Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विना मापदण्ड धमाधम नियुक्ति, त्रिविलाई ‘लालकिल्ला’ बनाउने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा मापदण्ड नबनाई पदाधिकारीले आफूअनुकूल व्यक्तिलाई धमाधम नियुक्ति दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नियुक्तिका लागि कार्यसम्पादन, वरिष्ठता या दुवै पक्षमध्ये कुनलाई आधार बनाउने भन्ने मापदण्ड बनाइएको छैन । नेकपानिकट शिक्षकलाई नियुक्ति दिन जुन अस्त्र सहज हुन्छ, त्यही प्रयोग गरिरहेका छन् त्रिवि पदाधिकारीले ।

विश्वविद्यालयका संकाय र अध्ययन संस्थानका डिन, सहायक डिन, केन्द्रीय विभाग प्रमुख, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखलगायत पदमा अरू पार्टीको बलियो दाबेदारी देखिँदैन । तथापि, नेकपाभित्र पनि पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डाका लागि वरिष्ठता र कार्यसम्पादन दुवै मापदण्ड अनुशरण भएको पाइँदैन ।

कुनै दल सत्तामा आएपछि विश्वविद्यालयमा सोही दलको हालीमुहाली हुने रोग नयाँ होइन । विगतमा कांग्रेसको एकमना सरकार हुँदा होस् या ०६२–६३ को परिवर्तनपछिको भागबण्डाको राजनीति, विश्वविद्यालय पदाधिकारीदेखि संकाय र विभाग प्रमुखहरू राजनीतिक आस्थाका आधारमा नियुक्त हुने गरेका थिए । त्यही रोगले अहिले पनि निरन्तरता पाएको छ ।

अहिले केन्द्रीय विभाग प्रमुखको नियुक्तिमा वरिष्ठता, प्राज्ञिक क्षमता, कार्यसम्पादन जस्ता मापदण्डमा एकरूपता छैन । कांग्रेसनिकटलाई हटाउनका लागि वरिष्ठताको नाम दिँदै नेकपानिकट व्यक्तिलाई नियुक्ति दिइएको छ । राजनीतिमा सक्रिय नहुने, तर केन्द्रीय विभागमा छोटो समयमा राम्रो कार्यसम्पादन गरेका कांग्रेसनिकटलाई पनि हटाएर नेकपानिकटलाई नियुक्ति दिइएको छ ।

त्रिवि कार्यकारी परिषद्ले शिक्षा विकास तथा अध्ययन केन्द्र (सेरिड) मा प्राध्यापकहरू हुँदाहुँदै सहप्राध्यापक सुरेन्द्र गिरीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गर्‍यो । गिरी नेकपा निकट भएकाले प्राध्यापकहरूलाई नै उपेक्षा गरिएको छ ।

त्यति मात्र होइन, कुनै निकायमा त पूरा कार्यकाल काम गर्न नसक्ने बताउँदै वरिष्ठलाई पाखा लगाइएको छ । र, कनिष्ठलाई जिम्मेवारी दिइएको छ । जस्तो– चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठ प्राध्यापक हुँदाहुँदै प्रा.डा. दिव्यासिंह शाहलाई डिन बनाइयो । डा. शाह यसअघि प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक पनि थिइन् ।

यी उदाहरणले त्रिविका पदाधिकारीले मातहतका निकायमा नियुक्तिका लागि अपनाएको भद्रगोल शैली प्रस्ट्याउँछन् । नेकपानिकट र आफूअनुकूल व्यक्तिलाई नियुक्ति दिन सकिने ठाउँमा वरिष्ठताको तर्क गर्ने र त्यस्तो सम्भावना नरहेका ठाउँमा वरिष्ठता ठूलो विषय नभएको बताउने प्रवृत्ति देखिएको नेकपानिकटकै एक प्राध्यापक बताउँछन् ।

‘कसैलाई अप्ठ्यारो पार्न वरिष्ठताको कुरा गर्ने र आफूअनुकूल नहुने भए चुपचाप निर्णय गर्ने प्रवृत्ति छ,’ ती प्राध्यापक भन्छन्, ‘केन्द्रीय विभागमै मनलाग्दी छ, बाहिरका नियुक्ति त झनै लाजमर्दो छन् ।’

उनका अनुसार कांग्रेसनिकट व्यक्ति प्रमुख रहेको ठाउँमा जुनसुकै निहुँमा पनि अर्को व्यक्तिलाई नियुक्ति दिइएको छ । तर, नेकपा र आफूनिकट भएकै कारण कनिष्ट व्यक्ति प्रमुख रहेका केन्द्रीय विभागको नेतृत्व परिवर्तन गरिएको छैन ।

लालकिल्ला बन्दै मानविकीका केन्द्रीय विभाग

उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा नेतृत्वमा त्रिविमा नयाँ टिम आएयता मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत कीर्तिपुर परिसरमा रहेका केन्द्रीय विभागहरू लालकिल्लाजस्तै बनेका छन् । उक्त संकायअन्तर्गतका विभागमा कांग्रेसनिकट कमै व्यक्तिले नियुक्ति पाएका छन् । नेकपानिकट शिक्षक नभएका र विद्यार्थी संख्या थोरै रहेका विभागमा मात्र कांग्रेसनिकट प्राध्यापकले नेतृत्व गर्न पाएका छन् ।

तर, विद्यार्थीको आकर्षण रहेका केन्द्रीय विभागहरू नेकपानिकट व्यक्तिका नियुक्तिले भरिन थालेका छन् । उपकुलपतिमा बाँस्कोटाको नियुक्तिपछि समाजशास्त्र, अर्थशास्त्र, अंग्रेजी र भाषा विज्ञान केन्द्रीय विभागमा प्रमुख नियुक्त भए ।

भाषा विज्ञान बाहेकका सबै प्रमुख नेकपानिकट हुन् । समाजशास्त्रमा डा. युवराज लुइँटेल, अर्थशास्त्रमा प्रा.डा. सोहनलाल कर्ण, अंग्रेजीमा प्रा.डा. जीवलाल सापकोटा नियुक्त भए । तीनै जना नेकपानिकट हुन् । भाषा विज्ञानमा पनि दानराज रेग्मी वरिष्ठ हुँदा हुँदै कनिष्ठ डा. बलराम प्रसाईंलाई विभागीय प्रमुख बनाइएको छ ।

मानवशास्त्र केन्द्रीय विभागमा भने यसअघिका पदाधिकारीले अर्को व्यवस्था नहुन्जेलका लागि प्रमुखको जिम्मेवारी दिएका कनिष्ठले नै निरन्तरता पाएका छन् । विभागमा प्राध्यापकहरू भए पनि विवाद भएको र त्यसको टुंगो नलागेका कारण डा. डम्बर चेम्जोङ मानवशास्त्र विभाग प्रमुख छन् । शिक्षाशास्त्र संकायतर्फ नेपाली विभाग प्रमुखलगायतमा पनि विवाद छ ।

तत्कालीन त्रिवि उपकुलपति प्रा.डा. तीर्थ खनियाको टिमले भागबण्डाका आधारमा नियुक्त गरेका कांग्रेसनिकट शिक्षक विभागीय प्रमुखबाट हट्दै गएका छन् । उनीहरूलाई नेकपानिकट शिक्षकले विस्थापित गरिरहेका छन् ।

पछिल्ला नियुक्तिमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत कीर्तिपुरपरिसरमा रहेका १६ केन्द्रीय विभागमध्ये १२ नेकपानिकट र दुई कांग्रेसनिकट शिक्षकको नेतृत्वमा छन् । अन्य दुईवटा विभाग प्रमुखमा पार्टीगत रूपमा नखुलेका व्यक्ति छन् । उनीहरू वैचारिक रूपमा कम्युनिस्ट वा कांग्रेसनिकट देखिए पनि दलका झन्डा नबोक्ने र प्राज्ञिक क्षमता उच्च भएका व्यक्ति हुन् ।

विद्यार्थी आकर्षण भएका केन्द्रीय विभागमा नेकपा निकट नेतृत्व

त्रिविका समाजशास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली केन्द्रीय विभागमा विद्यार्थीको सबैभन्दा बढी आकर्षण छ । अर्थशास्त्र केन्द्रीय विभागमा अवकाश पाउन तीन महिना मात्र बाँकी रहेका प्रा.डा. सोहनलाल कर्णलाई वरिष्ठताको नाम दिएर प्रमुख बनाइएको छ ।

जबकि, कर्णसँगै प्राध्यापक बनेका रामप्रसाद ज्ञवालीले अवकाश पाउन सात वर्ष बाँकी छ । सेवा प्रवेशको हिसाबमा कर्णलाई वरिष्ठ देखाएर कांग्रेसनिकट भएकै कारण ज्ञवालीलाई पाखा लगाइयो । जब कि, ज्ञवाली पनि कर्णसँगै प्राध्यापक बनेका हुन् । कर्ण नेकपा सांसदका श्रीमान् पनि हुन् ।

अंग्रेजी विभाग प्रमुख प्रा.डा. जीवलाल सापकोटा पनि वरिष्ठ होइनन् । अंग्रेजी विभागमा सबैभन्दा वरिष्ठ प्रा.डा. अनिरुद्र थापाले विभाग प्रमुख नहुँदा निमित्तको जिम्मेवारी पाउने गरेका थिए, तर उनले कहिल्यै पूर्ण विभागीय प्रमुख बन्न पाएनन् । र, त्रिविको राजनीतिबाट दिक्क भएर प्रा.डा. थापाले राजीनामा दिए । उनले अवकाश पाउन नौ वर्ष बाँकी थियो ।

विद्यार्थी भड्काउने शिक्षक समाजशास्त्र विभागमा प्रमुख

त्रिविमा सबैभन्दा बढी विद्यार्थी आकर्षण समाजशास्त्र केन्द्रीय विभागमा देखिन्छ, जसमा १३ महिनामा राम्रो कार्यसम्पादन गरेका सहप्राध्यापक डा. टीकाराम गौतमलाई हटाएर अर्का सहप्राध्यापक डा. युवराज लुइँटेललाई प्रमुख बनाइएको छ । सेवा प्रवेशमा लुइँटेल वरिष्ठ भए पनि प्राज्ञिक र संयोजनमा गौतमको कार्यसम्पादन राम्रो देखिएको थियो ।

लुइँटेलविरुद्ध अनियमिततालगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त मुद्दामा सफाइ पाएकाले विभागीय प्रमुख बनाउन दबाब दिँदै नेकपाका नेताहरूबाट लुइँटेलले दैनिक ९–१० कल फोन गराएर हैरान बनाउन थालेपछि गौतमलाई हटाएर उनलाई नियुक्ति दिइएको त्रिविका एक पदाधिकारी बताउँछन् ।

समाजशास्त्रका डा. गौतम र मानवशास्त्र केन्द्रीय विभाग प्रमुख डा. चेम्जोङको सक्रियता र संयोजनमा दुवै विभागमा व्यापक सुधार देखिएको थियो । समाजशास्त्र केन्द्रीय विभागले प्राज्ञिकलगायत सबै सर्त पूरा गरेर विश्वविद्यालयमार्फत ‘क्वालिटी एस्योरेन्स एन्ड एक्रिडिटेसन’ (क्युएए) मा अन्तिम हस्ताक्षर हुन लाग्दा आस्थाकै कारण प्रमुख डा. गौतमले हट्नुपरेको छ ।

नवनियुक्त विभाग प्रमुख डा. लुइँटेलविरुद्ध त्रिवि रजिस्ट्रार कार्यालयमा समेत उजुरी छ । उत्तरपुस्तिका लापरबाहीपूर्वक परीक्षण गर्ने र त्यसको दोष विभागीय प्रमुख र सम्परीक्षकलाई दिएर विद्यार्थी भड्काउने गरेको आरोप उनलाई लागेको छ ।

दुई वर्षअघि स्नातकोत्तर समाजशास्त्रको ‘सोसल चेन्ज एन्ड डेभलपमेन्ट’ विषयमा विद्यार्थीको अंक कम आएपछि तत्कालीन विभागीय प्रमुख र सम्परीक्षकले अंक घटाएको बताउँदै लुइँटेलले विद्यार्थीलाई भड्काएपछि ठूलै विवाद भएको थियो । अंक कम आएको बताउँदै विद्यार्थीहरूले विभागमा लिखित निवेदन दिएका थिए ।

त्यसपछि विभागमा जसले गल्ती गरेको छ, उसैलाई कारबाही गर्ने सहमति भएको थियो । छानबिनका लागि विभागले डिन कार्यालयलाई अनुरोध गर्‍यो । डिन कार्यालयका एक अधिकारीका अनुसार अंक कम आएको भनिएका विद्यार्थीको उत्तरपुस्तिका हेर्दा युवराज लुइँटेल र अर्का एक शिक्षकले उत्तरपुस्तिका जाँचेको र उनीहरूले दिएको अंकमा तलमाथि नभएको पाइएपछि दुवैजना त्यहाँबाट भागेका थिए । हालका रेक्टर प्रा.डा. शिवलाल भुसाल त्यति बेला मानविकी संकाय डिन थिए । त्यसैले डा. भुसाललाई उक्त प्रकरणबारे स्पष्ट जानकारी छ ।

त्रिभुवन विश्वविद्यालयमा नयाँ नियुक्ति

पूर्व एमाले निकट

– मेची क्याम्पस, झापा प्रमुख– सहप्राध्यापक जीवन पोखरेल

– रारा बहुमुखी क्याम्पस जनकपुर प्रमुख– सहप्राध्यापक प्रदीपकुमार साह

– ठाकुरराम बहुमुखी क्याम्पस प्रमुख– सहप्राध्यापक राजदेव कुशवाहा

– पृथ्वीनारायण क्याम्पस प्रमुख– प्राध्यापक सरोज कोइराला

– बुटवल बहुमुखी क्याम्पस प्रमुख– सहप्राध्यापक खिमानन्द भण्डारी

– नर्सिङ क्याम्पस नेपालगन्ज प्रमुख– उपप्राध्यापक तुलसा सुनुवार

– सुर्खेत क्याम्पस प्रमुख– उपप्राध्यापक माधवप्रसाद खनाल

– पाटन संयुक्त क्याम्पस प्रमुख– सहप्राध्यापक लक्ष्मण कुँवर

– रत्नराज्यलक्ष्मी क्याम्पस प्रमुख– सहप्राध्यापक जीवनधर ज्ञवाली

– विश्वभाषा क्याम्पस प्रमुख– सहप्राध्यापक यादवप्रसाद पन्त

– डिन, इन्जिनियरिङ अध्ययन संस्थान– प्राध्यापक शशिधरराम जोशी

– डिन, चिकित्साशास्त्र अध्ययन संस्थान– प्रा.डा. दिव्यासिंह शाह

– अंग्रेजÞी केन्द्रीय विभाग प्रमुख– प्रा.डा. जीवलाल सापकोटा

– सहायक परीक्षा नियन्त्रक, अत्तरिया शाखा– सहप्राध्यापक ईश्वरीदत्त पन्त

– सहायक परीक्षा नियन्त्रक, नेपालगन्ज शाखा– उपप्राध्यापक सुमन गौतम

– सहायक परीक्षा नियन्त्रक, केन्द्रीय कार्यालय– सहप्राध्यापक घनश्याम ठाकुर

– सहायक परीक्षा नियन्त्रक, विराटनगर शाखा– उपप्राध्यापक नन्दकुमार न्यौपाने

– समाजशास्त्र केन्द्रीय विभाग प्रमुख– युवराज लुइँटेल

– अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख– प्रा. सोहनलाल कर्ण

पूर्व माओवादी निकट

– सिराहा क्याम्पस प्रमुख– सहप्राध्यापक रामहित यादव

– गोरखा क्याम्पस प्रमुख– उपप्राध्यापक रामशरण बानियाँ

– तेह्रथुम क्याम्पस प्रमुख– उपप्राध्यापक निलम खरेल

– महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज प्रमुख– सहप्राध्यापक लालमणि आचार्य

– जुम्ला क्याम्पस प्रमुख– उपप्राध्यापक ओमप्रकाश आचार्य

– डिन, शिक्षाशास्त्र संकाय– प्राध्यपाक चित्रबहादुर बुढाथोकी

– निर्देशक, शिक्षा विकास तथा अध्ययन केन्द्र, सहप्राध्यापक सुरेन्द्र गिरी

– सहायक डिन, इन्जिनियरिङ अध्ययन संस्थान, प्रा चिन्तामणि पोखरेल

– सहायक डिन, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान– सहप्राध्यापक किशोरचन्द्र दाहाल

– सहायक डिन, व्यवस्थापन संकाय– सहप्राध्यापक हरि अधिकारी

– कन्फ्युसियस इस्न्टिच्युट निर्देशक– प्राध्यापक बालमुकुन्द रेग्मी

– सहायक परीक्षा नियन्त्रक, पोखरा शाखा– सहप्राध्यापक मीना गुरुङ

– सहायक डिन, मानविकी तथा सामाजिकशास्त्र संकाय– प्राध्यापक दुविनन्दन ढकाल

कांग्रेस निकट

– त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा प्रमुख– सहप्राध्यापक टंकप्रसाद भट्टराई

– डोटी क्याम्पस प्रमुख– सहप्राध्यापक दयानन्द जोशी

– वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर प्रमुख– प्राध्यापक दयाराम पौडेल

– त्रिचन्द्र क्याम्पस प्रमुख– प्राध्यापक सुनील अधिकारी

– शंकरदेव क्याम्पस प्रमुख– प्राध्यापक केशवराज जोशी

– चितवन इन्जिनियरिङ क्याम्पस प्रमुख, उपप्राध्यापक सुदीप पौड्याल

– डिन, मानविकी तथा सामाजिकशास्त्र संकाय– प्राध्यापक कुशुम शाक्य

– जनप्रशासन केन्द्रीय विभाग प्रमुख– प्राध्यापक यशोदा काफ्ले

– भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख– प्रा.डा. बलराम प्रसाईं

पुराना नियुक्तिका कांग्रेसनिकट बाँकी

यसअघिका पदाधिकारीले नियुक्त गरेका र कार्यकाल बाँकी रहेका विभागीय प्रमुखहरू कांग्रेसनिकट छन् । मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत संस्कृत केन्द्रीय विभाग प्रमुख नारायण गौतम कांग्रेसनिकट हुन् । उनको नियुक्ति तत्कालीन उपकुलपति खनियाको पालामा भएको हो । संस्कृत विभागमा नेकपानिकट शिक्षकको अभाव पनि छ ।

यस्तै, हरेक सेमेस्टरमा एकदमै न्यून विद्यार्थी भर्ना हुने भाषाविज्ञानमा कांग्रेसनिकट विचारका डा. बलराम प्रसाईंलाई प्रमुख बनाइएको छ । कार्यकाल बाँकी रहेका साइन्सलगायत केन्द्रीय विभागमा भने पहिलेको भागबन्डाअनुसार नियुक्त भएकाले कांग्रेसनिकट शिक्षक प्रमुख छन् । जनसंख्या अध्ययन केन्द्रीय विभाग प्रमुखको पद रिक्त छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies