Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दिल्लीमा खानाभन्दा महँगो भयो पानी, बढ्दो गर्मीबीच गहिरिँदो जल संकट

खबरडबली संवाददाता

 दिल्ली । ६५ वर्षीया शकुन्तला देवी आधा घण्टा मोटर चलाउँदा पनि घरमा पानी नआएपछि सिँढीबाट तल ओर्लेर अरूको घरमा पानी आएको छ कि छैन भनी हेर्न गइन् । पानी नआएकोमा निराश भइन् ।

शकुन्तला देवी भन्छिन्, ‘म हरेक दिन एक पटक आधा घण्टा मोटर चलाउँछु, तर मुस्किलले एक गिलास पानी आउँछ ।’ शकुन्तला देवी उत्तर पश्चिम दिल्लीको रोहिणी क्षेत्रको सेक्टर ३४ मा भाडामा बस्छिन् ।

शकुन्तला भन्छिन्, ‘थाहा छ पानी आउँदैन, तैपनि आइहाल्छ कि आशमा मोटर चलाउँछु, यदि पानी आयो र मैले मोटर नचलाएको बेला पर्यो भने, पानी आएको थियो, मैले भरिनँ भने पछुतो लाग्छ ।’

‘पेन्सनभन्दा बढी खर्च पानीमा’

दिल्लीको रोहिणी क्षेत्रको सेक्टर ३४ मा बस्ने अन्यले जस्तै शकुन्तलाले पनि पिउने पानी किन्छिन् । कयौं पटक दिनमै दुई जार पानी सकिन्छ । शकुन्तला भन्छिन्, ‘वृद्धभत्ताले जीविको चलिरहेको छ, जति मैले भत्ता पाउँछु त्यो भन्दा बढी त पानी किन्दा खर्च हुन्छ ।’

पहिलेपहिले शकुन्तलाले यस्तो भोग्नुपरेको थिएन । दुई वर्षअघिसम्म घरमा नियमित खानेपानी आउँथ्यो । तर, अहिले अवस्था फेरिएको छ । खानेपानीका सवालमा डीडीएले बनाएको फ्ल्याटमा बस्ने अधिकांशको कथा शकुन्तलाको जस्तै छ । प्रायः सबैले खानेपानी बजारबाटै किन्नुपर्छ ।

सरकारले वितरण गरेको धारामा पानी नआउँदा दीपक पनि हैरान छन् । उनीजस्ता भुइँमान्छेहरुको घरायसी खर्चमा उथलपुथल आएको छ । दीपक भन्छन्, ‘दैनिकजसो दुई जार पानी किन्छु, भुइँतलामा बस्ने भएर २० लिटरको एक जार पानी ३० रुपैयाँमा पाइन्छ, ब्रान्डेड पानी किन्न हाम्रो हैसियतले भ्याउँदैन ।’

दीपककी श्रीमती भन्छिन्, ‘हाम्रो आयको झन्डै १० प्रतिशत पानी किन्नमै जान्छ, खानेपानी मात्रै किन्न नपरेको भए हाम्रो जीवन सहज हुन्थ्यो ।’

माग बढी, आपूर्ति कम

भारतको राजधानी नयाँदिल्ली जनसंख्याका हिसाबले देशकै सबभन्दा ठूलो सहर हो । सन् २०११ को जनगणनाअुनुसार दिल्लीको जनसंख्या डेढ करोडभन्दा धेरै थियो र यो निरन्तर बढ्दो छ ।

दिल्लीवासीलाई हरेक दिन झन्डै १२९ करोड ग्यालन पानीको आवश्यकता पर्ने दिल्लीको खानेपानी बोर्डको अनुमान छ । तर, १०० करोड ग्यालनमात्रै आपूर्ति भइरहेको छ । यसअनुसार दिल्लीमा अहिले दैनिक ३० करोड ग्यालन पानी अपुग छ । आवश्यकताअनुसार आपूर्ति नहुँदा दिल्लीको जनसंख्याको ठूलो हिस्सा नराम्ररी प्रभावित भइरहेको छ ।

दक्षिणी दिल्लीको संगम बिहारदेखि उत्तर–पश्चिमी दिल्लीको रोहिणीसम्म, सर्वसाधारण मानिसहरू पिउने पानीको चरम अभावको मूल्य चुकाइरहेका छन् ।

बढ्दो गर्मीले पानीको यो संकटलाई अझ गम्भीर बनाएको छ । सरकारले वितरण गरेको धारामा पानी नआउँदा र खानेपानी बोर्डको ट्यांकरले वितरण गर्ने पानी नपाउने घरका मानिसहरु यो हाहाकारबाट अत्यन्तै प्रभावित छन् ।

‘भान्सामा भन्दा खानेपानीमा धेरै खर्च’

संगम बिहारको देवली इलाकामा बस्ने कटोरी देवीको आँगनमा बाल्टी, ड्रम र अन्य खाली भाँडाहरूको थुप्रो छ । एसीबाट निस्किएको एउटा पातलो नलीबाट बाल्टीमा थोपा–थोपा पानी चुहिरहेको छ ।

कटोरी देवी भन्छिन्, ‘गएको दुई महिनादेखि हाम्रो घरमा पानी आएको छैन, पन्ध्र सय रुपैयाँमा एक ट्यांकर पानी किन्छौँ, त्यसबाट जसोतसो आवश्यकता पूरा गर्छौँ, एसीबाट निस्कने पानीलाई जम्मा गर्छौं ताकि प्रयोग गर्न सकियोस् ।’

एउटा बाल्टीमा फोहोर पानी देखाउँदै उनी भन्छिन्, ‘पानी पर्‍यो भने त्रिपालमा पानी जम्मा गर्छौं, केही बाल्टी भर्छौं, तर यसरी भरिएको पानी बिरुवा वा शौचालयमा प्रयोग गर्न मात्रै लायक हुन्छ, अरु प्रयोजनमा काम लाग्दैन ।’

कटोरी देवीको परिवार बसोबास गरिरहेको संगम बिहारको देवली क्षेत्रमा अधिकांशको घरमा पानी पुग्दैन । तर, त्यस आसपासका अन्य क्षेत्रमा भने दैनिकजसो आधा घण्टा पानी आउँछ ।

कटोरीकी बुहारी सीमा देवी भन्छिन्, ‘हाम्रो जति भान्सामा खर्च हुन्छ त्योभन्दा बढी पानीमा जान्छ । खानाभन्दा पनि हामीलाई पानी महँगो परिरहेको छ । कटोरीकै छेउँको घरमा बस्ने पुनम देवीले पानीकै संकटका कारण आफ्ना बुहारीहरू र नाति–नातिनालाई गाउँ पठाउँदै छिन् ।

पुनम भन्छिन्, ‘पानी भएन भने हाम्रो जीवन नर्क जस्तो हो, यति गर्मी छ, बच्चाहरूलाई नुहाउने पानीसम्म छैन । अब बुहारीहरू र बच्चाहरू सबै गाउँ जानेछन् र पानी पर्न थालेपनि आउनेछन् । हामी हरेक पन्ध्र दिनमा दुई हजार लिटरको ट्यांकर किन्न सक्दैनौं ।’

उनको घरमा पनि पानी भर्ने सबै भाँडाहरू खाली छन् । ट्यांकरबाट मगाएको पानी सकिएको छ । पानीका कारण घरमा भनाभन हुनु सामान्यजस्तो भइसक्यो उनीहरुलाई । उनकी बुहारी व्यंग्यात्मक शैलीमा भन्छिन्, ‘पानी नआउँदा हाम्रो घरमा झगडा हुन्छ, जम्मा एक बाल्टी पानीले कसरी भाँडा पखाल्ने अनि खाना बनाउने ?’

दिल्लीको संगम बिहार घना जनघनत्व भएको बस्ती हो । यहाँ झन्डै १० लाख मानिसको बसोबास रहेको अनुमान छ । यहाँका अधिकांश मानिस ट्यांकरको पानीमा निर्भर छन् । संगम बिहारमा सरकारले वितरणको गरेको खानेपानीको पाइपबाट वा ट्यांकरबाट किन्न मिल्ने पानीमा समेत पहुँच नराख्नेहरुको दैनिकी निकै कष्टकर छ ।

दिल्लीमा यस्ता १ हजार ७०० भन्दा बढी अनधिकृत बस्तीहरू छन् । यीमध्ये अधिकांशमा दिल्ली खानेपानी बोर्डले पाइप वितरण गरेर पानी पुर्‍याउँछ ।

झुपडी बस्तीहरु भएका क्षेत्रमा पाइप त वितरण गरिएको छ तर, पर्याप्त मात्रामा पानी पुग्न सकिरहेको छैन । झुपडीमा रहने जनसंख्याको ठूलो हिस्साले किनेर पानी पिउनुपर्छ ।

क्षेत्र अनुसार पानीको मूल्य समेत फरक पर्छ । देवलीको एउटा गल्लीमा ट्यांकरबाट दश रुपैयाँमा बीस लिटर पानी बिक्री हुन्छ । यहाँबाट मानिसहरूले पानी भरेर आ–आफ्नो घरमा ओसार्नु पर्छ ।

घरसम्मै अर्डर गर्नेहरुलाई २० लिटरको एउटा जारलाई २० रुपैयाँदेखि ४० रुपैयाँसम्म पर्न जान्छ । अझ ब्रान्डेड प्रति जारको मूल्य त ९० देखि १०० रुपैयाँसम्म चुकाउनुपर्ने हुन्छ ।

अनधिकृत बस्तीहरुमा मात्रै पानीको संकट सीमित छैन, योजनाबद्ध रुपमा बसाइएका दिल्लीका अन्य क्षेत्रमा पनि पानीको हाहाकारको स्थिति छ ।

दक्षिण–पश्चिमी दिल्लीको वसन्त कुञ्ज क्षेत्रमा डीडीएद्वारा निर्मित अपार्टमेन्टमा बस्ने पूजा भाटिया पिउने पानीका लागि घरमा लगाइएको फिल्टरमा निर्भर छिन् । कहिलेकाहीं उनले पनि जारको पानी किन्नुपर्छ ।

पूजा भाटिया भन्छिन्, ‘हाम्रो समुदायमा पानीको पाइप पुगेको छैन, यहाँ डीडीएले ट्यांकरबाट पानी मगाउँछ, त्यसपछि त्यसमा भूमिगत जल मिसाएर घरहरूमा आपूर्ति गरिन्छ, यसरी वितरित पानीमा टीडीएस यति धेरै हुन्छ कि यसलाई पिउन सकिँदैन, यस्तोमा हामीले २५ हजार रुपैयाँ खर्चेर आरओ फिल्टर लगाउनु परेको छ र यसको मर्मतमा वार्षिक करिब छ हजार रुपैयाँ खर्च हुन्छ ।’

तीन जनाको उनको परिवारलाई हरेक दिन करिब ६ सय लिटर पानी आवश्यक पर्छ । तर उनीहरुले दुई दिनमा जम्मा एक हजार लिटर मात्रै पानी पाउँछन् । पूजा भन्छिन्, ‘आवश्यकता अनुसारको पानी उपलब्ध हुँदैन । हामी आरओबाट निस्कने वेस्ट वाटर (पिउन अयोग्य पानी) लाई बाल्टीमा जम्मा गरेर बिरुवाका गमलामा हाल्न प्रयोग गर्छौं ।’

वसन्त कुञ्ज क्षेत्रका किराना पसलहरू पानीका जारले भरिएका देखिन्छन् । पसलमा काम गर्ने एक कर्मचारी भन्छन्, ‘हाउजिङ सोसाइटीका अधिकांश घरहरूमा हरेक दिन एक जार पानी जान्छ, केही घरहरूमा दुई जारसम्म पनि जान्छ, अधिकांश मानिसहरू यहाँ ब्रान्डेड पानी किन्छन्, ब्रान्डेड जार ९० रुपैयाँमा पाइन्छ ।’

पूजा भाटिया भन्छिन्, ‘पिउनलायक सफा पानी ट्यांकीमा आउनुपर्छ, धेरै मानिसहरू पानी किन्न सक्छन्, तर यो आधारभूत आवश्यकता हो, हामीले ती मानिसहरूका बारेमा पनि सोच्नुपर्छ जो पानी किन्न सक्षम छैनन् ।’

केन्द्रीय दिल्लीको चाणक्यपुरीमा रहेको विवेकानन्द झुपड बस्तीमा गत केही महिनाअघि पानीको पाइप पुगेको छ, तर यहाँ अझै पनि ट्यांकरका लागि लाइन लाग्छ । हरेक साँझ लगभग ६ बजे यहाँ दिल्ली जल बोर्डको ट्यांकर आउँछ । तर मानिसहरू पाँच बजेदेखि नै भेला हुन थाल्छन् । यहाँ पानीका लागि यस्तो मारामार छ कि केही बच्चाहरू कैयौँ सय मिटर पहिलेदेखि नै हिँड्दै दौडिँदै गएर ट्यांकरमा चढ्छन् ताकि पानीको पाइप पहिल्यै आफ्नो घरको भाँडामा हाल्न सकियोस् ।

परिचय खुलाउन नचाहने विवेकानन्द झुपड बस्तीमा बस्ने एक महिला भन्छिन्, ‘पाइपलाइन लागिसकेको छ, केहीबेर पानी पनि आउँछ, तर यो आवश्यकताको हिसाबले पर्याप्त हुँदैन । त्यसैले यहाँ पानी भर्नका लागि मारामार हुन्छ ।’

यस्तै अवस्था गीता कोलोनी नजिकैको झुपड बस्तीको पनि छ । यहाँ पनि हरेक दिन बिहान ७ बजे आउने पानीको ट्यांकरका लागि मानिसहरू ६ बजेदेखि नै लाइनमा लाग्छन् । ट्यांकरभन्दा पहिले पानीलाई लिएर बहस वा तानातान हुनु यहाँ सामान्य कुरा हो ।

नीति आयोगको समग्र जल व्यवस्थापन सूचकांक अनुसार, दिल्ली भारतको दोस्रो सबैभन्दा अधिक जल संकटग्रस्त शहर हो । पानीको आपूर्तिका लागि दिल्ली छिमेकी राज्यहरूमा निर्भर छ ।

हाल दिल्लीमा आपूर्ति भइरहेको कूल १०० करोड ग्यालन अर्थात् ३८० करोड लिटर पानीको ६१ प्रतिशत यमुना नदी, ३० प्रतिशत गंगा नहर र बाँकी ९ प्रतिशत भूमिगत जलबाट भइरहेको छ ।

के भन्छन् विशेषज्ञ ?

काउन्सिल अन एनर्जी, इन्भाइरोमेन्ट एण्ड वाटरका वरिष्ठ कार्यक्रम प्रमुख नितिन बस्सीका अनुसार दिल्लीको जल संकटसँग लड्न दृष्टिकोण बदल्नुपर्ने आवश्यकता छ ।

नितिन बस्सी भन्छन्, ‘जुन पानी मानिसहरूको प्रयोगका लागि पठाइँदैछ, त्यो पूर्णरुपमा उनीहरूसम्म पुगेकै छैन, दिल्लीमा यदि एक सय युनिट पानी मानिसहरूसम्म पठाइन्छ भने त्यसमध्ये ६० युनिट मात्र पुग्छ, ४० युनिट खेर जान्छ, पानीको यो नोक्सानी भारी परिरहेको छ ।’

जल संकटसँग लड्न नितिन बस्सी थप सुझाव दिँदै भन्छन्, ‘पानीको चुहावट र चोरी रोक्नुपर्छ, यसबाहेक कम चुहावट हुने प्रणालीमा काम गर्न जरुरी छ, जस्तै– शौचालयमा कम पानी प्रयोग गर्ने ट्याप लगाएर पनि पानी बचाउन सकिन्छ, हामीले आपूर्ति बढाउनुबाहेक माग घटाउनमा पनि जोड दिनुपर्छ ।’

पिउने बाहेक कार धुन, निर्माण कार्य, सडकको सरसफाइ, बगैँचामा वा अन्य यस्ता कार्यमा सफा गरिएको फिल्टर गरिएको फोहोर पानी प्रयोग गर्न सकिने उनको भनाइ छ ।

दिल्ली जल बोर्डले आवासीय क्षेत्रहरूमा हरेक महिना प्रति परिवार २० हजार लिटरसम्म निःशुल्क पानी दिन्छ । तर, विशेषज्ञहरू भने पानीमा अनुदान निम्नवर्गका मानिसहरुलाई मात्र दिइनुपर्छ ताकि राम्रो पूर्वाधार विकास गर्न सकियोस् ।

‘दिल्लीमा ७० देखि ८० प्रतिशत जनसंख्याले पानीका लागि बिल तिर्दैन किनभने पानी निःशुल्क दिइन्छ, हामीसँग मानिसहरूको आर्थिक स्थितिको डेटा छ, जो आवश्यकतामा छन्, उनीहरूलाई मात्र पानी निःशुल्क दिइयोस्, सबैलाई निःशुल्क पानी दिनु पनि पानीको बर्बादीको एउटा ठूलो कारण हो । पानी एउटा सामाजिक वस्तु हुनुका साथै एक आर्थिक वस्तु पनि हो, राम्रो पूर्वाधार बनाउनका लागि हामीले पानीको जायज मूल्य उपभोक्ताहरूबाट लिनुपर्छ’, नितिन बस्सी भन्छन् ।

दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा सेन्टर फर ल एण्ड गभर्नेन्सका प्रोफेसर प्रकाश चन्द कांडपालका अनुसार पानीको यो अभाव एक सामाजिक संकटमा रुपान्तरण हुनसक्ने खतरा छ ।

उनी भन्छन्, ‘अभिजात वर्गका लागि पानीको उपलब्धता छ र रहनेछ, तर जुन ३० प्रतिशत जनता झुपड बस्तीहरू, पुनर्वास बस्तीहरू वा अनधिकृत बस्तीहरूमा छन्, त्यहाँ अधिकांश मानिसहरू गरिबी रेखाभन्दा तल छन्, यी क्षेत्रहरूमा पानी लिनका लागि मानिसहरू लाइन लाग्छन्, कैयौँ घण्टा केवल पानी प्राप्त गर्नमा खर्चिनुपर्छ, कहिलेकाहीँ मानिसहरू बीच बहस र झगडा पनि हुन्छ । यस्तो परिस्थितिले कतै न कतै राज्यका लागि मानिसहरूमा असन्तुष्टि पैदा हुन्छ, यदि यो अवस्था सुध्रिएन भने आउने समयमा पानीको संकट समाजमा तनावको कारण पनि बन्न सक्छ ।’

के हो समाधान ?

दिल्ली जल बोर्डले राजधानीका सबै भागहरूमा पानी पुर्‍याउने आवश्यक पूर्वाधारलाई अपग्रेड गरेको छ । बोर्डद्वारा वितरण गरिने पानीको ट्यांकरहरूको संख्या पनि बढाइएको छ । यस्ता ट्यांकरहरूमा बोर्डले जीपीएस जडान गरेर निगरानी पनि राख्छ ।

पानीको संकटसँग लड्न दिल्ली जल बोर्डका सामु थुप्रै चुनौतीहरू छन् । विशेषज्ञहरूका अनुसार सबैभन्दा ठूलो चुनौती आपूर्तिका दौरान हुने पानीको नोक्सानी (वाटर वेस्ट) को हो ।

चालीस प्रतिशतभन्दा बढी पानी त आपूर्तिकै बेला खेर गइरहेको दिल्ली जल बोर्डको अनुमान छ । यसबाहेक पाइपलाइनमा चुहावट, अवैध ट्यांकीहरू र पानीको चोरी पनि संकटको कारण भएको बोर्डको निष्कर्ष छ ।

पानीमा अनुदानका कारण दिल्ली जल बोर्डको आर्थिक बोझ बढ्दै गएको छ । सन् २०२३ को तथ्याकं अनुसार, दिल्ली जल बोर्डमाथि ७३ हजार करोडभन्दा बढीको ऋण छ, जुन सन् २०१८ पछि दोब्बरले वृद्धि भएको हो ।

जल संकटसँग जुध्नका लागि दिल्ली जल बोर्डका भावी कदमहरुबारे जानकारी लिन सम्बद्ध अधिकारीसँग सम्पर्क गर्न खोज्दा प्रयास असफल रह्यो ।

दिल्लीको जल संकट गहिरिँदै गइरहेको छ । बढ्दो जनघनत्व र मागअनुसार आपूर्ति बढाउन सजिलो भने छैन ।

यो संकटसँग जुध्न पानीप्रतिको दृष्टिकोण र दैनिक आनीबानीमा परिवर्तन आवश्यक भएको विशेषज्ञहरु बताउँछन् । के दिल्ली यसका लागि तयार छ ? बिबिसीबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending