Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

राजनीतिमा युवालाई प्रोत्साहन गर्नुपर्छ, नयाँ जोस, जाँगर र शैली भएकाहरूलाई हामीले सघाउनुपर्छ : हरिवंश आचार्य (अन्तर्वार्ता)

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडाैं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले आफूलाई नियमित भन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन् । त्यस्तो त आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रूपमा प्रस्तुत गरेर वाहवाही पाएका थिए । तर, प्रदर्शनरत चलचित्र ‘भूठान’मा उनी हाँसो हराएको मान्छेका रूपमा प्रस्तुत भएका छन् ।

कलाकारितामा ‘ह्युमर कमेडी’को प्रयोग गर्ने अभिनेता आचार्यले यस चलचित्रमा दुई दृश्यमा मात्र हाँसेको हेर्न पाइन्छ । यसकारण पनि पछिल्लो केही चलचित्रदेखि उनलाई हास्य कलाकार नभई अभिनेता भन्न थालिएको छ ।

६७ वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई गम्भीरतापूर्वक लिएर पात्रलाई जीवन्त बनाएका बहुआयामिक आचार्य विविधता मन पराउँछन् । 'मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रूपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रूपमा प्रस्तुत गर्नुभयो । यसपटक भने म भिन्न देखिएको छु,' अभिनेता आचार्यले भने । प्रस्तुत छ, अभिनेता आचार्यसँग कला यात्रा, चलचित्र निर्देशन र राजनीति प्रवेशको सम्भावना, नेपाली चलचित्रको विदेशी बजारलगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंश : 

चलचित्र ‘भूठानमा’ हाँसो हराएको मान्छेको भूमिका गर्न कसरी तयार हुनुभयो ?

मकहाँ धेरै चलचित्रहरूको पटकथा आउने गरेको छ । अहिले धेरैमा छोराछोरी विदेश र अभिभावक नेपाल रहेको कथा पाउने गरेको छु । तर, म आफूलाई नयाँ रूपमा प्रस्तुत गरौं भन्ने सोचका साथ ती कथाहरू पढ्ने र सुन्ने गर्छु । तर, ‘सिचुएसनल कमेडी’ नभई संवादमा आधारित वा हाउभाउले गर्ने ‘कमेडी’ भएका कथा आइरहेका थिए । त्यही समयमा मैले ‘भूठान’ को पटकथा पाएँ । त्यो एकैपटकमा बुझ्न सहज थिएन, तर बुझ्दै गएपछि त्यसमा रहेको विविधताले मलाई आकर्षण गर्‍यो । ‘बलिदान’ चलचित्रमा अभिनय गर्दा मैले सक्दिन कि भन्ने डर थियो, तर चलचित्र हेरेपछि धेरैले राम्रो गरेको प्रतिक्रिया दिनुभयो । ‘महाजात्रा’ मा पनि मैले केही फरक गर्ने कोसिस गरेको थिएँ । तर, निर्देशक प्रदीप भट्टराईले त्यसमा ‘ह्युमर’ हाल्नुभयो । तर ‘भूठान’ को पात्र नितान्त फरक छ । एकै पटक पढ्दा बुझिँदैन, अनि मैले दुई/तीनपटक पढिसकेपछि मेरो पात्र केही फरक र आफूले सोचेजस्तो पाएँ, त्यसछि कुरा अगाडि बढेको हो । 

तपाईंले चलचित्र ‘भूठान’ मा निर्वाह गर्नुभएको पात्र कसरी तयार भयो ?

म पटकथा पढेपछि रुने दृश्यमा पनि ‘ग्लिसिरिन’ को प्रयोग गर्दिनँ । किनकि कथा र पात्र जोडिएपछि त्यसको भावना हामीमार्फत देखिनुपर्छ । चलचित्र ‘भूठान’को कथाले मलाई केही आभाष गराइसकेको थियो । चलचित्र छायाङ्कन अगाडि भएको कार्यशालाले मलाई सहयोग गर्‍यो । तर, पनि आफैंलाई मैले निर्वाह गरेको विष्णुबहादुर केसी बन्न नसकिरहेको लागिरहेको थियो । एक दिन निर्देशक विनोद पौडेलले ‘दाइ, तपाईं नेपाल जान पाउनु भएन भने के गर्नु हुन्छ ?’ भन्नुभयो । म एक्कासि निराश भएँ । किनकि विभिन्न कार्यक्रमका दौरान विदेश धेरै घुमिसकेको छु । म कार्यक्रम सकिनेबित्तिकै नेपाल फर्किन रुचाउने मान्छे । म निराश भएपछि अब यही भाव चलचित्रभर हुनुपर्छ भनेर निर्देशक पौडेलले भन्नुभयो । यसरी नै पात्र तयार भयो ।

छायाङ्कन अगाडि तपाईंको पात्रसँग मिल्दोजुल्दो व्यक्तिहरू भेट्नुभयो ?

त्यहाँ (अमेरिका)मा रहनुभएका नेपाली मूलका भूटानीसँग भेटघाट गरेर उहाँको कुरा सुनेको छु । हाम्रो संस्कार र संस्कृतिमा केही फरक छैन, तर उहाँहरू आफ्नो देश फर्कन पाउनुभएको छैन । त्यो दुःखद हो । युवा काममा व्यस्त भए पनि वृद्ध उमेरका अभिभावकहरू भने खुसी कम हुनुहुन्छ कि जस्तो लाग्यो । म त्यसरी बस्नु परेको भए सायद जीवित रहन सक्दिन थिएँ । मैले त्यो कल्पना पनि गर्न नसक्ने तीतो सत्य हो । 

चलचित्र ‘भूठान’मा तपाईं पूर्णरूपमा निर्देशकमा समर्पित हुनुभयो, आफैंले यस क्षेत्रमा ५० वर्ष बिताइसक्दा पनि त्यो समर्पण गर्न सकिन्छ ?

म कथामा ‘कन्भिन्स’ भएपछि निर्देशकलाई समर्पित गर्छु, किनकि चलचित्रको कप्तान नै निर्देशक हुन्छन् । म कार्यशाला गर्दा होस् वा दृश्य छायाङ्कन गर्दा आफ्नो काम दोहोर्‍याउनु पर्दा पनि झर्को नमानी गर्छु । किनकि हामी सबैको प्रयत्न राम्रो काम गर्ने नै हुन्छ । मैले चलचित्रमा चुम्बन गरेको छु, जहाँ शरीर नभई भावनाले एकअर्कालाई स्पर्श गरेको हो । श्रीमान्–श्रीमतीबीच यो स्वाभाविक हो । फेरि हामीले अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका हौं । मैले गरेका केही नयाँ दृश्य कलात्मक छन्, भद्दा लाग्ने छैनन् । 

अब आफैं चलचित्र निर्देशन गर्ने तयारी पनि छ ?

म चलचित्र निर्देशक बन्दिनँ होला । टेलिशृङ्खलामा छोटो समय र समूह हुने भएकाले गरेको हुँ । तर, चलचित्रको शुरूआतदेखि चलचित्र प्रदर्शन भएर चलचित्र भवनमा रहँदासम्म निर्देशकको दायित्व हुन्छ । मेरो उमेरका कारण पनि मैले त्यसरी समय दिन सक्दिनँ । अहिले मलाई विविधता भएको भूमिकाले आकर्षित गर्ने गरेको छ । म आफूलाई अभिनेताकै रूपमा व्यस्त पार्न चाहन्छु । 

मह सञ्चारमार्फत चलचित्र बनाउने योजना के छ ?

चलचित्र निर्माणमा पनि अहिले योजना बनिसकेको छैन । तर, हाम्रा मित्र किरण केसीले विषयवस्तुसहित अन्य विविध विषयमा प्रयत्न गरिरहनुभएको छ । हामीले नगर्ने भन्ने होइन, तर तत्काल नै योजना बनिसकेको छैन । मैले हालै अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि अभिनय गरेको छु, त्यसलाई छोरा मोहित (मोहितवंश आचार्य) र सरोज ओलीजीले निर्माण गर्नुभएको छ । त्यसको पनि जिम्मेवारी मैले उहाँहरू दुवैलाई नै दिएको छु । किनकि पुस्तान्तरण पनि हुन जरुरी छ । 

गत वर्ष नेपाली चलचित्रको बजार बढेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापार इतिहास नै बन्यो, तपाईंले समग्र चलचित्र क्षेत्रलाई कस्तो रूपमा बुझ्नुभएको छ ? 

हाम्रो चलचित्र हेर्न आउने दर्शक बढ्नु हामी सबैका लागि खुसीको खबर हो । ती दर्शकलाई पुनः चलचित्र भवनसम्म फर्काइरहनु हाम्रो दायित्व हो । तर, चलचित्र निर्माणमा सङ्ख्यात्मक वृद्धिले मात्र हामीलाई दीर्घकालीन रूपमा फाइदा पुग्दैन । हाम्रो घरेलु बजारले धान्न सक्ने र चलचित्र बुझेका निर्माता वा निर्माण समूह बढ्नुपर्छ । कुनै एक चलचित्रको व्यापार हेरेर चलचित्र निर्माणमा हौसिँदा त्यसले सुखद परिणाम नदिन पनि सक्छ । त्यसकारण चलचित्र बुझेर मात्र निर्माणमा आउन म नवप्रवेशीलाई आग्रह गर्दछु । 

नेपाली चलचित्र अहिले विदेशमा पनि प्रदर्शन हुन्छन्, तपाईंले बजार बढेको पाउनुभएको छ ?

विदेशमा नेपाली बढेपछि हाम्रो चलचित्र बढी हेरिएको हो । त्यहाँ पुग्नुभएका नेपालीले नै हेर्नुभएको छ । त्यहाँका स्थानीयले नहेरेसम्म बजार कसरी बढ्यो भन्न सकिन्छ रु किनकि यहाँ रहेका नेपाली नै अहिले अस्ट्रेलिया, अमेरिकालगायतका देशमा पुगेका छन् । पहिला यहाँ हेर्थे, अहिले विदेशमा हेर्छन् । स्थानीयले नहेरेसम्म विदेशी बजार बढ्यो भन्न सकिन्न । पछिल्लो समय नेपाली दर्शक बढेका मात्र हुन् । 

तपाईंले प्रहसन धेरै गर्नुभयो, नाटक गर्ने रहर भएन वा संयोग जुरेन ? 

मलाई प्रहसन र नाटक उस्तै लाग्छ । हामीले प्रयोग गर्ने मञ्च नै हो । प्रहसनमा हास्य व्यङ्ग्य हुन्छ भने नाटकमा विविधता हुन्छ । हामीले गत वर्ष ‘मह जात्रा’ नामक प्रहसन प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेका थियौं । त्यही कुनै नाटक घरमा गरेको भए, नाटक हुन सक्थ्यो । त्यसकारण यी दुईमा धेरै भिन्नता लाग्दैन । हामीले प्रत्यक्ष दर्शकसमक्ष आफूलाई मञ्चमा प्रस्तुत गरिरहेका हुन्छौं । 

आगामी दिनमा कस्ता चलचित्र गर्ने सोच बनाउनुभएको छ ?

म विविधता रुचाउने भएकाले यही गर्छु भन्ने छैन । तर, आफूलाई आएको प्रस्तावमा ‘ह्युमर’ भएका चलचित्र गर्छु । ‘भूठान’ मा काम गरे भन्दैमा म त्यस्तै मात्र चलचित्रमा काम गर्न रुचाउँछु भन्ने पक्कै होइन । आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्न चाहन्छु । मेरो आउँदो चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा मैले हरिबहादुरको भूमिका गरेको छु । यसले पनि मैले भनिरहेको विविधता झल्काउँछ होला । 

तपाईं र अभिनेता मदनकृष्ण श्रेष्ठले मह जोडीका रूपमा सहकार्यको ४५ वर्ष पूरा गर्नुभयो, यो सम्बन्ध टिकाइरहन महत्त्वपूर्ण कुरा के रह्यो ?

म र मदन दाइ (मदनकृष्ण श्रेष्ठ) ले सहकार्य गरेको यही वैशाख १४ मा ४५ वर्ष पूरा भएको छ । हाम्रो जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया महत्वपूर्ण बन्यो । दर्शकले हामीलाई एकसाथ हेर्न इच्छा नराख्नु भएको भए हामीले यत्रो यात्रा पार गर्न गाह्रो हुन्थ्यो । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत गर्‍यो, हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवैको नाम दियो, एउटा स्थान बनायो । हामीले एकअर्कासँग कहिल्यै आरिस (इगो) राखेनौं, सधैं दर्शकको भावनाअनुरुप प्रस्तुत भइरहयौं ।​

तपाईं र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ, यद्यपि दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । तयारी छ केही ?

दर्शकलाई जस्तै हामीलाई पनि सँगै काम गर्दा खुसी लाग्छ । त्यहाँ काम नगरेर पारिवारिक माहोलमा रमाएको महसुस हुन्छ । त्यसकारण कथा अनुकूल हुने बित्तिकै हामीसँगै देखिने नै छौँ । फेरि हामीलाई एकअर्काको सानो भूमिका छ भन्ने पनि लाग्दैन तर त्यो पात्रको अर्थ हुनुपर्छ । हामी मह जोडी छौँ भनेर मात्र दर्शकलाई खुसी बनाउन सकिँदैन । हामीले निर्वाह गर्ने भूमिका सशक्त, कथामा महत्वपूर्ण भएमा पैसा र समय खर्चेर चलचित्र भवन आइपुग्नुभएका दर्शक पनि खुसी बन्नुहुन्छ । हामीसँगै काम गर्छौं, केही समय मात्र लागेको हो । किनकि मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ? 

अहिलेको नयाँ पुस्ताले हास्यव्यङ्ग्यमा कस्तो गरिरहेका छन्,  बेलाबखतमा उच्छृङ्खल भए भन्ने पनि आउँछ नि ? 

मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गथ्र्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ । ती फेरि नेपाली मात्र नभई विदेशी च्यानल वा डिजिटल माध्यममा उत्तिकै छन् । दर्शकले रुचाउनु भएकै कारण त्यस्ता कार्यक्रम बढेका छन् । यद्यपि यो क्षणिक लहर हो जस्तो लाग्छ । विस्तारै यो परिवर्तन हुँदै जान्छ । 

पछिल्लो समय टेलिभिजनमा शृङ्खला कम पाइन्छ, किन जस्तो लाग्छ ?

हामी कहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले शृङ्खला निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था निकै कम छ । यसलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रूपमा बुझेर सघाउनुपर्छ । भारतीय टेलिभिजन नेपालमा हेरिनुले अहिले बिस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाईंले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन् । त्यसकारण नेपाली कार्यक्रम, शृङ्खलालगायतलाई प्रोत्साहन गर्न सरकार नै अग्रसर हुनु जरुरी छ ।

‘चिना हराएको मान्छे’ को लोकप्रियतापछि किताब लेखनबारे सोच्नु भएको छ कि ?

मैले एउटा पाण्डुलिपि तयार गरेको छु । सम्भवतः तीनदेखि चार महिनामा त्यो किताबका रूपमा आउनेछ । 

राजनीतिमा आउने तपाईंको चाहना छ ?

म विस्तारै ‘रिटायर्ड’ हुँदैछु । त्यसकरण राजनीतिमा आउने सोच पनि मैले बनाउनु हुँदैन । हामीले अहिले राजनीतिमा युवा आउनुपर्छ भनिरहेका छौं, युवालाई नै प्रोत्साहन गर्ने हो । उहाँहरूसँग नयाँ जोस, जाँगर र काम गर्ने शैली हुन्छ । हामीले युवालाई सघाउने र अगाडि बढाउने हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले सचिव अर्याल

काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि कुरा गर्दै प...

साढे ५ करोड ठगी प्रकरणमा दुई प्रतिवादी पक्राउ

काठमाडौं । पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल न...

युवा सांसद भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा

काठमाडौँ । सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नाे भूमिका जेनजी बिद्रोहको भावनालाई सदनको रोष्टमब...

पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

काडमाडौं। आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खाैली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन्। उनले सपथ लि...

सुधन गुरुङलाई प्रश्न : गृहमन्त्री बन्ने चर्चा के हो ?

काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका सुधन गुरुङ रास्वपाका सांसद बनेपछि उनलाई सम्भावित मन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ। कतिपय वृत्तमा उनको आका...

कांग्रेसको टिप्पणी: कार्की आयोग प्रतिवेदन अपूर्ण

काठमाडौं । नेपाली कांग्रेेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा...

मन्त्रीबारे मौन रास्वपा, दुई बैठक निष्कर्षविहीन

काठमाडौं ।  रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक भावी मन्त्रिपरिषद् गठनबारे कुनै औपचारिक छलफल नगरी सम्पन्न भएको छ। दुवै बैठकमा भावी प्रधानमन्त...

लन्डन जाँदै गरेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या

काठमाडौं । भारतको नयाँ दिल्लीबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान प्राविधिक खराबीका कारण करिब सात घण्टाको उडानपछि पुनः दिल्ली फर्किएको छ ।  ‘फ्ल...

रास्वपाको झण्डै दुई तिहाइ पहिलोपटक होइन : ओली

काठमाडौं । केपी शर्मा ओलीले राजनीतिक उतारचढावलाई स्वाभाविक प्रक्रिया भन्दै त्यसबाट निराश नहुन आग्रह गरेका छन्। पार्टी कार्यालयमा आयोजित छलफल कार्यक...

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending