Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

कीर्तिपुरलाई नेपालकै नमूना नगर बनाउने योजना छ : शिवशरण महर्जन (अन्तर्वार्ता)

म मेयरमा विजयी भएमा मैले पाउने तलव भत्ता समेत समाजसेवामै लगाउने छु

खबरडबली संवाददाता

-यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुभएको छ, सबैभन्दा पहिले तपाईको वारेमा केही बताइदिनुहोस न ?

म मुख्यतः प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएको छु । मैले करिव ४३ वर्ष जनसेवा, कीर्तिपुर मा. बि स्कुल हुँदैं महेन्द्र रत्न क्याम्पस ताहाचल, सुर्खेत क्याम्पस, पृथ्बीनारायण क्याम्पस हुँदै त्रिभुवन बिश्व बिद्यालय कीर्तिपुर क्याम्पसमा अध्यापनको काम गरे । यसक्रममा मैले त्रि. वि अनुदान आयोगको सदस्य, त्रि वि शिक्षा बिभागको प्रमुख, पुस्तकालय विकास समितिको संयोजक, प्राबिधिक शिक्षालय समितिको सदस्य सचिब, स्वास्थ्य तथा भौतिक शिक्षा बिभाग सानोठिमीको अध्यक्ष रहेर काम गरिसकेको छु । 

यसैगरी कीर्तिपुर बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्ष र सल्लाहाकार, कीर्तिपुर खानेपानी ब्यवस्थापन समितिको सल्लाकार, स्वास्थ्य तथा जनसंख्या बिभाग कीर्तिपुरको अध्यक्ष, स्वास्थ शिक्षा महासंघको अध्यक्ष, मंगल बहुमुखी क्याम्पसको अध्यक्ष, उज्ज्वल हाई स्कुलको अध्यक्ष, मंगल उच्च शिक्षा बिद्यालयको– अध्यक्ष, चिथुबिहार सामुदायिक विकास समितिको सस्थापक अध्यक्ष,. नेवाः दे गुठिको नेपाल मण्डल– केन्द्रिय सदस्य, सहिद स्मारक कलेजको संस्थापक, तात्कालिन चिथुविहार गा.बि.स. अन्तर्गत प्लान ईन्टरनेशनल नेपालको संयोजक जस्ता पदमा रही जनसेवाका काम गरेको छु । 

यस्तै म सिम झवाःहितिबाट कीर्तिपुरसम्म खानेपानी ल्याउन गठित बृहत् कीर्तिपुर खानेपानि परियोजना २०५० को संयोजक रहेर बि.सं.२०५२÷११÷०१ देखि तत्कालिन नेपाल खानेपानी संस्थानबाट अनुमति लिई कीर्तिपुर खानेपानी ब्यबस्थापन समितिको सकृयतामा घर घरमा निजि धारा बितरण गर्न सफल भइएको छ । खानेपानी ब्यबस्थापन सुधार समितिको संचालनमा पनि मेरो प्रमुख भुमिका छ ।

तात्कालिन चिथुबिहार गा.बि.स.को सकृयतामा बनेको चिलन्चो स्थित खानेपानी रिजरभ्वायर ट्यांकि निर्माण गर्न सक्रिय योगदान दिनुका साथै नेपालभरिमा सर्वप्रथम जनस्तरको लगानीमा कीर्तिपुर यातायात संचालन गर्नमा प्रमुख भुमिका निर्वाह गरेको छु । म कीर्तिपुर खेलकुद विकास समितिको सल्लाहकार, सामुदायिक स्कूल संजालको अध्यक्ष,  गाउँ विकास समिति संजालको अध्यक्ष रहीसकेको छु । यसैगरी नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन र मानव अधिकार संस्था काहुराष्ट्रको नेतृत्वमा रहेर काम गरिरहेको छु । 

-कीर्तिपुरको मेयरमा तपाईको उम्मेदवारी किन ? 

कीर्तिपुर एउटा नगरपालिका मात्रै होइन, यो इतिहासको एउटा बहुमूल्य गाथा हो । यसको आफ्नै विशिष्ट र मौलिक इतिहास छ, ओज, सम्मान र गौरव छ । नेपालका राजनीतिक परिवर्तनमा, सामाजिक र सांस्कृतिक परिवर्तनमा यसको अमूल्य योगदान छ । तसर्थ हामी आफूलाई गौरवका साथ कीर्तिपुरवासी भन्छौं । 

बिडम्बनाको कुरा, लोकतन्त्र र सामाजिक न्यायका संघर्षमा हाम्रो योगदान र बिरासतमा अर्जेको यो पहिचानलाई लोकतान्त्रिक व्यवस्थामा भने उचित सम्मान मिलेन । न त कीर्तिपुरवासीको समृद्ध कीर्तिपुर बनाउने सपना नै पुरा भयो । हामी राजधानीकै एउटा महत्वपूर्ण भेगमा भएपनि राजधानीबाट टाढै रह्यौं । तुलनात्मकरुपमा उपत्यकाका अन्य स्थानीय तहहरुले उल्लेख्य प्रगति गर्दा समेत हामी भने उपेक्षित बन्दै ग¥यौं । विकास निर्माण, पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, सरसफाई, रोजगारी, व्यवस्थित बस्ती विकास लगायतका यावत क्षेत्रमा स्थानीय तहको नेतृत्व गर्ने साथीहरुले उल्लेख्य काम गर्न सक्नुभएन । 

यहाँ म कसैलाई आरोप प्रत्यारोप लगाउन चाहन्न । कसले गरेन, किन गरेन भन्ने समिक्षा गर्ने जिम्मेवारी जनताको हो । तर एउटा तथ्य के हो भने हामीले हाम्रो भविष्यको जिम्मेवारी दिएर चयन गरेका जनप्रतिनिधि साथीहरुमा कीर्तिपुरलाई नेपालकै फरक समृद्ध सांस्कृतिक सहर बनाउने कुनै भिजन, योजना, दृष्टिकोण र सो अनुरुपको पहलकदमी देखिएन । देशकै वौद्धिक, प्रशासक र राजनीतिज्ञहरु जन्माएको भूमि हो कीर्तिपुर । तर हाम्रै भूमिमा रहेको त्रिभुवन विश्वविद्यालयबाट विकास भएका ती ज्ञानहरु हाम्रो नगरको विकासका लागि उपयोग हुन सकेनन् । सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने, स्थानीय भाषा, संस्कृतिको जगेर्ना गर्ने, नयाँ विकास भएका वस्ती, क्षेत्र र भूगोलमा विकासका पूर्वाधार लैजाने काम हुन सकेन् । जसले गर्दा हिजो राजधानीको केन्द्र बनेको कीर्तिपुर ओझेलमा पर्दै जाने अवस्था सिर्जना भयो । 

यस्तो अवस्थालाई अन्त्य गर्न अब म अघि बढ्नु पर्छ भन्ने मलाई अनुभूति भयो । किन की म कीर्तिपुरमैं जन्मिएँ, हुर्किएँ । मैले यस क्षेत्रका सबै गल्ली, चोक, खेत बाटा, वस्तीमा पाइला टेकेको छु । यस क्षेत्रको विकासका लागि मैले आफ्नो प्राध्यापन पेशामा रहँदा पनि आफूलाई समर्पित गरेको छु । कीर्तिपुरको खानेपानी, सार्वजनिक यातायात, शिक्षा, विकास निर्माणसहित सामाजिक सेवाका धेरै काममा मैले अगुवाइसमेत गरेको छु । 

मेरो योगदानको समेत कदर गर्दै मलाई नेकपा (माओवादी केन्द्र)ले यसपटक कीर्तिपुरको मेयर पदमा अघि सारेको छ । एकीकृत समाजवादी, जनता समाजवादी, नेपाल समाजवादी पार्टी लगायत विभिन्न राजनीतिक दल, बुद्धिजीवी र स्वतन्त्र व्यक्तिहरुले समेत समर्थन गरेर साझा उम्मेदवारकारुपमा अघि बढाइरहनुभएको छ । कीर्तिपुर नगरपालिकाको समग्र विकास, प्रगति र उन्नतीका लागि मेरो उम्मेदवारी हो । कीर्तिपुरवासीको भाग्य र भविष्य बदल्दै नगरपालिकाको बाँकी अवधिमा कीर्तिपुरको मुहार फेर्ने हाम्रो बाचा हो । हामीसँग कीर्तिपुरलाई कस्तो बनाउने भन्ने स्पष्ट खाँकासहितको योजना छ । हाम्रो जितपश्चात् दिनरात नभनी कीर्तिपुरवासी जनताको सेवा र कीर्तिपुरको विकासका लागि खटिने छौं ।

हामीलाई जनताले यसपटक मौका दिनुभयो भने दुई वर्षभित्रमा कीर्तिपुरलाई नेपालको सबैभन्दा नमूनायोग्य नगरपालिकाकारुपमा विकास गर्ने योजना छ ।

-कीर्तिपुर नगरमा तपाईका चुनावी एजेण्डाहरु के के हुन ?

कीर्तिपुर नगरपालिकामा साझा गठबन्धनको तर्फवाट संस्थागत?पमै साझा प्रतिबद्धता पत्र आम मतदाता समक्ष सार्वजनिक गर्नेछौं । हामी विष्णुदेवी अस्पताललाई भौतिक पूर्वाधारसहित तत्काल २५ शैय्याको बनाई नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न चाहन्छौं । हामी अशक्त, असहयाय, जेष्ठ नागरिकलाई घरमैं स्वास्थ्य परीक्षण र निशुल्क स्वास्थ्य सेवा घरदैलोमैं उपलब्ध गराउन चाहन्छौं । हामी कीर्तिपुरवासीको रैथाने सीप र पेशालाई व्यावसायिक उत्पादनसँग जोडेर कीर्तिपुरको स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी विश्व बजारमा पुर्याउन चाहन्छौं । 

हामी त्रिभुवन विश्वविद्यालयभित्र शिक्षण अस्पताल निर्माण कार्य सम्पन्न गरी कीतिपुरवासीलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन चाहन्छौं । सबै क्षेत्रमा कीर्तिपुरवासीलाई निश्चित कोटाको व्यवस्था गर्न पहल गर्नुका साथै महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भरता सुनिश्चित गर्न दीर्घकालीन विशेष परियोजना सञ्चालन गर्ने हाम्रो योजना छ । 

हामी कीर्तिपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त, जातीय र लैंगिक विभेदमुक्त कीर्तिपुर बनाउन चाहन्छौं । यातायात पूर्वाधार, कीर्तिपुर रिंगरोडको सपना साकार गर्नेदेखि पुष्पलालपार्क–चम्पादेवी हुँदै हेटौँडा जाने बाटो निर्माण गरी यस क्षेत्रको समृद्धि हासिल गर्ने हाम्रो योजना छ । नगरपालिका भित्रका सबै भूगोलहरूमा सार्वजनिक सेवा समानुपातिक वितरण सुनिश्चित गर्न चाहन्छौं । साथै विकास निर्माणसँग सम्बद्ध कार्यहरूमा आम जनताको स्वामित्व र सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।  
हामी कीर्तिपुरको इतिहास, संस्कृति र वर्तमानको सम्मिश्रण गरी एउटा नमूना सांस्कृतिक नगर निर्माण गर्न चाहन्छौं । नेपाल भन्नेबित्तिकै प्रयोग गरिने बिम्बलाई कायम राख्दै कीर्तिपुर भन्नेबित्तिकै इतिहासदेखि वर्तमान झल्किने नमूना नगर बनाउन चाहन्छौं । 

कीर्तिपुर नगरपालिकामा गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीको ग्यारेण्टी, नागरिक स्वास्थ्यमा स्थानीय सरकारको जिम्मेवारी, निशुल्क स्वास्थ्य विमा, वडा वडासम्म उद्योग, दिगो विकासका लागि सडक पूर्वाधार, स्वस्थ्य खानेपानी, स्ववासीहरुलाई जग्गाधनी पुर्जा वितरण, ऐतिहासिक स्थलको संरक्षण, बैज्ञानिक भू–उपयोग तथा व्यवस्थित शहरी विकासको योजना अघि सारेका छौं ।

यसैगरी पर्यटन क्षेत्रको विकासका लागि नगर स्तरीय योजना, स्थानीय कला–संस्कृति, भाषा र मौलिक पहिचानका लागि विशेष योजना र अभियान, सुसासन र भष्ट्राचारमुक्त कीर्तिपुर, सार्वजानिक सेवामा सहज नागरिक पहँुच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक वर्ग समुदायका लागि विशेष अधिकार, स्वास्थ्य र राहत व्यवस्थाका लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिबद्धता छ ।

यसैगरी युवा र खेलकूदको विकास, सूचना तथा सञ्चारको विकास, कीर्तिपुरलाई हिलोधुलो मुक्त नगरका रुपमा विकास गर्ने, स्थानीय तहका वडा र टोलसम्म पक्की सडक र सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिव किसान, बृद्धबृद्धा, एकल महिलाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने योजना छ । यस्तै कृषकहरुलाई कृषक परिचय पत्र, मल बिउको सहज व्यवस्था, कृषक पेन्सनकोे व्यवस्था गरिने छ । विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ । फोहर पनि निशुल्क संकलन गरिने छ । म मेयरमा विजयी भएमा मैले पाउने तलव भत्ता समेत समाजसेवामै लगाउने छु ।

-तपाइँले कीर्तिपुर नगरपालिकामा जित्ने आधार चाहिँ के– के हुन् ?

कीर्तिपुर नगरपालिकामा मलाई उम्मेदवार बनाउने राजनीतिक दल र मलाई समर्थन गर्नुभएका मतदाताहरु नै हाम्रो जित्ने पहिलो आधार हो । यस बाहेक यसअघि नेकपा(एमाले) र नेपाली कांग्रेसले कीर्तिपुरमा मेयर पदमा जितेर पनि कुनै राम्रो काम गर्न नसकेकाले अहिले ती पार्टीका मतदाताले पनि मलाई मत दिनुहुन्छ भन्ने विश्वास छ ।

यस अघि कीर्तिपुरमा नेतृत्व गर्नुभएका दुवैले चुनावी बाचाहरु पूरा गर्न असफल भइसक्नु भएको छ । कीर्तिपुरवासी आम स्वतन्त्र मतदाताहरु छिटो छिटो कीर्तिपुरको विकास गर्ने म जस्तो परिपक्क व्यक्तित्वलाई बिजयी बनाउन आतुर हुनुहुन्छ  । एमालेवाट विभाजित पार्टी नेकपा (एकीकृत समाजवादी), अशोक राईले नेतृत्व गर्नुभएको जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादीलगायत पार्टीलेसमेत मलाई समर्थन गर्नुभएकाले पनि यसपटक भारी मतान्तरले मेरो जित पक्का छ ।

यस बाहेक हामीले उठाएका एजेण्डा र अघि सारेका उम्मेद्वारका अनुहार नै हाम्रो जितको अर्काे आधार हो । यी सबै आधारमा भन्दा कीर्तिपुरमा हाम्रो जित सुनिश्चित भइसकेको छ । 

-अन्त्यमा केही भन्नु छ कि ?

अव चुनावको दिन आउन थोरै दिनमात्रै बाँकी छ । कीर्तिपुरमा ठूलो भूगोल र हजारौ मतदाता रहनुभएकाले हामीले सबैलाई व्यक्तिगतरुपमा भेटन सकिरहेका छैन । हरेक मतदाता र शुभेच्छुकहरुको घरदैलोमा पुग्न नसके पनि गाउँ टोलमा हुने चुनावी कार्यक्रममा सरिक भई हाम्रा योजना सहितको प्रतिबद्धता पत्र प्रस्तुत गरी उहाँहरुका समेत सुझाव लिदै अघि बढिरहेका छौं ।

चाहँदा चाहँदै पनि यहाँहरुसँग भेट हुन नसके पनि यहाँले मलाई आफै उम्मेदवार भए सरह मान्नुभए हुन्छ । म निर्वाचित भए पछि यहाँहरुको घर घरमा आएर सुझाव लिनेछु र यहाँको सल्लाह सुझावअनुसार अघि बढ्ने छु । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: