मलाई लाग्यो : जनसेनाहरु धेरै महान छन्, यिनीहरु कहिल्यै हार्दैनन् र हार्ने छैनन् ।यहाँको दृष्य मलाई कता कता नौलो लागिरहेको छ । किताबको पानामा पढेको चिनियाँ र रुसी क्रान्तिका लालसेनाहरुका संघर्षको कथाहरुको सम्झना भइरहेको छ । शहरी क्षेत्रमा बसेर प्रचार कार्यमा संलग्न एउटा व्यक्तिका लागि यस किसिमको दृश्यले प्रभाव पार्नु स्वभाविक पनि हो । दृश्यहरु क्यामेरामा कैद गर्दै म अगाडि बढ्दै गर्दा त्यहाँ राता झण्डा व्यानर र मञ्च देख्छु । एकै छिनमा पंक्तिवद्ध जनसेनासंग हाम्रो अभिवादन साटासाट हुन्छ र सबैसंग हात मिलाएर आत्मीयता प्रकट गर्दछौं । जनयुद्धले सिर्जेका राता जनसेनाका यति ठूलो लस्कर मैले जीवनमा पहिलोचोटी देख्दै छु । मेरो छाती गर्वले फुलिरहेको छ । यसले ममा जनसेनाप्रति अपार स्नेह र सम्मानभाव जागेर आउँछ । आफ्नो व्यक्तिगत स्वार्थ र ज्यानको प्रवाह नगरी मुक्ति या मृत्युको लक्ष्य राखेर युद्धमा होमिएका राता मान्छेहरुका माझ रहन पाउँदा मात्रै पनि मैले अर्कै रोमाञ्चको महसुस गरेको छु । प्रशिक्षणस्थल वरवर निर्माण गरिएका क्याम्पहरु जनयुद्धका महान् सहिदहरुका नाममा नामाकरण गरिएको छ । दुश्मनसामु झुक्दै नझुकी उच्च मृत्युवरण गर्ने ती महान सहिदहरुको नाम सुन्दा पनि एक खालको दृढ बलिदानीभाव पैदा हुन्छ । हामीले बढो अनुशासित रुपमा पालैपालो खाना खायौं । आफूले खाएका भाँडा सफा गर्यौं र भाडा जाँच गराइसकेपछि तोकिएको क्याम्पमा आएर बस्यौं । एकै छिनमा सैन्य शिविरका प्रमुख अतिथि क.प्रभाकरसहितका प्रशिक्षक कमरेडहरुको आगमन हुन्छ । उहाँहरुको स्वागत अभिवादनसंगै उद्घाटन कार्यक्रम सुरु भएको छ । क.डायमण्डले कार्यक्रम सञ्चालन गर्नुहुन्छ । उपस्थित सबैबाट गाइएको कम्युनिस्ट अन्तर्राष्ट्रिय गीतले उच्च प्रकारको भाव पैदा गरिरहेको छ । पार्टीका विभिन्न जिम्मेवार कमरेडहरुको सम्बोधनको क्रम अघि बढ्दै जाँदा मैले पनि कार्यक्रम सफलताको शुभकामना दिने अवसर पाउँदा गर्वको अनुभूति गरिरहेको छुं । साँझ मेस कमिटीको सूचनापछि हामी खाना खान्छौं । क्याम्पमा आइसकेपछि यस अघि प्रहरी चौकी कब्जा गर्ने क्रममा भएका भिडन्तका प्रत्यक्ष रेकर्ड सुन्नुका साथै फोटोहरु समेत हेर्यौं । भिडन्तका प्रत्यक्ष विवरण कति सजीव थिए, जहाँ छापामार योद्धाहरु जनताका मुक्तिका लागि आफ्नो ज्यानको बाजी लगाएर भिडिरहेका थिए । चौकी कब्जामा आइसकेपछि राजनीतिक कमिसार तथा कमाण्डरहरुले प्रहरीलाई माओवादीको उद्देश्य र लक्ष्य स्पष्टसँग राखेर स–सम्मान सम्झाई बुझाई छाडेका घटनाले माओवादीहरु आफ्नो उद्देश्य कसैलाई पनि लुकाउँदैनन् र आफ्नो कब्जामा आएका शत्रु पक्षका सेनालाई युद्ध बन्दीकोे व्यवहार गरेर छाडिदिन्छन् भन्ने प्रमाणित भएको थियो । आज शैन्य शिविरमा आएको दोस्रो दिन हात मुख धोई चिया खान लागेका थियौं अकस्मात सिठ्ठी बज्यो अरुसँगै हामी पनि फिल्डतिर लाग्यौं । प्रशिक्षणको समय सुरु भएकाले सिठ्ठी बजेको रहेछ । हामी पनि जनसेनासँग लाइन लाग्यौं मेसमा खटिएका बाहेक सबै कमरेड लाइनमा लाग्यौं । तालिमका लागि तयार पारिएका नियमहरु सुनाइए । प्रशिक्षकको कासन अनुसार हामी विभिन्न किसिमका आइटमहरु गर्दै अगाडि बढिरह्यौं । प्रमुख अतिथि प्रभाकर स्वयं सबै आइटमहरुमा सबैभन्दा अग्रिम हुनुहुन्थ्यो उहाँले सबैलाई हौसला बढाइरहनु भएको थियो । त्यहाँ प्रशिक्षण गर्दागर्दै भुतुक्कै थाकिन्थ्यो, कहिले गलिन्थ्यो । छापामारहरु प्रशिक्षणका लागि बनाइएका सुरुङभित्र पस्दै निस्कँदै गर्दा ममा रोमाञ्चताको अनुभूति हुन्थ्यो । म पनि सुरुङमा पसे र, निकै ठूलो मेहनतपछि निस्कन सफल भए । यसरी विविध तालिममा सहभागी भएर साँझ सुत्दा मेरो शरीर पूरै दुखिरहेको थियो । कडा श्रम गरेका योद्धाहरुको अवस्था सम्झँदै मैले आफ्नो दुखाई भुल्ने प्रयत्न गरिरहेको थिएँ । सैन्य शिविरमा आएको तेस्रो दिन पनि छापामारहरुसँगै तालिममा सहभागी बनें । यस अवसरमा धेरै कुरा सिक्न पाइयो । भरुवा बन्दुक भर्न नसक्ने मजस्ताका लागि राइफल, पेस्तोल, बारबोर, टुटु, एयरगन लगायतमा गोली राख्ने, पड्काउने र सफा गर्ने तथा ग्रिनेड हान्ने तरिका सिक्नु कम महत्वपूर्ण थिएन । मैले मनमनै जे सिकेको छु जनताको हितमा प्रयोग गर्ने सपथ खाएँ र अर्को दिन त्यहाँबाट विदा भएर आफ्नो कार्यक्षेत्रमा फर्कने निश्चय गरें । यो तालिम अवधि मेरा लागि धेरै महत्वपूर्ण भयो, जहाँ मैले प्रहरीसँगको प्रत्यक्ष भिडन्तमा जनसेना, घाइते योद्धा र युद्धका कमाण्डरहरुका जीवन्त अनुभूति सुन्ने अवसर पाएँ । जनसेनाले युद्धलाई आफ्नो जीवन बनाएका रहेछन् भन्ने कुरा गहिरो गरी बुझ्न पाएँ । उनीहरु न्यायपूर्ण युद्धलाई माया गर्छन् र आवश्यक परे आफ्नो जीवन बलिदान गर्नु महान सम्झन्छन् भन्ने बुझ्न पाएँ । मैले जनसेनाले रगत बगाएर प्राप्त गरेका हतियारहरु उनीहरुका लागि कति धेरै प्यारा वस्तु रहेछन् भन्ने पनि अनुभूति गर्न पाए । युद्धमा सहभागी भएर मात्र युद्ध सिक्न सकिन्छ भन्ने राम्रो उदाहरण यहाँ पाइयो । यी सबै देख्दा मलाई लाग्यो : जनसेनाहरु धेरै महान छन्, यिनीहरु कहिल्यै हार्दैनन् र हार्ने छैनन् । केही क्षणको हिडाई पश्चात पूर्व पश्चिम राजमार्गबाट बस चढेर काठमाडौं आइपुगेको छु । यहाँ मैले सैन्य शिविरमा घन्किरहेको नारा घन्किरहे झैं अनुभूति गरिरहेको छु । र, अर्को मोर्चामा जान तयार जनसेनाको विजय देखिरहेको छु ।
प्रतिकृया लेख्नुहोस्: