Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

यी हुन् एमाले केन्द्रीय कमिटीका आठ निर्णय

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (एमाले)ले मङ्गलबार मध्यरातसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार दिउँसो पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख  राजेन्द्र गौतमले बैठकका निर्णय सार्वजनिक गरेको हो।

विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौं पूर्ण बैठक विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ । असार ११ गते बसेको सचिवालयको बैठकले विधान अधिवेशनको तयारीको सन्दर्भमा राजनीतिक प्रतिवेदन तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली, विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेल र संगठनात्मक प्रस्ताव तयार गर्न महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको थियो । साउन १ गते बसेको सचिवालयको बैठकले पोलिट्ब्युरोमा प्रस्ताव प्रस्तुत गर्ने गरी संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार  गर्‍यो । र, साउन २ र ३ गते बसेको पोलिटब्युरोको बैठकले सघन छलफल गरी विधान संशोधनसम्बन्धी प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको थियो । त्यसकै आधारमा साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटीको बैठकले बृहत छलफल गरी विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरेको छ । पार्टीको विधान अनुसार एक महिना अगाडि नै केन्द्रीय कमिटीबाट प्रस्ताव तयार गरी मातहत कमिटीमा पठाउने वैधानिक व्यवस्था भएकोले सोही अनुसार व्यवस्था मिलाइएको छ । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्दै मुलुकको समसामयिक राजनीतिक विकासक्रम, विधान महाधिवेशन लगायतका विषयमा सारगर्वित मन्तव्य राख्नुभएको थियो । 

यही २०८२ साउन ५ र ६ गते पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि घनिभूत छलफल भएको थियो । यस अघि साउन १ गते केन्द्रीय सचिवालय र २– ३ गते पोलिटव्यूरोको बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल गरी सुझावसहित केन्द्रीय कमिटीको नवौं बैठकमा प्रस्तुत भएको थियो । बैठकमा पोलिट्ब्युरो र केन्द्रीय कमिटीका २६४ जना सदस्यहरूले आ–आफ्ना धारणा र सुझावहरू राख्नुभएको थियो । साथै, बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आ–आफ्नो आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने महासचिव शंकर पोखरेलले संगठनात्मक कामका बारेमा जानकारी गराउनुभएको थियो । विधान संशोधन सम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीका सदस्यहरूले दिएका सुझावहरूलाई समावेश गरी प्रदेश र जिल्ला कमिटीहरूमा थप सुझावका लागि पठाउने निर्णय गरिएको छ । 

विधान संशोधनसम्बन्धी प्रस्तावमा मुख्यगरी दुईखाले सदस्य (सदस्य र संगठित सदस्य)को व्यवस्था, ७० बर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल हटाउने व्यवस्था कायम गरिएको छ । यी दुबै विषय नेतृत्व निर्माणसँग सम्बन्धित छन् । पार्टीका जिल्ला कमिटीहरूलाई कार्यकारीकै रूपमा कायम गर्ने, १५ जनाको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी, २५१ जनाको केन्द्रीय कमिटी र त्यसको एकतिहाइ पोलिटव्यूरोको व्यवस्था गरिएको छ । पदाधिकारीमा न्यूनतम एकमहिला अनिवार्य गरिएको छ । महाधिवेशनका लागि आयोजकहरू निर्वाचित हुन नपर्ने व्यवस्था मिलाईएको छ ।   

बैठकमा आगामी भदौ २०–२२ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको तयारी र व्यवस्थापन सम्बन्धमा जानकारी गराइएको थियो ।

बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयमा देहाय बमोजिम निर्णय गरेको छः

नेपाली जनताको लामो, कष्टपूर्ण र बलिदानी सङ्घर्षका बलमा सयौं वर्ष पुरानो सामन्ती राजतन्त्रलाई अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । युगान्तकारी परिवर्तन र जनताको सर्वोच्चताको प्रतीकका रुपमा रहेको गणतन्त्रलाई थप प्रतिष्ठित गर्दै संस्थागत, सुदृढ र प्रभावकारी बनाउनु सबै राजनीतिक दल र आम नागरिकको कत्र्तव्य हो ।

लोकतान्त्रिक गणतन्त्र एउटा राजनीतिक प्रणाली मात्र होइन । यो आफैमा संस्कृति, मूल्य र आचरण पनि हो । हामीले अवलम्बन गर्ने अभ्यास, अनुकरण गर्ने शैली र स्थापित गर्ने मान्यताहरुले यसलाई समग्र पद्धतिको रुपमा विकास गर्दै लैजान्छन् । डेढ दशक अगाडि मात्रै स्थापना गरिएको लोकतान्त्रिक गणतन्त्रलाई समग्र प्रणाली र राष्ट्रको जीवनका रुपमा स्थापित गर्न हामीले तदनुरुप सचेतना र संयमका साथ काम गर्दै जानुपर्छ ।   

 नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक, पालनकर्ता र नेपाली सेनाको पराधिपति जस्ता गुरुत्तर दायित्व सुम्पिएको छ । यो भूमिका आफैमा अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्वको छ । राष्ट्रपति संस्थाको यही गरिमामय ओहदालाई ध्यानमा राखेर त्यस जिम्मेवारीमा निर्वाचित हुने व्यक्ति आफ्नो दलीय या अन्य संस्थागत आबद्धताबाट पूर्ण रुपमा मुक्त भएर निष्पक्ष भूमिकामा रहने र पदमा रहँदा संवैधानिक सीमाभित्र रहेर काम गर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । संवैधानिक राष्ट्राध्यक्षको व्यवस्था रहेको हाम्रो लोकतान्त्रिक प्रणाली कार्यकारी प्रमुखका रुपमा राष्ट्रपति रहने मुलुकको प्रबन्ध भन्दा भिन्न रहेको स्पष्ट छ ।

यस्तो गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन । यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरु विवादित हुन सक्छन् । भविष्यको कुनै आश या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले यस सन्दर्भमा स्थापना गर्नुभएको दृष्टान्त यहाँनिर स्मरणीय छ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न सात दशकभन्दा बढी समय बलिदानी सङ्घर्षको अग्रमोर्चामा रहेको र नेपालको संविधान निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका खेलेको नेकपा (एमाले) यस प्रणालीलाई रक्षा, विकास र सुदृढ गर्न दृढ सङ्कल्पित छ । 

सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो । हिँजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढङ्गले ती ओहदहरुलाई उचित न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ । नेपालमा लैङ्गिक समानता र समावेशिताको ‘आइकन‘ का रुपमा रहनु भएको उहाँलाई उहाँका यिनै योगदानका कारण गतः वर्ष नेपाल कम्युनिष्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’ का रुपमा सम्मान गरेको सन्दर्भ यहाँनिर स्मरणीय छ । पार्टी नेताका रुपमा रहँदा होस् या मुलुकको राष्ट्राध्यक्ष रहँदा र त्यसबाट अवकाश प्राप्त गर्दा, उहाँ हाम्रा निम्ति सधै सम्मानित रहँदै आउनुभएको छ । 

यिनै पृष्ठभूमि, सन्दर्भ र मान्यतालाई ध्यानमा राखेर केन्द्रीय कमिटीको यो बैठक संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरुको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरुलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय गर्दछ ।

बैठकले पारित गरेका ८ बुँदा 

१. नेकपा (एमाले) र नेपाली काँग्रेस बिच सम्पन्न ७ बुँदे सहमतिको जगमा उभिएर पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । अस्थिरताका यावत् प्रयासलाई चिर्दै सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरेको छ । राजावादीहरूद्वारा गरिएको प्रतिक्रान्तिको दुष्प्रयासलाई विफल तुल्याइएको छ । महत्वपूर्ण नीतिगत सुधारसहित अर्थतन्त्रलाई लयमा फर्काइएको छ । निजी क्षेत्रमा भरोसा जगाउने र बाह्य लगानी अभिवृद्धि गर्ने काम गरिएको छ । अवरुद्ध विकास निर्माणका कामहरूले गति लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उच्च प्राथमिकताका साथ सुरु गरिएको दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन निष्कर्षमा पुगेको छ । दैलेखमा नेपालको ५० वर्षसम्मको आवश्यकता पूर्ति गर्न सक्ने मिथेन ग्यास भण्डार रहेको तथ्य सार्वजनिक हुनु निकै उत्साहपूर्ण विषय हो । सरकारले बाह्य सम्बन्धमा थप अनुकूलता सिर्जना गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको उपस्थिति, एजेण्डा र भूमिकालाई प्रभावकारी बनाउँदै लगेको छ । सहकारी क्षेत्रका बेथितिहरूलाई सम्बोधन गर्दै बचतकर्ताहरूको बचत फिर्ता गराउने र अनियमिततामा सङ्लग्नहरूलाई कानुनी दायरामा ल्याउने काम पनि अगाडि बढेको छ । हालै श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ ।

केन्द्रीय कमिटीको नवौँ बैठक वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दैै सात बुँदे सहमति कार्यान्वयनमा दृढता दोहोर्‍याउन चाहन्छ र सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन आह्वान गर्दछ ।

२. भ्रष्टाचार र अनियमितताप्रति निशर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा नेकपा (एमाले) को आधारभूत मान्यता रहँदै आएको छ । यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहँदै आएको तथ्य सर्वविदितै छ । सार्वजनिक पदमा रहेका नेता, कार्यकर्ता विरुद्ध गम्भीर कानुनी या नैतिक प्रश्न उठेपछि त्यसको छानबिनका लागि मार्गप्रशस्त गर्ने र छानबिन नसकुञ्जेल जिम्मेवारीबाट बाहिर रहने परम्परा बसाल्ने पार्टी नेकपा (एमाले) नै हो भन्ने कुरा विगतमा हामीले पुष्टि गरिसकेका छौँ । भोलिका दिनमा पनि हामी यसै अनुरुप अगाडि बढ्ने सङ्कल्प यो बैठक पुनः दोहोर्‍याउन चाहन्छ । तर पार्टीले स्थापना गरेको यस मानकलाई बेवास्ता गर्दैै अपुष्ट र नियोजित ढङ्गले गरिने भ्रम प्रचारको भने पार्टी दृढ प्रतिवाद गर्दछ ।

३. साउन ७ गते, ४७ औं पुष्पलाल स्मृति दिवस । ४७ औंँ स्मृति दिवसको यस अवसरमा यो बैठक नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, नेपालको लोकतान्त्रिक आन्दोलनका अविचलित धरोहर, संयुक्त जनआन्दोलनका प्रणेता एवं नेपालको इतिहासको वैज्ञानिक व्याख्याता कमरेड पुष्पलालप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछ र उहाँको आदर्शलाई पछ्याउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ, एकताबद्ध र निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने सङ्कल्प गर्दछ । 

४. मनसुनको मध्यअवस्थामा आइपुग्दा पनि मधेस प्रदेश लगायत कतिपय भूभागमा पर्याप्त वर्षा नभएर सुख्खा बढ्दै गएको, धान रोपाइँ गम्भीर रुपले प्रभावित भएको र पिउने पानीको समेत हाहाकार पर्दै गएको अवस्थाप्रति नेकपा (एमाले) गहिरो चिन्ता व्यक्त गर्दछ । सुख्खाग्रस्त क्षेत्रमा किसानहरूलाई आवश्यकता अनुसार वैकल्पिक बाली लगाउन आवश्यक प्राविधिक सहायता र राहत उपलव्ध गराउन यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । जलवायु अनुकूलका कार्यक्रमहरुको विस्तार र चुरेको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेसको दीर्घकालीन समस्या समाधान गर्न माग गर्दछ ।

६. यस पटक पनि किसानहरूले धान खेतीमा आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा पाउन नसकेको गुनासो सुनिएको छ । सरकारले चैते धान खेती वृद्धि गर्न प्रोत्साहन गरे अनुरुप गतः वर्ष धेरै किसानहरूले चैते धान लगाए पनि त्यसको बजार प्रबन्ध हुन नसकेकाले किसानहरू मर्कामा परेको गुनासो पनि देखापरेको छ । त्यसै गरी दुध उत्पादक किसानहरूलाई दुग्ध विकास संस्थान र निजी डेरीहरूले भुक्तान गर्नुपर्ने ३ अर्बभन्दा बढी बक्यौता अझै बाँकी रहेको र यसले किसानहरूलाई निकै मर्कामा पुर्‍याएको यथार्थ पनि सार्वजनिक भएको छ । यो बैठक सरकारले नेपाली किसानहरूले भोग्नुपरेका यी लगायत यावत् समस्याहरूको तदारुकताकासाथ समाधान गर्न, नेपाली किसानहरूको जीवनस्तर माथि उठाउन र खाद्य सुरक्षा प्रत्याभूत गर्न आह्वान गर्दछ ।

७. यही असार २४ गतेको अविरल वर्षा र बाढीले रसुवामा जनधनको ठुलो क्षति पुर्‍याएको छ । बाढी पहिरोले कैयौँ व्यक्तिको ज्यान गएको छ भने कतिपय व्यक्ति अझै पनि वेपत्ता छन् । बाढीले नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउनुका साथै सुख्खा बन्दरगाहमा राखिएका दर्जनौँ गाडी, कन्टेनर र भौतिक संरचनामा समेत अकल्पनीय क्षति पुर्‍याएको छ । केन्द्रीय कमिटीको यो बैठक बाढी पहिरोले पुर्‍याएको यस क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । पीडितहरूलाई राहत र ध्वस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछ । मितेरी पुल यथाशीघ्र निर्माणका लागि मित्र राष्ट्रसँग आवश्यक समन्वय र कूटनीतिक पहलका लागि आह्वान गर्दछ ।   

८. यो बैठक नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड बैकुण्ठनाथ दाहाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड गणेश पौडेल, लुम्बिनी प्रदेश सल्लाहकार परिषद्का सदस्य कमरेड खगराज शर्मा र पार्टी स्थायी कमिटी सदस्य कमरेड लालबाबु पण्डितकी जीवनसँगिनी एवं प्रतिबद्ध पार्टी कार्यकर्ता कमरेड विमला महतको निधनप्रति गहिरो दुःख प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुलीमा २२ वर्षीय युवकको गोली लागेको अवस्थामा शव फेला

काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...

कप्तान रोहितका बुवा र आमा गृहनगरमा सम्मानित

पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...

कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...

रवी, बालेन र कुलमानको एकताप्रति ओली: घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...

एमाले मुख्यालय च्यासलमा पेस्तोल फेला

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...

विचार र बलिदानविहीनका केहि मानिसहरू देशै कब्जा गरिसक्यौं जसरी हल्ला फैलाइरहेको छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...

भयरहित वातावरणमा निर्वाचन हुन सक्दैन: नेता ज्ञवाली

काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...

लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...

उज्यालो नेपालका समानुपातिकको संख्या १८ बाट घटेर १४ मा सीमित

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending