Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कांग्रेस सभापति मधेश झरेपछि बढेको चुनावी तापक्रम

खबरडबली संवाददाता

काठमाडौं । ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेलाई कुनै न कुनै क्षेत्रमा कांग्रेसको उम्मेदवार बनाउन चाहन्थे । आफू उठ्दै आएको काठमाडौं–४ वाग्लेका लागि छाड्नसमेत तयार भए ।

आफ्नो लागि विकल्पमा रोजे सर्लाही–४ । देउवाले थापाको प्रस्ताव सुन्दै सुनेनन्, बरु काठमाडौं–४ को टिकट नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई दिए । प्रधानमन्त्री निवास बालुवाटारबाट महरले टिकट लिएर हिँडेको थाहा पाउनेवित्तिकै थापाका शुभचिन्तकले खबर गरे र जसले गर्दा महरले उम्मेदवारी दर्ता गर्न पाएनन् । त्यसपछि थापा काठमाडौं–४ मै रोकिए । टिकट वितरणको त्यो दिन थियो– २३ असोज ०७९ ।

करिब ३ वर्ष ४ महिनापछि थापा पार्टी सभापति छन् । अघिल्लो निर्वाचनमा थापाको काठमाडौं–४ बाट देउवाले जसलाई टिकट दिएका थिए, अहिले थापाले देउवाको परम्परागत निर्वाचन क्षेत्र डडेलधुराबाट उनैलाई टिकट दिएका छन् । नैनसिंह महरले डडेलधुरामा टिकट पाएका छन् । आफैं निर्वाचन क्षेत्र रोज्न पाएपछि थापा भने सर्लाही–४ झरेका छन् ।

विशेष महाधिवेशन हुनुअघि नै सबै निर्वाचन क्षेत्रबाट कांग्रेस उम्मेदवारको सिफारिस आएको थियो । थापाका लागि तेह्रथुम, धनकुटा, सर्लाही–४, काठमाडौं–४, कपिलवस्तु–१ र रोल्पा गरी ६ ठाउँबाट सिफारिस आएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले भावी प्रधानमन्त्रीका रूप सभापति थापालाई अघि सारेपछि सर्लाही–४ र समग्र देशको चुनावी माहोल तातिएको छ ।

पहिलो पटक २०६४ मा समानुपातिकमा निर्वाचित थापा काठमाडौं–४ बाट लगातार तीन पटक विजयी भइसकेका छन् । उनको प्रतिस्पर्धामा रहेकामध्ये एक हुन् अमरेशकुमार सिंह, जसले सर्लाही–४ बाट लगातार तीन पटक चुनाव जितेका छन् । अमरेश २०६४ को चुनावमा पराजित भएका थिए भने २०७० र २०७४ मा कांग्रेसबाटै चुनाव जितेका थिए । २०७९ मा पनि आकांक्षी थिए तर जिल्लाबाट सिफारिस भएनन्, केन्द्रले पनि टिकट दिएन । त्यसपछि स्वतन्त्र उम्मेदवारी दिए, तर कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गरे । यसपालि भने उनी रास्वपाको तर्फबाट उम्मेदवार छन् ।

कांग्रेस उम्मेदवार २०७९ मा पराजित भएको क्षेत्रमै प्रतिस्पर्धा गर्ने जोखिम थापाले किन मोलिरहेका छन् त भन्ने चासो अहिले सर्लाही–४ मा मात्र सीमित छैन । पुख्र्यौली घर सोलुखुम्बु भएका र काठमाडौंमा हुर्केका थापाले ‘कोर मधेश’ रोज्नु आफैंमा चुनौतीपूर्ण छ । त्यस क्षेत्रबाट यसअघि कुनै पनि ‘पहाडिया’ उम्मेदवार मुख्य प्रतिस्पर्धी थिएनन् ।

२०७९ मा कांग्रेसले चार निर्वाचन क्षेत्र रहेको सर्लाहीमा एक सिट पनि जितेन । स्वतन्त्र उम्मेदवार अमरेश २० हजार १७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २ सय ५३ मत ल्याएका थिए । त्यतिबेला कांग्रेसलाई तत्कालीन माओवादी, एकीकृत समाजवादीलगायत दलले समेत सघाएका थिए । २०७४ मा पनि कांग्रेस झिनो मतले विजयी भएको थियो । कांग्रेसका अमरेशले २९ हजार ६ सय ७५ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी राजपाका राकेशकुमार मिश्रले २८ हजार १ सय ३६ मत पाएका थिए ।

कांग्रेस सभापति थापा भने समग्र राष्ट्रलाई बुझ्न र राष्ट्रिय दृष्टिकोण बनाउन सर्लाही ओर्लिएको बताउँछन् । ‘कांग्रेस पार्टी सभापतिको जिम्मेवारी निर्वाह गरिरहँदा मैले राष्ट्रिय दृष्टिकोण राख्नुपर्छ । पहाडको मानिस हुँ । काठमाडौंमा हुर्के, बढेको हुँ । मधेशमा आफूलाई नडुबाइ, यसलाई महसुस नगरी सिंगो देशको भाव बुझ्न सक्दिनँ भन्ने लागेरै सर्लाही–४ आएको हुँ । मलाई थाहा छ, यो जोखिमपूर्ण निर्णय हो । गाह्रो हुन्छ भनेर थाहा पाएरै आएको हो । सुझबुझका साथ निर्णय लिएको हुँ,’ थापाले कान्तिपुरसँग भने ।

पार्टीका साथीहरूले अघिल्लो पटकदेखि नै बोलाइरहेकाले सर्लाही रोजेको उनको भनाइ छ । तर यसमा कांग्रेस सर्लाहीका नेताहरू सुरेन्द्र–वीरेन्द्र सिंह दाजुभाइ र अमरेश सिंहबीचको ‘इगो’ ले पनि काम गरेको कतिपयको विश्लेषण छ । वीरेन्द्र कांग्रेस मधेश प्रदेशका उपसभापति हुन् । २०७४ मात्र होइन, ०७९ मा प्रतिनिधिसभामा अमरेशले विद्रोही बनेर जित्दा पनि वीरेन्द्र सर्लाही–४ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी मधेश प्रदेश सरकारमा मन्त्री पनि भए । उनका दाजु सुरेन्द्र २०७८ देखि पार्टीको जिल्ला सभापति थिए । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाटै दोषी ठहर भइसकेपछि उनले गत भदौमा सभापति पदबाट राजीनामा दिएका छन् । यस पटक क्षेत्रीय समितिबाट उम्मेदवार सिफारिस गर्दा गगन थापासँगै वीरेन्द्रको पनि नाम पठाइएको थियो ।

कांग्रेस सभापति थापासँग प्रतिस्पर्धा गरिरहेका अमरेश सिंह ०६२/६३ जनआन्दोलनपछि उदाएका नेता हुन् । उनी बीपी र गिरिजाप्रसाद कोइरालाको विचारबाट प्रभावित भएर राजनीतिमा सक्रिय भएको बताउँछन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा पीएचडी गर्दै उनले भारतीय संस्थापन पक्षसँग सम्बन्ध बनाएका थिए । पछि कोइराला परिवारसँग पनि नजिकिए । अमरेश ०६२/६३ को जनआन्दोलन र शान्ति प्रक्रियामा ‘ब्याक च्यानल’ वार्ताकारका रूपमा सक्रिय थिए । उनी कांग्रेसमा महन्थ ठाकुर र कृष्ण सिटौलाको निकट मानिन्थे । २०६३ को अन्तरिम संसद्मा कांग्रेसबाट १० जना मनोनीत हुँदा अमरेश पनि थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी उम्मेदवार बने तर तेस्रो मत ल्याए ।

सर्लाही–४ पुराना नेता महन्थ ठाकुरले समेत राजनीति गरेको क्षेत्र हो । करिब–करिब यही भूगोल रहेको तत्कालीन सर्लाही–५ बाट ठाकुरले ०४८, ०५१ र ०५६ को चुनाव जितेका थिए । ०६४ को चुनाव आउँदा ठाकुरले कांग्रेस छाडेर आफ्नै नेतृत्वमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरिसकेका थिए । त्यतिबेला निर्वाचन क्षेत्र बढ्दा पहिलेको सर्लाही–५ को अधिकांश क्षेत्र समेटेर सर्लाही–६ कायम गरिएको थियो । त्यही क्षेत्रमा चुनाव उठ्दा ठाकुर पराजित भए । त्यसपछि ठाकुर सर्लाहीबाट उठेनन्, महोत्तरीतिर लागे ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा ठाकुर र सिंहलाई हराउने नेता थिए तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार शिवपूजन राय यादव । यादवले १५ हजार ६ सय ८८ मत ल्याउँदा ठाकुरको १५ हजार ४ सय १६ र अमरेशको ११ हजार ९ सय ७१ मत थियो । त्यतिबेला यादव र अमरेशबीच ‘बुथ क्याप्चर’ को होडबाजी चलेको थियो । मतदाता प्रभावित पार्न विभिन्न मतदान केन्द्र बाहिर विस्फोट गराइएको थियो ।

गढैया मतदान केन्द्र बाहिर विस्फोट हुँदा अमरेशका दाजु शम्भु सिंहको मृत्यु भएको थियो । यस घटनालाई लिएर अमरेश र शिवपूजनबीच आरोप–प्रत्यारोप चल्दै आएको छ । दाजुको हत्या शिवपूजनले गराएको अमरेशको आरोप छ । शिवपूजन भने शम्भु आफैंले बोकेको बम विस्फोट हुँदा मारिएको दाबी गर्छन् । त्यस्तै अर्नाहा मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा विजयी भएको तीन वर्ष पनि नपुग्दै शिवपूजनविरुद्ध कूटनीतिक राहदानी दुरुपयोगको मुद्दा लाग्यो, निलम्बित भए । त्यसयता उनी संसद्मा प्रवेश गर्न पाएका छैनन् तर राजनीति उत्तिकै सक्रिय छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा शिवपूजन तराई–मधेश सद्भावना पार्टीबाट उम्मेदवार भए, तर चुनाव जित्न सकेनन् । ०७४ मा उनी माओवादीबाट उम्मेदवार भए । तर राहदानी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका कारण उनको उम्मेदवारी रद्द भयो । अमरेश सिंहले सारा शक्ति प्रयोग गरेर आफ्नो उम्मेदवारी रद्द गराइदिएको शिवपूजनको आरोप छ ।

०७९ को निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो । शिवपूजनले छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाए । १४ हजार ६ सय २२ मत ल्याएर उनी तेस्रो भइन् । यसपालि पनि मधुमालाकुमारीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनका भाइ २७ वर्षीय अमनीशकुमार भने त्यही क्षेत्रबाट एमालेका उम्मेदवार छन् । शिवपूजनले छोरा र छोरीलाई सँगै उम्मेदवार किन बनाए ? यसमा दुई वटा तर्क छन्, एक– उनको नयाँ दल एमालेले कुनै बेला धोका दिएमा छोरीको उम्मेदवारी सक्रिय बनाउने, दुई– दुवै जनाको उम्मेदवारी कायम रहेमा चुनावी प्रचार र वुथ एजेन्टमा सुविधा लिने ।

शिवपूजनका बुबा अमिरी राय यादव पञ्चायतकालमा तत्कालीन गड्हिया गाउँ पञ्चायतका प्रधानपञ्च थिए । उनी २०४९ को स्थानीय निकाय निर्वाचनमा कांग्रेसका तर्फबाट गाविस अध्यक्ष भएका थिए । शिवपूजनका कान्छा छोरा राजाबाबु यादव रामनगर गाउँपालिकाको अध्यक्ष छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार छोरा अमनीश जेन–जी युवा भएकाले सबैको रोजाइमा पर्ने शिवपूजनको दाबी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेकोे छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: