काठमाडौं । घुस ‘डिल’ को अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।
यसबारे प्रधानमन्त्रीज्यूले मन्त्रीबाट विस्तृत ब्रिफिङ लिने र राजीनामा गरेर मार्ग प्रशस्त गर्न भनिनेछ । नभए बर्खास्त नै हुनेछ’ बालुवाटार स्रोतले भन्यो ।
उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ । साथै, मन्त्री गुप्ता पदमुक्त गराएसँगै यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने भएको छ ।
मन्त्री गुप्ता र बिचौलिया संवादका प्रमुख अंश
बिचौलिया : मन्त्रीज्यू, मगाइदिन्छु र तपाईं राख्नु ।
मन्त्री : मैले राख्ने हैन, उसलाई भोलि बिहानै दिएर पठाउनुपर्छ सम्बन्धित ठाउँमा । (एकछिन फोन डायल गरेको सुनिन्छ), रक्सी खाने ?
बिचौलिया : नखाने के मन्त्रीज्यू, मैले कहिल्यै खाएको छैन ।
मन्त्री : कहिल्यै खानुहुन्न ?
बिचौलिया : सुन्नु न मन्त्रीज्यू, त्यो बलराम (भूमिसुधारमन्त्री बलराम अधिकारी) लाई भनिदिनु न, २० म बुझाइदिउँला खेम (भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त हुन खोजेका खेमबहादुर पुन) का लागि । फस्ट आवरमा नै भनिदिनु त बलरामलाई ।
मन्त्री : बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।
बिचौलिया : त्यो हैन के, आयोगको कुरा गरिराछु के ।
मन्त्री : आयोग भन्नाले ?
बिचौलिया : खेम पुनका लागि के । २० म बुझाइदिन्छु के, भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू ।
(मन्त्री कसैसँग फोनमा कुरा गरिरहेका हुन्छन्)
महिला : हाम्रो मन्त्रीज्यूले एकचोटि भनिदिनुपर्यो के बलरामलाई, भनिस्यो न ।
बिचौलिया : मेरो एउटा मान्छे नि नबनाइदिने भन्नु त ?
मन्त्री : त्यो (भूमिसुधारमन्त्री अधिकारी) मान्दैन ।
बिचौलिया : (हाँस्दै) त्यो मान्दैन । तपाईंसँग सय वटा काम पर्छ त्यसको, तपाईंको एउटा काम नगरिदिएर हुन्छ ? त्यहीमाथि सबैले प्रेसर दिएको छ उसलाई । बाले समेत भनेका होलान् उस्तै पर्यो भने ।
मन्त्री : अनि यो त पलिटिकल नियुक्ति ।
बिचौलिया : दाइ अनि सिफारिसै आइसक्यो ।
मन्त्री : जिल्लाबाट आउनुपर्छ । प्रदेशबाट आउनुपर्छ ।
बिचौलिया : उसको त एकल सिफारिस भयो । निर्णय भएको छ प्रदेशबाट यसरी (सायद कागज देखाउँदै), यता हेर्नू । प्रदेशले निर्णय गरेर पठाएको छ यसरी, खेमबहादुर पुन भनेर एकल सिफारिस आएको छ ।
मन्त्री : जिल्लाबाट ?
बिचौलिया : जिल्लाले प्रदेशलाई भन्यो, प्रदेशले मन्त्रालयलाई पठाउने हो ।
मन्त्री : अनि समस्या के छ ?
बिचौलिया : अरू–अरू मानिस खेलिरहेका छन् त्यहाँ ।
महिला : मन्त्रीज्यूले भनेपछि त मानिहाल्छ नि ।
मन्त्री : अहिले (मन्त्री अधिकारी) मन्त्रालयमा छ, यहाँ हुन्थ्यो भने आइहाल्थ्यो तीनपाने रक्सी खान ।
महिला : कल्ले भन्याचाहिँ मान्छ के उसले, मन्त्रीहरूमा पनि ?
मन्त्री : कहाँ छ भूमिसुधारमन्त्रीको लक्ष्मी पात्रहरू ?
महिला : सबै मन्त्रीलाई भन्न लाउनुपर्यो ।
मन्त्री : उसलाई फोन गर्नुस्, भूमि आयोगका अध्यक्षका लागि कास्की जिल्ला कमिटीले सिफारिस गरेको छ, प्रदेशले पनि गर्या छ भनेको त्यो पक्का हो । तैपनि शंकास्पद भइसकेपछि कति हुन्छ ।
बिचौलिया : १ बजे शपथग्रहण छ ।
मन्त्री : (फोनमा) अहिले आउनु न मन्त्रालयमा । म बोतल दिन्छु । लिएर जानु, खुवाइदिनु । माल कति लिन्छ ? नियमले मिल्ने रहेछ । जिल्ला कमिटीले सिफारिस गर्या छ, प्रदेशले निर्णय गरेको छ ।
बिचौलिया : जिल्लाले पाँच जना गरेको छ । तर प्रदेशले त्यहाँबाट छानेर एकल पठाएको छ । मन्त्रीजी यसो गर्नुस्, सुन्नुस्, मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतको । यसो हो अदालतमा भने पर्सि उहाँले सामान्यबाट गर्दिनु । मन्त्रीजीलाई एस र नो भन्न आउँछ रे, अरू केही आउँदैन । पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरिराछ मन्त्रीज्यू, हामी यहाँ हेरेर यसरी बसेर हुन्छ ?
मन्त्री : अनि यो १५ महिनामा के हेरिराछ त ?
बिचौलिया : गर्या छ त अलिअलि काम त । त्यत्तिकै पछि त लागेन होला नि ।
मन्त्री : १५ महिनामा के गर्या ?
प्रतिकृया लेख्नुहोस्: