Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘…त्यसपछि ढुक्कले सुत्न पाइयो’

खबरडबली संवाददाता

सिरहा । आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुन् अस्मिन राउत ।

“त्यो घटना वास्तवमै कहालिलाग्दो थियो । हुन त त्यस्ता कैयौँ त्रासदीपूर्ण रातहरू भोग्नुप¥यो हाम्रो बस्तीले, ती घटना सम्झिदाँ पनि नरमाइलो लाग्छ”, उनले भने ।

डकैतीका शृङ्खलाबद्ध घटना, गाउँमा भय । प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने । लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलम ठोकिसकेका हुन्थे । २०६७ सालको असार महिनामको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो । उक्त घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले । “हो, त्यो घटना डरदाग्दो थियो, तर त्यही दिनबाट हाम्रो आँखा खुल्यो । त्यसपछि तत्कालीन गृहमन्त्री भीम रावलसमक्ष गाउँको दयनीय अवस्था प्रस्तुत ग¥यौँ । स्थानीयको आग्रह र दबाबपछि तत्कालै पक्की टोलमा अस्थायी प्रहरी चौकी स्थापना गरियो”, राउतले भने, “प्रहरी चौकी स्थापना भएसँगै गाउँको अवस्था फेरियो । त्यसयता हामीले कुनै डकैतीको त्रास व्यहोर्नु परेको छैन । रातमा गहिरो निद्रा सुत्न पाएका छौँ ।”

त्यही घटनापछि लहानको ग्रामीण भेगमा पर्ने वडा नं १३, १४ र २४ लाई पायक पर्नेगरी पक्की टोलमा अस्थायी प्रहरी चौकी बनेको थियो । त्यसले गाउँमा साँच्चै शान्ति फर्कियो । रात परेपछि ढोका थुनेर बस्नुपर्ने बाध्यता हट्यो । बालबालिका ढुक्कसँग बाहिर खेल्न थाले । महिलाहरू बिहान–साँझ खेतबारी जान थाले । गाउँलेमा पुनः आत्मविश्वास आयो ।

डकैतको त्रास मेटिएपछि गाउँमा शान्ति त फर्कियो । समयसँगै समुदाय र प्रहरीबीचको सम्बन्ध पनि गहिरिँदै गयो, तर जीर्ण भवनबाट प्रहरीका लागि सेवा प्रवाह सहज थिएन । बर्सातमा पानी चुहिने, हिउँदमा धुलोले भरिने समस्या थियो । त्यसपछि गाउँलेहरूले नयाँ प्रहरी भवनको आवश्यकता महसुस गरी स्वतःस्फुर्त रूपमा नयाँ भवन निर्माणको अभियान सुरु गरे । त्यसका लागि चन्दा सङ्कलन अभियान सञ्चालन थाले । त्यो अभियान प्रभावकारी बन्दै गयो ।

गाउँलेहरूले सकेको आर्थिक तथा भौतिक सहयोग गरे । विदेशमा रहेका गाउँका व्यक्तिहरूले पनि दिल खोलेर सहयोग गरे । सामूहिक प्रयासकै परिणामस्वरूप निर्माण भयो—पाँचकोठे पक्की प्रहरी भवन । त्यही भवनको बुधबार एक विशेष कार्यक्रमबीच लहान नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे ।

सुविधासम्पन्न प्रहरी चौकीको भवन बनेसँगै पक्की टोलवासीको खुसीको सीमा छैन । शान्तिसुरक्षा र अमनचयनको अनुभूति उनीहरूको हरेक अभिव्यक्तिमा झल्किन्छ । गाउँको परिवर्तनको कथा सुनाउँदै ७४ वर्षीया लक्ष्मीदेवी अधिकारी भन्छिन्, “पहिले गाउँमा प्रहरी नहुँदा घुर बालेर रातभर डाँका कतिबेला पो आउँलान् भनेर रोडमै जाग्राम बस्नुपथ्र्यो । त्यो दुःख सम्झेर उदेक लाग्छ । अहिले त ढुक्कले बस्न पाइएको छ ।”

उनले सुनाएअनुसार एक समय त यस्तो आयो, डाँकाहरू गाडीमै आएर गाउँ लुट्थे । प्रहरी आउँदासम्म सबै भागिसकेका हुन्थे । “धनमाल दिएन भने कुट्थे, कतै त मार्नेसम्म पनि गर्थे । दसैँजस्ता चाडबाडमा छोरा–नातिहरू घर आउँदा पनि डाँकाको डरले दुई दिन नबसी सहर फर्किन्थे । हामी बूढाबूढी मात्रै गाउँमा, युवाहरू बाहिर” अधिकारी विगत सम्झिँदै भन्छिन्, “प्रहरी त हाम्रो लागि भगवान्जस्तै भएर आएका हुन् बाबु । यही भएर गाउँलेहरू जीउधन लगाएर यो भवन बनाउन जुटे । अब चौकीमा दुई जना महिला प्रहरी पनि भए सहज हुन्थ्यो ।”

लक्ष्मीदेवी अधिकारीको भनाइ केवल विगतको पीडा होइन, यो सुरक्षा प्राप्तिको खुसी र सामुदायिक सफलताको आत्मगौरव पनि हो । गाउँमा सुरक्षाको सुनिश्चिततासँगै समुदाय–प्रहरी सम्बन्ध अझ मजबुत भएको छ । यही सन्दर्भमा स्थानीयले भन्दै थिए, “वास्तवमै प्रहरी मेरो साथी भन्ने नारा प्रचारका लागि मात्रै रहेन, यो त व्यवहारमै लागू भएको छ ।”

यहाँ सुरक्षाको व्यवस्थापछि धेरै कुरा बदलिदिएको छ । कुनै समय प्रहरीसँग पनि डराउने यहाँको समाज अचेल प्रहरीलाई साथी, अभिभावक र सहारा मान्छन् । दुःख होस् या सुख, हरेक क्षणमा प्रहरी स्थानीयले सबैभन्दा पहिले सम्झिने आधार भनेको छ ।

भवन निर्माण समितिका अध्यक्षसमेत रहेका समाजसेवी राउतका अनुसार स्थानीय जनताबाटै करिब रु २५ लाख सङ्कलन भएको थियो । गाउँलेहरूले सकेको आर्थिक, श्रम र भौतिक सहयोग गरेका थिए । उनले भने, “भवन निर्माणमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि केही आर्थिक सहयोग रह्यो । यही संयुक्त प्रयासले सुविधासम्पन्न पक्की भवन निर्माण सम्भव भएको हो । त्यसैले यो भवन केवल इँटा र गारो मात्रै होइन, समाजको एकता, इच्छाशक्ति र प्रहरीप्रति विश्वासको जीवित प्रतीक पनि हो ।”

भवन उद्घाटन समारोहका प्रमुख अतिथि लहान नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए । उनले भने, “समाजका अगुवाहरूले जग्गादान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि वरदान साबित भएको छ । यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्तिसुरक्षाको प्रत्याभूति गर्ने आधार पनि बनेको छ ।”

प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अपराध न्यूनीकरणका लागि निर्णायक आधार भएको बताउँछन् । प्रहरी सङ्गठन समुदायमैत्री सेवामा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले समुदायसँगको सम्बन्धलाई केवल सुरक्षाको सवाल मात्र नभई विश्वास, सहभागिता र उत्तरदायित्वको सम्बन्धका रूपमा आफूले हरेको बताए । “समुदायको सहयोगबिना कुनै पनि सुरक्षा प्रणाली पूर्ण हुँदैन, यो त समुदाय र प्रहरीको साझदारी तथा विश्वासमा अडेको हुन्छ । यहाँको उदाहरणले जब समुदाय सक्रिय हुन्छ, तब अपराध पन्छिन्छ र शान्ति दिगो कायम हुन्छ भनेर जबर्जस्त सन्देश दिएको छ ।”

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, “शान्ति सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने छ ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले समुदायसँगको सहकार्य शान्तिसुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राखे ।

सुदिप राउत / रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending