Khabar Dabali Logo
  April 20, Tue

जापान–नेपाल सम्बन्ध थप उचाइमा पुर्याउँन प्रयत्नशील रहनेछु : जापानी राजदूत किकुता

काठमाडौ । युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत छन् । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त भएका हुन् ।

यसअघि उनी नाइजेरियाका लागि राजदूत थिए। त्योभन्दाअघि उनले भुटानमा डेपुटी चिफ अफ मिसन र सन २०१५ मा भारतमा पनि डेपुटी चिफ अफ मिसनका रुपमा रहेर काम गरेका थिए । यसअघि थाइल्याण्ड, नेदरल्याण्डलगायतका देशमा रहेका जापानी मिसनमा रहेर काम गरेका एक अनुभवी कूटनीतिज्ञ किकुता हालैमात्र नेपालका लागि जापानी राजदूतमा नियुक्त भएका हुन् । राजदूत किकुतासँग राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक सोमनाथ लामिछाने र कार्यकारी सम्पादक एकराज पाठकले जापानी दूतावासमा गरेको कुराकानीको सम्पादित अंश ।

महामहिम राजदूतज्यू, नेपाल र जापानबीच जनस्तरमा र सरकारीस्तरमा पनि विगत लामो समयदेखिको निकै सुमधुर सम्बन्ध रही आएको त यहाँलाई विदितै छ । यो सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि यहाँले आफ्नो कार्यकालमा के कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ?

सबैभन्दा पहिला त नेपालजस्तो देश जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा छ र जहाँका नागरिकले “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने मान्यतालाई अघि सार्ने गर्दछन, यस्तो देशको राजदूतका रुपमा नियुक्त हुन पाउँदा मलाई निकै खुशी लागेको छ । “समृद्ध नेपाल सुखी नेपाली” का लागि म नेपाल सरकार र नेपाली नागरिकसँग आगामी दिनमा सहकार्य गरेर अघि बढन चाहन्छु ।

हो, नेपाल र जापान निकै लामो समयदेखि सुमधुर सम्बन्ध र असल मित्रका रुपमा अघि बढिरहेका छन् जुनकुरा म एकछिनमा बयान गर्नेछु । नेपाल र जापानबीचको सम्बन्धमा त मेरो दिमागमा पनि कतिपय अविस्मरणीय क्षणहरु पनि छन् । यस्तो सम्बन्धको जगमा रहेर यसलाई थप प्रगाढ बनाउनका लागि म पनि मेरो कार्यकालभर प्रयत्नशील रहने छु । मेरो यस्तो रणनीति छ कि म यहाँ रहुञ्जेल मैले धेरै भन्दा धेरै नेपाली नागरिक, नेपालका उच्चस्तरीय नेता, उच्च सरकारी अधिकारीसँग भेट तथा अन्तक्र्रिया गर्नेछु । त्यसैगरी सम्भव भएसम्म म नेपालका धेरैभन्दा धेरै स्थानको भ्रमण पनि गर्नेछु ।

मलाई लाग्छ नेपाल जापान सम्बन्धलाई थप उचाइमा पु¥याउनका लागि जापानसँग धेरै साधन एवं प्रक्रियाहरु पनि छन् । जस्तो कि नागरिकका धारणा एवं आवाज सुनेर तथा नेपालका अनेकन अवसर अर्थात सम्भावना र चुनौती सुनेर पनि दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिन सकिनेछ, सजिलो पर्नेछ । मैले यस्ता र अरु पनि धेरै सम्भावनाको खोजी गरेर र आवश्यक र सम्भव विधिहरुको प्रयोग गरेर दुई देशबीचको सम्बन्धलाई थप विस्तारित र बलियो बनाउने पक्षमा काम गर्नेछु ।

जापान र नेपालका सम्बन्धको इतिहास धेरै लामो र गहिरो छ र जसको शुरुआत जापानी भिक्षु एकाइ कावागुचीको सन १८९९ मा भएको नेपाल भ्रमणबाट शुरु भएको हो । त्यस्तै जापान र नेपालले औपचारिक कूटनीतिक सम्बन्ध भने सन १९५६ माा स्थापित गरेका हुन् र त्यस यतादेखि नै हामीले दुई देशबीचको सम्बन्धलाई असल मित्रका विकास गर्दै आएका छौँ ।

यी दुई देशका बीचको उच्चस्तरीय भ्रमणको आदान प्रदान पनि भइरहेको छ र केही समयमात्र अघि नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको भ्रमण गर्नुभएको थियो र दुई देशका परराष्ट्र मन्त्रीबीचमा पनि औपचारिक भ्रमणको आदान प्रदान भएको छ । त्यस्तै आगामी वर्ष अर्थात सन २०२२ मा पहिलो पटक आठजना नेपाली विद्यार्थी जापान अध्ययन गर्न गएको १२० औँ वार्षिकोत्सव पनि हुनेछ ।

व्यक्तिगत कुरा गर्ने हो भने मेरो गृहनगर जापानको फुकुशिमा हो । सन २०११ मा जापानमा आएको महाभूकम्प र सुनामीले गर्दा त्यहाँको तोहोकु क्षेत्रलाई निकै क्षति पुगेको थियो । त्यस समयमा हाम्रो दुःखमा हामीप्रति सहानुभूति राखेर हाम्रा लागि नेपाली नागरिकले प्रार्थना गर्नुभएको थियो । त्यसैले म व्यक्तिगत रुपमा यसका लागि नेपाली नागरिकप्रति कृतज्ञ छु । तपाईं पनि कल्पना गर्न सक्नुहुन्छ कि मार्च महिनामा त्यस क्षेत्रमा निकै चिसो हुन्छ । त्यस्तो आपतका बेलामा मेरा आमाबुबा, मेरो परिवार र आफन्तजन एवं त्यस क्षेत्रमा बसोबास गर्ने जापानी नागरिकहरु चिसोले निकै दुःख पाएका थिए । उनीहरु खाना, विद्युत, ग्यासलाइन विहीन भएर बस्नुपरेको थियो । त्यस्तो अवस्थामा नेपालले पाँच हजार ब्लाङकेट सहयोग स्वरुप त्यो क्षेत्रमा पठाएको थियो । यसबाट त्यहाँका हजारौँ नागरिकको ज्यान बचेको महसुस हामीले गरेका छौँ । त्यस्तो अप्ठेरो बेलामा नेपालीले पकाएर दिएको दालभात तथा तातो कफिले उनीहरुलाई बाँच्न ठूलो सहायता पुगेको थियो ।

यता नेपालमा सन् २०१५ मा गएको गोरखा भूकम्पका समयमा नेपाललाई पनि जापानले सक्दो सहयोग गरेको थियो । गोरखा भूकम्प, जुन म आफैँले पनि भारतको नयाँ दिल्लीमा रहेका बेला परकम्प महसुस गरेको थिएँ, यस्तो समयमा तत्कालै उद्धारकर्मी तथा राहत सामग्री पठाएको थियो । त्यस्तै भूकम्पले भत्किएका विद्यालयहरु भवन, आवासीय भवनहरुको पुनर्निर्माणका साथै अन्य सहायता पनि जापानले उपलब्ध गराएको थियो ।

त्यसपछि नेपाली नागरिकले सन् २०१६ को अप्रिलमा जापानको कुमामोतोमा गएको भूकम्पबाट प्रभावितहरुलाई दालभात पकाएर खुवाएका थिए । सन् २०१५ मा गएको नेपालको भूकम्पपछि जसरी जापानले सहयोग र सदभाव दर्साएको थियो त्यस्तैगरी कुमामोतोको भूकम्पमा पनि नेपालीले सहयोग गरेका थिए र उनीहरुले जापानले पुर्याउँदै सहयोगको सराहना पनि गरेका थिए । यसरी यस्ता अप्ठ्यारा परिस्थितिमा पनि दुई देशका सरकार र जनताका बीचमा भएका सहृदयी सदभावका यी उदाहरणहरुले पनि नेपाल र जापानको सम्बन्ध पारस्परिक सहयोग र सम्मानका साथ अघि बढेको प्रमाणित भएको छ भन्ने मलाई लाग्दछ ।

पूर्वाधार विकास, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै नेपालको विकासका प्रयासहरुमा जापानले एक प्रमुख दाता राष्ट्रका रुपमा सहयोग पुर्याउँदै आएको त विदितै छ । विकसित विश्व परिवेशमा नेपालका उद्यमीहरुले जापानी लगानी, प्रविधि र प्राविधिक सहयोग नेपालमा कसरी आकर्षित गर्न सक्लान् ? नेपाली उद्यमीहरुको यो लक्ष्य प्राप्तिका लागि जापानी दूतावासले के कस्तो सहयोग गर्न सक्छ ?

नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले हालै बङ्गलादेशको भ्रमण गर्नुभएको थियो । त्यसक्रममा उहाँले व्यापारमा सन्तुलन तथा व्यापार वृद्धिका लागि यस क्षेत्रमा भएका व्यवधानहरु हटाउनुका साथै पूर्वाधारको विकास र बजारमा सहज पहुँचमा वृद्धि गर्नुपर्ने बताउनुभएको थियो । म यस विचारप्रति पूर्णरुपमा सहमत छु । म भन्न चाहन्छु कि नेपालमा वैदेशिक लगानी आकर्षण गर्न पनि यस्तै वातावरण निर्माण गर्नु आवश्यक छ । नेपाली उद्यमीले पनि लगानीमैत्री वातावरणको निर्माणबाट जापानी लगानीकर्तालाई आकर्षित गर्न सक्छन् र त्यस्तो अनुकूल वातावरण बनाउन नीतिगत व्यवस्थाले ठूलो अर्थ राख्दछ । यसका लागि धेरै अवसर हुन सक्छन् र यस्तै एउटा हो सन् २०२५ मा जापान, ओसाका, कानसाईमा हुने एक्स्पो २०२५ । नेपालले पनि सहभागिता जनाउने यस एक्स्पो पनि नेपाली उद्यमीका लागि अवसर हुन सक्दछ । यो एक्स्पो नेपालले आफ्नो समृद्धि र खुशी विश्वसामु प्रस्तुत गर्ने एउटा उपयुक्त अवसर पनि हुनसक्छ ।

जापानले नेपाललाई निकै लामो समयदेखि सहयोग गर्दै आएको छ । जापानले नेपाललाई कृषि, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास, सुशासन, शान्ति निर्माण तथा भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसका साथै नेपालका सामाजिक तथा आर्थिक क्षेत्रका अन्य कार्यक्रममा पनि जापानले नेपाललाई सहयोग गर्दै आएको छ । यहाँ पैसाको कुरामात्र होइन कि जापानले नेपाललाई प्राविधिक सहायता पनि उपलब्ध गराउँदै आएको छ किनभने राष्ट्र निर्माणको काम वास्तवमा मानवीय स्रोतको विकासबाट नै शुरु हुन्छ भन्ने विश्वास जापानले राख्दछ । यस हिसाबबाट पनि नेपालको एक असल मित्रराष्ट्रका हैसियतबाट जापानले विगत लामो समयदेखि नेपाललाई सहयोग पुर्याउँदै आएको छ ।

महामहिम, कोभिड–१९ को महामारीले विश्वभर नै रोजगारी, आर्थिक अवसरमा व्यापक क्षति पुग्नुका साथै स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवाको पहुँचमा असर पुगेको छ । जापान सरकारले नेपालजस्ता मुलुकलाई कसरी सहयोग पुर्याउने सोचिरहेको छ ?

हो, हामीले शुरुदेखि नै निकै महत्वपूर्ण योगदान गरेका छौँ र हामीसँग भविष्यका केही योजना पनि छन् । गत वर्षदेखि जापानले कोभाक्स संयन्त्र निर्माणमा योगदान गरिरहेको छ र हालसम्म कोभाक्समा २० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिसकेको छ । म मार्च ७, २०२१ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिएँ, र म नाइजेरियाबाट यहाँ पदस्थापन भएर आएको हुँ । म यहाँ आउँदा यात्रुवाहक विमानसेवामै आएको हुँ जसले नेपालका लागि कोभाक्स सुविधाको खोप लिएर आएको थियो । मैले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी, दातृ मुलुकका राजदूतहरु र अन्तरराष्ट्रिय संस्थाका सदस्यसँग कुरा गर्ने मौका पनि पाएको थिएँ । उहाँहरु कोभाक्स सुविधाको खोप स्वीकार्न विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । यो संयोग हो, तर मेरा लागि यो पहिलो अनुभव थियो ।

खोप निकै अत्यावश्यक र महत्वपूर्ण पक्ष हो, तर यसका लागि कोल्ड चेन ९चिस्याउने सुविधा० पनि जरुरी हुन्छ । मार्च ९, २०२१ मा जापान सरकारले नेपालसहित दक्षिण पूर्व र दक्षिण पश्चिम एसिया एवं प्रशान्त द्वीपका २५ वटा देशका लागि करिब चार करोड १० लाख अमेरिकी डलर आपतकालीन अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । यो अनुदान कोल्ड चेन निर्माणका साथै कोल्ड स्टोरेज सुविधा र ढुवानी जस्ता मेडिकल उपकरणका लागि उपयोग गरिने छ । सबै जनतालाई खोप उपलब्ध गराउने सुनिश्चित गर्न राष्ट्रसङ्घीय बालकोषमार्फत यो रकम उपयोग गरिने छ ।

यी प्रत्यक्ष सहायताबाहेक जापानले कोभिड–१९ बाट सिर्जित अन्य विषयमा नेपाललाई सहयोग गर्दैछ । उदाहरणका लागि, हामीले नेपालको खाद्य सुरक्षामा विश्वखाद्य कार्यक्रममार्फत सहयोग गरिरहेका छौं । यस कार्यक्रमबाट प्रदेश नं १ र २ का जोखिममा परेका जिल्लामा मातृ तथा बाल स्वास्थ्य एवं पोषण कार्यक्रम सञ्चालन गर्न ३४ लाख ७० हजार अमेरिकी डलर सहायता प्रदान गरिएको छ ।

आउँदा दिनहरुमा जापानले कोभिड–१९ विरुद्धको लडाइँमा अन्तरराष्ट्रिय समुदायसँगको साझेदारीलाई निरन्तरता दिनेछ । प्रमुख सात औद्योगिक राष्ट्रको समूह (जी७) र क्वेड (जापान, अमेरिका, भारत, अस्ट्रेलिया) का सदस्य मुलुकले निम्न प्रतिबद्धता छन्ः

–समूह सातका रुपमा हामी कोभिड–१९ लाई परास्त गर्न मिलेर कार्य गर्नेछौँ (जी७, फेब्रुअरी १९)
– हामी विश्वव्यापी रुपमा खोपको विकास र वितरणलाई तिव्रता दिनेछौँ । (जी७)

– संयुक्त अधिराज्यमा जुन महिनामा सम्पन्न जी७ शिखर बैठकमा व्यक्त प्राथमिकतालाई ठोस कार्यद्वारा सुल्झाउन सहमत छौँ । (जी७)

– हामी सुरक्षित, पहुँचयोग्य रुपमा सस्तो र प्रभावकारी खोप उत्पादन र विस्तार गर्न तथा त्यसको समतामूलक पहुँचका लागि मिलेर कार्य गर्न प्रतिबद्ध छौँ, र आर्थिक पुनरुत्थानलाई तीव्र बनाउन र विश्व स्वास्थ्यलाई लाभ पुर्याउने छौँ । (क्वेड, मार्च १२)

– हामी हाम्रो राष्ट्रको मेडिकल, वैज्ञानिक, वित्तीय, म्यानुफ्याक्चरिङ र ढुवानी, र विकास क्षमतालाई एकीकृत गर्नेछौं र सुरक्षित एवं प्रभावकारी खोप वितरणको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन एउटा खोप विज्ञ कार्यसमूह स्थापना गर्नेछौँ । (क्वेड)

भविष्यमा नेपाल र जापानबीच के कस्ता क्षेत्रमा सहयोग हुनेछन् रु दुवै देशले दिगो साझेदारी कसरी विकास गर्न सक्लान रु

सहयोगको एउटा प्रमुख क्षेत्र समाजको पुनर्निर्माण नै हुनु पर्दछ जुन प्राकृतिक विपदाबाट जतिसक्दो चाँडो पुनर्पाप्ती हुनेछ, र यो “बिल्ड ब्याक बेटर” (बलियो निर्माण) को अवधारणामा आधारित हुनेछ । उदाहरणका लागि, घर र विद्यालयको बलियो संरचना बनाउन सकिए यो प्रभावित समुदायका लागि निकै प्रभावकारी हुनेछ र त्यसले उनीहरुलाई जीवन सहज हुनुका साथै अघि बढ्न सक्षम तुल्याउने छ । मैले माथि भने झैँ, यस्ता प्राकृतिक विपदको हामीसँग साझा अनुभव पनि छन् ।

यसबाहेक, जापानले सामाजिक तथा आर्थिक पूर्वाधार, जलविद्युत् र पानी, स्वास्थ्य प्रणाली र शिक्षामार्फत नेपालको आर्थिक विकासमा मद्दत गरिरहेको छ । उदाहरणका लागि, सिन्धुली राजमार्ग (बिपी राजमार्ग) को निर्माणले मानिसको दैनिक जीवनका साथै सामानको ढुवानीमा निकै सहजता ल्याएको छ । स्वास्थ्य सेवा र शिक्षाको राम्रो पहुँचका लागि हामीले नेपाल सरकार र स्थानीय गैरसरकारी संस्थासँग मिलेर काम गरिरहेका छौँ ।

खानेपानीका सन्दर्भमा, मेलम्चीको पानी अन्ततः यही मार्च २८ तारिख आइतबारका दिन काठमाडौँ आइपुगेकामा मलाई धेरै खुशी लागेको छ । जापान सरकारको लगानीमा सुन्दरीजलमा पानी प्रशोधन प्लान्ट निर्माण सम्पन्न हुनु मेलम्ची आयोजनाकै एक सफलता हो । यस आयोजनालाई सफल बनाउन एशियाली विकास बैंक र अन्यले पनि लगानी गरेका छन् । जापानले प्लान्ट निर्माणमा करीब रु पाँच अर्ब ८० करोड ६० लाख (करीब पाँच अर्ब ४९ करोड ४० लाख जापानी येन) उपलब्ध गराएको छ जसले प्रतिदिन आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्न सक्नेछ । मेरो आशा छ, मेलम्ची नदीबाट आउने सफा पानीले काठमाडौँवासीको दैनिक जीवनमा सहजता ल्याउनुका साथै जीवनस्तर उकास्न मद्दत गर्नेछ ।

हामीले के बुझेका छौँ भने लोकतन्त्रको सुदृढीकरणमा नेपाल प्रयत्नशील रहेको छ र जापानले पनि सुशासनका लागि नेपालसँग मिलेर कार्य गरिरहेको छ । सन् २०२२ मा अतिकम विकसित मुलुक (एलएलडिसी) बाट माथि जाने नेपालको लक्ष्यलाई जापानले प्रोत्साहित र मद्दत गर्न चाहेको छ, र नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको देशमा रुपान्तरण हुनेछ । यो कार्य नेपाल सरकारको गरिबी न्यूनीकरण कार्यक्रम मार्फत हासिल गर्न सकिने छ ।

वातावरण संरक्षण र जलवायु परिवर्तन निकै चुनौतीपूर्ण विषय हुन् जसलाई हामी अन्तरराष्ट्रिय समुदायसमेत सबै मिलेर सम्बोधन गर्नु पर्नेछ । उदाहरणका लागि, विश्वव्यापी तापमानका सन्दर्भमा नेपाल एक्लो छैन, र हिमाली हिमनदीको मुलुक नेपाल पनि जलवायु परिवर्तनको असरबाट अछुतो छैन । अर्को उदाहरण, शहरी क्षेत्रमा वायुको गुणस्तर पनि छलफलको विषय हुन सक्दछ । काठमाडौँ उपत्यकामा सवारी ट्राफिक कम गरेर वायुको गुणस्तरमा सुधार ल्याउन सकिन्छ, र यसमा पनि जापानले काम गरिरहेको छ । मैले भन्नैपर्छ, यस्ता समस्या सुल्झाउन सकिए भावी पुस्ताको स्वास्थ्य राम्रो बनाउन सकिने छ ।

जापान र नेपाल दुवै मुलुकका लागि जनता–जनताबीचको ओहोरदोहोर पनि एउटा निकै महत्वपूर्ण पक्ष हो जसबाट एकअर्कालाई अरु बढी बुझ्न सकिन्छ र हाम्रो दिर्घकालीन साझेदारीलाई थप अभिवृद्धि गर्न मद्दत पुग्नेछ । जापानको शिक्षा, संस्कृति, खेलकूद, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम पनि जारी छ जसबाट धेरै नेपाली प्राज्ञिक वर्गले जापानमा पढ्ने अवसर पाएका छन् भने नेपाली निजामती सेवाका युवा कर्मचारीका लागि जापानी ग्राजुएट स्कुलमा जाइका मार्फत जेडिएस (मानव संशाधन विकास छात्रवृत्ति परियोजना) पनि सञ्चालनमा छ ।

हामीले एलुम्नाई मार्फत नेपाली समाजका धेरै क्षेत्रमा पुगिरहेको योगदानलाई पनि यहाँ प्रशंसा गर्न चाहन्छौं । जापानबाट अनुभवप्राप्त यी व्यक्तिले जापानलाई आफ्नो दोस्रो घर सम्झिरहेका हुन्छन् । विद्यार्थी आदानप्रदानका अलावा सन् २०१९ मा अर्को नयाँ अवसर सिर्जना भएको छ । नेपालीका लागि जापान सरकारले “विशिष्टीकृत दक्ष कामदार” कार्यक्रममा समेटेको छ जसबाट नेपाली दक्ष व्यक्तिले जापानमा गएर काम गर्न पाउने छन् ।

हामी दुई देशबीचको पर्यटन क्षेत्र अरु विस्तारित होस् भन्ने चाहिरहेका छौँ, किनभने पर्यटनले हाम्रो विश्वमा नयाँ परिदृश्य सिर्जना गरिरहेको हुन्छ । दुःख लाग्दो कुरा के भने नेपाल भ्रमण वर्ष सन् २०२० अभियानलाई कोभिड–१९ ले असर पुर्यायो । तैपनि, नेपाल एयरलाइन्सबाट हुने जापान र नेपालबीचको सोझो हवाई उडान यात्रुका लागि निकै महत्वपूर्ण हुनेछ ।

गएको वर्ष हामीले सगरमाथा आरोहणमा पहिलो जापानीले आरोहण गरेको स्वर्ण वर्षगाँठ मनाएका थियौं । जापानी आरोही उमुरा नाओमी र मात्सुरा तेरुओले यो सफलता हासिल गर्नु भएको थियो । र फुकुशिमा निवासी महिला जुन्को ताबेईले सगरमाथा आरोहण गरेको पनि ४५ वर्ष पुगेको छ । उहाँ सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला आरोही बन्न सफल हुनु भएको थियो । कोभिड–१९ मा सुधार भएलगत्तै हामीहरु धेरै नेपालीलाई जापानमा स्वागत गर्न चाहन्छौं, ताकि उनीहरुले जापानी संस्कृतिका साथै परम्परागत खाना “वाशोकु” को स्वाद लिन पाउनु हुनेछ । त्यस्तै, धेरै जापानी पर्वतारोही र यात्रा गर्न रुचि राख्ने व्यक्ति पनि नेपालको भ्रमण गर्न प्रतिक्षारत छन् ।

जापानमा नेपालप्रतिको दृष्टिकोण कस्तो छ रु के यसअघि तपाईं नेपाल आएका थिए रु कुनै स्मरणयोग्य क्षण छ रु

मेरो सोचाइमा जापानी जनतामाझ नेपालसँग विशेष घनिष्टतापूर्ण सम्बन्ध रहेको भन्ने नै छ । नेपालको प्राकृतिक सुन्दरता, बौद्ध परम्परा र संस्कृति, खाना र यहाँका मानिसप्रति जापानीको उच्च सम्मान छ । मेरो घर रहेको फुकुशिमाको मुख्य फूल नै लालीगुराँश हो, जुन नेपालको राष्ट्रिय फूल पनि हो ।

म सम्झन्छु, केही वर्ष पहिले जापानको विदेश मन्त्रालयको दक्षिणपूर्व एशिया डिभिजनमा रहँदा म काठमाडौं भ्रमणमा आएको थिएँ जतिबेला यहाँ उपत्यकाभित्र सडक किनारामा ढकमक्क फुलेका हल्का कलेजी रङका जापानी फूल देखिएका थिए । त्यतिबेला म बुडोकान पनि पुगेको थिएँ, यो एक प्रकारको जापानी शैलीको खेल स्थल हो । यो खेल स्थल काठमाडौँ महानगरको भगिनी सम्बन्ध रहेको जापानस्थित नागानो प्रिफेक्चरको मात्सुमोतो नगरले बनाएको थियो । नेपालका हिमशृङ्खलाप्रति प्रगाढ माया गर्ने जापानका पूर्व प्रधानमन्त्री रिउतारो हाशिमोतो सन् २००२ को उद्घाटन समारोहमा यही बुडोकानको भ्रमण गर्नुभएको थियो । हाशिमोतो र म दुवैजना केन्डो ब्लाकबेल्टका छैटौं श्रेणीका खेलाडी पनि हौं । यो जापानको मार्शल आर्टको एक खेल कौशल पनि हो । मलाई युवा नेपाली केन्डो खेलाडीहरुसँग बुडोकानमा केन्डो अभ्यास गर्न पाउँदा निकै रमाइलो लाग्ने गरेको छ ।

सन् २००५ मा तत्कालीन अधिराजकुमार पारस शाह र अधिराजकुमारी हिमानीलाई जापानको आइची एक्स्पो २००५ मा स्वागत गरेको थिएँ । राजकुमारी हिमानीले मलाई दिनुभएको काठले कुँदिएको कलाकृति मेरो घरमा अझै सजिएको छ । त्यही शैलीको एउटा गहना यहाँ जापानी राजदूतावासको कार्यालयमा पनि पाएको छु ।

चैत २१ गते, २०७७ - १३:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँगे्रसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...   

काठमाडौँ उपत्यकामा कडाइ : लगाइएको मास्क जथाभावी फ्याँक्नेलाई कारवाही

काठमाडौ । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको...   

वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह

काठमाडौ । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय...   
हटाइए काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल

हटाइए काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल

काठमाडौ । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा...   

संसद् अधिवेशन अप्रत्याशित अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात्...   

भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मेचेको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय ट्रकको ठक्करबाट साइकल...   

पार्टी विरोधी गतिविधि गर्ने थप आठ जना नेतालाई स्पष्टीकरण

काठमाडौँ । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी...   

अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन : प्रवक्ता गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई...   

कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु

राँझा । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा...   

बोक्सीको आरोपमा मुस्लिम महिलामाथि निर्घात कुटपिट

जलेश्वर । बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top