Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

‘माओवादी एकता नभए यदुबंशे लडाईँमा गएर टुंगिन्छ’ -रामदिप आचार्य

\"ramdip-acharya1\"काठमाडौं । एकीकृत माओवादीसँग चार वर्षअघि अलग भएको भइ मोहन वैद्य नेतृत्वमा गठन भएको नेकपा–माओवादी नेकपा एकीकृतसँग एकता गर्दै हालै नेकपा (क्रान्तिकारी माओवादी) बनेको छ । क्रान्तिकारी शक्तिहरुसँगको एकताको प्रक्रियालाई अघि बढाएको सो पार्टीले एकीकृत माओवादीसँग नै एकता गर्ने गरी छलफल तीब्र पारेको छ । यहि मंसिर महिनाभित्रै पार्टी एकीकरण गर्ने गरी दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल भइरहेको वैद्य माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यले बताए । पार्टी विभाजनको कारण माओवादी आन्दोलन कमजोर भएको उनी बताउँछन् । मंसिर १५ देखि शुरु हुने एकीकृत माओवादी केन्द्रीय समिति बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रस्ताव लैजाने पनि बताइएको छ । प्रचण्ड यतिबेला दस्तावेज लेख्नमा ब्यस्त छन् । दुई पार्टीबीचको एकता प्रक्रियाका बारेमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यसँग गरिएको संक्षिप्त कुराकानी ।   एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बीच एकताको कुरा साँच्चिकै चलिरहेको हो कि बजार हल्ला मात्रै हो ? बजार हल्ला मात्र होइन, एकीकृत माओवादीसँग एकताका लागि साँच्चिकै छलफल अगाडि बढेको छ । नेपालको राजनीतिक आन्दोलनको पछिल्लो नबिनतम् कडी परिवर्तनको संवहकको रुपमा माओवादी आन्दोलन उदायो । माओवादी आन्दोलन ठूलो बलिदानीबाट आएको कारणले गर्दा नेपाली समाजलाई बदल्नका निम्ति यसले ठूलो योगदान गर्छ भन्ने जनताको अपेक्षा थियो । त्यो अनुसार जनसमुदायले लडाई लड्दा र चुनावमा लड्दाखेरि पनि माओवादी आन्दोलनलाई साथ पनि दियो । माओवादी आन्दोलन जनअपेक्षाअनुसार माओवादी नेता कार्यकर्ता आफैले अकथनीय दुःख कष्ट गरेर त्यसलाई सिञ्चित गरेर राखेका थिए । त्यसले एकाकारग्रहण गर्न नपाउँदै विकृतिहरु देखापरे र विभाजनहरु देखा पर्यो । यसको परिणाम अहिले विभिन्न नामका नेताकै नामपिच्छे माओवादी पार्टीहरु परिचय दिनुपर्ने ठाउँमा आइपुग्यो । यसले परिवर्तनको संवाहक जनसमुदाय, नेता र कार्यकर्ताहरुलाई दुखित तुल्यायो र परिवर्तनका विरोधीहरुलाई उत्साहित तुल्यायो । यो वस्तुगत आधारमा हामी एउटा छलफलको निश्कर्षमा पुग्यौं कि जनसमुदायको आकांक्षालाई सम्बोधन गर्ने, नेता कार्यकर्ताको भावनालाई सम्बोधन गर्ने र परिवर्तनको अगुवाई गर्ने । माओवादी आन्दोलन एकतावद्ध हुनुपर्छ । र यसभित्र रहेका विकृति विसंगतिहरु र विपरीतहरुलाई रुपान्तरित गरेर जानुपर्ने अवस्था रह्यो । रुपान्तरणसहितको माओवादी आन्दोलन आजको जरुरी आवश्यकता हो भन्ने निश्कर्षमा हामी पुग्यो । हाम्रो तर्फबाट भन्दाखेरि नेकपा क्रान्तिकारी माओवादीले औपचारिक रुपमा निर्णय गर्यो । एकीकृत माओवादी र अन्य माओवादी घटकहरु मात्रिका यादवले नेतृत्व गर्नु भएको माओवादी, मणि थापाले नेतृत्व गर्नु भएको माओवादी, विप्लवले नेतृत्व गर्नु भएको माओवादी, बाबुरामतिर लाग्नु भएका माओवादी सबैसँग छलफल र संवाद अघि बढाउने भन्ने हाम्रो निर्णय भएको छ । अहिले एकीकृत माओवादी, मात्रिका यादवको माओवादी र मणि माओवादीसँग हाम्रो सघन छलफल चलिरहेको छ । मलाई लाग्छ, निश्चित आकार ग्रहण गर्नेतिर अगाडि बढ्नेछ ।   एकीकृत माओवादीसँग एकता गर्ने आधार चाँही के हो ? एकताको आधार भनेको पहिलो कुरा माओवादी जनयुद्धले राखेका उद्देश्यहरु हुन् । किसान, मजदुर तथा श्रमजीवी जनताको सत्ता स्थापना गर्नका निम्ति जनताको शक्तिलाई केन्द्रिकृत गर्ने यसको मुल उद्देश्य हो । त्यो शक्तिको केन्द्रिकरणको मुर्त आकारग्रहण भनेको संगठन र पार्टी हो ।  जनताको शक्ति असंगठित रुपमा अभिब्यक्त हुन सक्दैन । संगठित रुपमा अभिब्यक्त गर्दा पार्टी मार्फत नै त्यो अभिब्यक्त हुने हो । पार्टीहरु विभाजित हुँदा तथा नेता कार्यकर्ताहरु विभाजित हुँदाखेरि मजदुर किसान र उत्पीडित समुदायको शक्ति पनि स्वतः विभाजित हुन्छ । त्यसले वर्गलाई कमजोर बनाउने हो । एकताको मुल आधार भनेको क्रान्तिको मुल उद्देश्य हो । त्यो उद्देश्यलाई परिपूर्ति गर्ने साधनलाई एक ठाउँ जुटाउने कुरा हो । आज त्यसलाई बस्तुगत रुपमा हेर्दा खेरि के देखिन्छ भने माओवादी आन्दोलन टुक्रा टुक्रा भएर क्षयीकरण हुने र शक्ति सञ्चयन गरेर झन् अगाडि बढ्नुको साटो शक्तिको क्षयीकरण भएर विसर्जन हुने र यो विसर्जनबाट जोलाउनुपर्ने आवश्यकता पनि हाम्रो आजको एउटा एकताको आधार हो । हिजो बलिदानी गर्दा खेरि सँगै सहकार्य गरेर आएका छौं, कतिपय कुरा विग्रेका पनि छन् । भत्किएका छन्,त्यसलाई बनाएर जाउँ भन्ने हिसाबले हामी छलफल गर्दैछौं । मुल आधार भनेको माक्र्सवाद, लेनिनबाद, माओवाद वैचारिक आधारहरु हुन् । जनताको सत्ता स्थापना गर्ने राजनीतिक आधार हो । संगठित शक्तिलाई शक्तिमा रुपान्तरण गर्ने त्यो सांगठनिक आधार हो । र हाम्रा विग्रेका कार्यशैलीहरुलाई रुपान्तरण गरेर जाने सांस्कृतिक आधार हो । जनता प्रति नै प्रतिबद्ध हुने आधारमा हामी एकताको कुरा गर्दैछौं ।   एकीकृत माओवादी संसदीय भासमा पतन भएको निश्कर्षमा तपाईहरु चार वर्षअघि छुट्टै संगठित हुनुभयो । उसले संसदीय ब्यवस्थालाई नै स्वीकारेर आएको अवस्थामा कसरी फेरि मिल्न सकिन्छ त ? हामीले एमाओवादीलाई र त्यतापट्टि रहेका नेता कार्यकर्ताहरुलाई पनि राजनीतिक हिसावले हेर्दाखेरि केही प्रश्नहरु उठायौं । र संश्लेषण गर्यौं । उहाँहरुले पनि हामीहरुलाई केही प्रश्नहरु उठाउनुभयो र संश्लेषण गर्नुभयो । यो हाम्रो एउटा आत्मगत पाटो हो । वस्तुगत हिसावले हेर्दा पनि समीक्षा गर्नुपर्यो । उहाँहरु चुनावमा जानुभयो तर सफलता प्राप्त गर्नु भएन । हामी बहिष्कारमा गएर झण्डा उठाउँछौं भनेर गयौं, हामीले पनि सकेनौं । त्यसकारण यसलाई अर्को पाटोबाट हेर्दा खेरि यो हारको समीक्षा पनि हो । हामी आ–आफ्नो बाटो लागेर क्रान्तिको झण्डा उठाएर कसैले सम्पन्न गरेको भए समीक्षा अर्कै ठाउँमा हुन्थ्यो । हामी प्रतिक्रान्ति भएर आफ्नो शक्तिको झन् क्षयीकरण भएर जाँदा यो पराजयको समीक्षा हो । पराजयको समीक्षा हुँदाखेरि एकले अर्कोलाई आरोपित गर्ने भन्दा पनि एकले अर्काको कमजोरीहरु सच्याउन मद्दत गर्ने, आत्मालोचना गर्ने र आलोचना गर्ने । यो दिशातिर जाने हो भने हामीले एकअर्कालाई लगाएका आरोपहरु कति बस्तुगत तत्यमा आधारित थिए र कति कति मनोगत थिए त्यसको एउटा जगमा हुन्छ । भएन भने यो यदुबंशे लडाईँमा गएर टुंगिन्छ ।  यो कारणले गर्दाखेरि हामी रुपान्तरण गर्ने दिशामा जानुपर्छ । हाम्रा आरोपहरुलाई समीक्षा गर्ने, बस्तुगत धरातलहरुमा उभिएर समीक्षा गर्ने र त्यसलाई नदोहोर्याउने प्रतिवद्धता गरेर अगाडि बढ्ने । त्यो कारणले गर्दाखेरि हामी एक ठाउँमा जाँदैछौं ।   तपाईँहरुले बहिष्कार गरेको संविधान सभाबाट जारी गरिएको संविधान तपाईँहरुले स्वीकार गर्नु भएको छैन, एमाओवादी ऐतिहासिक संविधान भनेको छ, कसरी मिल्छ यो कुरा ? मैले भनें नि नमिल्ने कुराहरु पनि धेरै छन्, मिल्ने कुराहरु पनि धेरै छन् । हामी मिल्ने मिल्नेबाट शुरु गर्यौं । हामी एकतावद्ध हुनुपर्छ भन्ने निश्कर्षबाट शुरु गर्यौं भने हामी मिल्ने विषय खोज्छौं । र नमिलेका कुराहरुलाई कसरी हल गर्ने भन्ने एउटा दिशातिर जान्छौं । हामी नमिल्नु छ भने नमिल्ने विषयबाट उठान गर्न शुरु गर्छौं । आजको आवश्यकता भनेको नमिल्ने विषयबाट उठान गर्ने होइन । इतिहासका कैंयौं कुराहरु अहिले मात्रै समिक्षा हुँदैन । अक्टोबर क्रान्तिको आज हामी फर्केर समिक्षा गर्छौं । पेरिस कम्यूनको हामी समिक्षा गर्छौं । चिनिया क्रान्तिको आज हामी फर्केर समिक्षा गर्छौं भने हाम्रो क्रान्तिको समिक्षा हामी आजै यहि पुस्ताले पनि नगर्न सक्छ । हाम्रा गतिविधिहरुको । त्यसकारणले गर्दा हाम्रो प्रक्रिया छ । एउटा मिल्ने प्रक्रियामा जाँदाखेरि मलाइ के लाग्छ भने महाधिवेशन, सम्मेलन, बैठक छन्, त्यो प्रक्रियासम्म हामी यसलाई तान्न सक्छौं । नमिलेका कुराहरु के सहि हो त ? संविधान प्रगतिशील समाजवाद उन्मुख संविधान हो कि यो संविधान प्रतिगामी संविधान हो कि अथवा यो संविधान ठीकैको संविधान हो वा नेपाली समाजको बाधक हो भन्ने बारेमा हाम्रा मतभेद छन् । यो सहि कुरा हो । तर एउटा दुइटा कुराहरुमा देखापरेको मतभेदका कारणले गर्दाखेरि सिङ्गो एकता र ध्रुविकरणको प्रक्रिया नै भाँडिन्छ जस्तो लाग्दैन मलाइ ।   उसो भए एकतापछि यही संविधानलाई तपाईँहरु पनि स्वीकार्नु हुन्छ ? होइन, त्यो स्वीकारिसकेपछि त हाम्रो मतभेद नै रहेन नि । पार्टी विपरीतहरुको एकत्व हो । विपरीतहरुको एकत्व भन्नुको मतलव के हो भने विचारहरु, बुझ्ने तरिकाहरु एवम् लागू गर्ने तरिकाहरु, घटना प्रक्रियाहरुलाई हेर्ने दृष्टिकोणहरुको फरक भनेको हुनाले त्यसलाई विपरीत भनिएको हो । हामी पार्टी बनाउँछौं । त्याहाँ विपरीत र एकत्वहरुको पार्टी बनाउँछौं । सबै ठाउँमा र्याङठ्याङ शुरुदेखि अन्त्यसम्म एउटै सोंचाइ भएका मान्छेहरुको मात्रै पार्टी बनाउँदैनौं । विपरीत प्रवृत्तिहरु, विपरीत धाराहरु, विपरीत दृष्टिकोणहरुलाई जम्मा गर्छौं । मुल रुपमा त्यो क्रान्तिकारी प्रवृत्तिको हुन्छ । र त्यसमा अरु बाम, मध्ये, दक्षिण प्रवृत्तिहरु सँगसँगै आउँछन् । र तिनहरुकोबीचमा टकराव हुन्छ । क्रान्तिकारी प्रवृत्तिहरु हावी भयो भने त्यो पार्टी क्रान्तिकारी दिशामा जान्छ । सहायक प्रवृत्तिहरु हाबी भयो भने चाँही त्यो पार्टी क्रान्तिकारी प्रवृत्तिबाट च्यूत हुन्छ । त्यसकारणले हामीले अहिले बनाउन खोजेको पार्टी भनेको विपरीतहरुको एकत्वको पार्टी हो । केही मतभेदहरुलाई दीर्घकालिन हिसाबले एउटा एकता प्रक्रियामा गइसकेपछि महाधिवेशन, विशेष महाधिवेशन या कुनै प्रक्रियाबाट समाधान गर्ने र निश्कर्षमा पुर्याउने दिशातिर जाने गरी हामी छलफल गर्दैछौं ।   यही मंसिर भित्रै पार्टी एकता हुने गरी दुई पार्टीको संयुक्त बैठक बस्ने कुरा तयारी पनि भएको छ भनिन्छ । तपाईँहरुको केन्द्रीय समितिले संयुक्त बैठककै म्याण्डेट दिएको हो ? यति समयभित्र एकता गरिसक्ने भनेर हामीले समय तालिका तोकेका छैनौं । मुल स्प्रिटमा हामी आजको आवश्यकता, माओवादी क्रान्तिकारीहरुको ध्रुविकरण र एकता हो भन्ने आजको आवश्यकताको निश्कर्षमा पुगेको कारणले र औपचारिक अनौपचारिक हिसावले हेर्दा र छलफलको प्रक्रियामा अगाडि बढेको कारणले गर्दा सकेसम्म यसले मूर्त आकार ग्रहण गर्ला भन्ने हाम्रो अपेक्षा हो । यद्यपी मंसिरभित्र एकता नगरे ठूलो वित्यास पर्दैन । हामी छलफललाई निरन्तर अगाडि बढाउँछौं । यो छलफलले धेरै कुरा टुंग्याइसकेपछि एउटा प्रक्रियामा प्रवेश गर्नको निम्ति सहज वातावरण बन्ला । जस्तोः प्रचलन छ, कम्युनिष्टहरुको आफ्नो केन्द्रीय समितिहरु अलग्गै राखेर संयुक्त अधिवेशन गर्ने र छलफल गर्ने अथवा संयुक्त केन्द्रीय समितिको मिटिङ बोलाएर महाधिवेशन आयोजक समिति बनाएर जाने अथवा मिल्ने विषयहरुलाई संयुक्त रुपमा कार्यान्वयन गर्दै र नमिलने विषयहरुलाई बहस चलाएर जाने । कम्युनिष्टहरुमा अन्तर्राष्ट्रिय र राष्ट्रिय आ–आफ्ना प्रचलनहरु छन् र ती प्रचलनहरुसहित कुन चाँही पद्धतिलाई हामीले नेपालको ठोस सन्दर्भमा अहिले हामीले लागू गर्ने भन्ने अझै निश्कर्षमा पुगेका छैनौं । त्यो एउटा छलफलमै रहेको कारणले गर्दा एउटा निश्कर्षतिर पुग्नका निम्ति त्यसले एउटा आधार प्रदान गर्छ ।   एमाओवादीबाट डा.बाबुराम भट्टराई बाहिरिएको अहिलेको अवस्थामा एमाओवादीसँगको एकताका लागि हतारो किन ? होइन, हामीले यो अभियान शुरु गरेको भर्खरै मात्र होइन । भूइँचालो जानुभन्दाअघि पनि छलफल चलिरहेको थियो । वैशाख १२ गते नै छलफल हुँदै गर्दा नेताहरु बसेकै ठाउँमा भूइँचालो गयो । नेताहरु बसेकै ठाउँमा । त्यसले असर गर्यो । प्रमुख दलहरुबीच १६ बुँदे सहमति हुँनुभन्दा अघि पनि छलफल चलेको थियो । नेता र कार्यकर्ताहरुबीच विभिन्न चरणमा छलफलहरु अगाडि बढेका थिए । बाबुरामजी एउटा ब्यक्तिलाई हेरेर हामी निश्कर्षमा पुगेका छैनौं । यो सहि होइन । प्रवृत्तिगत हिसाबले हेर्दा अलिबढी दक्षिणपन्थी धाराको अगुवाई बाबुरामले गर्नु भएको कारणले गर्दाखेरि निर्णयमा पुग्न सहज होला भन्ने अनुमान होला । तर त्यो मुख्य र निर्णायक कुरा होइन । निर्णायक कुरा त माओवादी नेता कार्यकर्ताहरुको भित्रैदेखि अन्तस्करणदेखि पलाएको अनुभूति हो । माओवादीहरुको एकता आजको जरुरी आवश्यकता हो भन्ने कुरा । त्यसकारणले गर्दाखेरि बाबुरामजी बाहेकको पनि भनेका होइनौं । त्याहाँ रहेका माओवादी आन्दोलनबाटै आएका नेता कार्यकर्ता जो कम्युनिष्ट शासन स्थापना गर्न चाहन्छन् । ती नेता कार्यकर्ताहरु तथा समर्थक शुभचिन्तकहरुको पनि केन्द्रीकरणको कुरा गरेको हुनाले पनि बाबुरामजी गएको कारणले हामी एकता हुनु कुनै जरुरी छैन ।   माओवादी टुटफुट र दिवासपना बाँडेको कारणले कार्यकर्ता पंक्तिमै निराशा छ । अब फेरि पनि माओवादीप्रति आशा जाग्ने ठाउँ बन्छ ? हामीले यो अभियानलाई अगाडि बढायौं र एउटा निश्कर्ष दियौं भने यो शुरुवात हुन्छ । आशावादिताको शुरुवात हुन्छ । शक्तिको केन्द्रिकरणले निराशाहरुलाई चिर्छ । अकर्मन्यताहरुलाई चिर्छ । विजयप्रति आशावादी बनाउँछ । तर त्यो मात्रै अस्त्र होइन । त्यसपछि हामी नयाँ चरणमा प्रवेश गर्छौैं । रुपान्तरणको अभियान, जनसंगठनलाई सुदृढिकरण गर्ने अभियान नयाँ ढाँचामा विकाश गर्ने । अहिले हामी बेथितिमा छौं । संगठन तदर्थवादमा चलेको छ । संगठन भए÷नभएको जस्तो स्थितिमा देखापरेको छ । यो सबै प्रक्रियालाई हल गर्ने आज राष्ट्रले भोगेका समस्या र जनताले भोगेका समस्याहरुलाई सम्बोधन गर्ने । राष्ट्र र जनताका समस्याहरु एकातिर छन्, कम्युनिष्ट पार्टीका समस्याहरु अर्कातिर छन् । अथवा राजनीतिक पार्टीहरु अर्कातिर भए । ती राजनीतिक पार्टीहरु जनताप्रति एकाकार भएनन् । जब जनतासँग राजनीतिक पार्टीहरु एकाकार हुन्छन्, तब जनताबाट उनीहरुले शक्ति बटुल्छन् र उनीहरुलाई उर्जा पैदा हुन्छ । जब जनताबाट अलग थलग हुन्छन्, तिनका शक्तिहरुको क्षयीकरण हुन्छ र ती निराश हुन्छन् । हाम्रो समस्या भनेको मासलाइन प्रयोग गर्ने । जनदिशा लागू गर्न नसक्नु हो । जब हामी जनतासँग एकाकार हुने नीतिहरु अबलम्बन गर्छौं र पार्टीलाई जनतासँग जोड्छौं भनेपछि त्यसमा असाधारण उर्जा पैदा हुन्छ । मलाइ लाग्छ,माओवादी विसर्जन भएको छैन । सिद्धिएको छैन । माओवादीमा केही गत्यावरोध देखापरेको छ । निराशाहरु देखा परेका छन् । त्यसलाई उत्साहमा बदल्न सकिन्छ । त्यसलाई नयाँ उर्जामा तथा नयाँ अभियानमा बदल्न सकिन्छ । माओवादीले जनयुद्धकालको स्प्रिटका साथ एउटा राष्ट्रब्यापी अभियान चलाउने बित्तिकै यो फेरि एउटा नयाँ शक्तिको रुपमा अगाडि आउँछ । जनताको अगुवाइ गर्ने भरोसायोग्य श्रमजीवी वर्गको शक्तिको रुपमा यो अगाडि आउँछ । राष्ट्रलाई पनि एउटा नयाँ दिशा प्रदान गर्छ । हामीले सामान्य अवस्थामा फुट्यौं, झगडा भयो, कमजोर भयौं, त्यसैले अब मिलौं भन्ने अर्थमा मात्रै सोंचेका छैनौं । राष्ट्रलाई अगुवाई गर्ने, राष्ट्रको नेतृत्व गर्ने, समस्याहरुलाई हल गर्ने तहमा उठाउने पार्टी बनाउँ भनेर हामीले शुरुवात गरेको कारणले हामी त्यो दिशामा जान्छौं ।   नारायणकाजीहरुसँगको एकताले मात्रिका यादव बाहिरिनुभयो, फेरि एमाओवादीसँगै एकताको कुराले एक वर्षअघि मात्रै विप्लवहरु अलग हुनुभयो, अब फेरि एकताको कुराले अरु कोही बाहिरिने अवस्था छ कि ? त्यस्तो सम्भावना हुन सक्छ । कसैलाई यो एकता मन परेन, यो एकता आजको आवश्यकता होइन भन्छ भने एकतामा सहभागी हुन सक्दिन भन्न पायो । स्वतन्त्रताको पक्षपाती कम्युनिष्टहरुले आफ्नै पार्टीभित्र स्वतन्त्रताको अनुभूति नगर्ने भन्ने कुरा भएन । कोही कमरेडहरुलाई यो कुरा ठीक छैन भन्न पाउला । तर फेरि हामीले भनेको के छ भने विप्लव कमरेडहरुलाई पनि क्रान्तिकारीहरुको विभाजनले जनतालाई, राष्ट्रलाई कमजोर बनाउँछ । त्यो दिशातिर जानु हुँदैन भनेर हामीले अन्त्यसम्म भनेको, त्याहाँ भित्रका साथीहरुसँग पनि हाम्रो छलफलहरु चलिराखेको, क्रान्तिकारी साथीहरुलाई एकतावद्ध गरिराख्नुपर्छ भनेको सन्दर्भमा हामीभित्र भएका साथीहरु बाहिरिनुपर्ने कुनै आवश्यकता देखिदैन । अथवा एमाओवादीतिर भएका साथीहरु पनि बाहिरिनुपर्ने, निराश हुनुपर्ने कुनै आवश्यकता देख्दिन । जो साथी क्रान्तिप्रति, जो साथी वर्गप्रति र राष्ट्रप्रति प्रतिबद्ध छ, त्यो साथीले जनताको शक्तिको एकताबाट तर्सिनु पर्दैन । जो आत्मकेन्द्रित ब्यक्तिवादमा रमेको छ, जसले निजी स्वार्थलाई मात्र केन्द्रमा राखेको छ, त्यो साथी मात्रै अत्तालिनुपर्छ । हाम्रो वर्ग राष्ट्र र पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्दाखेरि एउटा क्रान्तिकारी किन आत्तिने ? मलाइ लाग्छ, कोही पनि बाहिरिदैन । बाहिरिनु हुँदैन ।   मंसिर १५ देखि बस्ने एमाओवादी केन्द्रीय समिति बैठकमा तपाईँहरुसँगको एकताको प्रस्ताव लैजाने भन्ने सहमति पनि भएको छ कि ? एमाओवादी केन्द्रीय समिति वैठकमा एकताको प्रस्ताव लैजाने बारेमा त कुनै निर्णय भइसकेका छैनन् होला । यद्यपी हामीले अपेक्षा गर्ने कुरा चाँही प्रस्ताव आओस् भन्ने हो । केन्द्रीय समिति वैठकका लागि कमरेड प्रचण्डले दस्तावेज लेख्दै हुनुहुन्छ भन्ने सुनिएको छ । त्यो दस्तावेज क्रान्तिकारी भावनाले ओतप्रोत भएको दस्तावेज होस्, उहाँले लेख्ने र त्यो केन्द्रीय समितिलाई माओवादीहरुको यो अभियानलाई अगाडि बढ्नको निम्ति नेतृत्व गर्नेहरुले काम गर्नुभयो भने हामीले थालेको अभियानले सार्थकता पाउनको निम्ति महत्वपूर्ण पाइला हुन सक्छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies