काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चार दशक लामो विरासत बोकेका पूर्वप्रधानमन्त्रीत्रय चुनावी दौडधुपमा छन् भने अन्यमा अलमल देखिएको छ । पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रत्यक्ष रूपमा चुनावी मैदानमै छन् भने डा. बाबुराम भट्टराई मैदानमा उभिएर फर्किएका छन् ।
पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द भने प्रत्यक्ष रूपमा सक्रिय देखिँदैनन् । पूर्वप्रधानमन्त्रीत्रय ओली, दाहाल र नेपाललाई आफ्नो राजनीतिक विरासत जोगाउँदै दललाई बलियो बनाउन नातीपुस्ताले प्रयोग गरेको प्रचार अभियानसँग प्रतिस्पर्धा गर्नेदेखि मतदाता र जनतासँगको अन्तक्र्रियाले भ्याइनभ्याइ छ ।
तर, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति देउवा महाराजगन्जस्थित निवासमा ‘मौन’ बसेका छन् भने पूर्वप्रधानमन्त्री खनाल डल्लुस्थित निवासमा जेनजी आन्दोलनक्रममा जलेर घाइते श्रीमतीको रेखदेखमा छन् । उम्मेदवारी दर्ता गरेर फिर्ता लिएका डा. भट्टराई पिताको निधनले शोकमा छन् भने लोकेन्द्रबहादुर चन्द नयाँ पुस्ताको राजनीतिको नयाँ अभ्यासको ‘रिपोर्टिङ’ लिइरहेका छन् ।
चुनावका बेला जहिलै व्यस्त हुने देउवाको कुनै चुनावी कार्यक्रम छैन । यसअघिको निर्वाचनमा भ्याइनभ्याइ चुनावी भेला, बैठक, कार्यक्रममा सहभागी हुँदै आएका देउवा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकेन्द्रित कुनै कार्यक्रममा सहभागी नहुने भएका छन् । देउवाको सचिवालयले प्रतिनिधिसभा निर्वाचनकेन्द्रित कुनै कार्यक्रम तय नभएको जनाएको छ ।
देउवा कुनै पनि चुनावी सभामा जाने कार्यक्रम नरहेको उनको सचिवालयले प्रस्ट पारेको हो । ‘यसअघिको निर्वाचनमा भ्याइनभ्याइ थियो । तर यो निर्वाचनमा कुनै पनि चुनावी कार्यक्रममा जाने तयारी छैन्,’ देउवाको सचिवालयले भन्यो । पार्टीकै नेता एवं केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवा सचिवालयले ‘त्यस्तो कुनै कार्यक्रम नरहेको’ स्पष्ट पारेको छ ।
जेनजी आन्दोलनपश्चात् गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशनबाट पार्टी सभापतिमा गगनकुमार थापा सर्वसम्मत् चयन भएका थिए । त्यसयता देउवा शान्त छन् । यद्यपि, कांग्रेसकै एक नेता देउवा शान्त देखिए पनि उनी ठुलै रणनीति निर्माणमा लागेको दावी गर्छन् । ‘पार्टी सभापति पदबाट अपमानजनक तरिकाले हटाइएको छ । निर्वाचन आयोगदेखि अदालतसम्मले देउवाको चाहनाको विपक्षमै निर्णय गर्यो ।
चुनावमा उहाँ (देउवा) आफै ं डडेलधुराबाट चुनाव लड्न चाहेका थिए । तर उम्मेदवारी दर्तामुखमै पार्टीभित्रको घरझगडाले देउवा शान्तजस्तो हुनुहुन्छ । उहाँ शान्त देखिए पनि यतिकै बस्नुभएको छैन । केही रणनीति निर्माणमै हुनु्हुन्छ,’ देउवा निकट एक नेताले राजधानीसँग भने । पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा छैंटौपटक प्रधानमन्त्री हुने दौडमा थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र कांग्रेसबीच भएको सहमतिअनुसार प्रधानमन्त्री हुने पर्खाइमा रहेका देउवा जेनजी आन्दोलनका कारण छैटौंपटक प्रधानमन्त्री हुन सकेनन् । आन्दोलनकै कारण उनको पार्टी सभापति पद पनि गयो । कांग्रेसबाट अहिले सभापति थापा सर्लाही क्षेत्र नम्बर–४ मा प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसले थापालाई आगामी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । थापा निर्वाचनबाट सय सिटभन्दा बढी ल्याएर विजयी हुने दावीसहित चुनावी दौडधुपमा छन् ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा कांग्रेसजस्तै दोस्रो पुस्ताका नेताले हस्ताक्षेप गर्न नसक्दा दुवै पार्टीका पुरानै नेता पुन प्रधानमन्त्री हुने चर्चासहित चुनावी अभियानमा छन् । एमाले अध्यक्ष ओली झापा क्षेत्र नम्बर–५बाट उम्मेदवार रहेका छन् । ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिस्पर्धा गरिरहेकाले यो राजनीतिक चर्चाको विषय बनेको छ ।
लामो राजनीतिक विरासत जोगाउन नाती उमेरका बालेनसँग प्रतिस्पर्धा गर्नुपर्ने ओलीलाई आइपरेको बाध्यता राजनीतिमा नयाँ इतिहास निर्माणको घडीका रूपमा हेरिएको छ ।
नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन् भने सहसंयोजक नेपालले रौतहट क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन् । अर्का पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसमेत चुनावी प्रतिस्पर्धामा छैनन् । गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका भट्टराईले उम्मेदवारी फिर्ता लिएसँगै उनको विरासत आफ्नो पक्षमा पार्न राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रतिस्पर्धाजस्तै देखिएको छ ।
भट्टराईले ‘कसलाई समर्थन गर्ने ?’ भन्ने स्पष्ट नहुँदा गोरखा क्षेत्र नम्बर–२को मत विभाजित हुने देखिएको छ । भूगोल गएर खुल्न दबाब आइरहेको बेला भट्टराइलाई पितृशोक परेपछि केही दिन भट्टराईले निवासमै आराम गर्ने भए पनि ‘अन्तिम समय कता खुल्ने ?’ भन्ने दबाबले अलमलमा छन् ।
जेनजी आन्दोलनक्रममा घरमै जलाएर मार्ने सम्मको षड्यन्त्र भएको बताउँदै आएका पूर्वप्रधानमन्त्री खनाल निर्वाचनमा ‘कसलाई कसरी समर्थन गर्ने ?’ भन्ने अन्यौलमै छन् । नेकपा एकीकृत समाजवादीको सम्मानित नेताका रूपमा रहेका खनाल नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नेक्रममा अन्तिम समय उभिए पनि राजनीतिक गतिविधिप्रति सन्तुष्ट छैनन् । पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालले रास्वपाका रवि–बालेनप्रति सकारात्मक देखिएपछि खनालको मन बुझेको छैन । उनी श्रीमतीको स्याहारका लागि घरमै बसे पनि यस निर्वाचनमार्फत् षड्यन्त्रलाई परास्त गर्न भन्दै भेटघाट गर्न आउनेलाई हौसला भने दिइरहेका छन् ।
ओलीलाई एमालेले र शाहलाई रास्वपाले आगामी प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै चुनावमा होमिएका छन् । ओली र शाह दुवै आगामी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएपछि देशभित्रमात्रै नभई देशबाहिर समेत यसलाई नजिकबाट हेरिँदै छ । आगामी निर्वाचनबाटै प्रधानमन्त्रीका एक आकांक्षी हार्ने निश्चित छ । त्यसकारण समेत झापा क्षेत्र नम्बर–५ को निर्वाचन चर्चाको विषय बनेको हो । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: