षबीच छुट्टै छलफल समेत गर्ने तयारी भएको बुझिएको छ ।
नेकपाको अन्तरिम विधानले ६–६ महिनामा केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने व्यवस्था गरेपनि उक्त समयमा नेकपा केन्द्रीय समिति बैठक बस्न सकेको थिएन अधिकाँश निर्णयहरु सचिवालय बैठकबाट हुदै आएका थिए । यसमा केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना समेत गर्दै आएका छन् ।
केन्द्रीय समिति बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन विधान संशोधनको प्रस्ताव अनुमोदन गर्नुका साथै उपत्यका विशेष जिल्ला कमिटी र कार्यदिशाबारे विधानको प्रस्तावना संशोधन गर्ने निर्णय पनि अनुमोदन गर्नेछ ।
प्रतिकृया लेख्नुहोस्: