हुम्लाको नाम्खा गाउँपालिका-६, लिमी भ्यालीमा जन्मिएको म । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढ्नलाई समूह बनाएर काठमाडौं गएका थियौँ । सबैजना त्यहाँको एक निजी स्कुलमा पढ्थ थाल्यौँ ।
मातृभाषा हाम्रो नेपाली थिएन । काठमाडौंमा निकै गाह्रो भयो । पढ्न पनि निकै गाह्रो हुन्थ्यो । कतिपय साथीहरू नेपालीमा फेल हुने सम्भावना हुन्थ्यो । कक्षा ८ सम्म काठमाडौंमा । अनि त्यसपछि छात्रवृत्तिमा पढ्न भारत गएँ । १२ कक्षा पास त्यहीँ पढेँ । त्यसपछि दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा पढेँ, राजनीतिक शास्त्र पढेँ । त्यसपछि छोटो समय नेपालस्थित अमेरिकी दुतावासमा पोलिटीकल र इकोनमिक सेक्सनमा काम गरेँ ।
म कलेजदेखि नै फिल्ममा पनि काम गर्थे । मेरो पहिलो फिल्म डकुमेन्ट्री-नो मोनास्ट्री नो भिलेज हो । जलवायु परिवर्तन र संस्कृतिसम्बन्धी थियो । यो फिल्म मैले आफ्नै गाउँ अवस्थालाई मध्यनजर गरेर बनाएको हो । यसको छायांकन लिमीमै भएको थियो । गत वर्ष रिलिज भएको हो । यसको निर्देशक पनि म आफैँ हो । हिन्दू कलेजमा एउटा फिल्म निर्देशक थिए । उनले तालिम दिन्थे । त्यहीँबाट मलाई यता पनि रुचि भयो ।
हाम्रो गाउँमा हिमताल थियो, जलवायु परिवर्तनको कारण त्यो ताल फुट्यो । पटक-पटक । एक पटक घरहरू बगे । फेरि बग्यो भने नजिकै रहेको गुम्बा क्षतिग्रस्त हुने सम्भावना छ । गुम्बा बग्यो भने त्यहाँ बस्ती रहँदैन । मान्छेहरू बस्दैनन् । त्यसैले त्यहाँ अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ । साथै सरकारले पनि त्यहाँ ध्यान दिनुपर्छ । फिल्म त्यो बारेमा बनाएको हो । लेखन पनि मेरै हो ।
अहिले नयाँ जलवायु परिवर्तनसम्बन्धी कै अर्को डकुमेन्ट्रीको तयारी भइरहेको छ । त्योबारेमा रिसर्च पनि गरिरहेकी छु । जलवायु परिवर्तनसम्बन्धी विशेष गरेर अध्ययनको विषय बनेको छ, किनकी मेरो गाउँको प्रमुख समस्या हो । काठमाडौंले त्यो देखेको छैन, काठमाडौंका सञ्चारमाध्यमले लिमी र लिमीबासीको समस्या कहिल्यै भन्दैनन् । डकुमेन्ट्रीकै सहायताले मैले आफ्नो गाउँको समस्या उठाउने प्रयास गरिरहेको छु ।
सन् ०१३ मा हिम पहिरो गएको थियो, हाम्रो गाउँमा । सयौं याकहरू मरे । त्यहाँका याक पालक किसानहरूका लागि ठूलो क्षति भयो । तर, सरकारको तर्फबाट कुनै सुनुवाइ भएन, सहयोग भएन । काठमाडौंका सञ्चार माध्यमले त्यहाँ कुनै सहयोग गरेनन् । हामी हिमालका नागरिकका लागि त राज्य नभएको अनुभूति हुन्छ ।
आफ्नो ठाउँमा भएको समस्यालाई लिएर म अन्तराष्ट्रिय सम्मेलनमा गइरहेको हुन्छु । जुन महिनादेखि विभिन्न देशमा हुने सम्मेलनहरुमा भाग लिन जाँदै छु, जहाँ मेरो गाउँ र नेपालमा जलवायु परिवर्तनले गर्दा भोग्दै आएको समस्याहरु राख्ने छु ।
छोरीहरुलाई प्रेरणा
स्कुलमा पढ्ने मात्र होइन् प्रश्न सोध्न पनि सक्नुपर्छ भनेर मैलै छोरीहरूसँग भन्छु । सपना देख्न सक्नुपर्छ । त्यो सपनाअनुसार लगनशीलता आवश्यक हुन्छ ।
हुम्लाको लिमीदेखि दिल्लीसम्म पुग्दा निकै संघर्ष गर्नुपर्यो । दिल्लीमा हुँदा नेपालीलाई हेपाह जस्तो व्यवहार हुन्थ्यो । तर, लक्ष्यमा दृढ थिएँ । म सानोमा साइन्समा विशेष रुचि राख्थेँ । जब महिले समाजबारे थाह पाएँ, त्यसपछि मैले आफ्नो समाजबारे केही गर्नुपर्छ भन्ने तरिकाले सोचेँ ।
लिमीको मान्छेबारे सरकारलाई वास्ता हुँदैन । हाम्रो गाउँको मान्छेले पनि सरकार भएको अनुभूति गरेका छैनन् । सरकारले दिएका अधिकारहरु त्यहाँका मान्छेले प्रयोग गर्न पाएका छैनन् । राजनीतिमा हाम्रो मान्छेहरू छैन । मेरो उद्देश्य के हो भने त्यो समाजलाई राज्यबारे जानकारी दिनु, राज्यले जनतालाई दिएका अधिकारहरू छन् भनेर जानकारी गराउनु हो । राज्यमा हाम्रो उपस्थिति होस् भन्ने छ । राज्यमा आफ्नो छुट्टै हुम्लो आदिबासीको हुम्लो समुदाय दर्ज होस् भन्ने छ । अहिले हामीलाई तामाङ वा लामा भनेरमात्रै राखेको छ ।
मेरो गाउँको भाषा अर्थात् मातृभाषा ‘लिमी के’ हो ।
हाम्रो गाउँमा पहिला स्कुल थिएन् । अहिले एउटा मातृभाषासम्बन्धी स्कुल छ । तर, अहिले हाम्रो गाउँमा पढाउने व्यक्तिलाई नेपाल सरकारले तलब दिँदैन । एनजिओले दिन्छ । हाम्रो मातृभाषा पढाउने टिचरलाई । त्यहाँ राज्यको उपस्थिति छैन ।
(नेपाल-अमेरिका फिल्म फेस्टिबलमा बेस्ट डकुमेन्ट्री, नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा बेस्ट नेशनल डकुमेन्ट्री अवार्ड लगायत थुप्रै पुरस्कार पाएकी र अहिले जलवायु परिवर्तनले पारेको असरको अध्ययनमा सक्रिय टासीले कर्णालीको सुर्खेतमा जारी छोरी सम्मेलनमा दिएको मन्तव्य । ) सम्पादक
प्रतिकृया लेख्नुहोस्: