Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

खबरडबली संवाददाता

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’। कोही कसैले बन्दिपुर भन्ने मेसो नपाएर ‘ओइ कान्तिपुर’ पनि भन्ने गर्छन्।

“मेरो त नामै बन्दिपुर भइसक्यो। कहिलेकाहीँ म आफैँ पनि आफ्नो वास्तविक नाम भुल्छु। कसैले के हो भनेर सोध्यो भने म बन्दिपुर भन्न जान्छु,” विगत १० वर्षदेखि चुमभ्यालीमा हराइरहेका सुमन थापामगरले भने।

घर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–८ जालभञ्ज्याङ बताउने उनी गोरखाको हिमालपारिको गाउँमा गुमनाम छन्। केही वर्षदेखि चुमनुब्री गाउँपालिका–७ को छेकम गाउँमा बस्दै आएका उनको चुमभ्यालीमा प्रवेश गरेको १० वर्ष भयो। त्यसअघि उनी चुमनुब्री–३ फिलिम गाउँमा करिब पाँच वर्ष बसेका थिए।

छयालीस वर्षीय सुमन थापा २०६८–६९ तिर गोरखाको आरुघाट बजारमा ज्याला मजदुरी गर्न आएका थिए। “एकजना तुफान भन्ने ठेकेदारको काम गर्न आएको। सोतीमा दिनगन्ती १३८ दिन काम गरियो,” १५ वर्षअघिको विगत सम्झँदै सुमनले भने, “काम सकेपछि ठेकेदारले पैसै नदिई बिचल्ली बनाएर भाग्यो। त्यसपछि भाग्य बिग्रेको अहिलेसम्म बिचल्लीमै छु।”

सोतीमा काम सकेर बन्दीपुर फर्कने योजना थियो सुमनको। त्यो योजना आजसम्म पूरा हुन सकेको छैन। १५ वर्षदेखि पारिश्रमिक उठाउन नसकेका कारण उनी भोटखोलामै फसेका छन्। “रित्तो हात कसरी मुख देखाउन घर जाने ?”, उनी सोध्छन्।

सोतीमा काम गरेको पैसा नपाएपछि उनी त्यहाँबाट तीन दिन पैदल हिँडेर फिलिममा काम गर्न पुगे। विसं २०७२ को गोरखा भूकम्पअघि उनी त्यहाँ स्वास्थ्यचौकी बनाउने काम गर्थे। फिलिमबाट पनि उनी बन्दीपुर फर्कन पाएनन्, किनभने त्यहाँ पनि श्रम गरेको ज्याला पाएनन्।

सुमन जोङगाउँका नाम्ग्याल दोर्जे भन्ने व्यक्तिसँग काम गर्न फिलिम आएका थिए। “सोतीमा पैसा नपाएपछि सिर्दिबास आएँ। यहाँ पनि उत्तम भट्ट भन्ने ठेकेदारसँग काम गरेको पैसा पाइनँ। नाम्ग्याल दोर्जेले पनि काम लगाए तर पैसा दिएनन्,” सुमनले भने।

काम गरेको ज्याला नपाएपछि घर जान नपाएका सुमन ठेकेदारहरूका कारण पटकपटक बिचल्लीमा परिरहे। ज्याला नपाएको पीडाले उनी झन् उँभो, झन् उँभो सर्दै चुमभ्यालीमा फस्न पुगे।

उकालो चढ्दै जाँदा हराएको घर फर्किने बाटो

जीवनले कहिलेकाहीँ मानिसलाई बाटो रोज्न दिँदैन। एउटा अधुरो हिसाब उठाउन खोज्दा सुमन अर्को अधुरो हिसाबमा फस्दै गए। उनी पैसा खोज्दै उकालो लागे, तर उकालो चढ्दै जाँदा घर फर्किने बाटो झन् ओझेल पर्दै गयो। सुमन पैसा खोज्दै हिँडेको मान्छेभन्दा पनि पैसा नपाउने चक्रमा फसेको मान्छे बन्दै गए।

नाम्ग्याल दोर्जे नामका ठेकेदारले सुमनलाई फिलिममा काम गरेको पैसा ‘सोतीमा दिन्छु’ भन्दै सोतीमा लगेर ५०० रुपैयाँ मात्र दिएर छाडे। सुमन सोतीमा पुनः दोस्रोपटक बिचल्लीमा परे। पाँच सय रुपैयाँले बन्दीपुर जान सम्भव नभएपछि उनी फिलिम नै फर्किए। त्यसलगत्तै २०७२ को भूकम्प गयो। भूकम्पपछि उनले फिलिममा छिरिङ पासाङ नामका अर्का ठेकेदारसँग काम गरे। पासाङले पनि पारिश्रमिक दिएनन्। बरु काम गरेको पैसा काठमाडौं गएर दिन्छु भन्दै उनलाई चुमभ्यालीको छेकम्पार ल्याइपुर्‍याए।

“काठमाडौं भनेर यता ल्यायो। न त काम गरेको पैसा नै पाएँ। त्यत्रो काम गरेको यहाँ ल्याएर जम्मा तीन हजार दिएर छाड्यो,” लामो सास फेर्दै सुमनले भने, “बिरानो गाउँमा बिना पैसा गुजारा गर्न सकिँदैनथ्यो। त्यसैले यहाँ गाउँमा जे काम पाइन्छ त्यही गर्न थालेँ। जसोतसो खान त पुग्यो, तर सबैले पैसामा मारे। काम भने मरुन्जेल लगाउने तर पैसा नदिने चलन रहेछ ठेकेदारको। पैसा पाएपछि घर जाउँला भनेर बसेँ। १५ वर्ष भयो, न त पैसा आयो, न त घर नै जान पाएँ।”

सुमनले सोती र फिलिममा गरेर करिब पाँच वर्ष ज्याला मजदुरी गरे। पारिश्रमिक पाएनन्। छेकम गाउँमा विगत १० वर्षदेखि अधिकांशको घरमा उनी ज्याला मजदुरी गर्दै आएका छन्। कसैकोमा २८ महिना, कसैकोमा ३० महिना त कसैकोमा वर्ष दिन। तर त्यहाँ पनि उही पारिश्रमिक नपाउने व्यथा। सबैले भातको भरमा मात्र काम लगाउँछन्।

“अब यहाँ ‘दे मेरो पैसा’ भनेर ठूलो स्वर गर्न पाइँदैन। बोल्यो कि मर्छ,” भाँचिएको हात देखाउँदै उनले भने, “काम गरेन, पैसा माग्यो भने यस्तो पो हुन्छ।” अहिले सुमनको हात भाँचिएको एक महिना भयो। छेकमका छिरिङ पाल्जोर भन्ने व्यक्तिले आफ्नो हात भाँचिदिएको उनले बताए।

एक महिनाअघि छिरिङ पाल्जोरसँग सहयोगीका रूपमा छेकम्पारको छेके लेक पुगेका सुमनका अनुसार साहुहरू यार्सागुम्बा टिप्न जाँदा भरियाका रूपमा आफूहरूलाई लगिएको थियो।

“बिहान भात, बेलुकी भात, दिनभरि भोकै खटिनुपर्थ्यो। उनीहरू कीरा टिप्थे, हामी भरियाले सल्लाको फूल टिप्ने। उनीहरूको भारी बोक्ने, चौँरी हेर्ने काम गर्नुपर्थ्यो। साह्रै दुःख भयो भनेर म र अर्को भाइ गाउँ फर्कियौँ। नसोधी आइस् भनेर छिरिङ पाल्जोरले गाउँमै आएर हात भाँचिने गरी पिटे,” उनले भने।

बारपाकबाट काम गर्न आएका अर्का एक भरियाले ज्याला माग्दा कुटाइ खाए। ढाडमा गम्भीर चोट लागेका उनी घर फर्किए। सुमन भने फर्कन सकेनन्। उनका लागि साहुले हातखुट्टा भाँचिदिने विषय सामान्यजस्तै भइसकेको थियो।

छिरिङ पाल्जोरले सुमनको हात भाँच्दै गर्दा छेकम्पार चौकीका प्रहरी प्रत्यक्षदर्शी थिए। न प्रहरीले उनलाई न्याय दिलायो, न स्थानीयले। सबै मूकदर्शक बनेर हेरिरहेको उनले बताए।

बन्दिपुर एक्लो छैनन्

बन्दिपुर मात्र होइन, कमाइ खाने रहरले यहाँ आइपुगेका अन्य मजदुरहरूको नियति पनि उस्तै छ। विभिन्न ठाउँबाट भोटखोलामा काम गर्न आएका उनीहरू पनि वर्षौँदेखि गुमनाम छन्। थुप्रै सुमनहरू लेकका साहुकहाँ हली, गोठाला बसेका छन्।

सुमनका दौँतरी धने नेपाली र अर्बिन मगर पनि तल्लो भेगबाट रोजगारीका लागि छेकम्पार पुगेका हुन्। धनबहादुर नेपाली र अर्बिन मगर केही वर्षअघि मात्र चुमभ्याली आएका थिए। उनीहरू सबैको साझा समस्या हो—काम गरेको पारिश्रमिक नपाउनु।

हात भाँचिएपछि सुमनको उपचार अस्पतालमा भएन। उनको उपचार स्थानीय छेकम गुम्बाका लामाले गरिदिएका छन्। लामाले झारफुक गरेर जडीबुटी खुवाएको उनले बताए। भाँचिएको हात अझै निको भएको छैन।

अहिले सुमन छेकम गाउँमा स्थानीय धवाङ्दी लामाको सानो टहरोमा बस्छन्। दिनभर काम गरेर साँझ–बिहानको छाक टार्ने उनी हात भाँचिएका कारण धेरै काम गुमाउनुपरेको दुःख सुनाउँछन्। “अरू त के नै पाइन्छ र यता, खाए पनि आलु, नखाए पनि आलु,” सुमनले हाँस्दै भने।

काम पाएको बेला दिनको एक हजार रुपैयाँ ज्यालामा काम गर्छन्। तर काम गरेपछि पनि अधिकांशले पैसा दिन आलटाल गर्छन्। छेकम गाउँमा मात्र लाखौँ रुपैयाँ ज्याला उठाउन बाँकी रहेको उनी बताउँछन्।

उनीलाई बेलाबेला गाउँघरको यादले पिरोल्छ। गाउँमा साथीसँग मगर भाषामा ठट्टा गरेको हिजोजस्तै लाग्छ। गाउँको याद मेटाउन उनी रक्सीको सहारा लिन्छन्।

गाउँमा उनकी आमा छिन् भने दुई दाजुभाइ र दुई बहिनी छन्। सुमनको परिवारसँग अन्तिमपटक कुरा भएको पनि १० वर्ष बितिसकेको छ। भूकम्पअघि एकपटक फोनमा कुरा भएको उनलाई सम्झना छ। दाजुभाइ र बहिनीको बिहे भइसके पनि उनको अझै विवाह भएको छैन।

घर, परिवार र विगत सम्झँदै सुमन बोल्दाबोल्दै केहीबेर भावुक बन्छन्। फेरि जुरुक्क उठेर हाँस्छन्। छेकमवासीले हरेक दिन ‘ओइ बन्दिपुर’ भनेर बोलाउँदा उनलाई आफ्नै घरको झल्को आउँछ।

बन्दीपुरबाट पैसा कमाउन निस्किएका सुमन आज बन्दिपुरकै नाम बोकेर चुमभ्यालीमा हराइरहेका छन्। थाहा छैन, यहाँबाट कसरी उम्कने। तर उनी आफ्नो पसिनाको मूल्य (ज्याला) पाएको भोलिपल्टै घर फर्किने योजनामा छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरुवा बन्दुक देखाएर वृद्धालाई धम्क्याउने दुई दाजुभाइ पक्राउ

खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...

सुस्ता जोगाउन गोली थापेका मुन्ना खान नागरिकताका लागि सडकमा

काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...

ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...

विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला

कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया...

३० वर्षपछि महिलाले दिनमा कति पानी पिउनुपर्छ ?

काठमाडौं । ३० वर्षपछि महिलाको शरीरमा हार्मोन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा प्राकृतिक परिवर्तन हुन थाल्छ। यही कारण पर्याप्त पानी पिउनु स्वस्थ जीवनशै...

इरान–अमेरिका फेरि वार्ताको टेबलमा, कतारमा अप्रत्यक्ष संवाद हुँदै

काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामपछि देखिएका बाँकी विवाद समाधान गर्न कतारमा अप्रत्यक्ष वार्ता हुने भएको छ। कतारको राजधानी दोहामा हुने वार्तामा द...

रास्वपा महाधिवेशनपछि मन्त्रिमण्डल हेरफेरको चर्चा, केही मन्त्री ‘रेड जोन’मा रहेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending