Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दिल्ली डायरी : भारतमा राष्ट्रपति भण्डारीका पाँच दिन

\"\"राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत बसाइको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनका सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भए । भारतलाई दिनुपर्ने सन्देश र भारतले दिनुपर्ने सन्देशको आदान–प्रदान ५ वैशाखमै सम्पन्न भयो । भारतले उनलाई कति बुझ्यो, राष्ट्रपतिले भारत कति बुझिन्, भविष्यमा कुनै हिसाबले उजागर होला नै। थप दुई दिन राजकीय भ्रमणलाई तीर्थाटनमा बदलेर राष्ट्रपति गुजरात र उडिसा गइन् । भारतले विशेष विमान र हेलिकोप्टरसहित आतिथ्य प्रदान गर्यो । गुजरातमा भाजपा नेता एवं मुख्यमन्त्री विजय रुपानीले स्वागत गरे । उडिसामा गभर्नर (जो राष्ट्रपतिका प्रतिनिधि मानिन्छन्)ले स्वागत सत्कार गरे । दुई दिनको यात्रा फगत घुमघाम थियो, जसको राजकीय औपचारिकता केबल मेजमानी मात्र थियो । राष्ट्रपति भण्डारीको राजनीतिक पृष्ठभूमि देवी–देउता मान्ने खालको होइन, तर पारिवारिक पृष्ठभूमिचाहिँ हो । उनले राष्ट्रपति भएपछि स्वाभाविक रूपमा पार्टी त्यागसँगै धार्मिक पूजाअर्चनामा सहभागिता जनाएकी छिन् । नेपालका राष्ट्र प्रमुखले निर्वाह गर्ने राजकीय परम्परामा धर्म जोडिने हुनाले भण्डारीले त्यसको निरन्तरता दिनु स्वभाविकै हो । यस हिसाबले उनको यो धार्मिक रुचिभन्दा पनि राजकीय भूमिका वा देखावटीपन हो । भण्डारीले दिल्ली आएकै दिन नेपाली दूतावासमा भनिन्, ‘नेपाल हिन्दुत्वको देश हो ।’ वैशाख ६ र ७ गते राष्ट्रपतिको मूलतः धार्मिक यात्रा भयो । गुजरातमा विमानस्थलदेखि होेटेल र मन्दिरसम्म स्थानीय जनताले सांस्कृतिक बाजागाजासहित स्वागत गरे । ‘प्रधानमन्त्री मोदीजीको गृहनगर भएकाले पनि होला, सम्मान र स्वागतमा कमी भएन । गुजरात राज्यको क्याबिनेटका गृहमन्त्री विमानस्थलमा स्वागत गर्न आउनुभयो,’ यात्रामा साथै रहेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सम्झिन्छन्, ‘उहाँ सवारीमन्त्रीका रूपमा साथमा रहनुभयो । मुख्यमन्त्रीले राजकीय भोज दिनुभयो । राष्ट्रपतिज्यूले द्वारकाधीश र सोमनाथ मन्दिरको दर्शन गर्नुभयो । हामी सबैले उहाँलाई साथ दियौँ ।’ केन्द्रीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले पनि राष्ट्रपतिसँगै उडिसा जाने जानकारी दिएका थिए । तर, श्रीनगर जानुपर्ने भएकाले उनी उडिसा पुगेनन् । ‘उहाँले मलाई फोन गरेर सोधिरहनुभयो,’ राजदूत उपाध्यायले भने, ‘उडिसामा पनि गुजरातमा जस्तै जनस्तरबाट राष्ट्रपतिको भव्य स्वागत गरियो । गुजरात र उडिसामा राष्ट्रपतिलाई स्वागत गरिएका ब्यानर राखिएका थिए । हामी मन्दिरमा जाँदा होस्, वा होटेलमा, जनताले भव्य स्वागत गरे ।’ उडिसाको जगन्नाथपुरीमा नेपाली पन्डाहरूले राष्ट्रपतिलाई घेरे । नेपाली रहेकाले त्यहाँ सबैले स्वागत सत्कार गर्ने नै भए । राजदूत उपाध्यायका अनुसार राष्ट्राध्यक्षका नाताले पूजाअर्चना गर्ने कि नगर्ने भन्ने कुराकानी हुँदा राष्ट्रपतिले ‘देश र जनताको कल्याणका लागि पूजा गर्छु’ भनेकी थिइन् । ‘उहाँले चारवटा मन्दिरमा पूजाअर्चना गर्नुभयो । म त आध्यात्मिक भएकाले खुसीले गद्गद् नै भएँ,’ उपाध्यायले सुनाए । ‘भारत भ्रमण अत्यन्त मर्यादित र सफल भयो,’ राष्ट्रपति स्वदेश फर्किएको भोलिपल्ट ९ वैशाखको बिहान नेपाली राजदूत उपाध्यायले पाँचदिने राजकीय यात्राको निष्कर्ष सुनाए, ‘यो भ्रमणपछि नेपाल–भारत सम्बन्धमा थप न्यानोपन आएको छ, अब हामीले आफ्नोतर्फबाट काम गर्नुपर्छ ।’ अध्यात्ममा गहिरैसँग डुबेका उपाध्याय अहिले मात्र होइन, पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको भारत भ्रमणका वेला पनि सकारात्मक र आशावादी थिए । यद्यपि, परिस्थिति त्यो वेला र अहिले भिन्न छ । हरेक विषयलाई सकारात्मक भावले हेर्ने र व्याख्या गर्ने राजदूत उपाध्यायको अध्यात्मिक स्वभाव देखिन्छ । दिल्ली दूतावासमा राजदूत उपाध्यायका बारेमा रोचक किस्सा छ । दूतावासले आयोजना गरेका कार्यक्रममा कतिजना बोलाउने भन्ने सीमा तय हुन्छ । त्यही सीमाभित्र रहेर दूतावास कर्मचारीले निम्ता बाँड्छन्, खानपिनको तयारी गर्छन् । तर, कार्यक्रममा कार्ड नदिइएका सहभागी (कर्मचारीको भाषामा निम्ता नगरिएका निम्तालु) उत्तिकै हुन्छन् । ‘दीपकुमार दाइ आफूलाई भेट्न आए जति हरेकलाई र बाहिर कार्यक्रममा भेटेजति प्रायः सबैलाई कार्यक्रममा आउन मौखिक निम्ता दिनुहुन्छ,’ एक कूटनीतिक कर्मचारीको अनुभव छ, ‘उहाँले क–कसलाई बोलाउनुभयो भन्ने कुरा उहाँ आफँलाई पनि थाहा हुँदैन । उहाँको हार्दिक स्वभावले हामीलाई कार्यक्रम गर्न कहिलेकाहीँ अप्ठ्यारो पर्छ ।’ राजदूत उपाध्याय कूटनीतिक बन्धनमा बाँधिएर जनसम्पर्कबाट टाढा बस्न चाहँदैनन् । उनी आफैँ भन्छन्, ‘मेरो ढोका सबै नेपालीलाई खुला छ । म कूटनीतिक बन्धनमा बाँधिएर बस्न सक्दिनँ । देश र जनताको काम गर्न आएको हुँ ।’ उपाध्याय राष्ट्रपतिको भ्रमणको सन्दर्भमा फर्किए । पहिलो दिन ४ वैशाखमा राष्ट्रपति भण्डारी अपराह्न नयाँ दिल्ली आउँदा उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी महिला तथा बालविकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरिन् । उक्त स्वागतका बारेमा सामाजिक सञ्जालमा टीकाटिप्पणी भयो । ‘भारतमा विभिन्न देशबाट हरेक महिना औसत चार-पाँच उच्चस्तरीय भ्रमण भइरहन्छ । त्यस्ता भ्रमणमा वरिष्ठ अतिथिलाई स्वागत गर्ने आफ्नै तरिका हुन्छ,’ उपाध्यायको तर्क थियो, ‘राज्यमन्त्रीले स्वागत गर्ने त्यहाँको चलन नै हो, हाम्रा राष्ट्रपतिज्यूको हकमा पनि भएको त्यही हो । विगतमा पनि यस्तो चलन हामीलगायत धेरैको हकमा भएको थियो । कहिलेकाहीँ उच्चस्तरीय नेतृत्व आफैँ विमानस्थल पुग्ने गर्छन्, त्यो अपवाद हो ।’ राष्ट्रपति भवन (फोरकोर्ट)मा गरिएको स्वागत र सम्मान अनि त्यहाँ दिइएको तोपले सम्मानको स्तर निर्धारण गर्दछ । ‘हाम्रो राष्ट्रपतिलाई राष्ट्रपति भवनमा स्वागत गर्न राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभयो,’ राष्ट्रपतिसँगै रहेका उपाध्याय सम्झिन्छन्, ‘उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेटलीसहित वरिष्ठ मन्त्रीले शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपतिले अत्यन्त सौहार्दपूर्ण वातावरणमा दोभाषे राखेरै नेपालीमा आफ्ना विषय स्पष्ट र मर्यादित रूपमा राख्नुभयो । उहाँले संविधानमा उल्लेखित समावेशी व्यवस्थाको उल्लेख गर्दै ती व्यवस्था जनतामाझ कार्यान्वयन गर्न चुनाव हुन लागेको र यसमा भारतको सुभेच्छा चाहिएको भन्नुभयो । प्रधानमन्त्री मोदीले त भारत सधैँ नेपालको हितको पक्षमा रहेको भन्नुभयो । उहाँले हामी कोही जजमान वा मेहमान छैनौँ, बराबर छौँ भन्ने शब्द प्रयोग गर्नुभयो । संविधानको रक्षा र पालना गर्ने मर्यादाभित्र राखेर राष्ट्रपतिले विषयवस्तु राख्दा हामीले बडो गर्व महसुस गर्यौँ । राष्ट्रले नै राष्ट्रपतिको यो भूमिकाबाट गौरव महसुस गर्नुपर्छ ।’ त्यसो त राष्ट्रपतिले दिल्ली आएकै दिन नेपाली समुदायलाई सम्बोधन गर्ने क्रममा संविधानमा उल्लेखित समावेशी व्यवस्थाको व्याख्या गरेकी थिइन् । उपाध्यायका अनुसार सबै भेटमा राष्ट्रपतिको एउटै सन्देश थियो, ‘संविधान समावेशी छ ।’ भारतीय नेताले राष्ट्रपतिको विचारको प्रतिवाद गरेनन्, बरु नेपालको हित होस् भनेर कामना गरे । राष्ट्रपतिको सम्मानमा ५ वैशाखमा भारतीय राष्ट्रपति भवनमा दिइएको राजकीय भोजमा उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री मोदी, सबै सुरक्षा अंगका प्रमुख, विपक्षी दलका नेता सहभागी भए । प्रधानमन्त्री मोदीसँग हाम्रा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतदेखि पूर्वसांसद चन्दा चौधरीसमेतले सेल्फी खिचेर सामाजिक सञ्जालमा राखे । ‘यति भव्य र ठूलो राजकीय भोज मैले दिल्लीमा विरलै देखेको छु । नेपाल, नेपाली जनता र हाम्रो नेतृत्वप्रति भारतले देखाएको उच्चसम्मानका रूपमा यसलाई लिनुपर्छ,’ उपाध्यायको भनाइ छ । ०७२ मंसिर २१ गते भारतको राज्यसभामा नेपालबारे बोल्ने क्रममा विदेशमन्त्री सुष्मा स्वराजले भनेकी थिइन्, संविधान जारी गर्नुअघि भारत आएका विद्यादेवी भण्डारी, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले जे वचन दिनुभएको थियो, त्यो पूरा भएन ।’ भाजपाका नेता भगतसिंह कोस्यारीले त्यतैवेलै मसँग शेरबहादुर देउवा र प्रचण्डको प्रसंग सुनाएका थिए र उनीहरूलाई उद्धृत गर्दै भनेका थिए, ‘हामी धर्मनिरपेक्षता हटाउँछौँ, संविधानमा धार्मिक स्वतन्त्रता राख्छौँ । अनि, सबै पक्षलाई मिलाएर जान्छौँ ।’ हुन त ०७१ माघमा भारतीय प्रधानमन्त्री मोदीले वीर अस्पताल छेउको ट्रमा सेन्टर उद्घाटन मन्तव्यमा संविधानलाई बहुमतबाट मात्रै टुंग्याउन नहुने, बरु सबैलाई समेटेर जानुपर्ने बताएका थिए । यसको अर्थ के हो भने संविधान जारी गर्नुअघि प्रमुख दलहरूले गरेको १६ बुँदे समझदारीपछि भारतले नेपालका शीर्ष नेतालाई बोलाएर सम्झाएको थियो, जसको पहिलो सूचीमा भण्डारी थिइन् । भलै, त्यतिवेला उनी एमाले उपाध्यक्षको मात्र भूमिकामा थिइन् । त्यो वेला एमालेका तर्फबाट उनले के वचन दिइन्, भारतले के भनेको थियो ? भण्डारी मात्र नभएर प्रचण्ड र देउवाले पनि खुलाएका छैनन् । राष्ट्रप्रमुखका रूपमा दिल्ली आएकी उनलाई भारतीय नेतृत्वले त्यो वेलाको प्रसंग संस्मरण गरायो कि गराएन, त्यो भने थाहा भएन । तर, राष्ट्रपतिले चाहिँ संविधानको बचाउमा समय खर्चेर आफ्नो प्रतिरक्षा गरेकी छिन् । भण्डारीले दिल्लीमा दिएको अभिव्यक्ति र शीर्ष नेतासँग गरेको कुराकानीमा संविधान समावेशी छ र निर्वाचनमार्फत समावेशी व्यवस्था कार्यान्वयन हुन्छ भन्ने लाइन दोहोर्याइरहिन् । राष्ट्रपति भण्डारीले काहीँकतै मधेसी मोर्चासँग जोडिएको राजनीतिक समस्या र संविधानमा उनीहरूको अपनत्व दिलाउन गरिएका प्रयासबारे बोलिनन् । उनले संविधान कार्यान्वयनमा जोड दिइन् । भारतीय नेताले यसबारे प्रतिक्रिया दिएनन् । केबल गृहमन्त्री राजनाथ सिंहले चुनाव कसरी हुँदैछ भनेर प्रश्न गरे । भारतीय राष्ट्रपति मुखर्जीले केही दिनअघि भारतीय विदेश मन्त्रालयको नेपाल सम्बन्ध डेस्क हेर्ने सहसचिव सुधाकर दलेलाको लाइन हुबहु पढेर सुनाए । उनको भनाइ थियो, सबै पक्षलाई साथमा लिएर संविधान कार्यान्वयनका लागि नेपाल सरकारले गरेको प्रयासलाई हामी समर्थन गर्छौं ।’ भारतीयको बुझाइमा राष्ट्रपतिको भनाइमा उदार राष्ट्रप्रमुखको भावना आएन, एमालेका पूर्वनेताको सन्देश आयो । राष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक स्कुलिङको अभिमत भेटघाटमा व्यक्त गरेको बुझाइ दिल्लीको रह्यो । तर, भारतीय शीर्ष नेताले राष्ट्रपतिको भनाइप्रति टिप्पणी वा प्रतिवाद गरेनन् । दिल्लीको बुझाइमा उनी आलंकारिक राष्ट्रप्रमुख हुन् । यसैगरी उनी एमालेकै सन्दर्भमा पनि विगत वा वर्तमानमा निर्णायक फ्याक्टर होइनन् । भारतले कूटनीतिक रूपमा आफ्नो सन्देश दियो, बाँकी सम्बन्धको औपचारिकतामा सीमित गर्यो। नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending