काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर, सिद्धान्तनिष्ठ र संघर्षशील व्यक्तित्व मोहन वैद्य ‘किरण’ले करिब छ दशक लामो सक्रिय राजनीतिक जीवनलाई पूर्णविराम लगाएका छन् ।
गत वर्ष मंसिर २३ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत निर्वाचित किरणले स्वास्थ्य समस्या देखाउँदै शनिबार राति पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौंको कृष्ण सेन इच्छुक प्रतिष्ठानमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा किरणले भर्चुअल माध्यमबाट आफ्नो राजीनामा घोषणा गरे । बैठकले राजीनामा स्वीकृत गर्दै वरिष्ठ नेता सीपी गजुरेललाई नयाँ महासचिव नियुक्त गरेको छ ।
नेता हुकुमसिंहका अनुसार किरण पछिल्लो समय निमोनिया र दमका कारण अस्वस्थ थिए । स्वास्थ्य अवस्थाका कारण जिम्मेवारी पूरा गर्न नसक्ने भएपछि उनले राजीनामा दिएका हुन् । सिंहका अनुसार किरण आगामी दिनमा पार्टी नेतृत्वमा नरहे पनि वैचारिक र सैद्धान्तिक मार्गदर्शकको भूमिकामा रहँदै संरक्षकका रूपमा योगदान दिनेछन् ।
७९ वर्षीय किरण वैशाखमा आमाको निधनपछि गृहजिल्ला दाङ गएका बेला बिरामी परेका थिए । जेठमा दम र निमोनिया बढेपछि उनी शिक्षण अस्पताल, महाराजगञ्जमा २२ दिनसम्म आइसीयूमा भर्ना भएका थिए । महासचिव पदबाट राजीनामा दिएसँगै उनको सक्रिय राजनीतिक यात्राको अध्याय औपचारिक रूपमा समाप्त भएको छ ।
२०५२ सालमा माओवादीले घोषणा गरेको जनयुद्धका मुख्य योजनाकार किरण २०६२/६३ सालको जनआन्दोलनपछि गणतन्त्र स्थापनासँगै शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए । जनयुद्धका प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए पनि किरण प्रचण्डका गुरु, सल्लाहकार र युद्ध निर्देशनका प्रमुख पात्रका रूपमा चिनिन्थे ।
राजनीतिमा शिखरमा पुगेका किरण नेपाली साहित्य र दर्शनमा पनि ‘चैत्यन्न’ नामले चर्चित छन् । उनी शास्त्रीय मार्क्सवादी व्याख्याकार, सौन्दर्यशास्त्री र दार्शनिकका रूपमा परिचित छन् । सादा जीवन र उच्च आदर्शका प्रतीक किरणले कहिल्यै पनि लाभको पदमा रहेर काम गरेनन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सदस्य बनेका किरणले ६ महिनामै पद त्याग गरेका थिए । उनले जीवनभर नेपालमा जनवादी सत्ता स्थापना र वैज्ञानिक समाजवाद प्राप्तिको सपना बोकेका छन् ।
राजीनामासँगै किरणले भनेका छन्-“शारीरिक अवस्था कमजोर भएकाले पार्टीको जिम्मेवारी पूरा गर्न सक्दिनँ । मेरो राजीनामा स्वीकृत गरिदिनुहोस् । क्रान्तिकारी कम्युनिस्टहरूले आपसी एकता र मोर्चाबन्दी बनाएर अघि बढ्न जरुरी छ ।”
पार्टीका नेता इन्द्र राउतका अनुसार किरण अब वैचारिक–सैद्धान्तिक संरक्षकका रूपमा रहनेछन् र त्यसका लागि निर्देशक समिति गठन गर्ने निर्णय भएको छ । २०६९ सालमा शान्ति प्रक्रियापछि प्रचण्डसँग वैचारिक मतभेद भएपछि किरण माओवादीबाट अलग भएका थिए । त्यसपछि उनले नेकपा–माओवादीको नेतृत्व गरे । २०७३ सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छुट्टिएपछि उनले नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) स्थापना गरी नेतृत्व सम्हालेका थिए ।
२००३ साल साउन १५ गते प्युठानको खैरा गाउँमा बुवा शशीधर र आमा जानुकाका घर जन्मिएका किरण सात भाइ र एक छोरीमध्ये जेठा थिए । उनी बाल्यकालमा धार्मिक संस्कारमा हुर्किए पनि किशोरावस्थासँगै अन्धविश्वासविरुद्ध र वैज्ञानिक सोचतर्फ आकर्षित भए ।
पुष्पलाल श्रेस्ठबाट प्रेरित किरण १८ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय भए । मोहनविक्रम सिंह र निर्मल लामालाई उनले आदर्शका रूपमा लिएका थिए ।
किरणले दाङको जनता महाविद्यालयबाट शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट २०२८ सालमा नेपाली विषयमा एम.ए. गरेका थिए । लामो समय प्राध्यापन र प्रधानाध्यापनमा रहेपछि उनी पूर्णकालीन राजनीतिमा प्रवेश गरे ।
२०२५ सालमा पहिलोपटक जेल परेका किरण माओवादी जनयुद्धका क्रममा भारतको सिलगुढीमा पक्राउ परी तीन वर्ष बन्दीजीवनमा बसेका थिए । २०४० सालमा नेकपा मशाल विभाजनपछि मोटो मशालका महासचिव बनेका किरण २०४३ सालको सेक्टरकाण्ड असफल भएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
२०४५ सालमा उनले प्रचण्डलाई महासचिव प्रस्ताव गर्दै सशस्त्र जनयुद्धको तयारीका लागि मार्ग प्रशस्त गरेका थिए । किरणले समय काल खण्डमा भन्ने गरेका थिए, “क्रान्तिहरू समयसँगै बिग्रन्छन्, अवसरवादी बन्छन् । अहिले पनि पुरानो राज्यसत्ता र दलाल पुँजीवाद कायम छ । त्यसलाई अन्त्य गर्न निरन्तर क्रान्ति अपरिहार्य छ ।”
राजनीतिक जीवनसँगै किरण साहित्यमा पनि सक्रिय रहे । महाकवि लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमालका कृतिबाट प्रभावित उनले २०१९ सालमै बनारसबाट प्रकाशित सुमन र सन्देश पत्रिकामा लेख प्रकाशित गर्न थालेका थिए ।
उनका प्रमुख कृतिहरूमा लाहुरेको रहर (२०३७), मार्क्सवादी कला दृष्टि र समीक्षा (२०५४), संघर्षको दर्शन (२०६०), नेपाली समाज र संस्कृति (२०६१), क्रान्ति र सौन्दर्य (२०६४), मार्क्सवाद र संस्कृति (२०६६), मार्क्सवादी दर्शन (२०६७), मार्क्सवादी सौन्दर्य चिन्तन (२०६९) र हिमाली दर्शन (२०७४) रहेका छन् ।
सादा र सरल जीवनशैलीका प्रतीक किरण अहिले पनि धापासीस्थित आफ्नो निवासमा श्रीमती सुषमा आचार्यसँगै बस्दै अध्ययन र लेखनमा सक्रिय छन् ।
प्रतिकृया लेख्नुहोस्: