काठमाडौं । माओवादी संयोजक पुष्पकमल दाहाल र सचिवालय सदस्य जनार्दन शर्माबीच पार्टी जीवनको बिदाइ भेटवार्ता भएको छ ।
माओवादीले नेकपा एकीकृत समाजवादीलगायत साना कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेपछि फरक राजनीतिक बाटो लिने निर्णय गरेका शर्मालाई फकाउन दाहालले आइतबार बोलाएका थिए । शर्मा आफ्नो निर्णयमा टसमस नभएपछि दुई नेताले एकअर्कालाई ‘गुडबाइ’ भनेका छन् ।
माओवादीलाई अरू दलसँग मिलाएपछि आफू बिदाइ भेट गर्न आएको शर्माले बताएका थिए । ‘तपाईंले माओवादीलाई माधव नेपालको पार्टीसँग मिलाउनुभयो । म माओवादीलाई जीवित राखेर जान्छु । बृहत् कम्युनिस्ट एकता अभियानमा लाग्छु’ शर्माको भनाइ थियो, ‘बृहत् एकतापछि कुनै घुम्तीमा हामी भेटौंला ।’
भेटमा दाहालले पार्टी एकतापछि हुने महाधिवेशनमा आफूले नेतृत्व हस्तान्तरण गर्ने आश्वासन दिए पनि शर्माले पत्याएनन् । ‘केन्द्रीय समितिले दुई पटक विशेष महाधिवेशन गर्ने निर्णय गर्यो । तपाईंले विभिन्न बहानामा टार्दै आउनुभयो,’ उनले भने, ‘तपाईंले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने पत्याउन सकिँदैन ।’
कुराकानी यतिमै रोकिएन । दाहालको नेतृत्व स्विकारेरै नेता मान्दै आए पनि पछिल्लो समय धोका दिएको शर्माले आरोप लगाए । ‘मैले पार्टी निर्माणका लागि मत राख्दै आएको हुँ । मेरो तपाईंसँग कुनै व्यक्तिगत कुरा छैन,’ उनले थपे, ‘राजनीतिक विषयलाई मैले व्यक्तिगत रूपमा लिएको छैन ।’
भेटमा २०४६ को जनआन्दोलन, दस वर्ष सशस्त्र युद्ध, शान्ति प्रक्रिया, संविधान निर्माणपछि हालसम्म दाहालसँग भएको सहकार्यलाई शर्माले स्मरण गरे । ‘तपाईं र मबीच यति लामो सहकार्य भयो । मैले तपाईंलाई नेता मान्दै आएँ । अब भने तपाईंले माओवादीलाई अरूसित मिलाउनुभयो’ उनले भनाइ थियो, ‘म माओवादीमै रहन्छु ।’
दाहाल र शर्माको भेट २०४२ सालमा रुकुममा भएको थियो । त्यतिबेला दाहालको पार्टीको नाम ‘विश्वास’ थियो भने शर्माको नाम ‘प्रभाकर’ राखियो । दसवर्षे माओवादी सशस्त्र युद्धका ‘सुप्रिम’ कमान्डर दाहाल थिए भने चारमध्ये एक ‘डेपुटी कमान्डर’ थिए शर्मा ।
२०६४ मा शान्ति प्रक्रियामा आएपछि दाहाललगायत सबै नेता सार्वजनिक भए । शर्मा पनि खुला राजनीतिमा उत्रिए । नेपाली सेनामा लडाकु समायोजन, शान्ति प्रक्रिया र संविधान निर्माणको काममा उनले पार्टी प्रमुख दाहाललाई नजिक रहेर सघाए । दाहालको ‘शयन कक्ष’ सम्म पुगेर सुझाव सल्लाह दिने उनको हैसियत थियो । दाहालले पनि विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिँदै गए । पार्टीका तर्फबाट शर्मा पटकपटक महत्त्वपूर्ण मन्त्री बने ।
२०७४ मा एमाले–माओवादी चुनावी गठबन्धन र त्यसपछि पार्टी एकताको एक साक्षी शर्मा पनि थिए । एकता प्रक्रियामा उनको भूमिका महत्त्वपूर्ण थियो । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको शक्ति संघर्षका कारण एकता लामो समय टिक्न सकेन ।
अन्तरसंघर्ष चर्किरहेकै बेला २०७७ फागुन २३ मा एक मुद्दामा नेपाल कम्युनिस्ट पार्टी अर्कैको नाममा दर्ता भएको भन्दै सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गरिदिएको थियो । दाहाल र शर्माबीच अविश्वासको बीजारोपण २०७८ पुसमा भएको आठौं महाधिवेशनदेखि भएको नेताहरू बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: