काठमाडौं । कोशीमा अघिल्लो कार्यकालमा संसद् र सरकार दुवै लयमा थिए । तीन पटकसम्म सरकार फेरबदल भयो । तर, न संसद्ले लय छाड्यो, न त सरकारले नै । सामान्य प्रक्रियाबाट सरकार र संसद् गुज्रिए ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको अनुभवमा अघिल्लो कार्यकालमा, ‘विधेयकहरूमाथि नियमित छलफल भइरह्यो । खासगरी जनसरोकार र विकाश निर्माणका पक्षमा प्रदेशसभामामा छलफल र बहस भइरह्यो ।’ तर, २०७९ पुस १७ बाट सुरु भएको दोश्रो कार्यकालको सुरुआती चरणबाट दलहरू सत्ता दाउपेजमा सक्रिय बने । प्रारम्भबाटै राजनीतिक सत्ता फेरबदलको दलदलमा फसेका कारण अहिले न सरकारले लय समातेको छ, नत प्रदेशसभाले नै ।
‘सरकारको त झन् बेहाल छ’, आङ्वो भन्छन्, ‘६ महिना बितिसक्दा बढीमा १५ प्रतिशतभन्दा बढी बजेट खर्च गर्नै सकेको छैन ।’ आङ्वोका अनुसार वाग्मतीपछि सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भयो । तर, पुर्ननिर्माणका विषयमा एक कदम पनि सरकारले पाइला चालेको छैन । प्रदेशसभामा छलफल हुनै सकेन ।
‘७ गतेको बैठकमा पनि महत्त्वको विधेयक खासै छैन’, आङ्वोले भने, ‘महत्त्वपूर्ण विधेयकहरू अहिलेसम्म ड्राफ्ट पनि भएको देखिँदैन, सरोकारवालासंग छलफल भएको देखिदैन । कानुन बनाउन र प्रदेशसभामालाई बिजनेस दिन सरकार उदासिन देखिन्छ ।’
गत असोज ४ मा पाँचौ अधिवेशनको अन्तिम बैठकपछि कोशी प्रदेशसभा चल्न सकेको छैन । करिव पाँच महिनापछि छैटौ अधिवेशन भने माघ ७ देखि चल्दैछ । खासमा कोशी प्रदेशसभा राजनीतिक अस्थिरताको प्रत्यक्ष शिकार भएको छ । जसका कारण उसलाई लय समात्नै गाह्रो भइरहेको छ ।
दोश्रो कार्यकालको पाँचौ अधिवेशनसम्म आइपुग्दा जम्मा ६८ वटा बैठक मात्रै बसेका छन् । जबकि पहिलो कार्यकालको पाँचौ अधिवेशनसम्म १ सय ७० पटक बैठक बसेको थियो । प्रदेशसभामा सचिवालयका अनुसार सबैभन्दा बढी चौथो अधिवेशनताका २३ वटा बैठक बसेको थियो ।
पहिलो अधिवेशन २०७९ पुष १७ देखि फागुन १७ सम्म १३ पटक वसेको थियो । दोश्रो अधिवेशन २०८० जेठ १४ देखि जेठ ३१ सम्म ६ पटक, तेश्रो अधिवेशन २०८० असार १४ देखि भदौ ६ सम्म ५ पटक, चौथो अधिवेशन २०८० असोज १७ देखि पुस २५सम्म २३ पटक र पाँचौ अधिवेशन २०८१ वैशाख ३१ देखि असोज ४ सम्म २१ पटक बसेको थियो ।
‘करिव पाँच पहिनापछि पहिलो पटक माघ ७ मा बैठक बस्दैछ’, प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले भने, ‘विभिन्न राजनीतिक उतारचढावले बैठक नियमित हुन सकिरहेको थिएन, अब हुँदैछ ।’
सत्ता दाउपेजका कारण नै प्रदेशसभामा बैठक संचालनमा समस्या पैदा भएको हो । प्रदेश सभाको दोश्रो कार्यकालको करिव दुई वर्षभित्र ६ पटक त सत्ता अदलबदल नै भएको छ ।
‘दोश्रो कार्यकालमा छ पटकसम्म सरकार फेरबदल हुँदा प्रदेश सरकारप्रति जनतामा थप वितृष्णा जागेको देखिन्छ’, राप्रपाका प्रदेशसभामाीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने,‘जनतालाई डेलिभेरी दिने भन्दा पनि राजनीतिक दाउपेचमा मात्रै प्रदेश सरकार सीमित हुँदा प्रदेशसभामा पनि सुचारु हुन सकेन ।’
सिटौलाका अनुसार जबसम्म संघले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्दैन, तबसम्म प्रदेश प्रदेशसभामा विजनेसविहीन हुन्छ । यसपटक पनि अवस्था उही छ । सिटौलाले थपे, ‘प्रदेशसभामा बोलाए पनि विजनेस केही छ जस्तो मलाई लाग्दैन ।’
६ महिनाको फरक नपारि बैठक बस्नुपर्ने कानुनी प्रावधानले मात्रै बैठक बस्न लागेको दावी गर्दै सिटौलाले भने,‘विजनेस केही छैन, बैठक औपचारिकताका लागि मात्रै हो ।’
प्रतिकृया लेख्नुहोस्: