Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

डा. देवेन्द्रराज पाण्डेसँगको अन्तरवार्ताः नाकको डाँडीभन्दा पर नदेख्ने पनि नेता हुन्छन् र ?

\"\"काठमाडौं । डा. देवेन्द्रराज पाण्डे तीन दशकयता कुनै न कुनै रुपले सधैं चर्चाकै वृत्तमा छन् । २०३६ सालमा सरकारी–सेवा वृत्तबाट राजीनामा दिई एक्कासि बाहिर आएका उनी बौद्धिक वृत्त हुँदै आमनागरिकले सम्झने पात्रमा पर्छन् । ‘बहुदलीय व्यवस्था रोज्ने कि दलविहीन व्यवस्था ?’ नारा घन्किरहेकै बखत पञ्चायती शासकहरुले राज्य ढुकुटीलाई जथाभावी खर्च गर्न खोजेपछि उनले सचिवबाट राजीनामा दिएका थिए ।त्यसपछि उनले आफूलाई राजनीतिक विश्लेषक, चिन्तक र एकीकृत विकास खोजीकर्तामा दर्ज गराए जसले उनलाई विश्लेषक र नागरिक अभियन्ताको परिचय दिलायो । पञ्चायतकालको उत्तराद्र्धमा उनको ‘अर्थ–राजनीतिक विसंगति– राष्ट्र निर्माणको तगारो’ पुस्तकलाई शासकीय वृत्तले पचाएन र प्रतिबन्ध लगायो । त्यसले उनको उचाइ भने बढायो । २०४६ मा प्रजातन्त्र पुन:स्थापनापछिको अन्तरिम सरकारमा डा. पाण्डे अर्थमन्त्री भए । उनी २०६२–६३ को जनआन्दोलनको अग्रणी मोर्चामा देखिएका थिए । डा. पाण्डे निरन्तर अध्ययन, अनुसन्धान र विचार–विमर्शमा क्रियाशील छन् । उनको हालै मात्र ‘दि आइडिया अफ इन्टिग्रिटी एन्ड द युनिभर्स अफ करप्सन एन्ड एन्टी करप्सन’ पुस्तक छापिएको छ ।  अाजको कान्तिपुरमा अन्तरवार्ता छापिएको छ-पछिल्लो राजनीतिक गतिरोध, राजनीतिक दलको चरित्र र संघीयता कार्यान्वयनमा चुनौतीका सवालमा  गरेको कुराकानीको सम्पादित अंश ।
संसदीय पद्धति हुँदाका बखत चुनाव सकिएको दुई–तीन साताभित्र नयाँ सरकार देखापथ्र्याे, तर लोकतन्त्रकालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको दुई महिना बितिसक्दा पनि नयाँ सरकार बन्न नसक्नु र अन्योल कायमै रहनुमा संविधान बाधक बनेको हो या बदनियत हावी भएको हो ?
यतिखेरको दुई महिनाको स्थितिले जन्माएको अन्योल त प्रस्टै छ । हामीले राजनीति जुन बाटोमा र जसरी जाला भन्ने सोचेका थियौं, नेतृत्वले आइपरेको जिम्मेवारी सजिलै बहन गर्लान् भन्ने जुन आशा र विश्वास बोकेका थियौं, त्यो व्यवहारमा नदेखिएको धेरै भइसक्यो । अझै स्थिति बिग्रेला कि भन्ने पीडा र ग्लानिभाव बोकेर बस्नुपरेको छ । आफूसमेत लागेर लोकतान्त्रिक गणतन्त्रको यो परिवर्तन ल्याइयो । नागरिकको कल्याण र सुरक्षा दिन जे–जस्ता काम हुनुपथ्र्यो, त्यो हुन नसक्दा र उल्टै नकारात्मक काम भइरहँदा ग्लानिभाव उत्पन्न हुँदोरहेछ । पछिल्ला दुई महिनाको अवस्था भोग्दाभोग्दै पनि यसपछि बन्ने सरकार र नयाँ राजनीतिक अवस्थापछि मुलुकले कुन बाटो लिने हो भनी आशा गरेर बस्नुपरेको स्थिति छ ।
सत्तासीन दलले सत्ता छाड्न नसकेर यस्तो भएको हो या संवैधानिक प्रक्रिया नै यस्तो बनाइएको हो ?
मेरो दिमागमा पनि बारम्बार यही प्रश्न आइरहन्छ । उत्तर नपाइरहेको सवाल पनि यही हो । संविधान कस्तो बनाएछन् भनेजस्तो पनि लाग्छ । अर्को कुरा संविधान जस्तो भए पनि लोकतान्त्रिक मूल्य र मान्यताअनुसार चल्ने हो भने यस्तो हुँदैनथ्यो कि ! संविधानको अक्षरमा एउटा सार हुन्छ र त्यो सार लोकतान्त्रिक पद्धतिअनुरूप हुन्छ । स्वाभाविक पद्धतिमा निर्वाचित जनप्रतिनिधिले सरकार बनाउँछ र हार्ने प्रतिपक्षमा बस्छ । लोकतन्त्रको यो सार र मान्यता नमानेजस्तो पनि देखिन्छ । तर स्थिति त्यति मात्रै पनि छैन । चुनावमा बहुमत ल्याएकाहरूले पनि ऐक्यबद्ध बन्दै सरकारमा दाबी गरिहालेको स्थिति देखिँदैन, जुन अलि अनौठो छ ।
किन यस्ता अनौठा पद्धति अभ्यास भइरहेका छन् त ?
यो अभ्यास नै पद्धतिमा रूपान्तरित होला भन्ने अपेक्षा त नगरौं । तर, तत्कालका निम्ति अनौठो परिस्थिति देखापरेको छ । यो अवस्था अब पाँच वर्षपछि हुने चुनावमा त पक्कै दोहोरिँदैन होला । किनभने त्यतिबेला त प्रदेशहरूले आफ्नो गति लिइसक्छन् र राष्ट्रिय सभा चुनावले नियमित रूप लिइसकेपछि यस्तो अन्योलको अवस्था अन्त्य हुन्छ भन्ने अपेक्षा गरांै ।
भनेपछि, दलहरूले संविधान बनाउँदा यस्तो हुन्छ भन्ने परिकल्पना नगरेका कारण मुलुकले अन्योलको स्थिति भोग्नु परिरहेको हो ?
संविधान बन्दाका बखत अनेक प्रकारका दाबी आइरहेका थिए । कस्तो संविधान भन्ने प्रश्न पनि उठेको थियो । मधेसी र जनजाति अधिकारका विषय पनि तीव्रत्तर थिए । सतहमा देखिएबाहेकका अन्य कैयौं सवाल अन्तर्निहित थिए । भूकम्पपछि नागरिकलाई राहत दिएजस्तो गरी संविधान ल्याएको यथार्थ छँदै छ । यसो हेर्दा त्यतिबेला हतारै पो गरे कि जस्तो पनि लाग्छ । तर जति हतार गरे पनि यिनै दलहरूले चार वर्षमा हुनुपर्ने काम आठ वर्ष लगाएका हुन् । खासमा संविधान कार्यान्वयनमा नेताहरूमा क्षमताको पनि कमी देखियो । नेताहरूको नैतिक धरातल, आचरण, उनीहरूले गर्ने ज्यादती, राजस्वको अपचलनका सवाल पनि हामीले देखिरहेका छौं । यसका साथै हाम्रा दलीय नेताहरूमा क्षमता पनि रहेनछ भन्ने अनुभूति हुँदै छ ।
नेताहरूमा क्षमता नभएको हो या भएको क्षमता पनि ह्रास हँुदै गएको अथवा स्वार्थ हावी हँुदै गएको हो ?
क्षमता भनेको त विकास गर्ने सवाल हो । तपाईंमा कुनै अध्ययनशीलता छैन भने क्षमता कसरी विकास हुन्छ ? मलाई त हाम्रा नेताहरू कुनै विषयमा गहिरिएर अध्ययन गर्छन् जस्तो नै लाग्दैन । अनि त्यस अतिरिक्त कोसँग अन्तरक्रिया या बहस हुन्छ भन्ने वास्तविकताले पनि कसरी ज्ञान उत्पादन भइरहेको छ भन्ने बुझाउँछ । नेताको भनाइलाई जसले सही थाप्छ, या जसले जय नेपाल वा लालसलाम भन्छ, अथवा जो बिहानै आएर हो मा हो मिलाउँछ, तिनैसँग मात्रै अन्तरक्रिया गरेर ज्ञान आउने कुरै भएन । हाम्रा उपल्ला नेतृत्ववर्गमा फराकिलो समाजमा घुलमिल गर्ने बानी नभएको, आफूले भनेको ठीक र जसले ठीक भनिदिन्छ, त्यसैसँग मात्र सहकार्य गर्ने बानीले पनि यस्तो अवस्था निम्त्याएको हो । कांग्रेसका नेता बीपी कोइराला थरीथरीका मान्छे बोलाएर तिनका तथ्य–तर्क सुन्थे । त्यस किसिमको अभ्यास एकाध अपवादलाई छाडेर कुनै नेतामा पनि छैन ।
हाल क्रियाशील दृश्यमा सक्रिय मुख्य नेताहरूले निर्दलीय पञ्चायती व्यवस्था देखे र भोगे, त्यतिखेर झैं त्यतिबेला पनि उनीहरूमा दलीय संस्थागत आदर्शभन्दा आफूलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण यो स्थिति पैदा भएको हो कि ?
यही दृश्य या सोच कमल थापामा देखियो भने अचम्म नमाने हुन्छ । गणतन्त्रमा रजाइँ गरेर बसेका नेताहरूमा पनि पञ्चायती मानसिकता रहेको म बुझ्छु । तर त्यही पञ्चायतसँग तीस वर्ष संघर्ष गरेको नेपाली कांग्रेस, माले हुँदाका बखत हतियार उठाएको एमाले, माओवादी हुँदाका बखत हतियार उठाउँदै जनयुद्ध लडेको माओवादीमा नेतृत्वमा पञ्चायती शैली मात्रै आयो भन्न मिल्दैन । तर जतिसुकै आफूलाई क्रान्तिकारी भने पनि, जतिसुकै आफूलाई लोकतन्त्रवादी भने पनि उनीहरूले हाम्रो समाज र राज्यमा इतिहासदेखि जकडिएको संरचना र चरित्रमा परिवर्तन गर्न नसकेको वास्तविकता भने स्वीकार गर्नैपर्छ । राणा र पञ्चायतकालमा जुन किमिसको सामन्ती र अर्धसामन्ती व्यवस्था थियो, गणतन्त्र आइसकेपछि पनि मूलत: शासकहरूको सोच र चरित्र त्यस्तै भावनाबाट निर्देशित रहनु पाइनु चाहिँ अस्वाभाविक लाग्छ ।
अनेकन परिवर्तनपछि पनि किन शैली फेरिएन त ?
पार्टी विकास हुन संगठन चाहिन्छ । त्यो संगठन पछाडि सुविचारित उद्देश्य, आदर्श र विचार हुन्छ । त्यसलाई हाँक्ने नेतृत्व हुन्छ । हामीकहाँ त्यस्तो नेतृत्वको कमी छ । नेतृत्वको कमीले संगठन संस्था बन्न सकिरहेको छैन । संगठनलाई संस्था बनाउन त आदर्श र मूल्यमान्यताबाट ओतप्रोत हुनुपर्छ । त्यसले मात्रै स्थायित्व दिन्छ र दीर्घ सोच दिन्छ । तर दुर्भाग्य, हाल यस्तो अवस्था पार्टीहरूमा देखिँदैन ।
एउटा भनाइ छ, देश बदल्छु भन्नेहरू आफैं बदलिए । अर्थात्, हाम्रा नेताहरूले देश त बदलेनन् आफू मात्रै परिस्थितिजन्य अवस्थानुरूपबदलिएका हुन् कि त ?
मैले धेरै वर्षअगाडि एउटा लेख लेखेको थिएँ– राज्यको वर्गीय चरित्र परिवर्तन गर्छु भन्नेहरूले आफ्नै वर्गीय चरित्र परिवर्तन गर्न लागेका छन्, त्यो भनाइ यतिखेर झनै धेरै सार्थक भइरहेजस्तो लाग्छ । राजनीतिमा आमूल परिवर्तनपछि नेतृत्ववर्गको सोचमा कुनै परिवर्तन छैन ।
जसरी आफूलाई मात्रै केन्द्रमा राख्ने चिन्तन–प्रणाली हुर्किरहेको छ, त्यो प्रवृत्ति राजनीतिबाट सरुवा हुँदै राज्यका यावत् तहमा पनि संक्रमित भइरहेको अनुभूत तपाईंलाई हुँदैन ?
मैले त पञ्चायतकालमा जागिर खाएँ । नेपालको अर्थतन्त्रबारे धेरथोर चिन्तन गर्न थालेँ । जनमत संग्रहकै बेला जागिर पनि छाडेँ । त्यसपछि बहुदलीय लोकतान्त्रिक आन्दोलनमा पनि लागेँ । हामीले त मुलुकको समग्र विकास सोचेका थियौं । सबैको भविष्य बनाउने र साधनस्रोत र शक्तिमा सबैको पहुँच हुने राज्यव्यवस्था भयो भने मात्रै विकास अगाडि बढ्छ भन्ने मेरो बुझाइ थियो । तर त्यसप्रकारको सोच र चिन्तन गर्नै नपर्ने भएपछि यस्तो अवस्था सिर्जना हुने नै भयो । हामीकहाँ नेतृत्वको अवस्था बढो विचित्रजनक रह्यो । भागबन्डाका आधारमा यहाँ त यति छिटो–छिटो सरकार बदलियो । कसको नेतृत्वमा के भएको छ भनेर हामीले दस वर्षमा केही पनि थाहा पाउन सकेका छैनौं । यो देशको जिम्मा कसको त ? यो राज्यको अंगलगायत समाजका अनेक पेसामा पनि छरपस्ट भएको छ ।
त्यसो भए राजनीतिक नेतृत्वलगायत समाजले नै दिशा पहिल्याउन नसकेको अवस्था हो ?
दिशा तोक्न संविधानसभामा जनप्रतिनिधिको हातबाट संविधान बनाइएको हो । संविधानमा पनि राज्यको दिशा परिकल्पना गरिएको छ । त्यसैबाट दिशाबोध हुनुपर्ने हो । संविधानपछिको निर्वाचनले दिशा समात्छ कि भनी आशा गर्न सक्छौं । तर त्यति हुँदाहुँदै पनि अन्योल, चिन्ता, असुरक्षाको भाव, मुलुककै भविष्यबारे पनि सुनिश्चित हुन नसक्ने अवस्था छ । हामीले कस्तो राजनीतिक व्यवस्था स्थापना गरिहेका छौं भनी नेतृत्वले आत्मसात् गर्न नसक्नुको परिणाम हो यो अन्योल । लोकतान्त्रिक राज्यव्यवस्थाका निम्ति नेतृत्व प्रदान गर्न के–कस्तो चरित्र, गुण र संस्था चाहिने हो भन्नेबारे अभ्यास भएको छैन । हामीकहाँ त पदीय नेता हुने चलन भयो । एकचोटि नेता भएपछि सधैंको नेता हुने पद्धति बसालियो । मिलेमतो र भागबन्डाका आधारमा नेता हुने चलन चल्यो । नेतामा त राज्यलाई दिशा निर्देश गर्ने चिन्तन हुनुपर्छ । उसले त समाज, राष्ट्र र विश्वको अध्ययन गरेका आधारमा आफ्नो मुलुकको भविष्य परिकल्पना गरेको हुनुपर्छ । अनि त्यसअनुसार नेतृत्व हाँक्न बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा गर्न मैले कस्तो पार्टी, कसरी बनाएर, कुन आदर्शबाट र कुन संगठनबाट निर्देशित गरेर लैजाने भन्ने सोच पनि हुन्छ । तर हामीकहाँ यो केही पनि गर्नुपर्दैन । अनुयायीजस्ता कार्यकर्ताको सर्मथन र तिनैको परिचालन गरे हुने भयो । यति गर्न आर्दश, सोच, चिन्तन पढाइ–लेखाइ केही पनि चाहिँदैन । बस, पैसा र राज्यशक्तिमा पहुँच हुनुपर्‍यो । राज्यशक्तिमा पहुँच स्थापित भएपछि राज्य ढुकुटी दुरुपयोग गरी आसेपासे आकर्षित गरी नेता भइरहन्छन्, यहाँ त । लोकतन्त्रमा ‘चेक एन्ड ब्यालेन्स’ हुनुपर्छ, हामीकहाँ त त्यो पनि छैन ।
हालै मात्र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटा कार्यक्रममा पढेका मान्छेको बुद्धि बिग्रने तर्क गर्नुभयो, तपार्इंले यतै संकेत गर्नुभएको हो ?
नेताहरू आवेग र आवेशमा आएर कहिले के बोल्नुहुन्छ, कहिले के ? पढेका–लेखेका मान्छेबारे उहाँहरू के सोच्नुहुन्छ भन्दा पनि बरु नेताहरूले नै अलिकति भए पनि पढे–लेखे हुन्थ्यो भन्ने मलाई लाग्छ । नेताहरू बिहान उठ्यो, आफैंलाई मनपर्ने दुइटा अखबारपढ्यो, जो–जो भेट्न आउँछन्, तिनीहरूसँगै गफ गर्दै बसेपछि जति पढे पनि के काम !
हाम्रा नेताहरूलाई आलोचनात्मक मान्छे भन्दा पनि आफ्ना भक्तजन र अनुयायीसहितको परिदृश्य खोजिरहन्छन् भन्न खोज्नुभएको हो ?
हो । चाहिएकै त्यस्तो हो । त्यस्तो अवस्थामा सामन्ती नाइके भइन्छ, नेता भइँदैन । मठाधीश भइन्छ, नेता होइन ।
तपाईंको भनाइको तात्पर्य र नजरमा हालका दलीय नेताहरू नेता नभएर मठाधीश हुन् ?
मलाई त्यस्तै लाग्छ । दृश्य पनि त्यस्तै देखिएको छ ।
लोकतान्त्रिक मुलुकमा त सत्ताबाट बाहिरिएपछि बिरलै मात्र दोहोरिएर सत्तामा फर्किने परिपाटी छ, तर हामीकहाँ त जत्रो परिवर्तन भए पनि तिनै पात्र र प्रवृत्ति दोहोरिन्छन् । कारण के हो ?
हामीले नेता–नेता मात्रै भन्यौं । कुन नेता र कस्ता नेता भनी गहिरिएर भनेनौं । हरेक पार्टीका एकाध मात्र बागी नेता छन् । साथसाथै नेता बनाउने मान्छे पनि यहीँ छन् । यहाँ त कैयौं मान्छे आफैं नेता भएका छैनन्, कसैले बनाइदिएका नेता छन् । यो कस्तो समाज हो, जहाँ तिनै मान्छेलाई घरी–घरी नेता बनाइरहन्छौं । हेर्नाेस् त, बाह्र वर्षपछि पनि नयाँ मान्छे पाउँदैनौं, तिनै अनेक (कु) कर्ममा संलग्नलाई नेता भन्नुपर्छ । अनि बाह्र वर्षपछि पनि नेता अलि–कति सप्रेर आएको देखिँदैन । बरु थप बिग्रेर आएको हुन्छ । यही परिस्थितिलाई हामीले लोकतन्त्र भनेर बस्नुपरिराखेको छ । अनि विकल्प पनि केही देखिँदैन । तर पनि यही व्यवस्था सपार्नु या सुधार्नुपर्छ, यो व्यवस्थाको विकल्प छैन भन्नेका लागि साह्रै गाह्रो छ । सर्वसत्तावाद हावी भएको मुलुकमा मात्रै यस्ता अवस्था देखापरिरहन्छ । तर दुर्भाग्य, लोकतन्त्र अपनाइरहेको हाम्रोजस्तो मुलुकमा पनि त्यस्तै दृश्य हावी छ ।
अब सधैं यस्तै चलिरहन्छ त ?
हामीले भविष्य के हुन्छ त भन्नुभन्दा पनि युवा छन्, तिनैले गर्छन् भन्नुपर्छ । तर यहाँ त युवा पनि छैनन् कि जस्तो लाग्छ । वैचारिक विद्रोह, सांगठनिक विद्रोह, रचनात्मक विद्रोह गरेका युवा पनि देखिँदैनन् । सार्वजनिक खपतका लागि दुई चार वटा कुरा गर्नु फरक हो । बोलाइ र गराइमा कति फरक छ, हेर्नुपर्ने हुन्छ । एउटा पार्टीभित्र एउटा नेताले आफ्नो हैसियत कसरी विकास गर्छ, उसको विचारलाई पार्टीले कसरी ग्रहण गर्न सक्छ भन्ने आधारमा मात्रै सर्मथन मिल्छ । यस्तो विधि पनि देखिँदैन । यहाँ त केही अनुयायी जम्मा गर्ने, तिनै अनुयायी जम्मा गर्न पैसा संकलन गर्ने परिस्थिति देखिन्छ । सबैको दिमाग राम्रो बाटोतिर नलागेपछि कुन युवा, कुन न युवा ? के भन्ने ? राजनीति भनेको त उच्च सेवाभावले ओतप्रोत हुनुपर्ने क्षेत्र हो । तर हामीले राजनीतिलाई साह्रै फोहोरी बनायौं । नेतालाई उत्प्रेरित गर्ने शक्ति भनेको त मलाई इतिहासले कसरी सम्झिन्छ भन्ने हुनुपर्ने हो । मैले सत्कार्य गर्दा इतिहासले सम्झिन्छ, दुष्कार्य गर्दा सम्झिँदैन भनेर बुझ्नुपर्ने हो । आफ्नो ‘भिजन’ पूरा गर्न नेतालाई साधन पनि चाहिन्छ, साधन भनेको पैसा मात्रै होइन कि राजनीतिक सर्मथन, बौद्धिक साधन पनि हो । जनप्रतिनिधिमूलक व्यवस्थामा त्यसको स्रोत भनेको जनप्रतिनिधि हुन् । मतदाताबाटै शक्ति र स्रोत लिने हो । छद्म स्वार्थी समूहलाई शक्तिको स्रोत मानेपछि त त्यही समूहको स्वार्थ पूरा गर्नुपर्ने स्थिति उत्पन्न भइहाल्छ । यस्तो सोच लिएर युवा आए भने उनीहरूले केही गर्न सक्छन् । अब पनि हाम्रो आशा गर्नेबाहेक अर्को विकल्प छैन ।
शासनलाई जनताको नजिक पुर्‍याउन संघीयतामा प्रवेश गरिँदै छ, तर यसको कार्यान्वयनको प्रारम्भिक चरणमा निराश दृश्य मडारिँदै छ, यसले उत्साहभन्दा आक्रोश बढाउन खोज्दै छ, तपाईंले कसरी हेर्नुभएको छ ?
स्थानीय तहमा पनि केन्द्रको छिटा त लाग्ने नै भयो । किनकि हामी एउटै समाजमा बसेका छौं । दोस्रो कुरा, केन्द्रीय तहमै विचित्रको अवस्था सिर्जना भयो । जसले गणतन्त्र र संघीयताका लागि आन्दोलन गरे, जसमा सर्मपण भाव थियो, तिनीहरू बाहिर छन् । अनि गणतन्त्र चाहिन्छ र ? संघीयताले मुलुक बर्बाद गर्छ भन्ने सोच भएकाहरूको नेतृत्वमा मुलुक चलिरहेको छ । यसमा माओवादी अपवाद होला । किनकि जनयुद्धदेखि जनआन्दोलनसम्म उसको सहकार्य थियो । तर माओवादी पनि आफ्नै हिसाबले ‘स्खलित’ भइसकेको छ । माओवादी र अरूमा धेरै फरक बाँकी छैन । त्यसकारणले संघीयतामा विश्वास कम भएका, गणतन्त्रमै आस्था कम भएकाहरूले संघीय गणतन्त्र चलाइरहेका छन् । यसमा कसैको व्यक्तिगत दोष छ भनी भन्न खोजेको हैन किनभने उनीहरूले लोकतान्त्रिक पद्धतिबाट जनमत पाएका छन् । तर जुन प्रकारको शासन व्यवस्थाको परिकल्पना गरिएको थियो, त्यसलाई बुझ्न अझै नसकिरहेको अवस्था हो । तर पनि हामीले के भन्नुपर्छ भने, सुरुका दिनमा यस्तै हुन्छ होला । नयाँ व्यवस्थामा अभ्यस्त हुँदा यस्तो देखिन्छ होला ।
संघीयतालाई बलियो बनाउन राजनीतिक नेतृत्व र अन्य तहले कस्तो भूमिका खेल्नुपर्छ ?
संघीयता हामीलाई किन चाहिएको भन्ने प्रश्नबाटै यसको उत्तर सुरु गर्नुपर्छ । कुनै दुर्घटनाका कारण संघीयता आएको होइन । यो व्यवस्था जनआन्दोलनको बलमा प्राप्त भएको हो । आन्दोलनमा जेजस्ता सोच–विचार, आकांक्षा प्रस्फुटित भए, त्यसलाई सम्बोधन गर्नेखालको संघीयता हुनुपर्ने हो । मूलत: केन्द्रीकृत राज्य सत्ताबाट राज्य सञ्चालन हुँदा लोककल्याण, विकास र जनतालाई सेवा पुर्‍याउने क्रममा जनताको पहुँच सरकारमा कम हुँदोरहेछ भनी सरकारलाई जनता नजिक पुर्‍याउन संघीयताको परिकल्पना गरिएको हो । दोस्रो, स्थानीय नेतृत्व मतदातासँग नजिक हुन्छ । जनताको अवस्थालाई नजिकबाट देखेर त्यसलाई स्थानीय तहले सम्बोधन गर्न सक्छ भन्ने मान्यता हो । यी दुवै विषयमा चुकिएको छ । स्थानीय तहको चुनावपछि मेयर र उपमेयरहरूका आकांक्षा, उनीहरूले उठाएका स्वार्थका विषय देख्दा यस्तो लाग्छ, उनीहरूले आफूलाई पनि नेता ठाने । नेता भएपछि त सुविधा चाहिने रै’छ भन्ने ठाने । नेता भनेको सेवाभन्दा आफ्नै सुविधा भन्ने भयो । हामीले के–कस्ता सुविधा पाउने भन्नेतिर मात्रै उनीहरूको ध्यान गइरहेको देखिन्छ । दस/वाह्र वर्षयता केन्द्रमा त यही प्रवृत्ति देखियो । केही गर्नभन्दा पनि सुविधा भोग्न नेता हुन खोज्ने मानसिकता देखियो । सुविधाकै मात्रै सिको गर्न थालेपछि त संघीयताको अर्थै भएन । संघीयता कम खर्चिलो हुनुपर्छ । हामी फजुल र अनुत्पादनशील काममा कम राजस्व खर्च गरी त्यो रकम जनकल्याणमा लगाउन सक्छौं भन्ने सोच नभएसम्म केही हुँदैन । तर त्यस्तो सोच केन्द्रमा पनि भएन, तल पनि देखिएन । संघीयतासँगै यतिका धेरै खर्च हामीले धान्न सक्छौं भन्ने कुरा पनि आइरहेको छ । संघीयता आएपछि यसले राज्यव्यवस्थाको व्यापक पुनरावलोकन माग गर्छ । कुन काम केन्द्रमा गर्ने, कुन काम प्रदेशमा गर्ने, कुन काम मिलेर गर्ने भन्ने कुरामा मोटामोटी सहमति भएर मात्रै पुग्दैन । साधनको बाँडफाँड पनि मिलाउनुपर्छ । हालसम्म राज्यमा भइरहेका बेतिथि, अपव्ययी सोच र संस्कार नछाडी हुँदैहुँदैन । सुविधातिर मात्रै गएपछि नियमित खर्च धान्न नसक्ने स्थिति आइहाल्छ । कोटामा आफ्ना र पार्टीका मान्छे भर्ना गर्ने, राज्यको ढुकुटी खर्च गरी नचाहिने समिति बनाइरहेपछि खर्च कसरी कम हुन्छ ? सुरक्षाका नाममा ठूलो खर्च भइरहेको छ । त्यसमा कति खर्च कटौती गर्न सकिन्छ कति । पछिल्लो दस बाह्र वर्षयता अनुत्पादनशील क्षेत्रमा राजस्वको जति खर्च भइरहेको छ, त्यसमा ठूलो मात्रामा खर्च कटौती गर्नुपर्छ ।
संघीयतामा त प्रदेश राजधानी सकेसम्म जनताको नजिक पुर्‍याउने भन्ने हो, तर अस्थायी राजधानी तोक्ने बेला विचार पुर्‍याएको देखिएन नि ?
राजधानी तोक्ने काममा विचित्रैको प्रवृत्ति हावी भएको छ । तीन नम्बर प्रदेशकै राजधानी हेरौं न, रसुवाको मान्छे त्यहाँ कसरी पुग्ला ? अरू पायक पर्ने ठाउँ पनि थिएन र ? नेतृत्व र तिनको सोच नै देखिएन । तत्काललाई मैले कसलाई रिझाउनु छ, भोलि चुनावमा मेरो भोट के हुन्छ भन्नेभन्दा परको सोच नहुनुको परिणाम हो । नाकको डाँडीभन्दा पर नदेख्ने पनि नेता हुन्छ र ? नेताको त यस्तो सोच छ भने आम नागरिकले के बुझून् ? जनताले त राजधानी बन्नेबित्तिकै विकास हुन्छ भन्ने ठानेका छन् । राजधानी भएपछि काठमाडौं जस्तो बिग्रन्छ भनेर पनि सोच्नुपर्‍यो नि । हेर्नुस् त काठमाडौंलाई कस्तो विरूप बनाइयो । नेता भएपछि नागरिकसँग संवाद पनि गर्नुपर्छ । तर हाम्रा नेता भाषण मात्रै गर्छन् । नेताहरूको आफ्नै चिन्तनको अवस्था गरिब छ । एकोहोरो भाषण गरेपछि जनताले के बुझ्ने ? विकासका नाममा हामीले पचासौं विकृति ल्याइसकेका छौं ।
संघीयताको कार्यान्वयनसँगै आशावादी हुने ठाउँ छ कि छैन ?
यही तरिकाले चल्ने हो भने त संघीयता मात्रै होइन, जस्तोसुकै सुन्दर व्यवस्था पनि चल्दैन । संघीयताले गर्दा यस्तो नेतृत्व भएको होइन कि नेतृत्वले गर्दा संघीयता भएको हो । अब संघीयता बदल्न सकिँदैन तर नेतृत्व त बदल्न सकिन्छ । यस्तो बेला शिक्षित समुदायको भूमिका पनि त्यति प्रभावशाली देखिएको छैन । कति हदसम्म यो प्रत्युपादक नै देखिएको छ । अशिक्षित र कमजोर वर्गको सोच एउटा होला । पढ्न लेख्न पाएका, पहुँचसहित सहरमा बसेका मान्छेले पनि एउटा न एउटा पार्टी र एउटा न एउटा नेतासँग नटासिएसम्म आफ्नो भविष्य सुरक्षित हँ‘ुदैन भनेर सोधिदिएपछि प्रभावकारी निर्णय कहाँबाट हुन्छ ? यस्तो भएपछि नेतृत्वले आफ्नो बाटो कसरी बदल्ने ? नागरिक समाज हो कि के जाति भन्नेको पनि भूमिका हुन्छ । तिनीहरू कमजोर भएर पनि यस्तो भएको हो । मैले दस/बाह्र वर्षयता नागरिक समाज देखेकै छैन अनि कहाँबाट नेतृत्वमा परिवर्तन आउँछ ? परिवर्तनका निम्ति फिलिंगो कहाँबाट आउँछ ? यस्तो फिलिंगो त नागरिकको दबाबबाट आउने हो ।
राज्यका अंगहरू पनि पहिलेभन्दा थप कमजोर बनिरहेका छन्, संसद्ले आफ्नो भूमिका निर्वाह गर्न नसकेको दृश्य छताछुल्ल भइसकेको छ । पछिल्लो समयमा न्यायको अन्तिम छानो न्यायालयमा विवादको भुँमरीमा छ, यसले हामीलाई कता लैजान खोजेको हो ?
जेजस्तो शक्ति र साधन–स्रोत छ, त्यसैमा पहुँच बनाउने र त्यसैमा रमाउने प्रवृत्ति रह्यो । मेरो संस्था के हो, यसको उद्देश्य के हो, यसले निर्वाह गर्नुपर्ने भूमिका के हो भन्नेबारे विमर्श नगरेपछि यस्तो अवस्था आउने नै भयो । न्यायालयको अवस्था त छर्लङ्ग भइरहेको छ । त्यहाँबाट न्याय पाउनुको सट्टा जनतालाई पीडा दिनेहरूलाई भरथेग गर्ने काम भइरहेको छ कि भन्ने सोच कहिलेकाहीं आउँछ । अर्को संस्था छ, सेना र प्रहरी । यी दुवैलेआफ्नो खर्च बढाउँदै लगेका छन् । के त्यस्तो खर्च राज्यले धान्न सक्छ ? सोच्न सकेको देखिँदैन । निजामती कर्मचारीतन्त्रमा राजनीतीकरण यसरी भयो कि अब त्यसलाई निजामती पनि भन्न नमिल्ने भयो । तिनको स्वरूप त निजामती हुँदै होइन । कुनै पनि पेसा र व्यवसायमा ट्रेड युनियन हुन्छ । उसले पेसाको हक–हितमा काम गर्ने हो । तर यहाँ त खुला रूपमा दलीय स्वार्थमा काम गरिरहेका छन् । राजनीतिज्ञसँग कुरा गर्‍यो, कर्मचारीतन्त्रलाई गाली गर्छन् । कर्मचारीतन्त्रसँग कुरा गर्‍यो, राजनीतिज्ञलाई गाली गर्छन् । यहाँ एकप्रकारको मिलेमतो चलिरहेको छ । कर्मचारीतन्त्र भनेको त स्थायी सरकार हो । सरकार बदलिए पनि कर्मचारीहरू न मुलुकको नियम कानुनअनुरूप चलिरहनुपर्छ । तर यहाँ त मन्त्री आएपछि सचिव बदल्ने काम भइरहेको छ । यस्तो काम रोक्न निजामती तहबाट संगठित प्रयास भएकै छैन । मुख्यसचिवले सबै सचिवलाई बोलाएर संगठित हुँदै पार्टीगत आधारमा नभई निजामती धर्मका आधारमा मात्र चल्ने हो भने धेरैखाले विकृति रोकिन्छ ।
शासकीय सुशासन, नैतिकता र इमानदारीमा आधारित हुँदै भर्खरै तपाईंको पुस्तक पनि आएको छ, सुशासनको आँखाबाट मुलुकलाई कस्तो देख्नुहुन्छ ?
पछिल्ला बीस वर्षमा भ्रष्टाचारविरुद्धमा धेरै काम भएका छन् । ऐनकानुन परिमार्जित भए । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा भ्रष्टाचारविरुद्ध अनेक क्रियाकलाप भएका छन् । संयुक्त राष्ट्रसंघीय महासन्धिदेखि नागरिक समाजसम्म यसविरुद्ध लागेका छन् । भ्रष्टाचार गर्नेलाई दण्ड सजाय पनि भएका छन् । तर पनि भ्रष्टाचार त भइरहेको छ । यस्तो किन भइरहेको छ ? के हामीले कानुनी र प्राविधिक कुरा मात्रै हेरेर हो कि ? यसबाहेक अरू मामिला पनि छन् कि भनी मैले ‘निष्ठा’ भन्ने शब्द राखेर किताब निकालेको हो । हाम्रो शासकीय संयन्त्रमा निष्ठाको अभाव देखिन्छ । शक्तिसम्पन्न समुदाय आफ्नो भूमिकाप्रति निष्ठावान् नभएको कारण भ्रष्टाचार मौलाएको हो । पुस्तकमा नेपालबारे मात्रै होइन, विश्वभरका अनुभव सामेल छन् ।
भ्रष्टाचारको रूप कस्तो छ र राज्य संयन्त्रमा रहेका पात्रहरूमा रोक्ने क्षमता कत्तिको देखिन्छ ?
मैले त विश्वकै अभ्यास हेरेको हुँ । भ्रष्टाचार बढ्दो छ । भ्रष्टाचार नियन्त्रणका लागि जेजति संस्था छन् र तिनका क्रियाकलापबाट पनि आश्वस्त हुने ठाउँ छैन । म ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्यक्ष छँदा केही साथीसहित प्रधानन्यायाधीशलाई भेट्न र सुझाव दिन गएका थियौं । न्यायालयमा भएका विकृति र अनियमितताबारे हाम्रो धारणा सुनेपछि प्रधानन्यायाधीशले भन्नुभयो, ‘हामी पनि त समाजकै अंग हौं नि ।’ त्यो भनाइ म कहिल्यै बिर्सन्नँ । भ्रष्टचार नियन्त्रणका निकायहरू पनि समाजकै अंग त हौं भनी सरलीकरण गरिदिने प्रवृत्ति बढ्दो छ । नेताहरूमा त पूरापूर राजनीतिक प्रतिशोधबाहेक केही देखिन्न ।
यहाँ समाजको प्रसंग आयो, के त्यसो भए नेपाली समाज भ्रष्ट भएको हो त ?
समाज नै भ्रष्ट होइन । उपचारका निम्ति एउटा कुरालाई मात्रै दोष लगाएर हुँदैन । नेता मात्रै भनेर पनि हुँदैन । नेता बनाउने पेसेवर पनि छन् । भ्रातृ र भगिनी संगठन पनि छन् । व्यापारिक क्षेत्रका मान्छेको पनि राजनीतिभित्र घूसपैठ छ । अभावग्रस्त अवस्थामा बाच्न बाध्य भएका बाँकी आम नागरिक पनि आफूलाई कसरी हुन्छ भनेर खोज्ने नै भए । यस्तो अवस्थामा एकले अर्कालाई सकारात्मक सोचबाट भरथेग गर्नेभन्दा नकारात्मक तर्कमा भरथेग दिइरहेको अवस्था छ ।
त्यसो भए, उपचारको विन्दु के हो त ?
सबै ठाउँमा सुधार गर्नुपर्छ, तर सुधार गर्ने जिम्मेवारी पहिलो त नेतृत्वकै हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending