कार्तिक २१ गते, २०७२ शनिवार 7th November, 2015 Sat०७:५१:४७ मा प्रकाशित
मैले छोएको तिमीलाई चल्दैन भने
मानवताको दियो बल्दैन भने
नहिँडुला म तिम्रो आँगनको बाटो
नछोउँला म तिम्रो आलीको माटो
नपिउँला म तिम्रो पँधेरीको पानी
नजिउँला म, तिम्रो भगवानलाई मानी
भो ! काजी म अछुतै सही
बस् मैले कुँदेको मूर्तिमा भगवान नदेखे पुग्छ
मेरो पसिनाले भिजेको धर्तीमा तिमीले नटेके पुग्छ ।
[caption id=\"attachment_44721\" align=\"alignleft\" width=\"150\"] लेखक[/caption]
शालीन लेखाइमा यसरी नै आगो ओकलेका छन् आफ्नो सशक्त रचनामा चर्चित गीतकार तथा युवा कवि केवल बिनाबीले । उन्मुक्त पुस्ताले नेपालमै पहिलो पटक सञ्चालन गरेको पोष्टर कविता अभियानमा अन्य कवि तथा कवयित्रीहरु पनि जोडदार ढङ्गले जुटेका छन् । हजारौं वर्षदेखि समाजको पिँधमा परेका र पारिएका दलितहरुका पक्षमा दलित र गैरदलित स्रष्टाहरुले सामूहिकरुपमा अभियानै सञ्चालन गरेको सम्भवतः यो नै पहिलो हो । लगभग डेढ महिनाको अवधिमा उपत्यकाका हरेक मुख्य चोक र सुकुम्वासी बस्तीमात्र काव्यिक नादलहरले गुञ्जाएनन् उनीहरुले अपितु कवितालाई कलात्मक रेखाङ्कित चित्र सहिते आकर्षक पोष्टर पनि तयार गरे जसले गर्दा शब्दमा कविता नबुझ्ने पाठकहरुसम्म समेत कविताको अभिप्राय र अभीष्ट सञ्चारित भयो । मूलतः काव्यविधालाई महलका अटालीहरुमा कथेर कथित बुद्धिजीवीहरुले आनन्द लिने विधा बनाउँथे जसलाई झुप्राहरु तथा लक्षित वर्गसम्म पहुँच पु¥याउने मनसायले यो अभियान सञ्चालन भएको हो ।
राज्यसत्ताले सदियौं दलनमा राखेका यो राज्यका वास्तविक कर्मीहरुकाबारे आफ्नो प्रखर लेखनमा पोखिन्छन् कला अनुरागी–
हतियारको बलमा भए शक्तिशाली
र, घन बजारिरहेछन् हाम्रो टाउकोमा,
हतियारकै धारले धारिला भए
र, रेटिरहेका छन् मानवताको घाँटी ।
अवश्यमेव दलितहरुलाई राज्यले दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरेकै हो र उनीहरुले नै तयार गरेका घन बजारेकै हो उनीहरुकै टाउकोमा र रेटेकै हो विवेकको घाँटी । यो दलितलाई मात्र थाहा नभएको भने होइन । परन्तु आन्तरिकरुपमा समेत विभेद सल्ट्याउन नसकेका अशिक्षित दलितहरु बेलैमा एकजुट हुन सकेनन् र हेपाइको गोता खपि नै रहे लामो कालखण्डसम्म–
आज थाहा छ मलाई
अरु जस्तै अमानवीय बन्यो भने कैंची
काटिनसक्छ लाजको वस्त्र
काटिन सक्छन् औंलाहरु
काटिन सक्छन् हातहरु
अनि
काटिन के बेर राष्ट्रिय झण्डा !
वास्तविक भोगाइ यस्तो छ हरिशरण परियारको र त हुङ्कार गर्छन् यसरी । यदि अझै पनि राज्यले अनागरिककै रुपमा लियो भने उनीहरुको राष्ट्रिय झण्डा सिउने कल मौन बसेर कैंचीले देखाउन सक्छ आफ्नो ताकत र काट्न सक्छ राष्ट्रिय झण्डा । होइन भने ठूलाठालुकोे इतिहास घोकेर पाषाण जीवन जिउन तयार छैनन् उनीहरु । भर्खर तामझामका साथ घोषणा गरिएको संविधानका निर्माता र अविभाज्य अङ्ग उनीहरु पनि हुन् र त ललकार्छन् राजु स्याङ्तान–
इतिहास लेख्ने लेखनदासले
लेख्न छुटाएको एउटा अनाम अक्षर हुँ म
नसिकाऊ मलाई कानुनका कुरा
तिम्रो कानुनविरुद्धको कानुन हुँ म ।
पक्कै पनि कानुनका धाराहरुले अझै पनि छुवाछुतको पानी बगाए भने त्यस्तो पानीलाई कसरी ढलमा हाल्ने भन्ने कुरामा सचेततापूर्वक बसेका छन् अहिले विभेदको जाँतोमुनि चेपिएका भुइँमान्छेहरु । तर यतिबेला बोल्ने मुखमा ठेडी ठोकेका छैनन् उनीहरुले न त दही नै जमाएका छन् बलिष्ठ पाखुरीहरुमा । अब पनि विषमताका रेखाहरु मेटिएनन् भने लेखा राख्ने छन् निरङ््कुशताका पुजारीहरुका । तसर्थ विश्व सिग्देल गर्जन्छन्–
तर
पुस्तौं अगाडि कानमा कोचिएका ठेडी
ओठमा मारिएका ताल्चा
हातगोडाका गोर्खेलौरीका डामहरु
के कति अझै जिउँदै छन्
हामीसँग छन् त्यसका फेहरिस्त ।
थिचोमिचो र शोषणको जुवामुनि नारिएका मान्छेहरुको स्मरणशक्ति शासकले सोचेझैं अल्पकालीन हुँदैन । पुस्तौंपुस्ता जेजसरी हेलाहोचो गरियो र होचीअर्घेली भयो त्यसको पश्चाताप राज्यको बागडोर सम्हालेकाहरुले गर्नैपर्छ । अन्यथा आफ्नो अधिकार खोस्न अधिकारविहीनहरु जस्तोसुकै कदम चाल्न समेत पछि पर्दैनन् र त शालीन विद्रोह बोल्छन् केशरी अम्गाई–
पसिनाको आसमा
जीवनको फूल फुलाउन
कहिल्यै नजानेका कामहरु सिकेँ
कहिल्यै नहिँडेका बाटाहरु हिँडेँ
पाखामा फुलेका सेताम्य बुकीफूलहरुसँग
जीवन फुलेको सपना देखेँ ।
जब नियम र कानुन नै मान्छेमान्छेबीच विभेदका खाडल खन्नेखाले हुन्छन् तब कथित् उपल्लो जातले दमन गर्न त्यही कानुनको हतियार उजाउँछन् जो आफूतिर फर्कियो भने के हविगत होला भन्ने परिकल्पना भने कहिल्यै गर्दैनन् । अनि मुक्तान थेबालाई लाग्छ–
यो झरिलो समय
र, तात्दै गरेको यो हावाले
फेरि मागेको छ मसित–
मेरो आँखामा दन्किरहेको लप्का
र, युगीन खलाँती ।
विषमताका शृङ्खलाहरु अब विशृङ्खलित हुनैपर्छ मानव सभ्यतालाई शिष्ट रुपमा अघि बढाउने सङ्ल्प गर्ने र समतामूलक समाजको स्थापना गर्ने हो भने । नत्र पुन ः हाँक दिने चरणमा आउनैपर्छ समताको खोजीमा लागेका अभियन्ताहरु र फुक्नैपर्छ बिगुल प्रकाश गुरागाईंले झैं–
धन्न थाहा पाएको छैन संविधानले कि
ऊ इनारबाट पानी झिक्दाझिक्दै लखेटिएकी डोम हो
नत्र संविधानमै लेखिन सक्थ्यो–
‘संविधानसभा– २ नं. गेट अगाडि
बदाम बेच्न प्रतिबन्ध छ ।’
जेहोस् केशव सिलवालले रचनामा भनेझैं सारा समाजले स्वीकारोक्ति गर्ने हो भने फेरि नेपाली नेपालीबीच उचनीचको सम्बन्ध कायम हुने छैन बरु सबै हुने छन् उस्तै खाले र उही दर्जाका मान्छे–
तिमीले बनाएको मूर्तिलाई होइन
तिमीलाई नै देउता मान्नुपथ्र्यो
तिम्रा कर्मी हातहरुलाई
प्रेमले चुम्बन गर्नुपथ्र्यो
बिटुलो इतिहासलाई कुल्चेर अब
म तिमीलाई मानवीय जदौ गर्न चाहन्छु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: